साधारण अध्यापकबाट महान् लेखक भएका प्रेमचन्द


गरिबीले मानिसलाई हृदयको गहन तलमा यात्रा गर्न सिकाउँछ, अभावले मानिसलाई अकाट्य पहाड चढ्न अराउँछ । विश्वका जति पनि महान् स्रष्टा, द्रष्टा, आविष्कारक, खोजकर्ता, अनुसन्धानकर्ता जति पनि छन् तिनमा सय कडा असी प्रतिशत अभाव, गरिबी र दुःखको भयानक बाटो छिचोलेर अगाडि बढेको पाइन्छ ।

हिन्दी साहित्य जगतका प्रेमचन्दको नाम यस लहरमा राख्न सकिन्छ । हिन्दी साहित्यमा प्रेमचन्दले दिएको योगदानलाई चानचुने आँक्न मिल्दैन । उनले आख्यान जगत्मा यस्ता पात्रहरूको रचना गरे, जुन कालजयी छन् । फेरि ग्रामीण जनजीवन र तल्लोस्तरको सीमान्तकृत वर्ग, सम्प्रदाय र जातिको जीवनचरित्र यसरी बाहिर ल्याए, जुन मार्मिक करुणाले ओतप्रोत छन् ।

प्रेमचन्दको वास्तविक नाम धनपद राय थियो । उनले गरिबीको चर्को अभावलाई तनतनी पिएका थिए । कासी आसपासको एक निर्धन परिवारमा जन्मेका प्रेमचन्दले पढ्नको लागि ठुलो सङ्घर्ष गरेका थिए । दुःख गरेर म्याट्रिक पास गरे, उच्च शिक्षा हासिल गर्न ज्यादै गाह्रो भयो । निःशुल्क अध्ययनको लागि विश्वविद्यालयमा कोसिस त गरे तर त्यहाँ पनि अवरोध पैदा भए । उता घरको पारिवारिक आर्थिक अवस्थाले स्वतन्त्ररूपमा उच्च शिक्षा हासिल गर्ने पनि ठूलठूला अवरोध सिर्जना गरिदिएको थियो । सानै उमेरमा बिहे गरिदिएकोले आफ्नो पारिवारिक बोझ त थियो नै उता पिताजीले अर्को आमा बिहे गरेर उनीबाट जन्मेका भाइबहिनीको दायित्व पनि उनको काँधमा थियो ।

सबै रोजीरोटीका आर्थिक समस्याहरू हल गर्नको लागि निकै टाढाको बाटो धाएर अध्यापन गर्न थाले । सानो कमाईबाट ठुलो पारिवारिक रथ चलाउन सधैँ धौधौ पर्थ्यो । त्यतिखेर भारतमा इष्टइण्डिया अङ्ग्रेजको कम्पनी सरकारको औपनिवेशिक राज थियो । भारतीयहरूलाई एक किसिमले दासताको जञ्जिरमा बाँधिएको थियो । स्वाधिनताका जग्रित आवाजहरू सुनिन थालेको थियो ।

महात्मा गान्धी अङ्ग्रेज सरकारको विरुद्ध असहयोग आन्दोलनमा जुध्नुभएको थियो । स्वतन्त्रता, समानता र स्वाधिनताको गरिमामयी जीवनप्रति प्रेमचन्द हृदयदेखि नै लालायित थिए । लामो समयको अध्यापन पेशाबाट बिदा लिएर उहाँले साहित्य, संस्कृतिको माध्यमबाट अङ्ग्रेजविरोधी स्वाधिनताको आन्दोलनमा भाग लिनु भयो । उहाँ गान्धीका प्रखर विचारहरूबाट अत्यन्त प्रभावित हुनुहुन्थ्यो । ‘हस’ नामको साहित्यिक पत्रिकाबाट जीवन्त विचारको खेती गर्नुभयो । मार्मिक अनुभूतिहरू भारतभरि फिँजाउनु भयो । उनले उपन्यास विधामा गोदान, रङ्गभूमि, कायाकल्प, कर्मभूमि, सेवासदन, बरदान प्रतिज्ञाजस्ता कालजयी रचनाहरू सृष्टि गर्नुभयो । नवनीधि, प्रेमपूर्णिमा, पञ्चप्रसून, सप्तसूमनजस्ता अमर कथाहरू रच्नुभयो । यसैगरी नाटक, निवन्धको क्षेत्रमा पनि उहाँको आफ्नै विशिष्ट सत्ता छ । नेपाली साहित्यमा पनि थुप्रै अग्रपुस्ताका स्रष्टाहरू प्रेमचन्द्रबाट प्रभावित छन् । चाहे कथाका शिखर सारथी गुरूप्रसाद मैनाली हुन् यो वि.पी.कोइराला, उनीहरू प्रेमचन्दबाट काफी प्रभावप्रेरणा गरेर सिर्जनाको संसारमा हाम्फालेका छन् । अँझ वि.पी. कोइरालालाई साहित्यको संसारमा तान्ने काममा त उहाँको प्रारम्भिक रचनाहरू हंसमा छापिएका थिए । साहित्यकार पारिजातले प्रेमचन्दको ‘कफन’ को बारेमा उच्च मूल्याङ्कन गर्नुभएको छ ।

दुःखको आहालमा उम्रेका यी सप्तरङ्गी कमलजस्ता प्रेमचन्द, एक सामान्य अध्यापकदेखि विशिष्ट स्रष्टा हुनुमा आफ्नै सङ्घर्षको सतत शृङ्खला छ । उनको जीवनबाट, उनका रचनाबाट अनेकौँ कुराको प्रेरणा गर्न सकिन्छ । यी महान् शब्दशिल्पीको जन्म सन् १८८०मा भएको थियो भने निधन चाहिँ ५६ वर्षको छोटो उमेरमा सन् १९३६मा भएको थियो । स्वाधिनताका प्यासा प्रेमचन्दले भारत अङ्ग्रेजबाट मुक्त भएको भने देख्न पाएनन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *