एक हुलचरा
अनि
एउटा हवाइजहाज
आकाशमा उँडेर गयो,
अनि हेर्दा हेर्दै
अचानक,
बादलमा छोपिएर कतै हरायो …
भवसागरको कुनै क्षितिज
या तारामण्डको कुनै अपेक्षित दिशामा …
अहिले मैले भनिरहँदा …
सायद उनीहरू यस्तैयस्तै
धेरै नै माथिमाथि पुगिसकेका थिए,
मानौ तिनीहरू
बच्चाहरुका एउटा मीठो निद्रा जस्तै हुन्
राम्रो सपना जस्लाई देखन गहिरो सुताइ सुत्नुपर्छ
मीठो सपना जस्लाई देख्न निद्राको भित्री सतहसम्म पुगेर
निदाउन सक्नुपर्छ,
उनीहरूसँग मस्त सुत्ने कला थियो
या सुतिरहने मात्र आँखाभरिको अभिलाषा थियो
तै भएर त अहिले यति निर्जीव अनि
बेहोस र चेतनाबिहीन छन्
मैले बच्चाहरू सुतिरहेको बेला कैले पनि चलाउन जानिन,
र आजसम्म पनि मेरा मनहरू मानेकै थिए,
तर अहिले उनीहरू धेरै नै ब्यस्त छन,
अनि तिमी
अनि तिमी नि?
सायद
यस्तै यस्तै केही थियौ
त्यही भएर त बतासको गतिमा दौडियौ ?
म तिमीलाई अँझै पनि
त्यही ठाउँ
जहाँ मैले तिमी हात हल्लाउँदै बिदा गरेको थिए
जहाँ तिमीले मलाई कुनै बच्चालाई झै थुनेर गएको थियौ..
म हेर्छु
अँझै त्यही ठामबाट तिमीलाई
अपरिचित परदेशको क्षितिजमा
मेरा
दुरदृष्टि नभएका
अनि यी ओइलिएका आँखाहरुमा
दूरबिन लगाएर दिनभरि तिम्रो बाटो हेर्दै हेर्दै
ती गोधूलि साँझमा पर्खिरहेछु!
वायुलहरमा उडेका धुवाको मुस्लो,
अनि अँध्यारो भएर आकाशमा
आउदै गरेको त्यो टाढा टाढाको कालो जस्तो धब्बबा
अनि अरु नै चडेर आएको जहाज …
त्यो मलाई तिमी नै आइरहेको हौ कि जस्तो लाग्छ !
सायद,
तिमीले सोच्यौ कि भोलि फेरि घाम लाग्ने छ
अनि म … चाहिँ ?
मैले तिमीलाई बराम्बार यही कुरा भनिरहेछु कि
फर्किएर आउने म कुनै घाम हैन ।
सानामा तिमी चोरको डरले बारम्बार रातमा
भत्किएका धोकाका चुकुलहरू लगाउन खोज्थेउ,
भुतको डरले हाम्रो ओछ्याननिरको
अनि
मक्केका
झ्यालमा पुराना कपडाका पर्दाहरू मलाई लगाई माग्थ्यौ,
तर तिमीले कैले पनि थहा पाएनउ कि
म रातभर ती झ्यालढोकाहरू रुघेर जागरम बस्थे,
अनि तिमी निदाएपछि, तिम्लाई छलेर चोर जस्तै
अनि
कसो कसो तिमी जस्तै म पनि भुसुक्कै निदाउथे
अनि
हावाको स्पर्शले ती झ्यालढोकाहरू भने रातभरि उदाङ्गा रहन्थे …
अब उज्यालो भयो …
उठउठ नानी भन्थे म पैले पैले तिमीलाई
अनि तिमी ए! आमाले।अघि नै झयालढोकाहरू उघारिसक्नु भएछ भन्थ्यौ
हावाको स्पर्शले ती झ्यालढोकाहरू भने स्वयम रातभर उदाङ्गा हुन्थे …
हो अहिले यहाँ मेरो यो जिन्दगी पनि ती झ्यालढोकाहरू जस्तै भएको छ!!
म चहान्न कि, यी घामहरू अस्ताओस
अनि ती जुनताराहरू खसेर
असिनाका टुक्राहरू झै यो पृथ्वीमा बिलाओस
म चाहन्न कि,
मलाई जिस्काउन अँधेरामा आएका ती जुनकिरीहरुले
तिम्रा दुखद खबरहरू लिएर आउन!!
मैले तिम्रो उपचार गर्न आफ्नो सुनको चुरा र हिराको हार बेचेको थें
तिम्रो चाहना पूरा होस त्यसैले त म चहान्छु कि
तिम्रो सपना साकार होस
त्यसैले।त म चहान्छु
तिम्रो कैले पनि हार नहोस,
मैले तिम्रा अक्षरहरुलाई किन्न
रातभर भुकुण्डे साहुको घरमा अनिन्दो बसेको थिए
त्यसैले त अहिले म चहान्छु कि तिम्रो जिन्दगीमा कैले पनि रात नहोस
मैले तिम्रा हातका हतकडीहरू खोल्नलाई
पुलिसको काँडाघारीमा जेलजीवन बिताएको थिए
त्यसैले त अहिले। म चहान्छु कि,
तिमी चराहरू झै सधैं मुक्त आकाशमा उढ
तिमीसङ्गै उडेको चराहरू
अँझै पनि आएर मेरो बिस्कुनको धान खान्छन”
तिमीसँगै हुर्केको बचेराहरू
अँझै पनि मेरा कुखुराका चल्लाहरुसँग
आएर आगनमा खेल्छन
उफ्रन्छन …
नपत्याए नत्र हाम्रो घरका ती आगनमा हेर
अँझै पनि त्यहाँ उस्का पञ्जाका छापहरू छन्
नपत्याए अँझै पनि मेरा मनहरुमा हेर
अँझै पनि मेरा यी छातीभरि
तिम्रा खुटटाका कलिलाका डामहरू छन् ।
मैले तिमीलाई बडाउदा आफ्नो जवानी बेचेको थिए
मैले पैले यी पाखापखेरा र खेतका आलिमा रुखका बिरुवाहरू रोप्दा
नालापानी र कुवाका भरी बाल्टिन बोकेको थिए
त्यसैले त अहिले म चहान्छु कि
ती रुखहरू मभन्दा पनि अग्ला हुन।
मैले बाख्राको पाठो जन्मदा, उसकी आमा टोकाइ र गाली खाएर
मैले
उस्को कानको लोती तिमीलाई दिएको थिएँ
त्यसैले त अहिले म चहान्छु कि
मैले ! मुन्नेभन्दा उस्का कानहरुले मेरो आवाजलाई सुनून्
अनि
टाढैबाट मलाई म्यायाआ … गरेर बोलाउन
आउन ।
तिमीलाई मैले मेरो काँध र शिरमा टेकाएर
पाकेको अम्बा र आँपको बोटमा चढाएको थिएँ
त्यसैले त अहिले म चहान्छु कि,
तिम्रा ती हातहरुले आकाशका जुनताराहरू टिपुन
हाम्रो घरमा एकपटक बिरामी बाँच्छा जन्मिएको बेला
दिनभरि बाझो मैदानमा गाई चरेर लढेर
हाम्रो घरतिर मुण्टो फर्काएर अनि बा!बाआआँ … गर्दै
चट्टानका किला र फलामका साङ्गाहरू चुट्ट्याएर
साँझमा गोठ फर्किन्थी ।
अनि म हेर्थे
उस्को बाँच्छाले मुख गाडेर झमझम दूध खान्थ्यो
म देख्थे सधैं सधैं उस्को खुट्टा र गाटीबाट तपतप
चुहिएका खुनका थोपाथोपाहरू …
भोलिपल्ट त्यो गाई रक्ताल्पदा लागेर बिरामी भयो
बछ्या बलियो भएर झनझन जोडले दूध प्युने गर्थ्यो
तर त्यो गाईले कैले पनि चर्न रहर लागेन
कि
हाम्रो घरदेखि खेतसम्मका अध्यारा अनि काला बाटाहरू
मलाई याद छ अँझै
त्यो विश्वयुद्धको रत्ताम्य जमिन …
जसरी मानौ कि
जहाँ तिमी जन्मिएका थियौ
जहाँ तिमी
ती बिरामी गाईको गाई बुबु र मैले पकाएको माम
बुबुमाम …
समसम मुसेर सुपुक्क खान्थेउ हैन … ?
सम्झ अहिले ती गाई बूढो अनि
थारो भएर कुनै मियालाई बडादशैंंं मनाउन बेचिदै छ
अब … भन कि
तिमी के गर्छौ ?
मसँग अहिले तिमीलाई दिने
एउटा सम्झना बाहेक अरु केही पनि छैन,
मैले पैले तिमीलाई छाड्ने बेलामा,
फूलमाला, अनि अवीर लगाएर
अनि दही खुवाएर हासिहसी
आसुका टीकाहरू लागाइदिएर
बिदाइ गरेको थिए
तर अहिले
तिमी आउदा तिमीलाई स्वागत गर्न मसँग
अहिले रङ्ग नभएका एउटा मुस्कानको टुक्रा समेत छैन
अनि ओइलिएर झर्न लाको फूल जस्ता
चाउरिएका चेहेरा मात्र छन् नानी …
तिमीले रोपेका ती घरागन अनि फूलबारीभरिका सबै
कलिला फूलका कोपिलाहरू
झागिएर मासिए …
म चाहन्न कि तिमी आउदा
म हाम्रा गैरी, खेत, करेसाबारी, अनि पाखापखेरा कटेर
त्यो
पहाड भञ्ज्याङ्गको नोउडाडा कट्टु::
जब तिमीलाई भेट्न चन्द्रधरातल अनि तिम्रो देशमा
आउने बारे सोच्छु तब
“बिचरा यी सारा रुखबिरुवा अनि गाईबाख्रा र चराका
चल्ला, बाँच्छा र पाठाहरुले
“काँ जानू भएको आमा ? घर कैले फर्केर आउनुहुन्छ ”
भनेर सोध्छन
म अब त्यसरी तिमीलाई कैले पनि
पर्खिन चाहन्न नानी
जसरी एउटा चराको बेचराले
आफ्नो माउलाई पर्खिरहेछ
फूलहरू फेरि पनि रोप्न मिल्ला
अनि सपनाहरू पनि फेरि बुन्न मिल्ला
हिमालपर्वत अनि ती तराईभरि लालीगुराँस
लालुपाते अनि गुलाफका बोट फेरि पनि उम्रेला
तर उम्रिसकेको उमेर फेरि नउम्रने रहेछ
हाम्रो खेतभरी फेरि पनि अन्नबालीहरू लागाउला
तर मेरा यी ओइलिएका ओठहरुमा
फेरि पनि लाली कस्ले लगाइदिन्छ?
मलाई मेरो देशका खोलानाला, र सफा सरिताको पानी
औधी मन पर्छ?
तर मेरा असक्त हातहरुलाई डोर्याएर
त्यहाँसम्म कस्ले पुर्याइदिने?
आज मसँग पानी प्युन
यी हत्केलाका अञ्जुली उघ्याउने बल छैन
ती फूलहरू त फेरि फेरि रोप्न मिल्दो रहेछ नानी
आज मसँग पानी प्युने बल समेत छैन।
ती परेवा, कौवा अनि डाफे अब हाम्रो घरागनमा कैले पनि
नआउने रे!
तर! किन थहा छ
मैले मकै छोड्याउने अनि धान कुटाउने
फलामका हातहरू खै?
कहाँ छन् ?
फूलहरू फेरि पनि रोप्न्न मिल्दोरहेछ नानी
अहिले मेरा यी हातहरुमा पानी प्युने बल समेत छैन!
तर म भने हर्दम सधैं होसमा छु
तिम्रो आगमनको प्रत्येक चेतनालाई महसुस
गर्ने ममा ठुलो प्राकृतिक शक्ति छ
पवनको प्रतेक स्पर्शलाई यो बातावरणले
थाहा पाए झैं
हो
मलाई थहा छ
तिमी आउँछौ
म मेरा बुवाको मेरेको तस्वीर आगाडि बसेर
ठोकुवा गरेर भन्न सक्छु
कि तिमी आउँछौ
कि,
म तिम्रा मरेका बुवाको तस्वीर अगाडि बसेर
भन्न सक्छु कि
तिमी आउँछौ
मलाई विश्वास छ
तिमी फेरि पनि जन्मिनेछौ
तिमी हाबा झै फर्किएर आउनेछौ
तर यो पटक आफ्नो जन्ममा तिमी
तिम्रो पृथ्वी हाँस्दै हाँस्दै आउनेछौ
तर म रुने
किनकि,
म वर्षात अघिको घाम हु
त्यसैले त म रुन्छु
अब
मेरो जाने बेला पनि भैसक्यो
तर मलाई थाह छ तिमी आउँछौ
तिमी कुनै जनावरले जन्माएको पनि त हैन
मलाई विश्वास छ कि
तिमी फेरि पनि आउँछौ
म तिमीलाई फेरि पनि जन्माउन सक्छु
तिमी मेरो इछ्याको एक हिस्सा मात्र हौ
यसपटक तिमी बतास वा वायु भएर आउनेछौ
म ती रुखका फराकिला पातहरू
म जाने बेलामा तिमी एकपटक आउँछौ
म तिमीलाई सपनामा देखेर
बिपनामा बोलाउनेछु
तिमी मेरो चहानाहरुले फेरि पनि जन्मिनेछौ
तिमी फेरि आउनेछौ
किनकि म तिमीलाई फेरि पनि जन्माउने छु
त्यसैले तिमी आउनेछौ
मलाई आस छ
किनकि म तिम्री आमा हुँ ।
(आउनेछौ)
