परिचय–
डा. मेघराज ढकाल (२०१३)को जन्म स्थल निबुवाबोट आँधीखोला गाउँपालिका –६ भए पनि हाल वहाँ टोखा नगरपालिका –७ काठमाडौमा बसोबास गर्दै साहित्य र समाज सेवामा समर्पित हुँदै आउनु भएको छ । उहाँको साहित्यिक यात्रालाई केलाउँदा २०३६ सालमा ‘विश्वदूत ’ सप्ताहिकमा ‘के तिमीलाई लाज छैन ?’ कविता प्रकाशन गरी पदार्पण भएको देखिन्छ । उहाँ २०३८ सालमा सरकारी सेवामा प्रवेश गरेपछि फाटफुट कविताको सृजना गर्दै सेवारत क्षेत्रको दायित्वलाई बोध गर्दै आर्थिक तथा प्रशासनिक लेखतिर उहाँको कलम चलेको पाइन्छ । यसरी नेपाली साहित्यमा कलम चलाउँदै आए तापनि उहाँका साहित्यिक दुई कृति जिन्दगीका भासहरू (गीति काव्य) र ‘मृतिका र म’ (कवितासङ्ग्रह)ले २०७४ सालमा बजारमा पाएका छन् । उहाँको अर्को महत्त्वपूर्ण कृति बूढो समीको रूख (२०७६) गीत तथा कवितासङ्ग्रह मैले अध्ययन गर्दै छु । नेपाली साहित्यमात्र नभै उहाँका सेवारत क्षेत्रका अनुसन्धान मूलक महत्त्वपूर्ण कृतिहरू (५ कृतिहरू) अङ्ग्रेजीमा लेखिएका छन् र बजारमा आइसकेका छन् । नेपाली र अङ्ग्रेजी भाषामा दखल एव म बहु आयमिक व्यक्तित्व डा. मेधराज ढकालको ‘बूढो समीको रूख’ले दिएको गतिशील मार्गदर्शनमा म रमाइरहेको छु ।

कृतिको संरचना –स्वदेश प्रकाशन प्रा. लि. बागबजार काठमाडौबाट प्रकाशित यस कृतिको मूल्य रु. ३०० राखिएको छ । यस कृतिको खण्ड १मा कविता (४०), खण्ड दुईमा गीतहरू (३२) र खण्ड तीनमा सङ्कलित गीत तथा रोइला भजन (९) समावेश गरिएका छन् । कविता विधा अन्तरगतका कविता गीत र भजनहरूको मिश्रिात स्वादको आनन्दमा रमाइरहेको छु । आशा राख्छु सबैले यस कृतिलाई स्वअध्ययन गर्दै स्वादलाई कविता, गित र सङ्कलित गीत रोइला भजनमा) चाख्न पाउनु हुनेछ ।

कृतिभित्र प्रवेश गर्दा –‘समर्पण’ कविताबाट कविताखण्डको प्रारम्भ भएको छ । हाम्रो धर्म संस्कृति परम्पराले गुरुलाई उच्चतम स्थान दिएको छ । गुरु साक्षात् भगवान नै हुन्न जस्का उपदेश सधैं कल्याण कारी हुन्छन् भन्ने हाम्रो विश्वास छ । यहाँ ढकालजीले गुरुप्रतिको उच्च आदरभावको साथै आज आएर गुरुप्रतिको होच्याउने पवृत्ति र गुरु शब्द सुन्दा कोही गुरु रिसाउने र त्यही गुरु शब्दको अङ्ग्रेजी शब्द ‘सर’ भन्दा खुसी हुने जस्ता स्वदेश, स्वभाषा, अपनत्वलाई तिरस्कार गर्दै विदेशिन नहुने जस्ता धारणा राख्नुभएको छ । यस कवितामा जिन्दगीका हरेक पक्षलाई समाउँदै, शिक्षा बोधगराउने अँध्यारो मार्गलाई चिर्र्न सिकाउने, मानवीय प्रवृत्ति सानो खानको लागि र ठुलो नामको लागि रुने, सानोलाई माया र ठुलोलाई आदर दर्शाउने समय बलवान भएको र यही बलवान समायलाई समाएर अग्रपंङ्क्तिमा अग्रसरताको पथप्रदर्शक गराउने गुरुको पाउ पर्दै यस कृतिलाई यसरी समर्पण गर्नुभएको छ –

पैलो अर्पण् वर्णाक्षर जस्ले पढाएथ्यौं
दोस्रो अर्पण् तन्त्रमन्त्र जस्ले सुनाएथ्यौं
तेस्रो अर्पण् जस्ले गाउँमा स्कुल बनाएथ्यौं
चाथो अर्पण् सृष्टि गर्न जस्ले सिकाएथ्यौं ।

मैले यस कवितालाई मङ्लाचरणको रूपमा लिएको छु । वास्तवमा मानव जीवनलाई सही, सफल, राष्ट्रप्रेम, राष्ट्रियता, नैतिकवान, स्वावलम्वी मार्ग अवलम्वन आदि सबैका मार्गदर्शक गुरु नै हुन् । नेपालीमा उखानै छ ‘जस्तो गुरु उस्तै चेला’ । गुरुको सुसन्देशले नै सक्षम नागरिक बन्छन् । यिनै सवल नागरिकबाट देश विकासको बाटोमा लम्कन्छ ।

राष्ट्रियताप्रतिको धारणा – ढकालजीका कविता, गीत, रोइला भजनमा राष्ट्र बोल्छ र जनताका आवाज मुखरित भएर गुञ्जिन्छन् । त्यसैले होला शुभकामना सन्देशमा ‘रामबाबु सुवेदी’ले लेख्नुहुन्छ – ‘‘उहाँका रचनामा गाउँ बोल्छ, हिमाल मुस्कुराउँछ, पाखापर्वत नाच्छन् जीवन तरङ्गिन्छ ।’’ साहित्य समाजको दर्पण हो । आम जनताको विकास नै समुच्चा राष्ट्रको विकास हो । राष्ट्रप्रतिको आस्था, राष्ट्रहितको भावना र राष्ट्रप्रेम नै राष्ट्रियता हो । ढकालजीका सिर्जनाले यस विषयमा उच्च आवाज बोकेको छ, हरेक शब्द शब्दमा राष्ट्रियता झल्केको छ, उहाँले आफ्नो जीवन यै देशको सिपाही भएर मर्ने, यसैका स्रोत र साधनालाई प्रयोग गरेर बत्ती बाल्ने, देशलाई आत्म निर्भर बनाउने, चन्द्र सूर्य ध्वजालाई उच्चाइमा फहराउने जस्ता भीष्मसङ्कल्पको साथमा उनको साहित्यिक यात्रा (कविता लेखन) अगाडि बढेको पाइन्छ । उहाँ भन्नुहुन्छ –

बाँच्ने आधार यै देशको ढुङ्गो माटो बनोस्
श्रीखण्डको बास्ना चलोस् धूलोमैलो हटोस्
शान्त बन्दै नेपाल नाम सर्वत्र फैलियोस्
मेरो देह खरानी भै यै माटोमा मिलोस् ।
(स्वर्गको वागमा श्लोक ७, पृष्ठ १६)

यस्ता गहन भावनाहरू उहाँका सिर्जनामा मुखरित भएका छन् । उहाँ भन्नुहुन्छ –

देश हाम्रो शरीर हो, नदीनाला नशा
बग्ने पानी रगत हो जरीबुटी केश
बक्षस्थल हिमाल हुन् चन्द्रसूर्य आँखा
लैबरीमा नाच्ने सुन्ने तन्नेरीका भाका ।
(राष्ट्रियता खोज्न, श्लोक १, पृष्ठ ११२)

कतै नयाँ नेपालक निर्माण कसरी गराउने भन्ने धारणा, देशलाई उन्नतिको टाकुरामा पुर्याउने धारणा, कतै सुनको थाली हाम्रो देश, हिरा मोती, धान आदि राष्ट्रियताका धारणा पस्कन कविले कञ्जुस्याइँ गरेका छैनन् ।

चाहना र सिर्जना – मानव जीवनमा अनगिन्ती चाहना हुन्छन् । सबै जनाका सबै चाहना पुरा हुन सक्दैनन् । चाहनाको आपूर्तिमा लाग्नु स्वभाविक हुन आउँछ । चाहना गर्नु नै प्रयत्नमा लाग्नु हो । प्रयत्न गर्नु भनेको निरन्तरतातिर लम्कनु हो । कवि भन्छन् –

नदीजस्तै बग्ने मन सङ्ग्लो पानी सधैं
धर्तीमाथि देख्न पाउँ मन हाँसेको सधैं ।

आज यो सङ्ग्लो पानी पनि धमिलिएकोमा कवि चिन्तित छन् । यसरी नै जीवहरू बन्धनै बन्धले जेलिएका छन् । कविले मानिस हरेक किसिमका बन्धनबाट मुक्ति पाउनु पर्छ भन्ने धारणा, मानवका हरेक चाहनालाई ‘मुक्ति देख्न पाऊँ’ भन्ने कविताले समेटेको छ । चाहे ईश्वरीय प्रेम होस् या जीव भित्रको प्रेम होस्, राष्ट्रप्रेम होस् या मायावीय प्रेम होस् जुन प्रेम भए पनि यसले संसारलाई जेलेको छ । मायावीय संसारको यस महाजाललाई कविले यसरी प्रस्तुत गरेका छन् –

मन परेको प्रेमिलाई छाम्न चुम्न पाऊँ
उनैको त्यो हृदयमा टाँस्सिनमै पाऊँ
विश्वासका साथीसँग सधैं जिउन पाऊँ
यै धर्तीको माटो भित्र बाँच्न मर्न पाऊँ ।
(मुक्ति देख्न पाऊँ, श्लोक ७, पृष्ठ ३९)

कविले यस कवितासङ्ग्रहमा शान्तिको चाहना, भ्रष्टचार अन्त्यको चाहना राष्ट्र को समृद्धिको चाहना, देश विकासको चाहना आदि विविध प्रकारको विकृति र विसङ्गति अन्त्यको चाहनालाई समेट्दै, सुन्दर संसारको निमार्णको परिकल्पना गरेका छन् ।

शान्तिप्रतिको धारणा –आजको विश्व असान्त छ । यो असान्तमा शान्तिका नारा पनि धङ्किएका छन् तर सी नारा नारामै सीमित छन् यसको यथार्थ रूप कविले यस प्रकार प्रकट गरेका छन् –

शान्ति–क्रान्ति भन्छौ आज गन्ध बारुदको
उड्छ धुवाँ किन अँझै हिंसा स्वरूपको
बुद्ध, हिन्दू, इसा, मुस्लिम सबै शान्ति भन्ने
भाइ–भाइ मर्दा किन पराचक्री ठान्ने
(शान्ति, श्लोक १ पृष्ठ ३०)

कविको धारणाहरू विश्वशान्ति र विश्वबन्धुत्वको रूपमा दर्शिएका छन् । नेपालमा पुन बुद्ध जन्माउन सकिन्छ । हिटलर जन्माउन हुँदैन । बुद्धले विश्वमा शान्तिको मन्त्र जप्न लगाए, हत्या हिंसाको अन्त्यको पाठ सिकाए जस्ता भावनालाई यहाँ दर्शाइएको छ ।

अध्यात्मिक चिन्तनप्रतिको धारणा– यस कृतिमा धेरै अध्यात्मिक चिन्तनहरू आएका छन् । जीवहरू जन्मन्छन्, आफ्नो कर्म गर्दै जान्छन् अनि मर्छन् । वास्तवमा मृत्यु अनिवार्य सत्य हो । यसलाई कसैले टार्न सकिदैन । मानिस जाँदा छायाँलाई पनि छाडेर जान्छ, पातझरे जस्तो रैछ जिन्दगीको यात्रा र मानिस भए पछि जन्म मृत्युलाई बुझ्न सक्नु पर्छ, मृत्यु अवश्य हुन्छ भन्ने जान्दा जान्दै डराउन हुन्न, धन, सुन, हिरा भन्दै आफ्नो आत्मा बेच्न हुन्न, भन्ने कविको धारणा छ । यो यथार्थ सत्य हो । कविले ईश्वलाई देख्न सकिदैन, तर ईश्वर छ र यो कहाँ छ त भन्ने धारणामा कवि यसरी प्रष्टिएका छन् –

भाग्य माथि हैन ईश्वर कर्म माथि रम्छ
रूपमाथि हैन ईश्वर गुणमाथि बस्छ
क्रोधमाथि हैन ईश्वर मिलनमा बस्छ
पराईको आत्मा चिने ईश्वर नै देख्छ
(ईश्वरको बास, श्लोक ९, पृष्ठ १४)

कवि आफै प्रश्नवाची बन्दै स्वर्ग र नर्क कहाँ छ भन्ने प्रश्न राख्छन् अनि सिर्जनामा छ भन्दै जवाफ दिन्छन् । सुसिर्जनाले स्वर्ग प्राप्ति हुन्छ र कुसिर्जनाले नर्क प्राप्ति हुन्छ । यो स्वर्ग नर्क हामीले यसै पृथ्वीमा देख्न पाइन्छ भन्ने कविको ठम्याइ छ । देवताको बास गाउँमा जहाँ सेवा स्याहार साधना हुन्छ त्यही हुन्छ र जहाँ सत्य, न्याय, विवेक देखे भने देवता रमाउँछन् भन्ने गहन भावनाहरू यस कृतिका रचनाहरूमा पढ्न पाइन्छ ।

द्वन्द्वप्रतिको धारणा – आज संसार भरी रिस, राग, द्वन्द्व छ, रिसकै कारणले दल–बल, गुट–उपगुटको सिर्जना र भाइ भाइमा काटमार छ भन्ने धारणा राख्दै कवि भन्छन् –

कुटाकुट गर्दा मान्छे सधैं मर्न गए,
अहो रात्र असभ्यका रोष मात्रै आए
विश्व युद्ध, सिरियामा गोलाबारूद चले
नाना बाला संसारका यै रिसमा मरे
(रिस, श्लोक ४, पृष्ठ २५)

कविले हिटलरको बाटो लिन नहुने, तेरो मेरो भनेर द्वन्द्व सिर्जना गर्न नहुने, हिंसालाई त्याग्नु पर्ने, जस्ता भावनालाई पस्कदै देशले भोग्न परेको १२ वर्षे द्वद्वकालका मारलाई शिर्षकीकरण नगरी कन समेटिएको देखिन्छ ।

आस्थाप्रतिको धारणा – कविको धारणामा आस्था भनेको विश्वास हो, यसको स्रोत भनेको माटो हो । माटोबाट उत्पादन गरी भोक मेटिन्छ आस्था बच्यो धने गौरव बढ्छ, तर नेपालमा आस्था भत्केको छ र चिराचिरा भएको छ भन्दै कविले आस्थावान बन्न यसरी आग्रह गरेका छन् –

नैतिकता बढाउँदै आस्थावान् बनौ
नयाँ राम्रा खोज गर्दै आस्थावान् बनौं
(आस्था, पृष्ठ २२, श्लोक ७)

राजनीतिप्रतिको धारणा –देशलाई प्रगतिको पथमा लगाउनको लागि राजनीतिको गहन भूमिका हुन्छ । यथार्थतामा देश हाँक्ने राजनीतिले हो । सवल राजनीतिले देशको चौतर्फी विकास हुन्छ । नेपालको आजको राजनीतिले जनआकांक्षालाई समेटेर देशलाई प्रगतिको चोटीमा पुर्याउन विकसित देशको तुलनामा हाक्न सकेको छैन । त्यसैले कवि भन्छन्–

विकसित देश भने नयाँ –नौलो नीति
बनाएर गर्दारैछन् सच्चा राजनीति
तर, हाम्रा जस्ता देश मान्छे मार्ने नीति
बनाएको देख्दा घिन लाग्छ राजनीति
(राजनीति, श्लोक १२, पृष्ठ २८)

जीवन जगत –मानिस जन्मन्छ । बालक दिनमा विभिन्न क्रीडामा रमाउँछ । शनै: शनै: किशोर हुन थाल्छ । यस अवस्थामा उसका जिम्मेवारी थपिन थाल्छन् । यसै अवस्थामा शिक्षा आर्जन गर्छ । यो कलिलो समयमा अध्ययन गर्दा नयाँ मार्गको पहिचान गरेर विभेदलाई हटाएर, छाडापन व्यभिचार छाडेर कर्तव्यमा ख्याल गरेर नैतिकता पढ्दै जन्मेको माटो रोजेर अघि बढ्दा जीवन सफलतातिर मोडन्छ । बृद्धि क्रममा युवा अवस्थाले स्थान लिन्छ । यो अवस्था देश निर्माणमा खर्चिनु पर्नेमा आज देशका युवाहरू विदेश पलायन भएर देशको जमिन बाँझिएको छ, देशको विकास रोकिएको भन्दै कविले जीवन पद्धतिका धेरै कविताहरू पस्किनु भएको छ ।

आँसु पछि हाँसो आए जिन्दगानी मीठो
हाँसो पछि आँसु आए जिन्दगानी तीतो
घडी सुल्टो घुम्यो भने जिन्दगानी मीठो
घडी उल्टो घुम्यो भने जिन्दगानी तीतो
(जिन्दगानी, लोक ८, पृष्ठ ९५)

जीवनमा तीता मीठा खेल, जित हार, गाली ताली, जाल झेल, तेरो मेरो आदिलेभन्दा भन्दै कालले समाउँछ र यो जिन्दगानी कर्कलाको पानी सरह समाप्त हुन्छ । त्यसो हुँदा जीवन सफल पार्न ‘चौडा छाती बनाएर कोल पेल्नु पर्छ, बालुवालाई पेलेर नै तेल झार्नु पर्छ ’ (पृष्ठ ९६) । कविका यी सारगर्भित भावनाले अमूल्य जीवन सफल पार्नु पर्ने धारणा आएका छन् ।

भ्रष्टचारप्रतिको कटाक्ष –देशमा देखिएको व्यापक भ्रष्टचार, हत्या हिंसा बढेको प्रति कवि चिन्तित छन् र भ्रष्टचार मुक्त, अखण्ड नेपालको चाहना छ कविमा –

हत्या हिंसा मुलुकमा सारै चर्को बढ्यो
जतासुकै भ्रष्टचार अत्याचार भयो
सयौं थर फूलबारी यौटै माला थियौं
दुशासन भयो अनि खण्डै खण्ड भयौं
(अखण्ड नेपाल, श्लोक २, पृष्ठ ५१)

विचार्रतिको धारणा–मानिस एउटा विवेकशील प्राणी हो । उसमा विवेक हुन्छ । ऊ तर्कना गर्छ राम्रो नराम्रो छुट्याउँछ । आफ्ना गहन भावनालाई दर्शनको रूपमा प्रकट गर्दछ । यस कृतिमा यस्ता गहन भावनाहरू थुप्रै आएका छन्. जस्लाई हामीले विचारको रूपमा लिन सकिन्छ दर्शनको रूपमा लिन सकिन्छ । उदाहरणको रूपमा ‘कलम कि तरबार’, ‘मदानी’ आदि कवितामा यस्ता विचार आएका छन् । तरबारले रक्तपात गर्छ तर कलममा यसलाई रोक्न सक्ने क्षमता हुन्छ । कलमले ल्याएको परिवर्तन दीर्घकालीन हुन्छ । यसले शान्तिमा संसारलाई डोर्याउन सक्छ तर आवश्यक्ताभने दुवैको छ –

आख्यान र काव्य कथा आरण्यक व्यथा
जे लेखे नि भन्छ यल्ले युद्ध गर्न हुन्न
सन्तुलन गर्न सके कलम र तरबार
वन्न सक्छ संसारमा शान्त घरवार ।
(कलम र तरबार, श्लोक ५, पृष्ठ ६३)

प्रकृतिक सुन्दरता्को चित्रण–यसङ्ग्रहमा कविले प्रकृतिको चित्रण मन खुलाएर गरेका छन् । प्रकृति र मानवीय प्रवृत्तिको सुन्दर संयोजनाट सबैलाई आकर्षण गर्ने साहित्यको सिर्जना हुन्छ । यस कृतिमा यस्ता संयोजन पाइन्छन् ।हेर्यौ प्रकृति चिणको एउटा उदाहरण –

खोला – नाला झर्ना, अर्ना तालै ताल खानी
जता हेर्यो उतै राम्रो प्रकृतिकी रानी
राम्रै रैछ हाम्रो देश जहाँ गए पनि
स्वर्गभन्दा पनि राम्री अप्सरा र धनी
(फूलबारी तिम्रै हो माया, श्लोक ४, पृष्ठ १२७)

यी माथिका धारणा बाहेक युवाहरूको विदेश पलायनले देश समाजमा परेको असर, भाग्यवादी सोच (कर्मवादी र भाग्यवादी वीचको अन्तरद्वन्द्व), विभेदको अन्त्यको चाहना, परिवर्तन रूपसँग डराउनै पर्छ (समय गतिशील भएकोले राम्रा नराम्रा दुवै थरी परिवर्तन हुन्छन् नराम्रा परिवर्तनसँग डराउनु पर्छ), पीरै पीरको संसारमा पिल्सिन परेका धारणा, पैसा र मिजासमा पैसाको अहम्ता, अर्को विहानी (अन्धकार वाट उज्ज्वलताको खोजी), भविष्यको समृद्धिका खोजी, के हुन्न र यहाँ (मेहनत गर्न सके स्वर्ग यहीं बनाउन सकिने), सपनामा जन्म दिने गाउँको सपना देखिनु, यो मुटु र त्यो मुटु गाँस्ने भावना, जिन्दगी वित्ने धारणा, सीमानामा गरिएको नाका वन्दिका कुरा, भावण्डा नभएर योग्यताको कदर हुनु पर्ने, कँडा झिक्न काँडै चाहिने मन जित्न मनै चाहिने, एकल नारी (विधवा)को चित्कार, नेपालीको भेषलाई खेर फाल्न नहुने, कर्मशील वन्नु पर्ने, नयाँ नेपाल निमार्णको मार्ग चित्र, बूढ्यौलीको कष्टप्रद जीवन (आफ्नो हात चल्दैन मझेरीमा फल्दैन), नेपाली झुक्न नजानेको, सङ्कलित गीत, , रोइला र भजन आदिलाई समेटेको छ ।

शीर्षकीकरण – ‘बूढो समीको रूख’ भनी कृतिको नामाकरण गरिएको छ । यस शीर्षकको कविताले शीतलता प्रदान गर्ने, चरालाई आवास, दिने पशुलाई घाँस दिने, जताततै दुर्गन्ध भएको, नेताले आमाको हुर्मत लिएको र्घास मैदान जडीबुटी अन्न सबै दिंन्दा दिन्दै अर्को मेलो लिएकोले छाती चिरिएको, ‘‘सानो माछो खाने ठुलो ’’ देव हो बैगुनी, धर्मकर्म आदिले शान्ति चाहने तर भाइ भाइमा काटामार गरेर दुश्मनलाई शहीद बदनाउने, योजना बनाउँदा कृषिप्रधान देशका किसानको फोटो बिर्सिएको, सत्ता –साँचो सधैं बैगुनीका हातमा रहेको, आज हामी, शिकारीको जालमा परिसकेकाले हाम्र सन्तति पनि जालमा परेर नफर्कने अवस्था सिर्जना भएको, इमान धर्म कर्म सदाचार सभ्यतालाई शीरमा बोकौं र ह्यूँचुलीको चिसो पानी पिएर यही देशको ढुङ्गो माटो समाएर पढैं, छोरा र छोरी, सानो र ठुलो आदि विभेदबाट अन्त्य हौं, मेहनतको फल मिठो हुन्छ, मौरीको मह पार्ने कला सिकौं, भाग्य रेखा आफै कोर्न सकिन्छ कोरौं, सहकारी खेती गर्न सिकौं, नदीनाला बाँधेर उज्यालो पार्यौं, जडीबुटी र अनाजाट स्वास्थ राम्रो पार्यौं, सुन, नून पहराको बाहिर ल्यायौं, कला, धर्म, भाषालाई अध्ययन गर्दा जाततीय विभेद हट्छ र शिखरमा पुगिन्छ, , सुख दुःख, जित–हार रित–प्रीतको साथी बनौ र बूढो रुख समीलाई बाँच्न दिऊँ र यसाट प्राप्त हुने अक्सिजन लिऊँ भन्ने धारणा आएको छ । यस कविताको सारभाव मैले यहाँ पस्कें । यसबाट के थाहा लाग्छ भने, यस ‘बूढो समीको रूख’ले यस गीत तथा कवितासङ्ग्रह भित्रका अधिकाम्स कविताको धारणालाई समेटेको छ । यस कविताले समाजको आर्थि, सामाजिक, राजनीतिक, धार्मिक, संस्कृति, भौगोलिक, रीति रिवाज, विकृति सिङ्गतिको अन्त्यको चाहना, माया प्रेम, आदि विवध पक्षलाई समाएको छ । यसै परिवेशमा रहेर साहित्यकार मेघराज ढकालजीले यो सङ्ग्रहको सिर्जना गर्नुभएको हुँदा शीर्षक सार्थक छ भन्न सकिन्छ ।

भाषाशैली –भाषा सरल छ त्यसो हुँदा सबै तहका पाठकको लागि ग्राह्य छ र अनुकरणीय छ । प्रस्तुति मौलिकको साथै लयात्मक र गायत्मक छ ।

अतः निरत्नरता परिस्कार र परिमार्जन कि जननी हुन् । निरन्तरताको खाँचो सबैलाई पर्छ । यहाँ पनि निरन्तरता चाहिन्छ भन्ने मेरो धारणा छ । कवि ढकालजीको साहित्यप्रतिको यो रूची, जाँगर, उत्साह, तत्परता, र अनुसन्धानमूलक लेखन प्रयासको भुरी भुरी प्रशंसा र उत्तरोत्तर प्रगतिको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
२०७६ साल मंसिर २१ गते,
कावासोती न.पा. –७, शान्तिचोक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *