मृत्तिका र म कवितासङ्ग्रहमा प्रवेश गर्दा


मृत्तिका र म कवितासङ्ग्रहमा प्रवेश गर्दा

परिचय –

यो देश हाम्रो रसिलो मुहार
मागेन यसले कसैको गुहार
परेन कब्जा छल शत्रुकै यो
जानेन कहिले शिर झुक्न नै यो
(नेपाल राम्रो यस विश्वमा नै, श्लोक १, पृष्ठ ९८)

यी माथिका राष्ट्रियताले भरिएका श्लोकका सिर्जनाकार हुनुहुन्छ डा. मेघराज ढकाल (२०१३) । डा.मेघराज ढकालको योगदान नेपाली साहित्यमा मात्र नभएर शिक्षा जनसङ्ख्या तथा अर्थशास्त्रमा पनि उच्च योगदान छ । उहाँ एक अनुसन्धान कर्ता हो । उहाँले मूःलत शिक्षास्वास्थलाई केन्द्र विन्दु बनाएर अनुसन्धान गर्दै विद्यावारिधिको उपाधी हात पार्नुभएको छ । यस्ता कर्मठ व्यक्तित्वका कृतिहरू नेपाली अङ्ग्रेजी दुवैमा सिर्जना भएका छन् । प्रशासनिक क्षेत्रको लामो अनुभव हाँसिल गरेका डा. ढकालको हालको अवस्थामा स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा भिजिटिङ् प्रोफेसरको रूपम अध्ययन, अध्यापन र अनुसन्धानमा निरन्तरता दिन्दै आउनु भएको छ । नेपाली साहित्यमा पनि उहाँको अनुसन्धान मूलक लेखरचना सिर्जनामा तल्लिनता देखिन्छ । मीठो बोली, हँसिलो मुहार, शालीन व्यवहार, साधारण जीवनयापन र उच्च विचारका धनी डा. ढकालको बहुआयमिकता नै उहाँको परिचय हो भन्ने ठान्दछु म ।

‘मृत्तिका र म’ प्रति आएका साहित्यकारहरूका उद्गारहरू–

यस कृतिप्रति स्वागतका शब्द सुमन टक्र्याउँदै प्रह्लाद पोख्रेलका धारणा कवितामा यस प्रकार आएका छन् हेर्यौं एक श्लोक –

भाषा भक्ति प्रवल छ जहाँ सुस्तरी छन्द रम्छन्
आफ्नो नौलो क्षितिज छ जहाँ काव्यवाणी वहन्छन्
गाउँ प्यारा हरबखत नै मृत्तिका चुम्छ पाउ
सुस्केरा छन् व्यथित दिलका देशको दुख्छ घाउ ।
(श्लोक २)

प्रा.फणीन्द्रराज काफ्लेको शुभकामना सन्देश–

वास्तवमा शीर्षकमा शुभकामना भनिएको छ तापनि यस कृतिको राम्रो चिरफार भएको छ । उहाँ भन्नुहुन्छ –‘‘समग्रमा कवि ढकालको अभिव्यक्ति सरल छ र विषय बस्तुमा निहित भावहरू निकै गम्भीर र प्रौढ रहेका छन् ।’’

कृतिको संरचना –

यो कृति ३९ ओटा सुन्दर पुष्पगुच्छाले सुसज्जित छ । पपुलेशन, एजुकेशन, एण्ड हेल्थ रिसर्च सेन्टर को प्रकाशनमा प्रकाशित यो कृतिको मूल्य २२५ रुपियाँ राखिएको छ । आवरण पृष्ठ बाहेक ११४ पृष्ठ अक्षरले भरिएका छन् । अग्र आवरण पृष्ठमा मृत्तिका र म भन्ने शीर्षकलाई सार्थकता दिन्दै हिमाल, हिमाल तलका सुन्दर गाउँ बस्ती र समतल ठाउँका अन्न बालीहरूको तस्विरले निकै आकर्षक पारेको छ भनेपछिल्लो आवरणमा लेखकको परिचयले सजिएको छ ।

कविताले दिएका सन्देहरू–

यस कृतिमा आएका भावनाहरूबाट कवि राष्ट्रप्रति पूर्णरूपेण समर्पित भएको जानकारी पाइन्छ । उनका कवितामा प्रकृति रमाएकी हुन्छिन् । भाषाको महिमा गानले देश नै गुञ्जयमान भएको हुन्छ भने कविताहरूले विविध विषयलाई समेटेको हुन्छ । यस कृतिभित्रका कवितालाई यिनै गुणको आधारमा चिरफारगर्न सकिन्छ । सर्वप्रथम यस कृतिमा राष्ट्रप्रति समर्पित कविताहरू, देश यो बचाऊँ, देशप्रेम, देश दुखेको देख्दा, नेपाल दीपै बनोस् पलायनलाई जननीको प्रश्न, जननीलाई पलायनको उत्तर, कर्मभूमि नेपाल र नेपाल राम्रो यस विश्वमा नै,लाई लिन सकिन्छ । यी कविताहरूले देश सानो छ यसले विराम गर्दैन र शिर पनि झुकाउँदैन, विभिन्न जातीको बसोबास छ र यसमा विभेद हुनहुन्न देश जस्ले विर्सन्छ त्यो ज्यूँदो लास हो जस्ता गहन विचारहरूले सन्देश दिएका छन् । नेपाल सधैं सार्वभौमसत्ता देशको रूपमा रह्यो । नेपालको शीर सदा उच्चो रह्यो कसैसँग झुक्न जानेन बरु अरुलाई झुकायो अब पनि हाम्रो देशप्रेम उच्च हुनुपर्छ भन्दै कविले भन्छन् –

जन्मकै घर माटोमा मिल्न, खेल्न सिक्यौं भने
बढ्ला त्यो महिमा हाम्रो, देश–प्रेम भयो भने ।
(देशप्रेम, पृष्ठ १५, श्लोक २५)

देश दुखैको देख्दा कवि चिन्तित छन् –

मति नीति बिग्रियो कि टुप्पेबाट रूख
भाँच्चिएको हुँदा सधैं नेपालीलाई दुःख
जुनै जोगी आए पनि कान चिरेको देख्दा
मनमा पीडा अशान्ति भो, देश दुखेको दैख्दा ।
(देश दुखेको देख्दा, श्लोक ४, पृष्ठ ३२)

राष्ट्र विकासको बारेमा कविले गहन भावनाहरू पोखेका छन् । हरेक काम र हरेक क्षेत्रमा आफ्नै सीप, साधना र स्रोतको प्रयोगबाट देश दीप बनेर अघि बढोस् भन्ने कविको कामनालाई यसरी हेर्यौं –

आफ्नै साधन वा पुँजी जगतको खोजेर सत्मार्गमा
राम्रा कार्य र सीपबाट घरमा बोकी नयाँ भावना
दामी नित्य बनून् पवित्र वनका शृखण्ड या दालचिनी
खोज्दा देश अँझै पुगोस् शिखरमा नेपाल दीपै बनी
(नेपाल दीपै बनोस्, श्लोक ८, पृष्ठ ४५)

देशका युवाहरू पलायन भएका छन् । युवारहित देशलाई मैले अपाङ्ग देश भन्ने गर्दछु । नेपालले आज युवाहरूलाई जागीर र रोजगार मूलक शिक्षा दिन सकेन जस्को फलस्वरूप देशका युवा युवती विदेश पलायन भएका छन् । बुढाबुढीले आगन कुरेर पलायन भएका छोराछोरी आउने आशामा झुण्डिइरहेका छन् । यस कृतिमा कविले पलायनलाई जननीको प्रश्न भनी एक र जननीलाई पलायनको उत्तर भनी अर्को कविता प्रस्तुत गर्नुभएको छ । जननी भन्नु जन्म दिने आमा मात्र नभएर गास बास कपास दिने जुन भूमिमा आइयो जस्मा समाहित भइन्छ ती पनि जननी नै हुन् । नेपाली जननी र जन्म दिने पनि जननी नै हुन् । यसमा धेरै प्रश्नहरू आएका छन् त्यसमा एउटा श्लोक हेरौं –

फैलिन्छन् जब देश देशतिर नै सम्पर्क या चेतना
उल्टो चाल हुँदै छ आज बलिया छैनन् युवा गाउँमा
हाम्रो उर्वर भूमि आज यसरी सर्वत्र बाँझै भयो
आऊ शीघ्र तिमी त देश घरमा सम्झेर भन्दैछु यो ।
(श्लोक १२, पृष्ठ ६७)

जननीलाई पलायनको उत्तर पनि अति मार्मिक छ । यी मार्मिक उत्तरहरू मध्ये एउटा श्लोक यहाँ प्रस्तुत गर्दछु –

इच्छा एक रह्यो अँझै हजुरको देख्ने बुहारी सधैं
ढोका बन्द गरौं त यो हरमा, धोका मदिन्थँ कतै ?
यौटा लक्ष्य छ अवश्य मनमा फर्किन्छु भन्ने घर
बाटा –खर्च सदा यथेष्ट नहुँदा भो आकुल व्याकुल ।
(जननीलाई पलायनको उत्तर, श्लोक १२, पृष्ठ) ७०)

राष्ट्रप्रतिको मानवको कर्तव्य तबमात्र पुरा हुन्छ जब उसले आफ्ना पाखुरी बजारेर देशलाई आत्मनिर्भर बनाउँछ र स्वदेशमै बस्ने, रम्ने गरेर देशलाई स्वर्गतुल्य बनाउँछ । विरहरूको भूमि न त कसैसँग झुक्यो, नकसैसँग गुहार नै माग्यो । यसको सुरम्य प्रकृतिको रमणियताले संसारमै यो राम्रो छ भन्ने कविका धारणाहरू, राष्ट्र राष्ट्रियताप्रति गहन रूपले आएका छन् । यी मननीय छन् र ग्रहणीय छन् ।

गाउँ र शहरप्रतिको धारणा–नेपाल गाउँ नै गाउँले भरिएको देश हो । नेपालको विकास तब मात्र सम्भव छ जब गाउँको विकास हुन्छ । आज गाउँको विकसको सट्टा युवा विदेशिएका छन् । गाउँमा भएका शहरमुखी भएका छन् । परदेशमा रमाउँदा देशको सबै थोक गुमाइएको छ । शहरमुखी भएर पनि के कमाएँ जस्ता प्रश्नवाची हुँदै कविले गाउँ र सहरको परिवेशलाई टपक्कै टिपेर आफ्नो भावनालाई लपक्कै टाँसेका छन् । एउटा श्लोक हेरौं –

आत्माभिमानै अनुशासनैको
खिल्लि उडाई त दुरात्मनैको
दुष्ट्याइँ छुच्याइँ त लोभभन्दा
बसी शहरै भन के कमाएँ ?
(बसी शहरमा भन के कमाएँ, पृष्ठ २१, श्लोक१४)

हामीले संसारमा भएका मानिसलाई राम्रोसँग विश्लेषण गरेर हेर्यौं भने सुप्रवृत्ति र कुप्रवृत्तिका मानिस पाउँछौं । असल भावनाले ओतप्रोत भएको मानिसमा इमान्दारिता, जस्तै दुःख कष्ट परे पनि धैर्यशीलता, सत्यको खोजी, आत्म नबेच्ने बानी, राष्ट्रप्रति बफादार, आस्थावान, संस्कार संरक्षित, इमान्दारीतामा रहेर आफ्नो व्यवहारलाई प्रदर्शन गरेका हुन्छन् कुप्रवृत्तिमा रम्नेले यस्ता कुरामा ध्यान दिन्दैन् । ‘म’ भन्ने कवितामा कविले यसप्रकारका धारणालाई प्रष्ट्याएका छन् ।

राजनीतिप्रतिको धारणा –देशलाई सवल मार्गमा लानु, सुशासनमा देश हाक्नु, अनियमितता हटाउनु, भ्रष्टचारमा निर्मुलता, देशलाई अग्रगामी पथमा लगेर जनतालाई राहत प्रदानगर्नु अर्थात सङ्क्षिप्तमा भन्नुपर्दा देशको सर्वाङ्ग विकास, संरक्षण, सम्बर्धन, राजनीतिको काम हो । राजनीति सुमार्गमा हिड्दा देश विकासमा लम्किन्छ, देशको गौरव बढ्छ, जनतालाई अमनचैन हुन्छ, तर आज ढाँटढुँटको प्रवलता, इमान्दारीलाई अपहेलन, छलछामको राजनीति, हत्याहिंसा, बलत्कारमा वृद्धि, देशमा विभिन्न काण्डको व्यपकता, राजनीतिमा अन्तरद्वन्द्व, राजनीतिक शक्तिको भरमा बल मिच्याईँ भ्रष्टचार आदि आदि राजनीति विकृतिले भरिएको यथार्थलाई आफ्ना कविताहरूमा प्रष्ट पार्दै कवि प्रश्नवाची भएर सोधनी गर्दछन् –

ढाँटढुँट गरे नेता भ्रष्ट सेवक नै भए
हानाहान सधैं लोभ इमानी खै कहाँ बचे ?
(पृष्ठ १४, श्लोक १०)

नीति निर्माणमा वेथिति–

मति नीति बिग्रियो कि टुप्पेबाट रुख
भाँँचिएको हुँदा सन्धै नेपालीलाई दुःख ।
जुनै जोगी अखाए पनि कान चिरेको देख्दा
मनमा पीडा, अशान्ति भो, देश दुःखेको देख्दा ।
(देश दुःखेको देख्दा, पृष्ठ ३२, श्लोक ४)

राजनीतिमा सोच हुन्छ, भूतलाई केलाइन्छ वर्तमानलाई चलाइन्छ र भावीमार्ग सवलपार्न नीति निमार्ण आदि कार्ययोजना बनाइन्छ आदि धारणा राख्दै कवि भन्छन् –

‘मान्छौ नीति न पैलेका, न दिन्छौ नव पद्धति
न बन्छौ नीतिका नेता, राज नीति छ बेथिति ।’
(म नै मरूँ, श्लोक १०, पृष्ठ, १०)

द्वन्द्वप्रतिको धारणा– विश्व आज द्वन्द्वमा फसेको छ, नेपाल पनि अक्षुतो छैन । यस देशमा पनि लामो द्वन्द्वले स्थान लियो । आज पनि देशमा कुनै न कुनै प्रकारको द्वन्द्वले स्थान लिएको छ र देशमा शान्ति छैन । द्वन्द्वमा मानवको क्षति भयो, भौतिक संरचना, आदिमा ठुलो क्षति देशले व्यहोरो । द्वन्द्वबाट निम्तिएका सबै खाले मानवीय, सामाजिक, आर्थिक, राजनैतिक, विकृति र विसङ्गतिका घटनाक्रमलाई कविले समेट्दै द्वन्द्वको अन्त्य को लागि आब्हान गर्दै भन्छन् –

बाँधी हात शरीर यी बगरमा रेटिन्छ मान्छे कति ?
ज्यूँदो मानिस पुर्नु हेर घरमा यो देशकै दुर्गति
अर्ती दिन्छ नि आज को अब यहाँ सारा लिई हुर्मति ?
आऊ आज मिलौं बसौं न घरमा वार्ता गरौं भो अति ।
(वार्ता गरौं भो अति, पृष्ठ ४३, श्लोक ५)

विदेशी हस्तक्षेप र सीमा अतिक्रमण सम्बन्धमा –नेपाल दुई विशाल क्षिमेकीको बीचमा अवस्थित छ । दुवैबाट देश सुरक्षित छैन चन्द्र सूर्य रहेसम्म देश बाँच्न पर्छ भन्ने धारण सहित कवि भन्छन् –

साँढे दुई छन्, एक दक्षिणैको
डुक्रन्छ अर्को, अनि उत्तरैको
हुङ्कार गर्दा, देश डगमगाए
त्यो सार्वभौम जब जो गुमाउँला
(किन लेख्न पार्छौ, श्लोक ५, पृष्ठ १२)

यस्तो अवस्था आउन दिन हुन्न आयो भने नेपाल नाम नै कतै रहँदैन । त्यसो हुँदा राष्ट्र जोगाउन सबै लाग्नु पर्छ र कुनै किसिमको विदेशी हस्तक्षेप र अतिक्रमण हुन दिनु हुँदैन जस्ता, कालो इतिहासको सिर्जना गर्न हुँदैन जस्ता धारणा कवितामा आएका छन् ।

साहित्यकार र समाजसेवी प्रतिको धारणा–

साहित्यकार समाजसेवी राष्ट्रका गहना हुन् भन्ने भावनालाई आत्मसात गर्दै कविले महाकवि लक्ष्मी प्रसाद देवकोटा र विष्णुप्रसाद गौलीको सम्झनामा दुईओटा कविताहरू पस्कनु भएको छ । महाकवि देवकोटाले कालो सत्ताको सातो उडाएर लेख्नाले नै देशमा शान्ति आएको कुरा, उनले गर्ने दया माया, साहित्यप्रतिको योगदानको कदरभन्दा पागल नामाकरण गिएको तर निर्भक भएर लेखेकोले नै नेपाली साहित्यलाई उच्चाइमा पुर्याइएका धारणा राखिएको छ । विष्णुप्रसाद गौली क्यान्सर रोगको कारणले मृत्युवरण हुँदा उनको विद्यालयमा गरेको योगदान, हँसिलो रसिलो मुहारको स्मरण गर्दै यस पृथ्वीमा आएर गएको र सम्झियौं जस्ता धारणा राखिएको छ ।

विभिन्न कवितामा आएका विभिन्न धारणाहरू –

माथि यस कृतिका केही कविताले दिएको सन्देशमात्र हो ।यसमा समावेश गरिएका विभिन्न कविताले आफ्नै किसिमको सन्देश दिएका छन् । माथिका सारभाव छाडी अन्य कविताले पस्केका धार मानिस र पशुमा भिन्नता, पक्षपात, अहिंसा, सत्य, स्वाधिनता, बलिष्टले निर्बलीयामा गर्ने थिचो मिचो, मानिसले मानिसकै वली दिने काम, अतित कालो भनेर लेख्न बाध्य नपारिओस्, द्रव्य पिशाच हुन नहुने, शान्तिको कामना, आत्माभिमान बचाउनु पर्ने र अनुशासनको खिल्ली उडाउन नहुने, ढुङ्गा (कठोर मानिसको विम्ब)ले हत्याहिंसा, जनताको रक्त चुसेको र रोजी रोजी रस चुसेको, मानिसलाई नारकीय पीडा भोग्न बाध्यपारेको, भिन्न दर्शन मान्नेलाई मार्दै फाल्दै गर्नेहरूको अन्त्य पनि भड्खारोम परेर उँधो गतिमा हुने कुरा, नाकाबन्दीले कालोबजार मौलाएका कुरा, मानिसमा दम्भ हुन नहुने, साहित्य र कला धन सबैभन्दा अब्बल हो, ‘राष्ट्र बैङ्कका पैसाभन्दा समय नै ठुलो’, दशैको (रौनकता, प्राकृति सुन्दरता, पीङ खेलाई, घरका सिङ्गार पटार, बाटाघाटाको सरसफाई, मान्ने जनले आर्शीवाद र दीर्घायुको कामनाका कुरा), विविध विकृति र विसङ्गतिको कारणले गर्दा मन बुझाउन नसकिएको, ‘तीन अक्षरको नेपाल नाम जुनिभर लेख्ने ’ प्रतिबद्धता, संस्कृति (पोशाक, गहना, धर्म, संङ्गीत, बाजागाजा, उँधौंली उँभोलि, ईद, मुन्धुम, ईष्टर, छठ, ल्होसार, गुम्ब, चैत्य, बिहार, मन्दिर, चर्च मस्जित, स्तूप, पाटी पौवा, मसान घाट, पाउजु, पोते बुलाकी, तिलहरी, झुम्के फुली, कल्ली, सिर्फुला, नथिया, दौरा, सुरुवाल, धोती, कालो टोपी, खुर्पेटा, चौसठ्ठी कला, सोरठी, सालैजोँ, हुँडा, द्यौडा, जितीय, तीज, आदि) को संरक्षण सम्बर्धन गर्नु पर्ने, ‘थोत्रो दर्शनको अबलम्वन गर्न नहुने, शहीदहरूको उत्कृष्ट राम्रो छवि बनाएर राख्नु पर्ने, देशमा देखिएको वेथिति, विसङ्गतिप्रति चुपलागर बस्न नहुने, बोल्न सक्नु नै पर्ने, धन चार थरिका (भौतिक, मानवी, ज्ञान र प्रकृति) हुन्छन् । यी चारै धनलाई सुप्रयोजनको लागि संरक्षण गर्नु पर्ने कालो धनमा लिप्त हुन नहुने, सबै भाषाभाषीको जीवितता र राष्ट्रभाषाको बढोत्तरी, सपना सम्पन्नताको देखिनु पर्ने, विधवाका कष्टदायी कहरहरू, जीवन जगतका विविध पक्षहरू, दार्शनिक अभिव्यत्तिःहरूका धारण कविले सवलताका साथमा उठाउनु भएको छ ।

भाषाशैली प्रस्तुति–मेरो दृष्टिमा भाषा सरल छ र प्रस्तुति सहज छ । यस विषयमा प्रा. फणिन्द्रराज काफ्लेज्यूले शुभकामना सन्देशमा भन्नुहुन्छ –‘‘ भाषा, शिल्प÷शैलीको र शब्द चयनको दृष्टिले विभिन्न शीर्षकका कविता भिन्न भिन्न छन्दमा लेखिएका छन् । यसमा लोक छन्द–लय र शास्त्रीय दुई छन्दको प्रयोग भएको पाइन्छ । ’’ स्वयम कविले ‘मेरो गन्थन’मा लेख्नुहुन्छ –‘‘यस सङ्ग्र्हमा सङ्ग्रहित कविता प्रायः उपजाति, विन्द्युन्माला, ‘‘शार्दूलबिक्रीडित’’, मन्दाक्रान्ता, शिखऋणी, ‘‘अनुष्टुप्’’ आदि छन्दको लयमा लेखिएका छन् । ’’ यस सम्बन्धमा मैले यत्तिमात्र भन्छु कि सबै कविता लयात्मक छन्, विविध रसले युक्त छन् । एउटै कवितामा पनि विविध भावनालाई पढ्न पाइन्छ । कविता लेखनमा कवि स्वच्छन्द छन् र भावनालाई पूर्णरूपले प्रस्तुत गर्न कवि सफल छन् ।

शीर्षकीकरण –यस कवितासङ्ग्रहको शीर्षकीकरणको लागि अध्ययन गर्दा ‘मृत्तिकार र म’ भन्ने कविताले एउटा महत्त्वपूर्ण स्थान लिएको छ । मृत्तिकाभन्दा माटो बुझिन्छ । माटो जीवहरूको लागि गास बास, कपासको दाता हो तथा जीवन आधार हो । माटोलाई धर्तीमाता पनि भनिन्छ । गहिरिएर हेर्दा माटोभन्दा देश पनि हो । यस कवितासङ्ग्रहभित्र राष्ट्रियताले भरिएका कविताको बाहुल्यता देखिन्छ । विभिन्न शीर्षकका कविताहरूको पनि अधिकांश भावनालाई मृत्तिकाले समेट्न सक्षम देखिन्छ । ‘म’ यहाँ सम्पूर्ण जीवको विम्ब भएर उभिएको छ । माटोमा नै सबै जीवहरू अटेका छन् र म पनि अटेको छु । यिनै विविध कारणले गर्दा ‘मृत्तिका र म’ शीर्षक सार्थक देखिन्छ ।

अन्त्यमा राष्ट्रियता, सामजिक यथार्थता, प्राकृतिक सुन्दरता, जीवन पद्धति, कला, संस्कृति, भाष, साहित्य व्यक्तित्व, गरीबी, शान्ति, सुशासन, द्वन्द्वको अन्त्य, चाडपर्व, एकल नारी, अक्षरको खेती आदि आदि पक्षलाई समेटेर सिर्जना गरिएको एउटा सुन्दर कवितासङ्ग्रहको लागि धन्यवाद, भावी जीवनको लागि सुस्वास्थ र दीर्घायुको कामना साथै जीवन पद्धतिमा सबैले व्यहोर्न पर्ने यथार्थताको एक श्लोक ढकालज्यूकै ‘सपना’ कविताबाट पस्कँदै बिदा माग्छु –

बूढ्याँइमा जो जब पुग्न थाल्छ
अथाह ज्ञानै उसमा रहन्छ
तथापि आफ्नो क्षमता घटेको
बेला ओखत्को सपना म देख्छु
(सपना, श्लोक ८, पृष्ठ ७९)

सदानन्द अभागी
कावासोती न.पा. वार्ड नं ७, शान्ति चोक
मिति २०७६ सात पुस ३ गते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *