Skip to content

ड्राइभर दाइ


ड्राइभर दाइ तपाईंको यो गाडी
कहाँसम्म जान्छ
मलाई मेरो मातृभूमि
मेरो आमाको अमरपुर सहर जानू छ
ड्राइभर दाइ
मलाई मेरी सुन्दर प्रेयसीको माया नगर जानुछ
जरुर मलाई टाढा टाढा धेरै नै टाढा
कसैको कल्पनाभन्दा पनि दूर
मलाई आफ्नै मनको देशमा सफर गर्नुछ
यो तपाईंको गाडी कहाँसम्म जान्छ
ड्राइभर दाइ?

जौ हिड्नुहोस घुम्नलाई मेरो सहर हुँदै
परलोक
मेरा स्वर्गीय बुवाको एकान्त अनि
भगवानको घरसम्म
जहाँबाट फर्किने बेला अन्तिममा
तपाईंलाई एउटा आदेश आउनेछ कि
तर बिलकुल डर मान्नु पर्दैन ड्राइभर दाइ
मेरो बुवा कुनै ट्राफिक हैन
बरु सट्टामा तपाईंलाई एउटा उपदेश आउनेछ कि

एउटा देश जसरी सभ्यताको पथमा कुदाउ
भाइ गाडी बिस्तारै गुडाउ
यसर्थ कि मापसे सेवन
कै कारण सवारी दुर्घटनामा
मेरो अकाल मरण भएको थियो

गीतसङ्गितको तालमा एकसुर
जाऊ हिड्नुहोस ड्राइभर दाइ
मेरो सानू छोरोको रहरसम्म
एकदिन,
जस्ले मलाई भनेको थियो कि एकसाथ
पापा म ठुलो भएर ड्राइभर् बन्छु
म बैज्ञानिक बन्छु
म ठुलो भएर कवि बन्छु
म पाइलट बन्छु
म पर्यटनमन्त्री बन्छु
घुमोस उसले आज
यो चन्द्रधरातल यो वायुलहर
या यो सिङ्गो संसार
यो विशाल विश्व ब्रह्माण्ड
जसरी एउटा पृथ्वी अञ्जान घुमिरहन्छ
हरसमय सूर्यको बरपर
तर,अवचेतन रहन्छ दुनिया
अवचेतन बन्छ मन
अबचेतन रहन्छ मान्छे
अबचेतन रहन्छ रहर
देखोस उसले यो दुनिया आज
लेखोस उसले एक इतिहास
देखोस उसले एकनाश एकैतालमा यो संसार
र फर्किएर शब्दहरुमा वर्णन गरेर मलाई भोलि भनोस कि
बाबा आज म त्यस्तो अन्धकार ठाउँ घुमेर आए
जहाँ आकाशको त्यो उज्यालो रवि पनि पुगेको थिएन।

ड्राइभर दाइ तपाईंको त्यो गाडी लिएर हिड्नुहोस
यी चोकका ती गफाडी बेरोजगार भए ठाउसम्म
र दिनभरि स्टेरिङ्ग र एक्सिलेटर समाएर
सिङ्गै गाउँ घुमाइदिनुहोस र देखाइदिनुहोस कि रातमा
आफ्नै हत्केलाहरु!
ड्राइभर दाइ
र सधाको लागि बुझुन तिनीहरुले कि
हरदम आफ्नै हातहरुमा ठेलाहरू उठाएर
सात गाउँ चक्कर लगाउन कति गार्हो हुदोरहेछ!

ड्राइभर जाऊँ हिड्नुहोस बालुवाटार
र सिंहदरबारको गेट नजिकै
र एउटा मुख्यमिनिस्टर र लिडरलाई छतमा
चढाएर
सार्वजनिक यातायतको फुल गिएर दवाएर
गाडी हावाहरुमा हुइक्याइदिनुहोस
र बुझुन तिनीहरुले कि
मैले कुदाइरहेको सवारी साधनको माथि
कुन मुलुक छ
कुन देश देश छ!
नेपाल कि भारत?
र गाडीभित्र कुन यात्रुहरू सवार छन?
बुजुन तिनीहरुले कि एउटा उकालो पहाडको अन्धकार फेद
र खतरनाक सडकको किनारको भिरमा उभिरहेको
एउटा डेञ्जर सवारी साधनभित्र कति जना जनताहरुको
जिन्दगी र
उज्यालो भविष्य लुकेको छ।

ड्राइभर दाइ हिड्नुहोस जाऊ
साहुको गाडी लिएर
थमेल रत्नपार्क बसपार्कको डान्सबार
या नारायणहिटी दरबार
या हिड्नुहोस ड्राइभर दाइ कान्छीको भट्टीमा
र उडाइदिऊँ दिनभरिको मज्दुरीको रकमहरुलाई
बार रम बार भट्टीमा कुहिएका निगार
रण्डी र बकवास रक्सीका गिलासहरुमा
हर्दम र भुलिदिउ कि भोलि बिहानै उठेर जानुछ
एउटा अति लामो दूरी! डे ड्युटीहरुमा
जहाँ, साँझमा ड्राइभर दाइ आउने बाटोहरुमा भने
आफ्नो संसार भुलेर
ड्राइभर्नी भाउजू तपाईंकी धर्मपत्नी
र तपाईंको पवित्र परिवार
केवल तपाईंलाई नै पर्खिरहेका हुनेछन।

ड्राइभर लौ जाऊ हिड्नुहोस सहरको कुनै प्रख्यात अस्पताल
रहर छ मलाई मेरा अञ्जान रोगहरुसँग परिचित बन्ने
र आज म डाक्टरहरुको नजिकै राखेर भन्नेछु कि
ड्राइभर दाइ हाम्रो गाउको एउटा यस्तो असित्छित डाक्टर हुन
जब,दुर्गम गाउँमा कोही बिराम पर्दा
डाक्टरभन्दा पनि पहिला उसको नाम लिइन्छ।

ड्राइभर ।
आजसम्म तपाईं सङ्गै हिडेर
कोही सातसमुद्र पारिको परदेश पुगे
कोही क्षितिज पारिको आकाश पुगे
यो अन्धकार पृथ्वी उनीहरू सङ्गै घुमेर
तपाईं चाहिँ कहाँसम्म पुग्नुभयो
यात्रुहरुले तपाईंलाई छोडेर गएको हो कि
तपाईंले यात्रुहरुलाई छोडेर गएको हो?
उनीहरुले गाडीलाई छाडेको हो कि
गाडीले उनीहरुलाई छाडेको हो?
यो समय पनि कति निस्ठुर रहेछ
हर चतुर इन्सान अपमान गरेर जान्छन
र आफू आफू आ-आफ्नै गन्तव्यमा बिलाउछन्
छाड्दिनुहोस ड्राइभर दाइ
अनि मजबुर नबन कन्डक्टर भाइ
तर यो समय आफैमा बलवान् पनि छ
यसकारण कि बिर्सिएर गएका ती सुइहरू
बारम्बार घुमी फिरि फेरि पनि घडीका समानन्तर
त्यही रेखाङ्गकनहरुमा आउछन्
जाऊ हिड्निहोस आजै मुक्तिको बाटो ड्राइभर दाइ
यो संसारको सबैभन्दा अमरपुर ठाउँ
यो जगतको सबैभन्दा चर्चित तीर्थधामसम्म जाऊ
यो जीवनको अन्तिम सत्यसम्म जाऊ
पत्थरमा मैदानको गोलपोस्टसम्म जाऊ
दूर धेरै नै दूर देशसम्म जाऊ
पशुपति,स्वयम्भू, बौद्द, जनकपुर, लुम्बिनी
अर्जुनधारा, पाथिभरा मन्दिरसम्म जाऊ
चन्द्रमाको देशसम्म जाऊ
आखिर अन्तिम खोज टाढाको देवतासम्मको हो
आखिर अन्तिम प्राप्ति ईश्वरसम्मको हो
आखिर अन्तिम लछ्य सफलतासम्मको हो
ड्राइभर दाइ मलाई मेरो आफ्नै खप्पर र
भगवानको घरसम्म पुर्याएर ओराल्दिनिहोस
देखोस मेरो मनमन्दिरको भगवानले
देखोस ऊ परको पर्मेश्वरले
केवल मलाई कुनै एउटा मन्दिरसम्म पुर्याइदिनुहोस
म तपाईंलाई त्यहाँ भगवानलाई नै साच्छी राखेर
भगवान भनेर
भगवानलाई पुज्ने पवित्र फुल केसरी र अबिरले
सर्वप्रथम म तपाईंको शिर निधार र अनुहारलाई पुजिदिनेछु

यसकारण कि,
मेरो ईश्वरसम्मको अन्तिम उद्देश्य पूरा गर्ने
सहयोग गर्ने तपाईं
स्वयम अर्को एउटा ईश्वर हो ड्राइभर दाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *