Skip to content


तिमीलाई थाहा हुनुपर्छ ।
ए ! ठुली
तिम्रो श्रीमान् आर्थिक लडाइँमा छ ।
बचाउनलाई तिम्रो त्यो नाकको फुली ।

विदेशी गल्ली गल्लीमा
बनेको छ कुल्ली
बैशालु शरीरलाई पगाली
पसिनाका कयौ थोप्पा थोप्पाहरू निकाली
त्यही कयौ थोप्पाहरुको मिलनबाट बनेको
नदीझैँ बग्ने मौनताका यी दिन र रातमा
सन्तानको सुनौली भविष्य खोज्दै
सस्तो मूल्यमा बेचिरहेको छ श्रम
यो मरुभूमिहरुमा डुली
ए ठुली !
बचाउनलाई तिम्रो त्यो नाकको फुली ।

हरपल आउँछ तिम्रो याद
भएको छ पहाड झैँ चुली
प्रवेश गर्छौ तिमी साँझ परेपछि
तिम्रो सुन्दर आकृति बोकी
लाग्छ त्यो जुनझैँ !
कोइली झैँ विरहको गीत गाउँदै
मुस्कुराउछौ गुलाफी ओठमा
लाग्छ !
त्यो सुन्दर फुलझैँ फुली
म ठिक त्यसै समय
म कल्पनामा डुब्दै
बनेको हुन्छु पुतली
रमाउँदै चुम्मेको हुन्छु
तिम्रो त्यो प्रत्येक सुन्दरताको
कोमल भागमा डुली ।

यसरी बित्छन रातहरू
सपनामा खुल्दै भुली
दिनहरू बित्दैछन
बनेर प्रवासमा कुल्ली
खोज्दै सन्तानका सुन्दर दिनहरू
र बचाउन तिम्रो त्यो नाकको फुली
अब ए ठुली
क्षणिक सन्तुष्टि भुली
कर्तव्य र जिम्मेवारलाई
तिमीले बुझ्नु पर्छ ।

जिन्दगी कर्म हो र त्याग पनि
जिन्दगी दिनु हो त लिनु पनि
जिन्दगी प्राप्ति हो त गुमाइ पनि
जिन्दगी आनन्द हो र दुखाइ पनि
जिन्दगी हाँसो हो र रोदन पनि
जिन्दगी सम्मान हो त अपमान पनि
जिन्दगी जन्म हो त मृत्यु पनि
जिन्दगी शुरुवात हो त अन्त पनि
जसरी, दिन र रात मिलि सृष्टि बनेको छ ।

-नवराज योञ्जन
हाल – अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *