पार्टी कार्यालयमा कमरेड

  • by


कम्युनिष्ट पार्टीबाट सांसदमा मनोनीत भएको केही दिनपछि कमरेड पार्टी कार्यालय पुगे । त्यहाँ साना-ठूला कमरेडहरू हुल बाँधेर उभिएका थिए । एक फुर्तिलो कमरेडले त्वरित गतिले अघि बढेर चिल्लो कारको ढोका खोले ।

‘लालसलाम !’

‘लालसलाम !’ उनी अप्ठेरो मानिकन सुस्तरी तल ओर्ले ।

कुनै पनि कम्युनिष्ट पार्टीको कार्यालयमा यसरी आएको पहिलो अनुभव थियो । उनी बाहिरैबाट हेर्थे- विल्डिङको सबभन्दा माथि फरफराइरहेको लालझण्डा । अनि हुइकिँदै अघि बढ्थे । यस्तो भइरहन्थ्यो । किनभने हँसिया-हथौडाधारी कम्युनिष्ट

पार्टीको अग्लो भवन उनको बाटैमा पथ्र्याे । आज संयोगले -?) यही कार्यालयभित्र थिए ।

‘कमरेड, तपाईंलाई पार्टी कार्यालयमा हार्दिक स्वागत छ ।’ एक वरिष्ठ कमरेडको गुरुगम्भीर स्वर सुनेर उनी झस्किए ।

त्यसपछि पार्टी कार्यालयमा असमञ्जसतासाथ उभिएका कमरेडमाथि एकसाथ दुई प्रतिक्रिया भए । एक, उनलाई अचम्म लाग्यो । र अर्काे, एकप्रकारले रमाइलो पनि महसुस भयो । ‘कमरेड’ शब्द उनका लागि सर्वथा नौलो थियो । केही दिनदेखि सुनेर अलमलिएका थिए । उनलाई कस्तो-कस्तो लागिरहेको थियो । तर पार्टी कार्यालयमा आएर उनलाई यो शब्दले गौरवानुभूति भयो । यो अर्काे थप प्रतिक्रिया थियो ।

‘धन्यवाद !’ कमरेडले लाज मानिमानिकन वरिष्ठ कमरेडको स्वागत स्वीकार गरे ।

कमरेडलाई पार्टी कार्यालयको सबभन्दा विशिष्ट र आकर्षक स्थान ‘अतिथि कक्ष्ा’मा लगियो । उनी सँगसँगै, वरिपरि र सँगसँगै कमरेडहरूका अनुशासित हुल थियो । केही कमरेड बिहानैदेखि अतिथि कक्ष्ामा उपस्थित भएर अधैर्यतापूर्वक प्रतीक्ष्ाा गरिरहेका थिए । केही समय औपचारिक अभिवादनको सहज आदान-प्रदान भयो । तत्पश्चात एउटा इन्सटेन्ट गोष्ठीको सुखद वातावरण तयार भयो ।

‘कमरेड, तपाईंलाई कस्तो लागिरहेछ ?’ एक अपेक्ष्ााकृत दुब्लो तर मोटो आवाजका धनी कमरेडले प्रश्न गरे ।

‘राम्रो लाग्यो ।’ भन्ने चलनचल्तीको सामान्य उत्तर उनको ओँठमा आएर सहसा रोकियो । यसको साटो कुनै गडबढ खालको वाक्य फुत्त निस्केला भन्ने अतिरिक्त सचेतताले गर्दा उनले तुरुन्तै भने, ‘तपाईंहरूका पार्टी कार्यालय निकै

भव्य रहेछ ।’

‘यो त तपाईंको पनि त हो नि कमरेड ।’

‘ए, हो त नि !’ उनले मनमनै उच्चारण गरे, केही भनेनन् ।

केही दिन अघिसम्म कमरेड अर्कै संसारमा थिए । जहाँ लालसलाम, कमरेड, लालझण्डा, कम्युनिष्ट पार्टी, हँसिया-हथौडा, पार्टी कार्यालय आदि-आदि शब्दका कुनै नामनिसान थिएन । त्यहाँका चालु शब्दहरू विलकुलै भिन्न थिए । उदाहरणका लागि निकासी, पैठारी, लगानी, मुनाफा, सेयर, बैंक, ब्याज, लोन, पुँजी, खाता, दलाली, घाटा, ग्राहक, कारखाना, मुन्सी, बनिया, नगद, उधारो, बिल, भ्याट, भन्सार, एजेन्सी, बजार, पसल, बिक्री, मालसामान, गोदाम, व्यापार इत्यादि ।

‘कमरेड, के सोचिरहनुभएको छ ?’ एक अरठ्ठ कपाल भएको कमरेड अगाडिको एक टुक्रा जुल्फी झट्कार्दै सोधे ।

‘केही होइन ।’

‘होइन, केही त सोचिरहनुभएको थियो कमरेड, के हो ?’

‘तपाईंहरूले आ-आफ्नो जीवन बिमा गराइसक्नुभएको छ ?’

‘बिमा ?’ सबै कमरेडहरूका संयुक्त स्वरमा एकमुष्ट आश्चर्य थियो ।

एक्कासी गरिएको यो प्रश्नले स्वयम् कमरेड पनि पर्याप्त चकित थिए । तर एकछिनपछि आश्चर्य गायव भयो । यसको समुचित कारण थियो । वास्तवमा भर्खरै उनको पुरानो पारिवारिक व्यापारिक र्फमले बिमाको व्यवसाय पनि थालेको थियो । त्यसैले चेतनामा बिमा सवार थियो । उनी आफैंमा हलुका ढङ्गले मुस्कुराए । त्यसपछि अलिकति गम्भीर भएर भने, ‘तपाईंहरू खालि हडताल, चक्काजाम, विरोध, जुलुस, जिन्दावाद-मुर्दावाद गरिरहनुहुन्छ, त्यसैले बिमाको कुनै आइडिया छैन । सबै कमरेडले आ-आफ्नो जीवन बिमा तुरुन्तै गराउनुहोस् ।’ एकछिन रोकिएर भने, ‘अँ, हाम्रो पार्टीले कतै लगानी गरेको छ या छैन ?’

‘कस्तो लगानी ?’ उनलाई मन्त्रमुग्ध भएर सुनिरहेका एक पाको कमरेडको ैमुखबाट निस्क्यो ।

‘हामीले राजनीतिका साथसाथै व्यवसायमा पनि उत्तिकै ध्यान दिनुपर्छ । यतिका विदेशी एवं स्वदेशी बैंक, ठूलठूला हैसियतका कम्पनी, महँगो-महँगो रियलस्टेट कारोबार, इन्टरनेसनल स्टान्डर्डको सुपरमार्केट, थरीथरीका कलकारखाना आदि धमाधम खुलिरहेका छन्, हाम्राे पार्टीले तुरुन्तै नबिराइकन सेयर खरिद गर्नुपर्छ । यसको चौतर्फी फाइदाबारे तपाईंहरू केही जान्नुहुन्न । अब म आएको छु । हेर्नाेस्, यसले पार्टीलाई कुनै हानि-नोक्सानी हुँदैन । बरु ठूलै लाभ म ग्यारेन्टी गर्छु ।’

‘तर हाम्राे पार्टी त एक कम्युनिष्ट पार्टी हो कमरेड ।’ उनै पाको कमरेडले किञ्चित अप्ठेरोसाथ टिप्पणी गरे । सबै कमरेडहरूका सालाखाला पाँच दर्जनजति आँखा उनैतिर सोझिएका थिए । यसरी एक कम्युनिष्ट पार्टीको कार्यालयमा आएर आफूलाई स्वस्फुर्त ढङ्गले स्पीच दिइरहेको देखेर उनी दङ्ग थिए । उनलाई विश्वास नै भइरहेको थिएन । तर यो सत्य थियो । सबै स्राेता कमरेडतिर पालैपालो हेरेर उनले एक हात उचालेर भने, ‘कमरेडहरू हो, कम्युनिष्ट भनेर हुँदैन । ल भन्नोस्, तपाईंहरूलाई चुनावमा चन्दा चाहिन्छ कि चाहिँदैन ? आफ्नै लगानीबाट खुरुखुरु मुनाफा आइरहे यसरी चन्दासन्दाका लागि त्यति कुदिरहनुपर्ने कुनै आवश्यकतै पर्दैन । अरूहरूका भर किन पर्ने ?’

सबै स्राेता कमरेडका अनुहारमा ‘हो त नि’को समान भाव थियो । कमरेडले टाउको उचालेर हेरे । उनको आँखा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओका तस्वीरमा गयो । तल कन्भिन्स मुद्रामा लहरै कुर्सीमा कमरेडहरू बसेका थिए । एकाएक पार्टी कार्यालयको अतिथि कक्ष्ामा गम्भीर विश्वसनीयताको माहोल बनेको थियो । उनले जोसिएर फेरि भने, ‘हाम्रो पार्टी कार्यालयको अगाडि त्यति जमिन खाली छ, त्यसको उपयोग किन नगर्ने ? त्यहाँ पसल भाडामा दिन थुप्रै सटर निर्माण गर्न सकिन्छ । यसरी हामी थोरै प्रयासले हाम्रो कम्युनिष्ट पार्टीलाई एक सबल र आत्मनिर्भर कम्युनिष्ट पार्टी बनाउन सक्नेछौं ।

सबैले परर्र ताली पिटे । कमरेडलाई मियो बनाएर चलिरहेको सानोतिनो गोष्ठी यसरी समाप्त भयो । यसको अर्काे कारण के थियो भने खाजाको समय पनि भइसकेको थियो । त्यसकारण कमरेडलाई अघिअघि लगाएर सबै पार्टी कार्यालयको अहातामा रहेको क्यान्टिनतिर लम्के ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *