Skip to content

शब्द कोर्ने किसान


कविताका सुन्दर कागजहरू च्यातिन्छन भनेर
हावाहुरीले अनि उडाएर लान्छन भनेर
वा,
बाढीका बौलाहा बहाबले बगाएर जान्छन भनेर?
या……
मुसाहरुले टुक्रा-टुक्रा-टुक्रा बनाएर खान्छन भनेर
कान्छा!
तैले त आफ्ना कविताका सबै भकारीहरू
शब्दहरुले भरिएका सबै भारीहरु…..
अनि गजल पनि
अनि पिक्निकका राम्रा राम्रा फोटाहरू पनि
कुन्नि के जाती?
गुगल या यस्तै केमा लेखेर राखिछ हरे
अनि
सजाएर राखिस् हरे
युटुबमा टगाएर राखिछस हरे
अनि ट्विटरमा पनि कोरेर ट्विट गरिछस हरे
फेसबुकका भित्ता-भित्ताहरुमा पनि
जिन्दगीभर कैले पनि नमेटिने गरी लेखिछस,
त त यहाँ कति बाठो रैछस है कान्छा?
कति बाठो भैछस,
तर त जाली रैछस कान्छा!

के हाम्रो घरकित्ता, अनि खाली खेतजमिन चाहिँ मिल्दैन
राख्नलाई के त्यो इण्टरनेटमा कुनै जग्गा छैन?
यदि मिल्छ भने,
यसपालि
हाम्रा पसिनाहरू पनि उतै जमाएर राखिदेन कान्छा
अनि असारमा अन्नबालीहरू पनि तेतै लगेर राखिदे
कान्छा राखिदे अनि मङ्ग्सिरमा धानका बिटाहरू पनि उतै लगेर राखिदे कान्छा…
मिल्छ भने अनि पराल पनि उतै लगेर राखिदे न कान्छा
यो पल …….
केबल अलिकति त होनि कान्छा!
तर हरेक साल हामीले हार खायौ
अनि हामी हैरान भयौ कान्छा !
यसर्थ कि,
यो संसारमा एउटा सफल किसान बन्न गहारो रहेछ
कान्छा!
गहारो रहेछ

मेरो गरिब बुवा भन्नुहुन्छ !

@सुजन बुढाथोकी
ठुलो-भर्याङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *