ढुङ्गा त हो नि
ढुङ्गालाई जहाँ राखे पनि हुन्छ
जे गर्दा पनि हुन्छ,
जसो गर्दा पनि हुन्छ ।
यसलाई उखान तुक्कामा प्रयोग गरे
यो उखान नै बन्छ,
यसलाई मुटुमा राख्दा
उसको यो व्यथा कथा बन्छ,
पहाडको चुचुरोमा सजाए
यो सेतो हिमाल हुन्छ,
यसलाई भञ्ज्याङमा ल्याएर सजाए
यो देउरालीको डाँडा हुन्छ,
भीरमा गारो लगाएर घर बनाए
यो परिवारको धुरी बन्छ,
यसको पनि आफ्नै अस्तित्व छ,
यसको आफ्नै व्यथा कथा छ,
माटोको भर ढुङ्गालाई
ढुङ्गाको भर माटोलाई भने जस्तै
ढुङ्गा र माटोबिना संसार नै टिक्दैन ।
यो निष्प्राण र निर्जीव भए पनि
मानिसको झैँ यसको पनि
आफ्नै मान र सम्मान छ,
मार्बलको रुपमा प्रयोग गर्नेहरूका लागि
त्यो घर आलिशान हुन्छ,
मूर्तिकारले तरासेर यसलाई प्रतिमा बनाए
युगपुरुषको प्रतिक बनेर चिरकालसम्म जीवित रहन्छ,
फूलबुट्टा भरेर गमलामा सजाए
यसले बैठक कोठाको शान बढ़ाउँछ ।
ढुङ्गा, ठुँगा नै हो,
यसलाई जे गरे पनि हुन्छ,
जसो गर्दा पनि हुन्छ,
अभागीको गाँससँग मिसियो भने
दाँतमा लागेको ढुङ्गा भएर
यसले जीवनभरि दुख दिन्छ ।
आँखा नहेरी हिड्नेहरूका लागि ठेस बनेर
यसले मान्छेको चेत खुलाउँछ,
ढुङ्गा, ढुङ्गा नै हो
रीसको झोंकमा प्रयोग गरे
कसैकोलागि यो मुसीबत बन्छ।
मन्दिरमा राखेर पूजा गरे
मानिसका लागि यो देउता बन्छ ।
त्यसैले
सुख पर्दा ढुङ्गा सम्झी कसैलाई तिरस्कार नगर्नु
सुखमा अफालेको ढुङ्गा नै
दुखमा खोज्दा देउता बनेर प्रकट हुनसक्छ ।
ढुङ्गा, ढुङ्गा नै हो
यसलाई जे गरे हुन्छ, जसो गरे पनि हुन्छ
यसलाई राखे पनि हुन्छ, नराखे पनि हुन्छ
जाबो दुँगै त हो,
यो सदैव निष्प्राण र निर्जीव हुन्छ ।
मिल्टन, कनाडा
