अन्धकार पिच बाटोमा कुद्ने ट्याक्टर रहेछ
यो जिन्दगी भन्नु नै नाइटगाडीको सफर रहेछ
अघाडी पछाडि चारैतिरै अँध्यारो छ सबैतिर
अञ्जान आखिर बिहान पुग्नु पर्ने त सहर रहेछ
यो संसारले तिमीलाई जति नै नराम्रो भनेपनि
पिर नमान राम्रो हुनुपर्ने त हेर्नेहरुको नजर रहेछ
दुश्मनले त मलाई घरिघरी प्रहार गर्ने गर्थियो
सबैभन्दा ठुलो दुश्मन त आफ्नै मनको डर रहेछ
यो रातको सफर हो म पुग्छु पुग्दिन थहा छैन
हे ईश्वर पुग्ने नपुग्ने त आ-आफ्नो खप्पर रहेछ
धनिले गरीब दबायो, गरीब उसैको डाहाले रिसायो
यो पर्मेश्वरको सृष्टि भन्नु नै सबतरफ बराबर रहेछ
जन्मजात अन्धोले अपरेशनपछि होसमा आएर भन्यो
भगवानभन्दा पनि दयालु हस्पिटलको डाक्टर रहेछ
मैले आँखा खोलेर हेरे हर प्यासेञ्जरहरू सुतिरहेथे
रातभर सुत्दै नसुत्ने त केवल त्यो ड्राइभर रहेछ
सपना रहरहरुमा म निदाएछु त्यो रात जूनताराहरुसङै
प्रभातमा थहा भयो मलाई ब्युझाउने प्रभाकर रहेछ।
अन्धकार पिच बाटोमा कुद्द्ने ट्याक्टर रहेछ
यो जिन्दगी भन्नु नै नाइटगाडीको सफर रहेछ
