Skip to content

मलाई माफ गरिदेऊ (दशैंतिहार)


मलाई माफ गरिदेऊ !
यो साल पनि म परदेशबाट
मेरो देश मेरो घर आउन सकिन
मलाई माफ गरिदेऊ किसान !
सधा झै यो साल पनि
हाम्रा ती खेतगराका मैदानहरुमा धानका बालाहरू
आसमानको चान्द-कला झै गरेर धपक्कै बलेका होलान सायद
साथीहरू उता हाङ्गबहादुर बाजेको निगार
अनि सुङ्गघुरको मासुले मातेर यस्तै
मानौ कि त्यस्तै तरङ्गित रङ्ग उमङ्गहरुसङ्गै
तिहारको दैसिभैलो भट्याउदै होलान सायद
कान्छा दाइको जाडले सात गाउ चक्कर लगाउदै
नसामा भिजेरै उत्पात
खान्दानी तरुनीको घरहरुमा देऊ छोरी भन्दै
देऊ सीता भन्दै
देउसी शिधा भन्दै
दैसिराम खेल्दै होलान देउसि त
झण्डी,मुण्डा,कौडा
र सडकभर रोगडाका तडक-भडकहरू
सम्झनाहरू ताजा छन् अँझै.आज
कि त्यो गोविन्दपुर मेलामा मैले रक्सीको मातले
जाडको निसामा….
खै के जोश र कुन जवानीको जागरले मैले मेरी सतार्नी साथीको
गालैमा गरी दिएको
किस
लगानीको डबल, त्रिबल, चौबल पैसा पर्ने
ती लकिर लन्ङुरपुर्जा डाइसका गोटिहरू
तर अहिले हरेक पल म मेरा लागि
हरेक पल आमाभन्दा ठुलो अहिले अफिस भएको छ
मेरा लागि जन्मभूमिभन्दा पनि प्यारो अहिले कर्मभूमि भएको छ
म मजदुर यहाँ सात समुन्दर पारिको
यो मरुभूमिको दुर-देशमा अँझै त्यही
मुदिरकै कम्पनीहरुमा दिनरात दौडिएर
चक्कर लगाइरहेछु
सायद आज ती सिङ्गै गाउँ सहरहरू लगातार रमाइलो भैरहेका होलान
मलाई माफ गरिदेऊ मेरा ब्रदरहरू
मलाई माफ गरिदेऊ यार मेरा बुङ्गा ब्रदरहरू !
तर म आउन सकिन !

मेरो घर आगनहरुमा एक हुल फुलका थुङ्गाहरू
विश्वयुद्धको सङ्ग्रामबाट फर्किरहेका
कुनै एक साहसी गोर्खालीलाई झै गरेर
विजयमाला लगाउन हर्दम पर्खिरहेका होलान
सायद ती भाइ-तिहारहरू भाइ ती-हारहरू
वा मानौ कि स्वय म एउटा उज्यालो जुनकिरिले
शरद-ऋतुका औंसीको अन्तिम रातमा
कुनै अधेराहरुमा एकरात अनिदो जागरम बसेर
गगनमा उज्यालो एक जुनको जोखाना हेरिरहे झै गरेर
सायद बसिरहेकी होलिन बहिनी
आज दिदी दिनहुँ दुखी होलिन
मलाई माफ गरिदेऊ
मेरा सिस्टरहरू म घर आउन सकिन
रहरहरू हुदाहुदै पनि म उदाउन सकिन !

म हरेक साल अपराधीले झै
थुनावा-बन्दको कैदि जस्तै
दिनहुँ दौडिरहन्छु गोरु झै जमिनहरुमा जोतिरहन्छु
र यो बडादशैंमा पनि
मलाई त्यो सर्वोच्च अदालतले न्यायिक हिरासतबाट
आजादि दिएन
अनि दिएनन कुनै उन्मुक्ति कुनै मुक्तिमोर्चाहरुले
जिल्ला कारागारको सिडिओले झै
वा चौकिदारहरुले झै गरेर
गोरु तिहारमा जस्तै
मानौ कि मलाई मेरो निधारलाई पुज्दै
मेरा हाकिमहरू भन्छन
लाउ तिम्रो तिम्रा ज्यालादर !
यसपालिको तिम्रो दसैको दछिणा
र काट्छन मैले लागाउने प्रतेक चामलका गेडाहरुमा
मेरा पसिनाका केही आम्सिक कणहरू
आमा म आउन सकिन
हाम्रो जमिनमा उब्जने सस्ता धानका दानाहरू
जस्तो कि तिम्रा ती हातहरुबाट मेरो निधारमा लाउन सकिन
किनकि मैले अँझै यो बिरानो मुलुकमा
यो बिसालझ्याल-थानामा
यो बडा कलकार खानामा
हदबन्दीको म्याद अँझै काट्नै बाकी छ आमा
अर्थात मैले मेरो श्रम भुक्तान गर्नै बाकी छ
म निर्दोष छु
यसैले मेरी आमा मलाई मान्नुस
मलाई विश्वास गर्नुहोस मेरी आमा
म निर्दोष छु
मलाई विश्वास गर्नुहोस कि
कुनै दिन बडादशैं आउनु अघाबै
कुनै नाबालकको सन्तृप्त चाहनाको चङ्गा जस्तै गरेर
म मुक्त चराहरू झै म नेपाल आकाशबाट
आउने छु आमा
जसरी म पैला त्यही आकाशवाट उढेर
हावाहरुमा हराएर गएथे ।
मलाई माफ गर्नुहोस बाबा
मलाई माफ गर्नुहोस आमा !
तर यो साल म आउन सकिन
मलाई विश्वास गर्नुहोस
सायदै कुनै दिन बिपनामा बिहानै भाले बास्नुभन्दा पनि अगावै
म मेरो देशको मुहारभर
र हाम्रा घर आगनभर
अनि म आमाको अनुहारभरि
अनि उनका ती रङ्गिन आँखाहरुमा
भदौ-असोजको भोरको उज्यालो घामको हर्ष झै गरेर म छरिएर उदाउनेछु
मलाई माफ गर्नुस
तर अफसोच यो बर्ष म उदाउन सकिन !
मलाई माफ गर्नुहोस आमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *