म पत्थरको निर्जीव देव भइदिएको भए
भर्थें होला भोको पेट दूध र नैबेधको भोगले
पुजिन्थें होला सुगन्धित पुष्पचन्दनले
ओतिन्थें होला गजुरे धातुछानाले
कास ! म सजीव भिखारी जन्मे
भौँतारिरहेको छु जिन्दगी जिउन
जीवन बाँच्न फालिएको नैबेध खोज्दै
निर्जीव देवका सजीव भक्तहरूको गाली खेप्दै
देवालयका पेटीमा ओत खोज्दै
पुकार्छु हे अन्तरआत्मा तिमीलाई
मलाई पनि पत्थरको निर्जीव देव बनाइदेऊ
म मालिकको कालो कुकुर भइदिएको भए
खाने थिएँ होला पेटभरी भोजन
सुत्ने थिएँ होला नरम बिस्तरामा
गुड्ने थिएँ होला मालिकसँगै विलासी मोटरमा
खेल्ने थिएँ होला मालिक्नीको कोमल काखमा
भुक्नेथिएँ होला भोकप्यास लागेको बेलामा
कास ! म त्यसैको सुसारे बनें
उसैको उभ्रिएको खानाले पेट भर्छु
चिसो दलिनमा गुन्द्रीमाथि रात काट्छु
फुटेको कर्मलाई धिक्कार्दै कल्पन्छु
म पनि पुनर्जन्ममा कालो कुकुर हुन पाऊँ
म हाकिमकी हँसिली –रसिली सचिव भइदिएको भए
पड्काउँथें होला पदोन्नति मुस्कान बेचेर
हसुर्थे होला बोनस कार्यालयमा आधामहिना गयल बसेर
पाउँथे होला हाकिमी हातबाट पुरस्कार कर्मठ कर्मचारी दरिएर
कास ! म त तथास्तुबिहीन कर्मठ कर्मी परेछु
जागीर खाएदेखी एउटै श्रेणीमा थच्चिरहेको छु
लाछी पानीमरूवा पोई दरिई जोईको खप्की खाइरहेको छु
गोरु पेलानमा पेलिए पनि कामचोरको संज्ञा खाइरहेको छु
कास ! म त नाथे निष्ठावान जन्मिएछु
मुस्कान लुकाई रोदनको खेती गर्छु
जस उमाली अपजसको झोल पिउँछु
खोटो कर्म भिरी तड्पनको गीत गाउँछु
पुनर्जन्ममा सुकिली सचिव भई मोजमस्ती मुर्क्याउँन पाऊँ
इति
राजेश अधिकारी
