पात्रहरू
पल्लवी – २४ वर्ष
चन्दन– ३० वर्ष
मेनका–४९ वर्ष
प्रश्ना– ५१ वर्ष
लक्ष्मण– ५६ वर्ष
बच्चा – ८ महिना

स्थान: भान्साकोठा
समय: ७ बजे बिहान
महिना: माघ

(ठूलो खुल्ला खाले भान्सा कोठा, कोठामा ठुलो राउण्ड खाले डाइनिङ टेबुल, वरिपरि ६ सिटको मेच, डाइनिङ टेबुल नजिकै फ्रिज, भान्साको भित्तामा काठको र्याकमा भाडाहरू घोप्ट्याइरहेको, ग्याँस चुलोभन्दा केही पर मसलाहरू राख्ने सानो दराज, दराजनजिकै ओभन, एउटा व्यवस्थित भान्साकोठा, मेनका ग्याँसमा सानो दिउरेमा चिया बसाल्दै आफ्नै सुरमा भजन गाउँदै)

मेनका: फूलको थुङ्गा झरेझैँ
झरी जाने जिन्दगी
एक दिन त चिताहरूमै
परी जाने जिन्दगी

छोटो यो जिन्दगीलाई
सतमार्गमा लगाऊँ
प्रभु शिव, शिव भन्दै
सारा जीवन बिताऊँ

पल्लवी: (भान्साकोठाभित्र छिर्दै रिसाएको स्वरमा) के प्रभु शिव ! शिव ! भनिसिन्छ ? हृदयमा पनि शिव हुनुपर्यो नि ! मुखमा मात्र शिव भएर भएन क्यार !

मेनका: (पल्लवीतिर फर्केर खुसीको स्वरमा) लौन आज के उल्का भयो । ल म स्पेसल चिया बनाउँछु हाम्री महारानीको लागि ।

पल्लवी: (रिसाउँदै) हजुरले उल्का शुल्काको कुरा छोडिस्यो । म चियासिया केही खान्नँ । तीन रात भइसक्यो ननिदाएकी । आफू भने कुम्भकर्णजस्तै घुरघुर घुर्दै निदाइसिन्छ अनि अरूको के मतलब ?

मेनका: (पल्लवीतिर हेर्दै नम्र स्वरमा) ल हेर रिसाएकी उल्का नभनेर के भन्नु त दुई पाइला नजिकको घर छ कहिल्यै आउनु छैन । आज बच्चाको रुवाइले भए पनि तान्यो राम्रै भयो ।

पल्लवी: (झर्किँदै) भैगो ठट्टा गर्न छोडिस्यो । हजुरको बानी देखेर त वाक्कै भैसकेँ । हिजो कृष्णादेवी बजै पनि भन्दै होइसिन्थ्यो नानी ! तिम्रो आण्टीलाई पैसाले कहिले पुगेन हगि ? कुनचाहिँ सडकछापलाई ल्याएर कोठामा राखिछन् कुन्नि रातभरि बच्चा रुवाएर सुत्न नै दिँदैनन् । म त बिरामी नै पर्ने भएँ बा !

मेनका: (चिया पल्लवीतिर बढाउँदै) बस नानी ! कुरा अर्कै छ । मुख हेर्नेको केके भनेजस्तै त्यस्तै आइलाग्यो मैले के गरौँ ? सागरको बानी तिमीलाई थाहा नै छ । उसको जिद्धीको अगाडि … ।

पल्लवी: (मेचमा बसेर चिया आफूतिर तान्दै) हजुर सधैँ कुरा बङ्ग्याइसिन्छ सीधै भनिस्यो न उनीहरू दादाका बहिरा–बहिरी साथी हुन् भनेर ।

मेनका: (अलि गम्भीर स्वरमा) नानी ! तिमी चित्त नदुखाऊ । त्यो रुने त्यही जहरिलो गोमन सापको छोरा हो ।

पल्लवी: (खाँदाखाँदैको चिया छोडेर आँखाभरि आँसु पारेर उठ्दै) मलाई अबदेखि छोरी भन्नु पर्दैन । मभन्दा पनि त्यो गोमन नजिक भयो होइन हजुरहरूलाई ?

मेनका: (पल्लवीको हात समात्दै) नानी तिमी कुरै नबुझी रिसायौ । म त्यो गोमनसँग एक शब्द पनि बोलेकी छैन । सागरको खुट्टा समातेर केही दिन बस्नदेऊ भनेर रोएछ । के गरोस् त सागरले तिमी नै भन ।

पल्लवी: (मेचमा बसेर गम्भीर मुद्रामा) होइन हजुर बहुलाउन त लागिसेन ? ऊजस्तो धनी त्यो पनि हाम्रो घरमा के नचाहिने कुरा गरिसिन्छ ?

मेनका: (लामो श्वास फेर्दै) डढेलो लग्यो नानी त्यसको धनमा, तिम्रो आँसुले होला किनारा लाग्न नै सकेन त्यो, आफ्नी सुन्दरी स्वास्नीको लहैलहैमा लागेर ठेक्कापट्टाको केके काम गरेछ । त्यसमा नराम्रोसँग डुबेछ । अब योसँग बसेर खैरियत छैन भन्ने ठानेर होला भएका गहना पैसा लिएर आठ महिनाको बालकलाई छोडेर कुलेलम ठोकिछ स्वानी । बाबुआमालाई सानैमा खाएको मोराले अब छोरालाई पनि खान्छ । मुसाको छाउराजस्तै छ छोरो ।

(काकीको कुराले पल्लवी टोलाइरहिन् त्यत्तिकैमा पल्लवीकी आमा प्रश्नाको प्रवेश हुन्छ ।)

प्रश्ना: (सानो कचौरा डाइनिङ टेबलमा राखेर मेचमा बस्दै) हैन आमा छोरीको के खासखासखुसखुस हो ? (छोरीतिर हेर्दै) आण्टीसँग बाझ्नु बाझ्यौ कि क्या हो ?

मचाहिँ बाझ्न होइन चुक लिन आएकी हुँ ।

मेनका: (मलिन स्वरमा) दिदी ! कुन मुखले भन्नु त्यो त्यही साप हो भनेर । सागरको कोमलो मन उसको आँसुले पग्लिहालेछ । म उसलाई के भन्ने के नभन्ने सोच्नै सकेकी छैन । दिदीसँग सल्लाह गर्न आउँछु भन्दै थिएँ दिदी नै आउनुभयो । हुन त त्यो पापी अहिले मणि हराएको सर्पजस्तै भएको छ ।

प्रश्ना: (अनकनाउँदै) त्यो साप टुटेको कुरा त धुइरो धुइरो वीनाले भनेकी थिइन् । मैले पल्लवीलाई नभनेकी मात्र हुँ । हिजोजस्तो लाग्छ पल्लवीको मात्र होइन हाम्रो पनि हृदय टुक्रिएर छियाछिया भएको ।

मेनका: (आँखाभरि आँसु पार्दै) हो त्यो साप पल्लवीको हृदयभरि कहिल्यै नओइलिने गरी फुलेको थियो । जिन्दगीका लामा बाटाहरू उसैसँग काट्ने वाचा गरेकी थिइन् । हामी पनि त सोच्थ्यौँ । चन्दन र पल्लवीको प्रेम पहाडजस्तै मजबुत छ भनेर… ।

प्रश्ना: (लामो श्वास फेरेर) त्यो गोमनले पल्लवीको अटुट विश्वासलाई भ्रमको सञ्ज्ञा दियो । प्रेम चरम बिन्दुमा पुगेपछि पल्लवीलाई अग्निकुण्डमा फ्याँक्यो । त्यसैको फल भोग्दैछ त्यो पापी ! भगवान्ले जे गर्छन् राम्रैका लागि नै गर्छन् । पल्लवीले

त्योभन्दा राम्रो इञ्जिनिएर केटा पाइन् । अर्को हप्ता त कुरा पनि छिनिँदैछ ।

मेनका: (पल्लवीतिर हेर्दै) होइन के सोच्यौ नानी, कतै त्यो गोमनेकै बारेमा त सोचेकी होइनौ ? तिमीलाई सडक सम्झेर कुल्च्यो । दुईतीन वर्षको अन्तरालमा स्वय म सडक बन्यो । त्यो पापी नराधमलाई ढोकाबाट छिर्न नै दिन्थिनँ । के गर्नु छोरो त्याग्न सकिएन र पो ! ‘चोक्टा खान गएकी बूढी झोलमै डुबेर मरी’ भन्थे त्यही चाल भयो मोराको !

पल्लवी: (नम्र स्वरमा) आण्टी ऊ मेरो प्रेमीभन्दा पहिले दादाको मिल्ने साथी हो । दादाकै कारण मेरो उसँग परिचय भयो । म नै ऊ पढेको कलेजमा पढ्न गएँ । त्यत्रो चोट पर्दा पनि मैले कहिल्यै उसको कुभलो चिताइनँ । मैले भगवान्सँग उसैको प्रगतिको कामना गरिरहेँ । ऊ सानो चोटले यहाँ आएको छैन । दादाले बाध्यभएर नै यहाँ ल्याउनुभएको हुनुपर्छ । दादाले मेरो घाउमा नून छर्न सक्नुहुन्न त्यो मलाई राम्रै थाहा छ । उसले मलाई घृणा गरेपछि दादा पनि उसँग बोल्नुभएको थिएन । दादाले मलाई सम्झाउँदै भन्नुभएको थियो । नानी म पनि तिमीहरूको मिलन होला भनेर ढुक्क थिएँ । त्यो पापीले तिम्रो हृदय चियाउन सकेन । रूपमा फस्यो पाजी । मलाई त्यो मुल्लाको रूप हेर्दा पनि एलर्जी हुन्छ । म कहिल्यै बोल्दिन भन्नुहुन्थ्यो । वास्तवमा उसले मुखले कहिल्यै प्रेम गर्छु भनेकोचाहिँ थिएन । यो सत्य कुरा हो ।

मेनका: (रिसाउँदै) तिम्रो मन देखेर म आजित हुन्छु । तिमीलाई प्रेम गर्दैनथ्यो भने सधैँ चोर बिरालोझैँ मिलिकमिलिक किन यहाँ आउँथ्यो त ? ऊ यहाँ हुन्थ्यो आँखा तिम्रै खोजीमा हुन्थ्यो । उसको मनको आग्रह स्वीकार गरेन नै हामी तिमीलाई यहाँ बोलाउँथ्यौँ । तिमीलाई देखेपछि उसको मुहारमा चन्द्रमा उदाएझैँ हुन्थ्यो । जब त्यो

दुष्टलाई भेट्यो त्यसपछि यहाँ आउन नै छोड्यो । त्यतिमात्र होइन प्रेम नै गरेको छैन भन्यो । त्यस्ताको पनि खुसीको कामना गर्यौ तिमीले । मानवीय मूल्य कुल्चने त्यो पाजीलाई सवक सिकाउनुपर्ने हो तर खोइ के गर्ने ? त्यसलाई अचानोमा राखेर टुक्राटुक्रा गर्दा पनि अँझैँ रिस मर्दैनँ बुझ्यौ ?

प्रश्ना: (मलिन स्वरमा) देऊ चुक म जान्छु । भगवान्ले यिनीहरूलाई किन यति कोमल मन दिए होलान् ? मलाई पनि त्यो पापीको रूप सम्झँदा सिङ्गै पहाडले थिचेझैँ हुन्छ । (ढोकाबाहिर निस्ँिकदै) ल म गएँ । ल छिटो आऊ नानी कलेज जान बेर हुन्छ । हिजो निद्रा बिग्रिएर पढाउन नै सकिन भन्थ्यौ । आज पनि त्यही ताल होला ।

मेनका: (प्रश्नालाई चुक दिँदै उनी गएतिर हेर्दै) ल आउँदै गर्नु है दिदी ! पापीलाई आजै निकालिदिन्छु । छोराले जे त भनोस् । मेरी प्यारी छोरीको निद्रा अबदेखि बिगार्दिनँ ।

प्रश्ना: (ढोकाबाहिर निस्किँदै) आउँला नि !

पल्लवी: (अँध्यारो मुख लगाएर उठ्दै) म पनि गएँ । उसलाई ननिकाल्नुहोस् । बरु म भान्सामै सुतौँला । त्यता आवाज आउँदैन ।

मेनका: (पल्लवीतिर हेर्दै) मन नदुखाई जाऊ नानू ! म पनि सोच्छु ।

पल्लवी: (ढोकाबाहिर निस्किँदै) हुन्छ ।

चन्दन: (बरण्डामा बच्चा डुलाउँदै गरेको चन्दन पल्लवीतिर हेरेर गला अवरुद्ध पार्दै) पल्लवी ! तिमीलाई बोलाउने अधिकार त छैन । प्लिज एकछिन कोठामा आऊ ।

(पल्लवी चुपचाप चन्दनको पछि लागिन् । कोठा देख्दा पल्लवीलाई मुटु नै फुट्लाजस्तो भयो । डुङ्ङ गनाउने कोठा, लथालिङ्ग कपडा, भाँडाहरू कति दिनदेखिको जुठो, पलङमा बस्दा पनि डसला पिसाबले भिजेको)

पल्लवी: (लामो श्वास फेर्दै) उफ !

चन्दन: (लज्जामिश्रित भावमा पल्लवी नजिकै पलङमा बस्दै) पल्लवी ! हुन त म तिमीसँग माफ माग्न लायक छैन । मलाई माफ देऊ । मान्छेहरूले नदीको किनारमा बसेर नदीको गहिराइ नाप्न सकिँदैन भन्थे ठिक नै रहेछ । बत्तीको उज्यालो देखेर झ्याम्मिने पुतली बनेँ म । तिमीले यति मेरो कुरा सुन्यौ मैले सर्वस्व पाएँ । (काखमा लिइरहेको बच्चा पल्लवीतिर बढाउँदै) एकछिन बाबु लिइदेऊ म दूध बनाउँछु ।

(पल्लवीले बच्चा लिइन्, मुसाको छाउराजस्तो बच्चा देख्दा उनको आङ नै जिरिङ्ग भयो । पल्लवीका आँखा चन्दनको आँखामा गएर ठोक्किए । त्यो फटिकजस्ता चम्किला आँखाहरूमा टम्म आँसु भरिइरहेको थियो ।)

पल्लवी: (बच्चाको निदार छाम्दै सानो स्वरमा) ला बाबुलाई त धेरै नै ज्वरो आएजस्तो छ ।

चन्दन: खोइ के भएको हो हिजोदेखि दूध पनि खान मानेको छैन । साथमा पैसा पनि छैन ।

मेनका: (बाहिरबाट नै कर्कशा स्वरमा) पल्लवी छिट्टो बाहिर आऊ । यो सागरले पापी गोमनलाई घरमा ल्याएर… ।

चन्दन: (बनाउँदा बनाउँदैको दूध छोडेर पल्लवीको काखबाट बच्चा लिँदै डराएको स्वरमा) म पापी गोमन नै हुँ । जाऊ पल्लवी अहिले फेरि आण्टीले मार्नुहुन्छ । उसै त मलाई देख्यो कि दाह किट्दै हिँड्नुहुन्छ । सागरको मन साँच्चिकै सागरजस्तै रहेछ । भाडा तिर्न नसकेपछि घरबेटीले निकाले । कतै जाने बाटो देखिनँ । सागरलाई रुँदै फोन गरेँ । उनी तुरुन्तै त्याहाँ पुगे । मैले खुट्टा समाएर माफ मागेँ । यहाँ ल्याउन उनले खोजेकै थिएनन् । कुनै उपाए नदेपछि बल्ल यहाँ लेराए । त्यसैले हामी बाँच्न …..।

मेनका: (ढोका ढकढक गर्दै) छिटो ढोका खोल् चुतिया….।

पल्लवी: (बच्चातिर हेर्दै) आण्टीको बानी नै यस्तै हो । पहिला बच्चालाई हस्पिटल लगौँ ।

मेनका: (ढोका बजार्दै कोठामा नै आएर पल्लवीको हात तान्दै) ल छिटो हिँड । यस्तालाई सहानुभूति देखाउनु त धिक्कार हो । पहिला पल्लवी मेरो रूपलाई र धनलाई प्रेम गर्छे भन्ने कोही नभएर यही पापी हो । अब त राम्रै बुझ्यौ होला नि प्रेमको मूल्य । ल उठ अटेरी नहोऊ । गोमनलाई दूध दियो भने फर्किएर आफैँलाई डस्छ ।

पल्लवी: (मेनकाको हात फुत्काउँदै) ल हेरिस्यो यो सानो बच्चालाई, म उसलाई मर्न दिन्नँ पहिला हस्पिटल लगेर आऊँ अनि… ।

चन्दन: (बरबर आँसु झारेर) पल्लवी जाऊ मलाई पापको सजाय भोग्न देऊ । आण्टी म कुहिरोमा काग हराएझैँ अन्धधुन्ध भएको छु । बाँच्यौ कसरी बाँच्यौ ? मरौँ कसरी मरौँ ? बाबु मात्र नभएको भए म उहिल्यै मरिसक्थेँ ।

पल्लवी: (आँखाभरि आँसु पार्दै) म यो बच्चा मरेको हेर्न सक्दिनँ ।

मेनका: (रिसाएको स्वरमा) तँजस्तो चुतिया धर्तीको बोझ मरे पनि कसैलाई केही फरक पर्दैन । (मोबाइल थिचेर रिसाएको स्वरमा फोन गर्दै) दिदी छिट्टो दाइलाई लिएर आउनोस् । पल्लवी बहुलाउन लागि । चन्दनको बच्चालाई मर्न दिन्न पो भन्छे ।। फेरि के के भन्ने हो ।

(लक्ष्मण र प्रश्ना दौडिँदै आउँछन् । कोठाभित्र छिरेर पल्लवीतिर हेर्दै)

लक्ष्मण: (रिसाएको स्वरमा) नानी छिट्टो हिँड यो दया गर्न लायक मान्छे नै होइन । भोलि तिमीले यो कोठामा बसेको कुरालाई लिएर पनि छिमेकीहरूले तिम्रो घर बिगार्नेछन् ।

प्रश्ना: (रुँदै) नानी हिँड तिमीजस्ता आदर्श नै प्रत्येक पल मर्नेछन् बुझ्यौ ? बच्चालाई बरु हामी हेरौँला । यो पापीले सजाय भोग्नु नै पर्छ ।

पल्लवी: (शिर झुकाउँदै) पापा ! चन्दनले भूलको प्रायश्चित्त गरिसके । फेरि हजुरले भनिसिन्थ्यो नानी ! जीवन लिनेभन्दा जीवन दिने लाखौँ गुना महान हुन्छ भनेर । मैले धेरैको रक्षा गर्न नसके पनि…।

मेनका: (रिसाउँदै) हरे दैव ! नानी के भनेकी तिमीले कहाँ यो गोमन मौका पाउँदा डस्ने कहाँ इञ्जिनियर, हतारमा निर्णय लिएर फुर्सदमा पछुताउनु राम्रो होइन बा ! बरु बच्चा हामी नै स्याहार्छौँ । तिमी खुरुक्क जाऊ ।

चन्दन: (आँसु पुछ्दै) पल्लवी म तिमीसँग माफ माग्न चाहन्थेँ, साथ होइन । बाबु देऊ र जाऊ । म तिम्रो लागि लायक छैन ।

पल्लवी: (आँसु पुछ्दै) पापा ! मैले जति नै सुख पाए पनि, हीराले पुरिए पनि मेरो हृदयको कुनै कुनामा चन्दन् हुनेछन् । उनको प्रेममा स्वार्थ भए पनि मेरो प्रेममा स्वार्थ थिएन । म अँझै उनलाई माया गर्छु । (आमातिर हेर्दै) ममी ! हजुरको शिर झुक्दैन । बरु यो समाजले प्रेम भनेको पल्लवीको जस्तो हुनुपर्छ भन्ने छन् । यो बच्चालाई केही भयो भने म जिन्दगीभरि आफूलाई माफ दिन सक्ने छैन ।

लक्ष्मण: (केहीबेर सोचेर बच्चातिर हेरेर, पल्लवीलाई धाप मार्दै) स्यावास छोरी ! स्यावास ! देख्यौ होइन चन्दन बाबु पल्लवीको प्रेम । हामी पनि यो अबोध बालक मरेको हेर्न सक्दैनौँ । तिमी तन्दुरुस्त भएपछि पुन: पल्लवीलाई नडस ।

चन्दन: (पल्लवीको गोडा छोएर) म साँच्चिकै गोमन हुँ । पल्लवी साक्षात देवी हुन् । माफ गर पल्लवी माफ … ।

पल्लवी: (गोडा हटाउँदै) चन्दन भूल जसको पनि हुन्छ तर भूल स्वीकार्नु तिम्रो महानता हो । तिमी महान् छौ ।

लक्ष्मण: (प्रश्नातिर हेर्दै) नरोऊ प्रश्ना तिम्री छोरीले एउटा बालकलाई मृत्युको मुखबाट खोसेकी छिन् । त्योभन्दा ठुलो धर्म अरू हुनै सक्दैन बुझ्यौ ?

प्रश्ना: (घुक्कघुक्क रुँदै) त्यो त हो तर … ।

पल्लवी: (आमाको आँखाको आँसु पुछिदिँदै) नरोइस्यो ममी ! पापाले भनेको ठिक हो । धर्म भगवान्लाई पुजेर मात्र हुँदैन । त्योभन्दा ठुलो धर्म त अरूको आँखाको आँसु पुछ्नु हो । भगवान् यसैमा खुसी हुन्छन् ।

मेनका: (आँखाबाट झरेको आँसु पुछ्दै) धन्य छ्यौ नानी तिमी । प्रेम भनेको यस्तो पो हुँदोरहेछ आफूलाई के थाहा ?

चन्दन: .(आँखाबाट आँसु झार्दै सानो स्वरमा) भगवाङ्कै अर्कौ रूप हुन् पल्लवी !

लक्ष्मण: (हाँस्दै) हो मेरी छोरी महान् छिन् ।

प्रश्ना: बाबुलाई डाक्टरकोमा लग ।

पल्लवी: हवस् ।

-ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ

सङ्क्षिप्त परिचय

ललिता ‘दोषी’ स्व. कुलबहादुर गजुरेल र स्व. सूर्यकुमारी गजुरेलबाट २०२५/७/१६ सालमा इमाडोल, ललितपुरमा जन्मिएकी हुन् । अहिले उनी बुद्धनगर वानेश्रमा बस्छिन् । उनले नेपालीमा एम .ए.सम्म गरेकी छिन् । उनले बच्चाहरूका लागि र ठुलाहरूका लागि पनि पुस्तक प्रकाशित गरेकी छिन् । उनका एकतिसवटा जति पुस्तक प्रकाशित भएका छन् । कही पुस्तक प्रकाशनको तयारीमा छन् । उनका गीत, बालगित रेकर्डिङ र पुरस्कृत पनि भएका छन् । साहित्यका प्राय: सबै विधामा कलम चलाउने ललिता दोषीले धेरै प्रतियोगिताहरूमा भाग लिएर पुरस्कार जित्न सफल भएकी छिन् । उनले लेखेका बालकथा, बालकविता, बालनाटक गरेर करिब एक दर्जन जति रचना प्रा.वि र नि.मा .वि.का पाठ्यक्रममा समेत परेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *