अजित क्षेत्री
युएई/ १ माघ २०७६
सर्वाधिक पुरस्कार राशी सहित विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुनेभएको छ । प्रतियोगिता सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको हो । सर्वोत्कृष्ट हुने कविले पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँसहित प्रमाणपत्र पाउने छन् । यो राशी कविता प्रतियोगितामा अहिले सम्मकै सर्वाधिक पुरस्कार राशिरहेको कुरा संस्थाको अध्यक्ष कृष्ण विश्वकर्मले बताउनु भयो ।
प्रतिष्ठानले विश्वब्यापी नेपाली कविता प्रतियोगिताको तयारी पूरा गरी देश बिदेशमा रहने कविहरुबाट प्रतियोगिताको लागि कविता आव्हान गरेको छ । कविता फाल्गुन १ गतेसम्ममा संस्थाको इमेल sahityapratishthan@gmail.com मा पठाउनु पर्नेछ । प्रतियोगीताको लागि बढीमा एक सय पचास शब्दको गद्य कविता र बढीमा पाँच श्लोकसम्मका छन्द कविता पठाउन पनि संस्थाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । कविता नेपाली युनिकोडमा मात्र लेखी पठाउन भनिएको छ ।
कविता प्रतियोगिताको नतिजा २०७७ बैशाख १ गते घोषणा गरिने र उपयुक्त समय मिलाएर नेपालमा विशेष समारोह गरीने र सोही कार्यक्रममा सवोकृष्ट एकलाई नगद पुरस्कारकोसाथ सम्मान र अन्य उत्कृष्ट दस कविहरुलाई प्रमाणपत्र सहित सम्मान गरिने संस्थाका कार्यक्रम संयोजकले वताएका छन् ।
प्रतियोगिताका उत्कृष्ट दससहित देश बिदेशका एकाउन्न कविका कविताहरू समेटेर संस्थाबाट एक वर्ष भित्रै कविता संग्रह प्रकाशित गरिने पनि जनाइएको छ ।
प्रतियोगी कविता कुनै पनि राजनैतिक पूर्वाग्रह, गालीगलौज, साम्प्रदायिक सद्भावलाई खलल पार्ने खालका विचार र अश्लील शब्दहरुको प्रयोग गरिएको हुन नहुने बताइएको छ । अंग्रेजी र नेपालभित्र बोलिने कुनै पनि जनजातिका भाषामा लेखिएका कविताहरूले पनि प्रतियोगितामा प्रवेश पाउनेछन् । तर, उक्त कविताहरूका नेपाली रुपान्तरण पनि साथमै संलग्न हुनु पर्ने बताइएको छ । रचनाका साथमा कविको छोटो परिचय, पासपोर्ट साईजको फोटो, सम्पर्क ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी सगरमाथा साहित्य प्रतिष्ठानको इमेलमा पठाउन संस्थाको फेसबुक पेजमा जारी सूचनामा आग्रह गरिएको छ ।
कविता पूर्णत: मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित-प्रसारित नभएको र साथै कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने पनि सगरमाथा साहित्य प्रतिष्ठान नेपालको प्रतियोगिताको प्रचार-प्रसार संजोकले जनाएका छन् ।
प्रतियोगिताले विश्वभरी छरिएर रहेका नयाँ पुस्ताका कविहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्ण विश्वकर्माले जानकारी दिनु भएको छ ।
