
न्यानु वात्सल्यले जन्म भो देहको
धर्म संस्कारको ज्ञानले सिन्चियो
देवता जीवकी स्नेह गंगासरी
मातृमायाँ मिठो संझना मन्जरी ।।१।।
देहका तत्वले देह नै सिन्चियौ
दु:खमा सुक्खमा भ्रूण रक्षा गऱ्यौ
स्वप्न सापेक्ष भो अंश काखै झरी
मातृमायाँ मिठो संझना मन्जरी ।।२।।
माघकी घाम हौ रातकी चाँदनी
औषधी रोगकी मन्त्र संजीवनी
ओत आमा तिमी वर्सिएमा झरी
मातृमायाँ मिठो संझना मन्जरी ।।३।।
मात्र मायाँ दिने आश छैनन् रती
कर्म राम्रो गरे हुन्छ राम्रो गति
शक्ति नै शृष्टिको दुग्धपानै भरी
मातृमायाँ मिठो संझना मन्जरी ।।४।।
वन्दना पाउमा अर्पदै छु गुरू
आत्ममा मूर्ति तिम्रै छ छैनन् अरु
जन्म साफल्य तिम्रो वज्यो वाँसुरी
मातृमायाँ मिठो संझना मन्जरी ।।५।।
प्रा. धर्मराज कोइराला
