मेरो घरको बाटोमुन्तिरको चोकबाट
अक्सर औटा मान्छे मध्यरातमा सडक हिँडिरहन्छ
अन्धकारहरुमा
बोली सुन्दा
कुनै विद्वान जस्तो
अलिअलि अङ्रेजी
अलिअलि हिन्दी
सम्भवत सम्पूर्ण देशको राष्ट्रिय भाषामा
ज्ञान भएको अपूर्ण ज्ञाता
एउटा राष्ट्रभक्त ..!
सधैसधैं एउटै भेष
एउटै परिबेशमा
सजिएर
अनि एउटै समयको भेटमा
ऊ हिँडिरहन्छ हरक्षण देश-सडक
मध्यरातमा मानिसहरू सुतिसकेपछि
फगट भाषणहरू गर्दै!
म सुन्छु हरेक रात
लगातार र म देख्छु बटुवाको विम्ब
अनि अन्त्यमा म मान्छु कि
ऊ पक्कै कुनै ठुलै महान मनुवा हुनुपर्छ
विद्वान – विचारक – शिक्षक
सैनिक – दार्शनिक – बैज्ञानिक
राजनीतिज्ञ – साहित्यकार
देशको उज्यालो भविष्यहरू हेर्ने
दुरदर्शी ज्योतिष
वा अदालतहरुको कुनै प्रधान न्यायधीस
या
कुनै कलाकार
अथवा,
हुनसक्छ कि
कुनै अलौकिक चमत्कार?
खैर ऊ जो होस म सुन्छु
ऊ भन्छ कि भट्टी नजाऊ
श्रीमती तह लगाऊ
राजा आऊ
देश बचाऊ
सबै सन्तानहरू नेपाल आमाका छोराहरू हुन
म पनि अरु दाजुभाइहरू जस्तै सपूत हुँ
पैसा धन कमाउन सकिन र पो त,
मान्छे भएर मान्छेलाई दमन गर्नु हुदैन
ऊ भन्छ जीवनमा कहिले पनि पैसाकै मोहले
मातृभूमि र आफू जन्मिएको जमिन बेच्नु हुदैन
बाटो भत्किएको रहेछ अब बाटो पिच बनाउनुपर्छ
कुत्ताहरू हो,
अब चाँडो-चाँडो फुटेका यी बाटाहरू राजमार्ग बनाऊ
ओ! ठुटे अनि दुष्ट देवताहरू हो!
अब गाउँ समाज र सिङ्गै देश बनाउनुपर्छ”!
या,
यस्तै यस्तै केही मानवता, आदर्श, सभ्यता
समानता अनि राष्ट्रियताका कुराहरू
ऊ फुकिरहन्छ
ऊ ठुकिरहन्छ
र,
ऊ भुकिरहन्छ
बकवास
एक सुरले कि कुनै कुकुरहरू झै
भोलिपल्ट भित्ता प्लस्टरहरुको भित्ता
र छेपारोहरू झै
ऊ लुकिरहन्छ
निरन्तर,
म देख्छु बिहान
सुतेका शहीदहरुको सालिक फुटेको हुन्छ
बाटाहरू झन बढी भत्किएको हुन्छ
चमत्कार!
पाटीपौवा र मूर्तिहरू झन बढी चर्किएका हुन्छन!
यसरी नै पुरानो रेडियो झै गरेर ऊ गुञ्जिरहन्छ
एउटै परिचित आवाज हरेक रात
सुनिरहन्छ सिङ्गो गाउँ सहर
मिठो मान्दैन उस्को बचन
अनि ब्यूँझिएर मध्एरातमा
सुरुवात हुन थाल्दछ जबरजस्त गालीहरू
अनि निस्कन्छन निलकण्ठहरुबाट तिरस्कृत थुकका छिटाहरू
अफ्सोच ऊ हिँडिरहन्छ सधैं सधैं
बाघको गर्जन झै वजनदार तेजाब बाणीहरू लिएर
कुनै मातमा लठ्ठिएर
भट्टीहरुदेखि त्यही भत्किएका बाटाहरुसम्म
बकवास!
ऊ हिँडिरहन्छ
हिड्छ
ऊ हिँडिरहन्छ
कहिले कान्लामा लड्छ
कहिले ढुङ्गामा सड्छ
कहिले किनारमा ढल्छ
अनि हनुमानको कुनै बदमास बादर झै गरेर
कहिले स्वय म भगवान भएर मन्दिरको सबैभन्दा टुप्पोमा चड्छ
अनि फेरि ऊ भुइको गिट्टीचट्टान र पत्थरमा बल्ड्याङ्ग बजारिन्छ
अफ्सोच ऊ ठक्कर खाएर पनि मुतुवा
चक्कर लाएर मस्त घुमिरहन्छन मतुवा
कुनै निदाएको अचेत गस्ती झै
शान्त सहर बस्तीहरू जगाउदै
अनि
सुरुवात हुन थाल्दछ अनि जबर जस्त प्रसस्त गालीहरू
जसरी कि हरेक साल एक बर्समा
केबल एक पटक आउने हाम्रो दुर्गम गाउको
विशाल सभाहल भेलाहरुभित्र
कुनै चिर परिचित प्रख्यात नेताको अमुर्त साछ्यात तस्बिरमा
ठेलाहरुले भरिएका हातहरुबाट लगातार गर्जनका तालीहरू बर्सिएका थिए।
यसरी अनि अहिले सुरुवात हुन थाल्दछन जबर्जस्त,अपशब्द गालीहरू
जसरी कि पहिले ठेलाले भरिएका हातहरुबाट लगातार तालिहरू
बर्सिएका थिए।
बिहान म दोभानमा बसेर सोचिरहन्छु
किन यी जड्याहरू किन यो देशका नेत्ताहरू हुन सकेनन?
किन ती भ्रष्ट भटटिहरुले किन सत्ता जन्माउन सकेनन?
किन रक्सीले शासन लगाउन सकेन?
यो विशाल विश्व ब्रहमाण्डमा,
किन लोकल गिलासहरुमा किन सत्य अटाउन सकेन?
बिहान म पागल झै दोभानमा बसेर सोचिरहेछु
बिहान म होटल दोकानमा बसेर हेरिरहन्छु
कुनै सम्भावना र विकासका जोखानाहरू
मलाई यस्तो लागिरहेछ
अनबरत
केवल
म सोचिरहेछु
अफ्सोच अनि एकैछिनमा कोही आएर मलाई भन्छ?
अक्सर अनि एकैछिनमा छेवैको कुनै किनारा पसलबाट आएर कसैले
मलाई यसरी सोध्छ?
कान्छा अँझै रित्तिएको छैन कि क्याओ हिजोका
ती बोतलहरु…..?
अँझै उत्रिएका छैन कि क्या ओ! हिजोका ती नशाहरु?
भाइ आज त उज्यालैमा दिन थालिएछ नि?
मलाई उस्ले यसरी नाजवाफ प्रश्नहरू सोध्छ
मानौ कि,
त्यो मान्छे म नै हो
जो हिजो घुमिरहेथ्यो रातभर एकल!
त्यो मान्छे म नै हो जो
मानौ कि,
उस्लाई मैले यही भट्टीहरुमा बसेर हिजो
मुसोले मजदुर किसानलाई भुसभित्रको चामल नखाने अठोट राखे झै
रक्सी नखाने, या चाहे जुन सुकै भट्टी नजाने
सपथ कसम खाएको छु
र अहिले म रक्सी छाडेको खुशीयालीहरुमा
फेरि पनि ती शर्तहरू तोड्नलाई
रक्सी पिउन बिहानै त्यही भट्टी आएको छु ।
अहिले दोकानमा बसेर म सोचिरहेछु कि
किन म कहिले नेता बन्न सकिन?
सायदै सधैं सधैं मेरो चोकको हाम्रो काबेली होटलहरुमा
सधैं सधैं यी गल्लीहरुका भट्टी मधुशालाहरुमा
सधा झै बेरोजगारहरुका हुतियार छलफलहरू भैरहन्छन
कानूनी बकवास बहसहरू भैरहन्छन
अनि इजलासका असर
र फैसालाका अर्डरहरू
फैलिएर
कुनै पुरानो बुडो बाजे हजुरबुवाको जुवाघर
या,
सन्तमानको वर्तमान सेकुवा कर्नर कटेज र धुवाघरसम्म पुग्छन ।
अनि दौडिरहन्छन कुनै मतुवाहरू पनि मुस्किलले हनुमानको मन्दिरसम्म
अनि,
भतुवा भक्तहरू भने भट्टी र मतुवाघरसम्म पुग्छन
बकवास,
यी मन्दिरका माझी र पुजारीहरू पनि पाहुना बनेर
तास र बाजिघरहरुसम्म पुग्छ्न
जान्छ्न
हरेक दिन म देखिरहन्छु
हरेक दिन म म देखिरहेछु
र, सोचिरहेन्छु
खैर ! उनीहरू जहाँ सुकै जाउन् !
खैर ! उनीहरू जे सुकै खाउन् !
तर ती ठमेलको जेलजस्ता
यी थुनुवाबन्द कोठाका भट्टीहरू
कारागारहरू हुन :
र,
कारागारहरू ! रहेछन्
कारागार!
जहाँ निर्धामान्छेहरुलाई मात्र कैद गरिन्छ
जहाँ सज्जनहरुलाई अभियोग लगाएर
फसाइन्छ
बसाइन्छ
अनि अपराधी झै जबर्जस्त जीवनभर जेलमा जकाइन्छ
मानौ,
निर्दोषी नै किन नहोस?
हिरासत अनि अनुसन्धान सकिएर
जमानतमा
फर्किएको चाहे जुन सुकै विश्वासिलो मनुस्य
वा,
ईश्वर नै किन नहोस!
अफसोच!
उस्लाई अरुले फटाहा र अपराधी नै भन्छ
अफसोच उस्लाई आफ्नै घर परिवारले नै पापि गन्छ।
बासपार्कको बेश्यालयजस्ता ती चोकका
घरबार भाडुवा भट्टी दोकानहरुमा
बिहान म बस्दा मलाई कसैले सोध्यो कि हेर!
आगनमा बास्दै अन्नधान खान आएको भालेलाई झै गरेर भन्यो कि कसैले
कान्छा आज त त पनि रक्सी खान छिटै आइछस् नि?
यसरी नै हरेक बिहान,
मेरो देशमा रातको कुनै असत्य ईतिहास
र बिगत सत्य साबित हुन्छ,
भट्टीहरुबाट साझमा ध्रुबसत्य सूर्य पुन:पूर्वबाट उदाउँछ
अनि भोलिपल्ट पूर्वस्मृतिहरू गुमाउँछ
अनि दिनभर जुनताराहरुले पनि प्रकाश जुर्मुराउँछ
सिउँदै अदृश्य प्रेतात्मा पनि सुल्सुलाउँछ
एक असम्भव !अपवाद!
अनि एक जटिल अञ्जान इतिहास!
फगट एक गिलास रक्सीको नशाहरुमा
सजिन्छ !
अल्कोहलहरुको बोतल तलतल तहल्काहरुभित्र
रङ्गिन छ दुनिया::
अजीव अब्यस्त अशान्त उल्लुहरुको सुन्दर क्रान्तिपुर!
मेरो देशमा भट्टीहरू भागवतहरुले सजिन्छ,
मेरो देशको अदालतहरू दुधमा डुबेको
लुकेको पानी झै
बिलिन्छ!
अन्धकारमा जुर्मुराएको कुनै अन्धोको सचेतना जस्तै
मेरो देशको भट्टीहरू भगवान भागवत गीता र अद्भुत धर्मले बनेको छ
मेरो देशको न्यायलय भडारमा राखिएको नूनचिनिको मिश्रित एक बोरा:
जहाँ, बनेको एक कप चिया सुगर
र अर्को कप प्रेसर रोगीलाई दिइन्छ
भने अन्तिमको ठुलो कप चाहिँ बडेमान भुँडीको
पेटको ग्याँसट्रिक रोगीहरुलाई दिइन्छ
रातमा मेरो देशको भट्टीहरू भागवतले सजिन्छ:
मेरो देशको
अदालतमा जँड्यहाँ लोग्ने र बेश्या स्वास्नीको
केस डिभोर्सबारे बृहत् बहस हुन्छ!
बिहान,
मलाई भट्टीमा कसैले सोध्यो कि कान्छा उज्यालोमै दिन थालिएछ नि ?
र अहिले म घरको बार्दलीमा बसेर भनिरहेछु कि,
ती दोकानका मभन्दा जेठा बाठा अनि चतुरमान मान्छेहरू
किन वकिल बन्न सकेनन?!
म अहिले सोचिरहेछु,
आखिर त्यो मान्छे को हो,
जो हरेक रात हामी निदाएपछि बत्ती निभाएर
सधैं बुद्धको सालिकहरू भत्काउदै हिड्ने गर्दछ ?
