मूर्ख कालिदास विश्वप्रसिद्ध कवि बने


संस्कृत साहित्यका महाकवि कालिदासको मूर्खताका बारेमा अनेकौँ रोचक किम्बदन्तीहरू छन् । उनी रुखमा चढेर रुखको हाँगो काट्दा टुप्पातिर बसेर फेदतिर बञ्चरो चलाउने गर्थे । यो तहको मूर्खता थियो उनमा ।

एकचोटी मावली घर जाँदा एउटा किताब देखेछन् । किताबका अक्षरहरू हेरे, अनि उनी ग्वाँ ग्वाँ रुन थाले । उनको रुवाइदेखि सबै आश्चर्यचकित भए, उनलाई फकाएर सोधियो, “बाबु किताबको अक्षर हेरेर किन रोएको ?” उनले जवाफ दिएछन्, “मेरो त्यति मोटो ‘क’ दुब्लाएछ । त्यसको माया लागेर रोएको ।”

वास्तवमा भएको के थियो भने उनलाई सानैदेखि बाबुले अक्षर सिकाउँदा पाटिकामा क, ख लेखेर सिकाएका थिए । जति नै सिकाए पनि आखिरमा उनलाई एउटै अक्षर नआएपछि यति साना अक्षर सिकाएर भएन, यसलाई ठूलै अक्षर बनाइदिँदा पो सर्लक्क आउँथ्यो कि भनेर ठुलो भैसी चर्ने चौरीमा कोदालीले चौरी ताछेर क, ख लेखिदिएका थिए । त्यसो हुँदा चौरीमा विशाल विशाल क, ख, पढ्न पाएका थिए । चौरीको त्यति ठुलो क, ख कितबमा सानो अक्षरमा खुम्चिएको देखेर उनी नराम्ररी रोएका थिए ।

उनका मूर्खताको बारेमा चाहे बनावटी हुन् चाहे वास्तविक हुन् थुप्रै कहावतहरू छन् । जेहोस्, सुरुको असाध्यै मूर्ख मान्छे आफ्नो साधनाको बलले पछि संस्कृत साहित्यमा तहल्का मच्चाउने गरी प्रकाण्ड विद्वान् स्रष्टा बन्यो ।

महाकवि कालिदासमात्र होइन भारत वर्षमा संस्कृतका आदिकवि वाल्मिकी पनि भयङ्कर ठुलो ब्याधा थिए । क्रुर सिकारी रामायण लेख्ने वाल्मिकीमा फेरिएको थियो । त्यसैगरी तुलसीदास र सुरदासका जीवनमा पनि त्यस्तै सन्दर्भहरू भेट्छौं । हत्यारो अङ्गुलीमाल बुद्धको असल शिष्यमा रूपान्तरण भएको कुराले पनि दुर्जनहरू सज्जन बन्न सक्छन्, मूर्खहरू विद्वान बन्न सक्छन्, क्रुरतामा फँसेको मानिस कोमलतामा, करुणामा फर्किन सक्छ भन्ने कुरा निर्देश गरेको छ ।

कालिदासका काव्यहरूमा नाटकहरूमा यति सुन्दर अलङ्कारको प्रयोग भएको छ, जसको प्रत्येक्ष प्रभावबाट हाम्रै लेखनाथ र माधव घिमिरेहरू हुन सकेन । रामगिरी पर्वतमा शरणाथी बनेको मेघले आफ्नी प्रेयसीलाई मेद्य (बादल)को माध्यमबाट प्रणयको समाचार पठाएको मेघदूत काव्य कम्ती मार्मिक छैन । दुष्यन्त शकुन्तलाको मिलन र विछोडमा आधारित अभिज्ञान शाकुन्तल त हाम्रा कयौँ कविहरूको निम्ति उपजीव्य सामाग्री नै भएको छ । यसैगरी रघुवंश, कुमारसम्भव, मालविकाग्निराग्नीजस्ता काव्यकृतिले विश्वका एक अव्बल कविको रूपमा उनलाई प्रतिष्ठा दिलाएको छ ।

कालिदासको जन्मतिथि र जन्मस्थानको बारेमा अँझै ठुलो विवाद छ । भारतको उज्जैन इलाकामा जन्मेका भनिएको उनको जीवनमा उनलाई मूर्खताबाट माथि उठाउन उनकी विदुषी पत्नी विद्योत्तमाको ठुलो हात रहेको छ । मूर्खमूखै तालमा भयङ्कर विदुषीको यति हुन पाएका उनले पत्नीको अपमानपूर्ण ताडना र निष्काशनबाट प्रेरणा लिएर आफूलाई विश्वप्रसिद्ध स्रष्टाको रूपमा फेरिदिए । आफूलाई फेर्न सक्ता असम्भव भन्ने चीज केहिरहेनछ भन्ने कुरा उनको जीवनबाट थाहा पाउँछौ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *