तेजनारायण शेर्पाको ‘अक्षर’मा एक दृष्टि

20191222_NandaLalAcharya-BookReview


हे बालाजन हो पढो घरिघरी, विद्या छ अमृत सरी ।
अर्काको घरमा नजाऊ वरिपरि, पढ मेहनत गरी ।।
पढेको चिज डाकुले घर फोरी लादैन चोरी गरी ।
नपढ्दा हिन भो छोरो यदि भने के गर्नु माया गरी ।।

उदयपुर जिल्लाको शैक्षिक, साहित्यिक, सामाजिक र सांस्कृतिक क्षेत्रको विकासमा दिलोज्यानले लागिपरेका वाणी, अक्षर र कर्मका पौरखी व्यक्तित्व हुन्– तेजनारायण शेर्पा ‘रञ्जन’ । उनले नेपाली, मैथिली, हिन्दी भाषामा कविता सङ्ग्रह ‘पूर्णिमा’ (सन् १९७०), रौता महारानी भगवतीको चिनारी’ चम्पुकाव्य (वि.सं. २०५३), ‘अधुरो’ कविता सङ्ग्रह (वि.सं. २०५६), ‘कविको कविता मनभित्र’ कविता सङ्ग्रह (वि.सं. २०६९) जस्ता कृतिहरू साहित्य मन्दिरमा समर्पण गरिसकेका छन् । यी कविता कृति मार्फत उनी देखेको लेख्ने र नदेखेको तर निकटमै देखिने कुरा पनि लेख्ने भविष्यद्रष्टा कवि भनेर चिनिएका छन् । मूलत: उनी प्रकृतिप्रेमी, मानवतावादी, सामाजिक चेतनाका संवाहक, युवावर्गका दिशानिर्देशक र साना नानीबाबुको घनिष्ट मित्रका रूपमा चिनिएका छन् ।

यी स्रष्टाले राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्य जगत्मा साहित्यिक वातावरण सिर्जना गरेका छन् । नेपाल शेर्पा सङ्घ, उदयपुरको अध्यक्ष, सगरमाथा साहित्य परिषद्को आजीवन सदस्य, गम्भीर साहित्य परिषद्को संस्थापक सदस्य, उदयपुर साहित्य परिषद्को आजीवन सदस्य समेत रहेका ‘रञ्जन’को लेखन/सङ्कलन/सम्पादनमा वि.सं. २०७४ सालमा चारवटा गैरसाहित्यिक कृति प्रकाशन गरेका छन् । ती हुन्– ‘अक्षर’, ‘जडीबुटी विज्ञान’, ‘शरीर विज्ञान’ र ‘जडीबुटी आरोग्य विज्ञान’ । यद्यपि यहाँ मानव जीवनका लागि अति उपयोगी ज्ञानसागरका रूपमा देखिएको ‘अक्षर’ कृतिभित्रका कुराहरू बारे चर्चा गर्न खोजिएको छ ।

‘अक्षर’मा शिक्षा, स्वास्थ्य, राजनीतिक, सामाजिक, भौगोलिक, धर्म, साहित्य कला, संस्कृति, दर्शन, जडीबुटी विज्ञान, राजनीति, ज्योतिषशास्त्र, तन्त्रशास्त्र आदि थुप्रै क्षेत्रका जीवनोपयोगी कुराहरू समेटिएका छन् । ‘अक्षर’को अध्ययनले हाम्रो मस्तिष्कमा गडेर बसेका भ्रमहरू भाग्छन् । विकारहरू कुलेलम ठोक्छन् । र, हामी आँटिलो, नैतिकवान् र समाजप्रति उत्तरदायी बन्न पुग्छौँ । थरिथरीका ज्ञानबद्र्धक खुराक पाएर हामी नयाँ मनुष्य नै बन्न सक्छौँ । यो कृति जान्नेलाई श्रीखण्ड र नजान्नेलाई खुर्पाकै बिँड हो । थोरै शब्दमाभन्दा ‘अक्षर’ नामक प्रस्तुत कृति हाम्रा लागि जीवन जिउँने एक ज्ञानशास्त्र नै हो ।

धेरैजसो अरूकै र केही आफ्नै अनुभूतिले यहाँ स्थान पाए पनि ‘रञ्जन’ को अक्षर सेवाको अभियानले जीवन्तता पाएको छ । एकाध उदाहरण–

शिक्षा क्षेत्र – बालकको संस्कार र सोचको भूमिका निर्वाह गर्ने पहिलो व्यक्ति आमा र बाबु हुन् ।
मानिसको दिमाग मेसिन–औजारझैँ हो । चलाई राखेमा भने खिया लाग्छ ।
स्वास्थ्य क्षेत्र – आफ्नो शरीरको लागि सबैभन्दा राम्रो डाक्टर तपार्इँ आफैं हुनुहुन्छ । घडीयाल, मगर, गोहीको वीर्य वीर्य बढाउनेमा सबैभन्दा उत्तम छ । नपुङ्सकले पनि यो प्रयोग गरे गराए उत्तम हुन्छ ।
राजनीतिक क्षेत्र – लोककल्याणकारी नेतानेतृले देश पवित्र गर्छन् । बहुदलीय प्रजातन्त्र सत्ययुगको ढोका खोल्ने साँचो होइन । यो त कलियुगको नदी पार तार्ने एउटा नाउ मात्र हो ।
सामाजिक क्षेत्र – सुखको अनुभव गर्न दु:ख सहनै पर्छ किनभने सुख सजिलै पाइने वस्तु होइन । साहसी व्यक्तिलाई उत्साहको इनाम दिनु आवश्यक छ ।
भौगोलिक क्षेत्र – सूर्य उदयको देश जापान हो भने सूर्यास्तको देश कुन हो ? बेलायत हो । चाँदीको शहर भनेर चिनिने देश कुन हो ? – क्यूवा हो ।
कला क्षेत्र – जित्नेले कहिल्यै छोड्दैन, छोड्नेले कहिल्यै जित्दैन । सङ्गित विद्याको उत्पत्ति सामवेदबाट भएको हो ।
जडीबुटी क्षेत्र– मरेकालाई पनि बचाउने पत्थरको नाम द्रोण पत्थर हो । आयुर्वेदको जन्म सृष्टिकर्ता ब्रह्माले उत्पत्ति गर्नुभएको हो । त्यसपछि ब्रह्मणबाट दक्षप्रजापतिले सिके ।
खेलकुद क्षेत्र– कसरत/व्यायाम शरीरलाई वलवान बनाउन र रोगमुक्त गराउनेमा राजा हो । सर्ट गेम खोलेर केही समयका लागि मानिसले सफलताको सिंढी त चढ्न सक्छ तर सफलतालाई कायम राखिराख्न मानिसले इमान्दारी, संलग्नता र प्रतिवद्धताको लङगेम नै खेल्नुपर्ने हुन्छ ।
नैतिक आदर्श क्षेत्र– उकालो उक्लिने घोडाको लगाम तानेर कस्नु हुँदैन, छोडी दिनुपर्छ । असहारालाई सहारा दिनु उचित होइन । असहारा नै हुन देऊ तर असहाराले रोइकराई सहारा माग्छ भने मात्र उचित सहारा देऊ ।
आर्थिक क्षेत्र– पैसा काल हो भने पैसाले नै ज्यान पनि बचाउँछ । जम्मा गरेको सम्पत्ति हातबाट जान्छ । निमार्ण गरेको भवन भत्केर जान्छ । मिलन बिछोडमा पऋणत हुन्छ । जन्म मृत्युमा पऋणत हुन्छ । यो जानेर पहिलादेखि नै सङ्ग्रह गरेर थुपार्ने बानीरूपी दु:खलाई त्याग । यसरी नै निर्माणार्थ समय व्यर्थ नफाल । व्यर्थै विछोडिने मिलनको मायाबाट अगल रही योग्य र पारङ्गत गुरूको आज्ञापालन गर र सत्य साक्षात्कार भई मुक्ति हुने मार्गमा हिँड ।
सांस्कृतिक क्षेत्र– सभ्यता भनेको एक किसिमले निरन्तर नफर्किने गरी बगिरहने खोलाजस्तै हो । तिमी स्वय म भगवान हौ ।
वैज्ञानिक क्षेत्र– वैज्ञानिकहरूले सबै चिज अटाउने भाडा निर्माण गरिसकेका छन् तर विचार अटाउन सक्ने भाडा निर्माण गर्न सकेका छैनन् । मैला कपडामा गहुँ राखी दिँदा त्यसबाट मुसा उत्पति हुन्छ । अन्नबाट घुन, चामलबाट चिल्सा, फोहर रौँमा जुम्रा ।
तन्त्रशास्त्र क्षेत्र– तन्त्रशास्त्रमा मासु अनिवार्य खानुपर्छ । गायत्री मन्त्रमा कुन देवताको आह्वान गरिन्छ ? सूर्य देवताको ।
ऐतिहासिक क्षेत्र– शनिवार बिदा दिने चलन कसले चलाएको हो ? प्र.मं. भीमशम्शेरले चलाएको हो । नेपालको पहिलो शहीद लखन थापा हुन् । उनलाई २०७२ साल असोज ३मा पहिलो शहीदको रूपमा सरकारले विधिवत्रूपमा घोषणा गर्यो ।
सामान्यज्ञान क्षेत्र– मूर्खले स्वर्गलाई नर्क बनाउँछ तर बुद्धिमान्ले नर्कलाई नै स्वर्ग बनाउँछ । कुकुर राजा भीर कहाँ छ ? –लामाबगरको केही दुरीमा एउटा गजबको ठाडो पहाड छ त्यसको नाम कुकुर राजा भीर हो ।
धार्मिक क्षेत्र– रावण रामको शत्रु होइन, रामलाई पराक्रमी बनाउने पुरूष हो । भगवान राम–विष्णु, लक्ष्मण–शेषनाग, भरत–शङ्ख, शत्रुघन–चक्र अवतार हुन् भनेर ऋषिले दशरथजीलाई बताए ।
विविध क्षेत्र– जुन देशमा श्रमिकको सम्मान गरिँदैन/हुँदैन त्यो देश विकाशमा सबैभन्दा पछाडि धकेलिन्छ । अरूको आँखाबाट आफ्नो विह्वलित आँसु झार्नु र अरूको मुखाकृतिबाट आफ्नो खुसीको अनगिन्ती मुस्कान निस्किनु सम्वादको सिङ्गो रूप हो ।

अन्त्यमा, चार गैरसाहित्यिक कृतिका लेखक/सङ्कलक/सम्पादक तेजनारायण शेर्पा ‘रञ्जन’ले लगभग आधा शताव्दी अघिदेखि आफ्नो मनलाई छोएका कुराहरू सङ्कलन गर्दै जाँदा त्यसले यी ग्रन्थको रूप लिएको हो । वृद्धावस्थामा समेत लेखन, पठनका साथै साहित्य र जडीबुटीका क्षेत्रमा अनुसन्धानरत् उहाँको जीवनशैलीले हामी युवा पिढीलाई आदर्श पाठ पढाएको छ ।
भदौका गिठा, असोजका कोसा/कात्तिकको जौ–तिल, मंसिरका रोटा/पुसको पुसे डल्ला, माघको खिच्रो/फागुनको साखिनु, चैत्रको रायो/बैशाखको खुदो पानी, जेठको गिठा/असारको दुधच्युरा, साउनको खीर/यत्ति खान पाए लाग्दैन पीर ।

कृति : अक्षर
विधा : विविध
कृतिकार : तेजनारायण शेर्पा ‘रञ्जन’, सम्पर्क–९८०७७३९२०७
प्रकाशक : किलमु शेर्पा
प्रकाशित प्रति : १००१/प्रकाशन वर्ष : २०७४
आवरण– टङ्क आले, सम्पर्क– ९८१९९३९४७५
मूल्य : रु. २००।– व्यक्तिगत, रु. ४०० संस्थागत
पृष्ठ सङ्ख्या : १६२+३०
वितरक : खोजी प्रकाशन गृह, काठमाडौँ, सम्पर्क–९८५११३८९१५

–नन्दलाल आचार्य
श्रीजनता मा.वि., गोलबजार–४, सिरहा ।
मो. नं. ९८४२८२९२०६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *