Skip to content

‘जिन्दगीका भासहरू’को शैल्यक्रिया


परिचय
डा. मेघराज ढकालको जन्म २०१३/०४/२२मा निबुवाबोट आँधीखोला गाउँपालिका –६ मा भएको थियो र हाल वहाँ टोखा नगरपालिका –७ काठमाडौमा बसोबास गर्नुहुन्छ । उहाँ पिता भेजीप्रसाद ढकाल र माता छलीदेवी ढकालका सुपुत्र हुनुहुन्छ । पेशाको दृष्टिकोणबाट हेर्दा उहाँ एक कुशल प्राध्यापक स्वतन्त्र अध्ययन र अनुसन्धानकर्ताको रूपमा आफूलाई परिचय गराउन सफल व्यक्तित्व हो । व्यक्ति एक भए पनि उसको कर्मको आधारमा हेर्दा ऊ बहुआयामिक हुन्छ । डा. ढकालज्यूलाई एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । उहाँले शिक्षा, जनसङ्ख्या तथा अर्थशास्त्र तथा स्वास्थलाई केन्द्र विन्दुमा राखेर अनुसन्धान गर्दै विद्यावारिधिको उच्चतम शैक्षिक योग्यता हाँसिल गर्नुभएको छ । स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरको रूपमा उहाँको संलग्नता देखिन्छ । सामाजिक विषय बस्तुमा निरन्तर कलम चलाइरहने मात्र नभै साहित्यिक लेखनमा पनि उहाँको लेखन तीव्ररूपमा अगाडि बढिरहेको छ । विभिन्न संस्थामा आवद्ध हुनुहुन्छ । साहित्यिक सामाजिक सस्थालाई उच्चाइमा पुर्याउन स्याङ्जा साहित्य परिषदको संस्थापक कोषाध्यक्ष र ज्याग्दीखोला साहित्य प्रतिष्ठानको विशिष्ट आजीवन सदस्यको साथै ढकाल समाज, माथिल्लो आँधीखोला विकास मञ्च, स्याङ्जा साहित्य प्रतिष्ठान र पूर्व कर्मचारी सेवा परिषद–नेपाल जिल्ला शाखा स्याङ्जाको आजीवन सदस्यमा रहेर सेवा दिन्दै आउनु भएको छ । उहाँको कामको उच्च मूल्याङ्कन गर्दै विभिन्न संस्थाहरूले पुरस्कार र सम्मान पत्रले अभिनन्दन गरेका छन् जस्तै २१० सालमा नेपाल विद्याभूषण ‘‘क’’, रेडियो नेपालद्वारा आयोजित स्वदेश गान (२०५२)मा प्रथम पुरस्कार सामुदायिक सेवा केन्द्र महाराजगञ्जद्वारा प्रशंसा पत्र (२०५४) श्रीभगवती उच्च माध्यमिक विद्यालय, लामिस्वाँरा फापरथुम स्याङ्जाद्वारा सम्मान (२०७१)।

प्रकाशित कृतिहरू–
ढकालज्यूको कलम आफ्नो अध्ययन/कार्यगत क्षेत्र लगायत साहित्यमा चलेको पाइन्छ । उहाँका स्वलेखन र सहलेखन प्रकाशित कृतिहरू यस प्रकार छन् –

स्वलेखन –
१. जिन्दगीका भासहरू गीतिकाव्य (वि.सं.२०७४) २. मृतिका र म (कवितासंङ्ग्रह, २०७४) ३. Influence of Education on Maternity Care in the Selected Districts of Nepal, LAMBERT Academic Publishing, Germany (2010) र ४) बूढो शमीको रूख (गीत तथा कविता सङ्ग्रह, २०७६)

सहलेखन –
1. Nepal Demographik and Health Survey (NDHS 2006), 2. Nepal Demographik and Health Survey (NDHS 2011) . 3. Maternal and Child Health in Nepal, The Effect of Cast, Ethinity and Regional Identity (2013), Further Analysis of the 2011 NDHS. 4. Developping a Programme for the Effective Health Sector Decentralisation in Nepal (2003). 5 . Developping Health Sector Decentralisation in Nepal (2003).

कृतिको संरचना –
आवरण पृष्ठ बाहेक कृति बयानम्बे पृष्ठमा (१४+७८) संरचित छ । यस गीतिकाव्यमा ३० वटा शीर्षकमा काव्यका घटनाक्रमलाई सजाइएको छ । अन्तिम ३ पृष्ठमा गीतिकाव्यका पात्रहरू र घटनाक्रमलाई जोडिएको छ । काव्यको मूल्य १७५/–रु. छ । अग्र आवरण पृष्ठमा चिन्तित अवस्थाकी बसेकी महिलाको चित्रले सजाइएको छ भनेपछिल्लो आवरण पृष्ठमा काव्यकारको सङ्क्षिप्त परिचय दिइएको छ ।

यस गीतिकाव्यप्रति साहित्यकारको धारणा–
स्याङ्जा साहित्य परिषदका अध्यक्ष महेस्वर शर्माज्यूले यस काव्यलाई शुभकामना दिन्दै लेख्नुहुन्छ –‘‘दैनन्दिन व्यवाहारमा घटित भैरहेको मर्मस्पर्शी घटनालाई लिएर लेखिएको हुनाले यसले सम्बन्धितहरूका विरह–व्यथालाई सामूहिक वाणी दिइएको छ । यो यथार्थको प्रतिविम्ब भएको छ ।’’ यस खण्डकाव्यप्रति वरिष्ठ साहित्यकार तथा भाषाचिन्तक मुकुन्दशरण उपाध्यायले शुभकामना दिन्दै लेख्नुहुन्छ –‘‘कवि ढकालले नेपाली नारीजातिका समस्यालाई मार्मिक कथाका रूपमा पस्कने प्रयास गर्नुभएको छ । जुन कथाले दक्षिण यसियाकै सामाजिक परिस्थितिको प्रतिनिधित्व गर्दछभन्दा अत्युक्ति हुँदैन ।’’

कृतिभित्र प्रवेश गर्दा –
काव्यको थालनी ‘गोधूलि’ शीर्षकबाट गरिएको छ । प्रायः कव्य लेखनमा काव्यकारहरूले मङ्गलाचरणबाट थालनी गरेको पाइन्छ । यहाँ ढकालजीले नविनत म रूपमा काव्यको प्रस्तुति गर्ने प्रयास गर्नुभएको छ । ‘गोधूलि’को अर्थ नेपाली बृहत शब्दकोशले यसरी परिभाषित गरेको छ –‘वनमा चरेर घाम डुब्ने वेला गोठतिर फर्केका गाईका खुरले उडाएको धूलो, शुभ कार्यको लागि उपयुक्त मानिने धूलो, घाम डाँडामा बस्ने बेला भएको समय, प्रसिद्ध एक मुहूर्त’ । यी परिभाषालाई विश्लेषण गर्दा, हाम्रो संस्कृति परम्परालाई हेर्दा एक शुभ मुहूर्तमा यस काव्यकी नायिकाका पिताले नायिकालाई भन्छन् –

‘‘गोधूली साँझ धिपधिपे बत्ती बलेका बेलीमा
बाबु र छोरी संवाद भयो ढिकरी छेउमा
‘‘नानुको बिहे छिनियो अब सकियो झञ्झट
कया राम्रो बर खोजेर ल्यायौं रोजेर जगत ।’’

बाबुले जागीरे बरलाई खोजेको बीचमा केही घटना भए पेन्सन हुँने आदिको कारणले गर्दा नायिका भाग्य मानी भएको धारणा राख्दा छोरीले पढ्ने इच्छा भएको,छोराले सरह घरको सहायता गर्ने आदि धारणा राख्दा पनि बाबुले छोरीको पुकार नसुनेको र छोरीले आमाको मृत्युवरणको स्मरण गर्दे उनको भावनालाई कसैले नसुनेका धारणा सहित यो शीर्षक समाप्त हुन्छ

सौताने आमासँग वार्ता –
यस शीर्षकमा सौताने आमा र गीतु (नायिका) बीच विवाह सम्बन्धमा वार्ता हुन्छ । आमाले सत्र वर्ष भएकीले विवाह गर्ने समय आएकोले बाबुले ल्याउको केटासँग विवाह गर्नु पर्ने, जति बढी उमेर भयो खर्च बढने, पढेका छोरीहरूले जात भात केही नभन्ने आदि कारणले गर्दा बेलैमा विवाह गर्नु पर्ने धारण राख्दछिन् । छोरीले विवाहको उमेर बीस कटाएर गर्नु पर्ने, छोरीलाई बोझ ठान्न नहुने विवाहमा गर्ने खर्च अध्ययनमा लगाइ दिने आग्रह यसरी राख्दछिन् –

‘‘ बिहेमा खर्च नगरौं आमा त्यो खर्च मलाई
देऊन आमा म पनि पढ्छु त्यै मेरो भलाइ
हे मेरी आमा ! हजुरको पीडा मलाई नसरोस्
निरक्षर हुँदा कतिले ठगे त्यो भोग्न नपरोस् ।’’

गीतुको आग्रहलाई सौतने आमाले स्वीकार्दिनन् ।

आामाको सम्झना –
गीतुले आफ्नो विवाह करमा परेर हुने भए पछि स्वर्गीय आमालाई सझिन्छिन् । गीतुकी आमाले छोरा र छोरीमा कुनै फरक हुँदैन, एउटी छोरी मात्र भए पुग्छ भन्दै बन्धयाकरण गर्न खोजिन् तर घुम्ती टोली गएकोले बन्ध्याकरण हुन सकेन । त्यही बेला गर्भ रहेर, मरेको छोरा जन्माएर आफू पनि स्वर्गे भएको धारणा सहित यो शीर्षकको समाप्ती हुन्छ ।

विभेदमा नौलो रीत –
यस शीर्षकमा आजको हिमाल पहाड तराईमा छोरा र छोरीमा देखिएको विभेदलाई यस शीर्षकले समाएको छ । स्वर्गको बाटो खुला गर्न छोरो चाहिने, एक्सरे गर्दा छोरी देखिए गर्भ पतन गराउने, छोरी नभए बुहारी नहुने भन्ने ज्ञानको कमी, नारी स्वतन्त्र भयौं भन्ने कुरा, नारी सशक्तिकरण कुरा आदि यस शीर्षकले समेटेको छ ।

मधुको चाह –
यस शीर्षकमा यस काव्यका नायकको चाहनालाई प्रष्ट्याइएको छ । गाउँमा अध्ययन गर्दा विषय शिक्षकको अभावले गर्दा फेल हुने लक्षण देखिनु र शहरमा गएर पढ्न पैसाको अभावले गर्दा नसकिने भएकोले मधुका बाबा र मधुको बीचमा स्वदेशमा काम पाउन नसकिने भएकोले विदेश जाने वार्ता हुन्छ । पैसावालाहरू कोरिया जापान खाडी जाने पैसा नभएकाहरू भारतमा जाने र पल्टनमा भर्ना हुने, पल्टनमा भर्ना हुन नसके भाँडा माझ्ने काम गर्नु पर्ने हुँदा मधु गल्लावालासँग कुरा गरेर कुडाघाट गएर पल्टनमा भर्ना हुने धारणा यहाँ प्रष्टिएको छ ।

पल्टनको दिनचर्या – यस शीर्षकमा कुडाघाटमा गएर भर्ना भएर घरमा तीन वर्षे छुट्टीमा घर आउने र राम्री केटीसँग विवाह गर्ने धारणा राख्दै पल्टनको खानपानको विवरण सहितको पत्र मधुले घरमा लेखेको विव।रण यहाँ आएको छ ।

स्वयम्वर –
यस शीर्षकमा १६ वर्ष लाग्दो उमेर, स्कुलको पढाई, अँझै पढ्ने रहर हुँदा हुँदै स्वयम्वर गर्नु परेको, स्वयम्वरमा गरिने कर्महरू सबै गरेको धारणा यहाँ आएको छ ।

दुलाहाको आँगन –
यस शीर्षकमा मधुको विवाह बैशाख महिनामा भएको, विवाहमा नौमती बाजा बजेका, मागल गाइएको,नाच गान, रतेली गीत, बत्ती पनि धिप धिप बलेको आदि बर्णन गरिएको छ । बत्तीको प्रकाशले अशुभ सङ्केत दर्शाएको देखिन्छ ।

यो मुटु घर्कियो –
यस शीर्षकमा बेहुलीको घरको यज्ञको बर्णन गरिएको छ । यज्ञ सजाइएको, रातको प्रथम प्रहर भात भान्सामा बितेको, दोस्रो प्रहरमा विवाहको काममा, तेस्रो प्रहर सिन्दूर शिरमा राखिएको र अन्तिम प्रहर डोलीको काममा बितेको ।यसरी विवाहको अन्तिम अवस्थामा दुलहीलाई घर कस्तो छ आदिको जानकारी नभएको र बाजा घुमाएर बजाउँदा वेदना चर्किएको, ‘जन्मेको घर छाडेर जाँदा मुटु नै चर्कियो’ भन्दै यो शीर्षक सकिन्छ ।

दाइजो हट्छ कि ?–
यस शीर्षकले आजको जल्दोबल्दो समस्याको रूपमा देखिएको दाइजो प्रथा र यसबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने बारेमा वर्णन गरेको छ । विवाहमा के कति दाइजो ल्यायो, कुल अनुसार दाइजो दिइयो दिइएन,दाइजोको कारणले गर्दा जलेर मर्न परेका घटनाहरू गरिबलाई दाइजो चलनले पीर भएको, आदिको विश्लेषणात्मक विवरण यहाँ आएको छ । जीवन साथी आफैले रोजे यस दाइजो प्रथाबाट मुक्ति प्राप्त गर्न सकिन्छ कि जस्ता प्रश्न वाचक सहित यो शीर्षक समाप्त भएको छ ।

विदेश जाने बेला –
यस शीर्षकमा विवाहपछि जागीरमा जाने वेला मधु र गीतु बीचको कारुणिक वार्तालापलाई समेटिएको छ । महाकावि लक्ष्मीप्रसाद देवकोटाको मुना–मदनमा मुना र मदनका बीच भएको कारुणिक वार्ता सरह नै यहाँ पनि कारुणिक्ता दर्शिको छ । कारुणिकता पोख्न काव्यकार खप्पिस देखिन्छन् । यो शीर्षकको अध्ययनमा सबैका आँखा रसाउँछन् । आजको नेपाली समाजमा विवाह गरेर विदेशीने क्रम र तिनका परिवारमा पर्ने मार्मिक मर्म र वेदनाको यथार्थता यस शीर्षकले समेटेको छ । आफ्नो विवाहपछि आफ्नो परिवारसँग बस्न को चाहदैन र ऋृणको बोझ, गरिबी, रोजगार पाउन नसक्नु, हातमुख जोड्नको बाध्यता आदिले आजका युवा विदेशीनु परेको छ र देश युवा विहीन बन्दै गैरहेको छ । यसरी विदेशीनुको पीडा पतिपत्नी बीचमा साटासाट गर्दाका भावनालाई ढकालज्यूले सुन्दर रूपमा चित्रण गर्नुभएको छ –

नजाऊ मधु त्यो पापी धन यहीं नै जुट्छ रे
पहरा फोरे धनको ठुलो मुहान बग्छ रे
के काम पापी धनको मधु मरेर जाने हो
कमाई नाम धर्म र कर्म बोकेर लाने हो ।
(पृष्ठ २३)

‘पहरा फोरे धनको ठुलो मुहान बग्छ रे’ कति वास्तविकता छ । हो धन कहाँ छ त ? पसिनामा नै त छ ।

हाड र छाला मात्र पो रहे त्यो तिम्रो आँसुले
भक्कानो अब मुटुमा पर्यो तिम्रो अर्तीले
मोतीका दाना नझार अब समय छोटो छ
अत्यास लागे हातमा तिम्रो हँसिलो फोटो छ ।
(पृष्ठ २४)

आँखाका आँसु–
यस शीर्षकमा मधु आफ्नो घरबाट निस्केर बेसीको खेत हुँदै द्यौराली डाँडाको चरीको गीत सुन्दै, ऐसेलु, काफलको स्मरण गर्दै,सर्पझै बग्ने आँधीखोला र सेती तर्दै, डाँडोमा चढ्दै, मनका पीरलाई सम्झदै नौ–डाँडा पुग्दै पल्टनलाई सम्झदै, वालिङ्गमा पुगेर ‘आँखाका आँसु मधुले पुछ्यो रुमाल झिकेर’ आदि प्राकृतिक चित्रणको साथमा यो शीर्षक समाप्त हुन्छ । प्राकृतिक चित्रणले गर्दा काव्यको गरिमा बढेको छ । यस्ता प्राकृतिक सौन्दर्य काव्यकारले ठाउँ ठाउँमा पस्केका छन् ।

बाडुली लाग्ला कि ?–
एउटा उखानै छ कि देखे लाग्छ माया सम्झे लाग्छ बाडुली भने झै यस शीर्षकले गीतुले मधुलाई सम्झदै आफ्ना मार्मिक भावनाहरू पस्केकी छन् । यसमा गीतुले आफ्नो भर्खरै विवाह भएर पतिलाई रोजगारमा पठाउँदा मनमा उठेका वेदना, रूपसी भेटे भुल्ने पो हो कि भन्ने आशङ्का, जाँदा बाटोक विकटता, सपनी जस्तो मिलन, पिरती नचुडिने, मनको धोका मनमै रहको, नजाऊ पर भनेको पनि नमानी गएको जाँदा बाटोमा सम्झना आयो कि आदि धारणा सहित उनले मधुसँग प्रश्न राख्छिन् –

त्यो तिम्रो देह दयालु बोली कसरी बिर्सने ?
टाढा नै पुगोस् त्यो तिम्रो देह म यही सम्झिने ?
हाँसो र खेल गरेका शब्द रीति नै विस्र्यौ कि ?
सम्झेको क्षण घाँटीमा आई बाडुली लाग्ला कि ?

बिर्सिन्न पोखरा –
यस शीर्षकमा सुहागरात मान्न गीतु र मधु पोखरा गएको र पोखराको फेवाताल, पातलो छाँगो, रानीवन, वीरेन्द्र गुप्फा, इन्द्र धनुको २४ सै घण्टा दर्शन गरेको, माछापुछ्रेको छायाँ, फेवातालमा ऐना झै टल्केको विन्ध्येस्वरी, महेन्द्र गुफा को निर्माण र जाडोको वेला सुन्तलाको सुनौले टल्कन आदि पोखराको प्राकृतिक सौन्दर्यको अवलोकनलाई बिर्सन चाहेर पनि विर्सिन सकिदैन भन्ने धारणा आएको छ ।

बूढाबाको चिठी–
यस शीर्षकले आजको नेपालको अवस्थालाई यथार्थ चित्रण गरेको छ । युवा पलायन छन् । बूढाबूढीले विदेश जागिरको सिलसिलामा गएका छोरा नाति कहिले फर्केर आउँछन् भनेर आगन कुरे र बसेका छन् । जग्गा बाँझो भएको छ, गरिबीको कारणले साहुकोमा गएर जीवन धान्न गाह्रो भएको छ, खेतको उत्तपादन र व्याउने भैंसी पनि साहुको भाकामा छन् । गरिबका छोरा छोरीले बोर्डिङ्ग पढ्न सक्दैनन् र अन्याय सहेर बस्न परेको छ । गाउँमा ओखतीमूलो नभएर अस्पताल नभएर अकालमा मर्नु परेको छ । मानिस मर्दा लास उठाउने मलामी गाउँमा पाइदैनन् । फटा फकिरहरू नेतामा चुनिन्छन् । चुनिएपछि गाउँ फर्कदैनन् । कर्मचारीले जनताको पीरमर्का बुझ्दैनन् । केही काम गर्न गए घुस चाहिन्छ । भूकम्प, बाढी पैह्रोले भत्केका घर आदि बन्न सकेका छैनन् । नेपाल पवित्र भूमि हो, यहाँको कला र संस्कृतिलाई विदेशीले सिकेर जान्छन् । विवध कारणले गर्दा आज देशलाई विकास गर्न युवाहरूको खाँचो छ । देश विकास गर्न फर्केर आयु भन्दै हजुर बाले नातिलाई चिठीमा यसरी आग्रहगर्दछन् –

हुन त बाबु ! संसार सबै एउटै छाना हो
तैपनि आफू जन्मेको ठाउँ पछाडि पर्दा हो
घाँसको सप्को आँसीले पनि आफैमा तान्दैछन्
अब त गाउँ आऊ है छिटो विकास माग्दैछन् ।
(पृष्ठ ३६)

यो सालको तीज –
यस शीर्षकमा गीतुको जीवन आज आँसुमा भिजेको,, बैंश उडेर गएको,माइत जानको लागि फरिया फाटो नभएको, माइती घरका दौतरी खसमसँग रमाएका, तीजको गाएको गीत र मादलको स्वर पनि विरह स्वरमा गुञ्जिएको आदि मार्मिक धारणा स्पष्ट पारिएको छ ।

तीजको गीत –
तीज नेपाली महिलाहरूको यस्तो पवित्र चाड हो जस्मा वर्ष भरिमा आफूले, देशले, समाजले, भोगेका, विकृति विसङ्गतिहरूलाई ओकल्दै समाज सुधारको पक्षमा आफ्ना भावनालाई दर्शाउँछन् । यो शीर्षकमा पनि छोरा र छोरीमा विभेद हुन नहुने, विकसित देशका महिलाले चन्द्रमा पुग्न थालेका नेपाली महिला भीरतिर भएका, महिलाको बिक्री, महिलाको कामको लेखा जोखा नराखिनुको कारणले गर्दा महिला पछि परेका, कर तिर्र्न छल्ने, योजना बनाएर मात्र नहुने, उखान टुक्काले पनि देशले विकसित देशलाई जित्न सकिदैन, देशमा विकास गर्ने पढे लेखेका युवा विदेशतिर लाग्नु,नेता जिम्मेवार नबन्नु, माटो सञ्झेर काम नगर्नु, आखिर मर्नै पर्छ पक्षपात किन, नारी माथिको हत्या हिंसाको अन्त्यको चाहना आदि धारणालाई समेटेको छ । छोरा छोरीमा गरिने विभेदको एक श्लोकलाई अध्ययन गरौं –

उही नै बाबु उही नै आमा उही नै कोखमा
दूधको लाम्टो उही नै थियो झरिदा धरतीमा
भाइले भने डटेर खाने घरको सम्पत्ति
छोरीलाई अँझै भनिन्छ किन ? अरुकै सम्पत्ति ।
(श्लोक पृष्ठ ३९)

गीतुको जीवन रोएर वित्यो तर मधु फर्केन भन्दै यो शीर्षक समाप्त हुन्छ ।

क्या धोका फेरिन् –
यस शीर्षकमा, मधुको यादले गीतुलाई सताउँछ, हरेक चाडपर्वको खाने बेलामा मधुको याद आउँछ, दशैको बेला सबै लाहुरे घरमा आउँदा गीतुले बाटो कुरेर बस्छिन्, मधु आउदैन, गीतुले मधुको हातको टीका लगाउन पाउँदिनन्, सबैका जोडी हिडेको देख्दा उनको मन बुझ्दैन र मनको बह रोक्न नसकी धोका फेरेर रुन्छिन् भन्ने धारणा आएको छ ।
आजको सपनी– यस शीर्षकमा मधुले राती गीतु हाँसेको, परेली भाँचेको, कानका मुन्द्री, हातका चुरी छनन बजेको, मधु हिड्ने बेला बलिन्द्र आँसु झारेको, स्वदेश छाडी विदेश किन जानी भनेको, बेसीका तौली धानमा असिना परेको, पालेको भैसी भकारा परेको, बिरामी पर्दा कानका मुद्री अडाना राखेर ओखती किनेको, डाँडाको बारीको पैरोले गैरी पुर्दा आँधी र सेती मिसिदा दोभान डुबेको, घर आउन, छुट्टी नमिलेको, नासो पठाएको हात लागे नलागेको, साहुको साउँ घट्यो कि घटेन, साइतको बेला नङ टोकेर हेरेको गीतुले पठाएको घिऊको ठेकी, कुराउनी पए या पाएन आदि सपनामा देखेर विपनी हो कि भन्दै ब्यूझँदा सपनीरहे छ भन्ने धारणा आएका छन् ।

बसेर जितिन्न –
यस शीर्षकमा गुमानेले राधाको घरमा आएर तिम्रो खसम घरमा आएन, ऊ कक्षामा मिल्ने साथी हो तर तिमीलाई वितरा पारेको छ, ऊ युद्धमा पर्यो कि, केटीले उसको मन विगारे कि, ऊ दुःखमा पर्यो कि आदि कुरामा राधालाई सम्झाउँदै जाने भए श्रीमानसँग पुर्याइदिने धारणा राख्छ । राधाले नजाने धारणा राख्दा गुमानेले जानु नै राम्रो हुन्छ बसेर जितिदैन भन्ने धारणा राख्दै यो शीर्षक समाप्त हुन्छ । यस शीर्षकमा अवला नारीलाई कसरी दलालहरूले फकाउँ छन् र विदेशमा लग्दछन् भन्ने सन्देश दिएको छ ।

छट्टुको भर –
यस शीर्षकमा गुमानेले राधाको मन जितेर नै छाड्छ र राधालाई पतिसँग पुर्याइ दिने प्रलोभनमा भगाएर लिएर जान्छ । रेलमा औषधी खुवाएर लठ्ठयाई दिन्छ गुमाने त्यहाँबाट भाग्छ । राधा व्युउँझदा राधाको आडमा अर्को नेपाली आएर बसेको हुन्छ । ‘वेश्यालयमा तिमी बेचिएकी छौ जे भने पनि मान्नु पर्छ जस्ता भनाई र नमान्दा यातना भोग्नु पर्दा राधाले छट्टुको भरमा पर्दा नेपाल जस्तो स्वर्गपुरी छोडेर नरक भोग्न परेको धारणा यस शीर्षकमा आएको छ । वेश्यालयमा लगेर युवती बेच्ने प्रवृति र बेश्यालयमा भोग्न परेको नारकीय जीवनको ज्वलन्त उदाहरण दर्शाएको छ यस शीर्षकले ।

हेपेर बोल्दथे –
यस शीर्षकले वैश्यालयमा राधाको भोग्न परेको यातना र रोगको कारणले टाउको दुख्नु, भागेर अलपत्र परेको बेलामा नेपाली केटासँगको भेट, आफ्नो ठेगानाको हुलिया बताएर नेपाल पठाउने अनुरोध, नेपालीले पैसा उठाएर नेपाल फर्काइ दिनु, माइत पुग्दा माइती ऋणको भारले गर्दा प्रवास झरेको, घरको सहाराको लागि पुलिसमा पुगेको, महिला हिंसाको बढदो क्रम, नेतृत्व वर्गको ढाँट, छल, विश्वासघात, घूसखोरीको कारणले देश उभो लागन नसकेको, वेश्यालयमा पुगेकाहरूमा रोगको आक्रमण र घृणका पात्र हुनुपर्ने यथार्थतालाई समेटेको छ शीर्षकले ।

किन हो तिमी विदेशी भूमिमा –
यस शीर्षकमा गीतुले कुलक्षणका सपना जस्तै ओराली झरेको, बिरालोले बाटो काटेको, देखेको र आफ्नो कारुणिक वेदना पस्केका कुराहरू आएका छन् । हेरौं वेदनाको एक झलक–

कहिले पुग्छु खस्र्यूको लेक कहिले बेसीँमा
कहिले घाँस खुर्केकी हुन्छू बारीको सुर्कीमा
कहिले बोक्छु दाउरा घाँस कहिले मेलामा
कहिले मूर्छा परेकी हुन्छु आँशुको भेलमा ।
(श्लोक ३, पृष्ठ ५४)

यस शीर्षकमा अध्यात्मिक चिन्तनले पनि स्थान लिएका छन् । मधुले उतै विवाह गरेर बसेका त हैनन् भन्ने आशङ्का पनि दर्शिएको छ । गरिबीको कारणले घर जग्गा बेचेर मुग्लान पस्ने, हावालाई मधुको हालखबर बुझेर आउने आग्रह, आदिको साथै पापी धनको कारणले घर नै बिर्सेको, बेलुकी गुडमा चरो पनि फर्किन्छ किन तिमी विदेशी भूमिमा प्रश्नवाचक सहित यो शीर्षक समाप्त हुन्छ ।

लैजाऊँ रे सन्देश–
यो शिर्षकमा मधुले हावालई आफ्नो सन्देश गीतुसँग लान र गीतुको मीठो जवाफ बोकेर ल्याउन आग्रह, विदेशी भूमिमा पाइने पक्षपात, युद्धमा पानीको भरमा बाँच्न पर्ने आदि सोचको बीचमा गोली आएर मुटुको छेउहुँदै आन्द्रा नै चुड्नु, टुम्लेटको पानीले घाऊ धुनु, नेपाली फौजलाई अगाडि लगाएर लडाइने, आदि मार्मिक धारणलाई यस शीर्षकले समेटेको छ ।

आँखा चिम्लियो –
यस शीर्षकले युद्धमा हुने घटनाक्रम घाइतेलाई उपचार आदि हुन नसक्नुको कारणले गर्दा मृत्युवरण हुने, मृत्युसंस्कारमा गरिने कुनै काम पनि नभै साहूको ऋण तिरेर गीतुको साथमा आमा बाबुको काखमा बस्ने धोका मनैमा रह्यो र मनमै विलायो ‘सपना जस्तो जिन्दगी भयो ऊ आँखा चिम्लियो भन्ने सन्देश दिन्दै यो शीर्षक सकिन्छ ।

के भयो आज –
यस शीर्षकमा गीतुले घरको विविध काम गर्दै विदेशी चाँडै आवस भन्दै सूर्यलाई अञ्जुली जोड्नु, हातको कुचो खसेको, मेवाको डालीमा कौवा कराएको, साहुको ऋण तेब्बर हुन गएको आदि घटना क्रम हुँदै जाँदा हुलाकीले पत्र ल्याएर दिनु, गीतु अनपढ भएकोले पढ्नै सकिन भन्दै यो शीर्षक समाप्त हुन्छ।

कसरी बाँच्ने हो –
यस शीर्षकमा हुलाकीले ल्याएको पत्र मास्टरले पढेर सुनाउँछन्, गीतुको होस उड्छ, गीतुले बिलाप गर्छिन् । पतिप्रति गीतुको विलापले सबैलाई मर्माहत पार्दछ । हेरौ विलापको एक श्लोक –

भित्ताको फोटो टाँसेर हेर्दा बोल्छ कि जस्तो छ
सम्झना गर्दा उनको आज सपना जस्तो छ
लाउँ रखाउँ वयमै आज कसरी गयौ नि ?
जङ्गलको बास कहाँको मरन कसरी डढ्यौ नि ?
(श्लोक ३ पृष्ठ ६४)

को भन्छ बोल्न ए ? –
शिरको सिँउदा नधोउँ भने खसम खसेका
हातका चुरा नफोरुँ भने किरिया बसेका
कपाल मैले नखौरुँ भने कसरी खप्छु र ?
उनको नाममा वैधव्य जीवन दिएर बस्छु म ।
(श्लोक १, पृष्ठ ६६)

वास्तवमा हाम्रो संस्कारमा पतिको निधनपछि पत्नीका सारा शृङ्गार हरिन्छन् र वैधव्य जीवन बिताउनु पर्छ । यहाँ पनि गीतुका सबै शृङ्गार हट्छन् । उनको मनको डढेलो कसैले देख्न सक्दैन । उनले पतिको स्मरण गर्छिन्। यसै समयमा साहू धनको हिसाब गर्न आउँछन् । गीतुलाई लाग्छ जीवनभन्दा धन ठुलो हुँदैन सोच्दै भन्छिन् र उनको भनाइमा टोकाहीको सञ्ज्ञा पनि पाउँछिन् –

आँखामा आँसु बरर झारी मसिनो स्वरले
‘‘पछि नै गरौं हिसाब हामी समय सुरले ’’
सुरिलो स्वर सुनेको वेला ससुरा गम्किए
‘‘टोकाइ ! अँझै तलाइँ यहाँ को बोल्न भन्छ ए ?’’

प्राणी जन्मेपछि मर्छ त्यो कहिले कसरी कहाँ मर्छ कसैले भन्न सक्दैन । नव जात सिसुको जन्म तथा नविवाहित दुलहीको घर प्रवेश भए पछि घरका कुनै सदस्यको मृत्यु या कुनै असुभ काम भयो भने नवजात शिशु तथा दुलहीलाई टोकाह तथा टोकाहीको शब्दले लान्छना लगाइन्छ । यस खण्डकाव्यले हाम्रो संस्कार र समाजको धारणालाई यहाँ पस्केको छ ।

वैधव्य जीवन –
यस शीर्षकमा विधवाको विलौना र एउटी विधवाले एकल महिलाले रूपमा व्यहोर्न पर्ने जीवन अनुभूतिलाई यसरी पस्किएको छ –

पूर्णिमा जून उदाए पनि औंसी है जस्तो छ
श्रीसूर्यनारायण उदाऊन तर अँध्यारो जस्तो छ
यो ठुलो घर भए नि मलाई ओडार जस्तो छ
अमृतै भोजन पाउँदा पनि अरूचि जस्तो छ ।
(श्लोक ३, पृष्ठ ६८)

विधवाप्रति समाजको धारणा –
काव्यकारले यहाँ समाजले विधवाप्रति हेर्ने धारणालाई राम्रोसँग प्रष्ट्याएका छन् । विधवालाई मरे पनि हुने, अन्त्यै गए पनि हुने, वैंशमा विधवा भएकोले जीवन व्यर्थ छ, टोकाही हो, अभागी हो, पोषिलो खाना पहृएमा पैसा दिएमा वैंशकी छे हिड्छे कि कतै भनी शङ्का गरिने, बाहिर हिण्ड्न र डुल्न गर्न बन्देज, हिड्ने बेलामा कसैले विधवाको मुख देखे साइत विग्रिन्छ भन्ने, आदि लान्छना लगाइने गरिन्छ ।

माइतीको धारणा –
बूढालाई होइन डुँडालाई होइन सुनका टुक्रा थे
कुटुम्ब राम्रा, जागीर राम्रो भाग्यमा यस्तै भो
पढ्नमा सारै तिखा नै थिए सुवास उनको
दैवलाई पनि लागे छ राम्रो त्यसैले लगेको ।
(श्लोक १४, पृष्ठ ७१)

माइती घर भएन कर विवाह गरेर
खोजेथे वर राम्रो हो घर करिमै यस्तै हो
एउटा फूल फुटेर गयो रोए आउन्न
बाबाले भन्ने ‘‘करिमै रुखो ’’ सम्झेर भएन
(श्लोक १५, पृष्ठ ७१)

वैकुण्ठ बास –
यस शीर्षकमा घर बस्न नसक्ने वातावरण सिर्जना भए पछि गीतुले घर त्यागको निर्णय लिन्छिन् र आधारातमा आँधी हुरीलाई ठेलेर हातको औण्ठी, पोखरामा खिचेको फोटो साथमा लिएर जीवन सँगीको खोजीमा स्वर्गमा भेट्ने भन्दै हिड्छिन् । यस शीर्षकमा मानिसलाई मर्न बाध्यता नपार्नु नै धर्म हो भन्ने, समाज राम्रो बन्नको लागि कुनै विभेद हुनु हुँदैन भन्ने सन्देश, एकल नारीमाथि सासू, ससुरा देवरबाट दिइने यातना, सतिप्रथा भए मर्ने कुरा, चन्द्रशम्सेरले सतिप्रथा हटाएर राम्रो नगरेको कुरा, लगायत जीवन मरणशील छ मर्दा केही साथमा लगिदैन पाप गर्न हुँदैन, आज पैसाको लागि बुद्धि शरीर बेचिएका कुरा,आदि मार्मिक धारणाहरू यहाँ गीतुले पस्कदै धर्ती मातालाई भन्छिन् –

ए धर्ती माता ! म पहिला पुग्छु कालीको ढुङ्गामा
दोस्रोमा लिन्छु हातमा फोटो शिर त्यो पाउमा
तेस्रोमा खोज्छु म फाल हाल्न, उर्लेको गङ्गामा
चौथोमा हुन्छु बैकुण्ठ बास मधुको काखमा
(श्लोक १६, पृष्ठ ७५)

गीतु प्रश्न बाची हुन्छिन् र भन्छिन्
‘बलेका आगो सबैले ताप्ने निभेको कस्ले हो’?
अन्याय न्याय छुट्ट्याइदिने ईश्वर तैले हो
दिएका दुःख सकिन खप्न त्यसैले आउँदै छु
न्यायको एक दुवार मैले त्यहीं नै कुर्ने छु ।

उपरोक्त कारुणिक धारणा सहित यो काव्य समाप्त हुन्छ ।

पात्र विधान –
चाहे कथा होस् या खण्डकाव्य होस् या महाकाव्य नै किन नहोस् पात्रहरूको चयनले कृतिलाई उच्चाइमा पुर्याउँछ । काव्यकारले यस कृतिमा मधु (नायक), गीतु (नायिका), नायिकाका बाबु आमा (रितु एक) सन्तानको चाहना राख्ने महिला), गीतुको सौतने आमा, बूढीहरू, पुरेत, साथी, (चन्द्रे, रामे, गुमाने) दिदी बहिनी (तीज गीतका चेलीबेटी),, गुमाने (चेलीबेटी बेच बिखन गर्ने खलनायक), राधा भारतीय सेनाका दीपककी पत्नी),दिदी (दलालसँग मिलेर चेलीहरू किनेर वेश्यालय चलाउने महिला), गुण्डा (वेश्यालयमा गमन कर्ता), गल्लावाला (पल्टनमा भर्ती गराउन लाने व्यक्ति), कप्तान, जवान, मास्टर (पढेलेखेको मानिस), साहू (व्याजमा धन लगानी गर्ने धनी मानिस) ससुरा र घर परिवारलाई पात्रको रूपमा चयन गरेका छन् । मुख्य पात्रहरू र पेटबोलीमा आएका पात्रहरूलाई विश्लेषण गर्दा सबै पात्रहरू आआफ्नो स्थानमा सकृय देखिन्छन् । निष्कृय पात्रहरूलाई यहाँ समेटिएको देखिदैनन् ।

काव्यले समेटेका विविध पक्षहरू –
यस काव्यले छोरा र छोरीप्रति शिक्षा आर्जन गर्नमा विभेद, छोरीलाई अरुको नासोको रूपमा समाजले लिएकोले पढाउन पर्दैन भन्ने धारणा आजसम्म बाँचिरहेको छ भन्ने सन्देश, टुहुरी बालिकाले भोग्ने कष्टदाइ जीवनको विवरण, सौताने आमाबाट दिइने कष्ट, गाउँमा विषय शिक्षकको अभावले पढाई अवरुद्ध, देशले दिन नसकेको रोजगारले विदेश पलायन हुन पर्ने वाध्यता यस बाध्यताले गर्दा धरती बाँझिएको, हली बाउसे मलामीको अभाव, शुद्ध पानीको अभावले गर्दा महामारी,जनताले चाहेको लोकतन्त्र भएन, चुनावमा छल, बल र कपट, भ्रष्टचारमा व्यापकता, देशमा शिक्षा र स्वास्थको अभावले गर्दा अकालमा मरण, विदेशमा गएकाका पत्नीहरूको असहजता, चेलीबेटी बेच बिखन, दाइजो प्रथालाई कसरी कम गर्ने भन्ने धारणा, विधवाको कष्टदाइ जीवन जस्ता नेपाली समाजमा घटेका र घट्न सक्ने घटनालाई समेटेको छ । काव्यमा सुन्दर रूपमा प्राकृतिक चित्रण गरिएको छ । राष्ट्रियताका कुराहरू सवल रूपमा उठाइएका छन् । जननी र जन्मभूमि प्रतिको अगाध माया मान्दै नेपाललाई स्वर्गको उपमा दिइएको छ । चौसठ्ठी कला शिल्प र साहित्यलाई बिर्सन थालिएको, तीज, दशैं जस्तो चाडको महिमा, अध्यात्मिक भावना, विदेश पलायन भएका युवालाई नेपाल फर्कन आग्रह, गोर्खाली सेनाको बहादुरिता आदि आदि सत्यतथ्यहरू काव्यमा प्रस्फुटन भएका छन् । वास्तवमा आज देशमा देखिएको महिलाहिंसा, चेलीबेटी बेचबिखन, विदेशी रोजगारमा गएका परिवारमा देखिएको परिवारिक विखण्डन गरिबीको मार,नेतृत्वको अदूरदर्शिता आदिलाई संयोजन गरेर लेखिएको यो वियोगान्त गीति खण्डकाव्य यथार्थताको कसौटी हो । यस्ता घटनालाई सहज र सरल रूपमा समेट्न काव्यकार सफल देखिएका छन् ।

भाषाशैली –
भाषा सरल छ । स्थानीय शब्दहरूले स्थान लिएका छन् । काव्य लोकप्रसिद्ध झ्याउरे लयमा लेखिएको छ । गीति काव्य भएकोले गायत्मक छ । सलल बगेको छ । विभिन्न रसलाई समेटिए पनि करुण रसको प्राथमिकता देखिन्छ भने शृङ्गार रसले पनि सवल स्थान पाएको छ । त्यसो हुँदा काव्यमा मिठास भरिएको छ र पाठकको लागि रुचिकर देखिएको छ ।

शीर्षकीकरण –
यस कृतिको नामाकरण ‘जिन्दगीका भासहरू’। राखिएको छ । यहाँ जिन्दगी र भास दुई महत्त्वपूर्ण शब्दको संयोजन रहेको छ । जिन्दगीभन्दा मानिस जन्मेदेखि लिएर मृत्युसम्मको समय तथा बाँचुञ्जेलको समय हो । जन्मेर नमरुञ्जेलको बाँच्ने पद्धति पनि हो । भासभन्दा गाडीने ठाउँ, धाप दलदल भन्ने बुझाउँ छ । जब मानिस भासमा पर्छ भासबाट बाहिरिनुभन्दा झन झन गाडीदै जान्छ । यस काव्यले जीवनका उकाली पक्षलाईभन्दा ओराली पक्षका घटनाक्रमलाई समेट्ने प्रयास गरेको देखिन्छ । हुनत मानव जीवनमा उकाली चढ्न कस्लाई मन हुँदैन र ? यस काव्यले मानव जीवनको विकास, समृद्धिको बारेमा उकाली चढने पनि बुलन्द आवाज उठाएको छ तर मानिस परिस्थितिको दास हो । समयले मानिसलाई जता तान्छ उतै अगाडि बढ्छ । यस काव्यमा घटित घटनाक्रमलाई विश्लेषण् गर्दा ‘जिन्दगीका भासहरू’ शीर्षक सार्थक देखिन्छ ।

अन्त्यमा मैले यस काव्यमा पोखिएका भावनालाई सारांशमा पस्किएको छु । भिभिन्न साहित्यकारका धारणालाई पनि समेटेको छु र सक्दो चिरफार गर्ने प्रयास पनि गरेको छु । काव्यका सवल पक्षमात्र दर्शिए भन्ने प्रश्न उठ्न सक्छ । पूर्णता कहीं पनि हुँदैन । दुर्वल पक्षको विषयमा यस कृतिमा पनि टिप्पणी गर्न नसकिने होइन तर लेखनमा निरन्तरता दिन्दै जाँदा दुर्बलता हट्दै जान्छ र सबलताले समाउँछ । सकरात्मक पक्षलाई समाउँदै निरन्तरताको खाँचो यहाँ पनि छ । ढकालज्यूको सफल साहित्यिक यात्राको प्रशंसा गर्दै बिदा लिन चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
२०७६ साल मंसिर ७ गते,
कावासोती शान्तिचोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *