पुरूष हौ तिमी पीडाहरू कतै बाँड्नु हुन्न भन्छन्
पत्थर जस्तै बनाऊ दिल खुट्टा काँप्नु हुन्न भन्छन्
बिहे हुँदासम्म दिदी बहिनीहरू अचेल पढ्दै गर्नु पर्ने
कमाई गर भाइ खर्च धान्न बाॅधा पस्नु हुन्न भन्छन्
बा आमा श्रीमती र सन्तानका माग पुरा गर्नु पर्छ
जाऊ कमाऊ छोरो मान्छे घरै बस्नु हुन्न भन्छन्
मावल ससुराल घर समाजमा कतै पनि तिमी हेर
पीडा लुकाई हाँस्नुपर्छ पुरूषले रूनु हुन्न भन्छन्
खै फूर्सद आफ्नै मनको गुनासो सुन्ने पुरूषलाई
गर्नुस् काम केही वर्ष जागिर छाड्नु हुन्न भन्छन्
देखे जस्तो सजिलो जीवन पुरूषको कहाँ छ र
साहसी भै अघि बढ्नु पाईला मोड्नु हुन्न भन्छन्
बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी
