मानिस एउटा सचेत प्राणी हो भन्ने कुरा हाम्रा विविध धर्म शास्त्रले हामीलाई अर्थ्याइरहेका छन् । हामीमा यो पनि साक्षात्कार छ कि मानिस जन्मेपछि मर्छ । जन्मेपछि मानिसले धर्म गर्छ भने स्वर्गमा जान्छ र स्वर्गको आनन्द भोग गर्दछ र पाप कर्मबाट नरकको कष्टदायी जीवन बिताउनु पर्छ । यस्तो स्वर्गलोकको भोग धर्ममा लिन व्यक्तिलाई मात्र सम्भव हुन्छ । यिनै व्याक्ति स्वर्ग भोगपछि निर्मल कुलमा जन्म लिन्छन् । यस्तो जन्म दिन आमा बाबुले पनि गर्भदान र गर्भधारणमा सचेत हुनुपर्छ । मातापिताले अपनाउने नियम–विधानमा गरुणपूराणमा भनिएको छ कि नारीको चारदिनसम्म ऋतुकालमा, सङ्गममा नारीहरू त्यज्य हुन्छन् किनकि इन्द्रले विश्वरूपलाई मार्दा इन्द्रलाई ब्रह्महत्या पाप लागेको थियो र यो पाप नारीलाई पनि चौथाई भाग दिएका थिए र यसको सट्टा ऋतुकालको यौन सम्पर्क सधैं गर्न सकिने बरदान पनि दिएका थिए ।
रजवती धर्म त्यो ब्रह्महत्याको पापको चिनोको रूपमा लिइन्छ र महिना महिनामा रज बग्छ । तैत्तिरीय संहिताको धारणामा रजस्वला भएकी नारीका साथ, वार्तालाप, शयन, पाक्यखाना त्याग्नु पर्छ भनिएको छ । यसरी नै सुश्रुतसंहिता (शरीरस्थान म २/३३)ले रजस्वला भएकी महिलासँग गमनबाट जन्मने बच्चाको नेत्र–ज्योति गुम्नु आयु र तेज नष्ट हुन्छ, भनिएको छ । यसरी नै मनु (४/४१) को अनुसार नेत्र–ज्योति गुम्छ । सुश्रुतसंहिता (शरीरस्थान (२/३३) को मार्गदर्शन पढदा प्रथम र द्वितीय दिन सहवास गर्दा यदि त्यस वेला गर्भ नै रहन्छ भने प्रसवकाल–प्रसूतिगृहमै त्यो बच्चा मर्छ । तेस्रो दिनको सहवासमा गर्भ रह्यो भने यस्तो जन्मे अङ्गहीन र अल्पायु पो हुन्छ भनिएको छ ।
लिङ्गपूराण अनुसार ऋतु सहवासमा, चौथो दिन रहन जाने गर्भधानमा अल्पायु, विद्याहीन, व्रतभ्रष्ट, पतित,परस्त्रीगामी दरिद्र जन्मन्छ भनिएको छ । यसरी रजस्वलामा गमन गर्न हुन्न भन्ने पाइन्छ । वैज्ञानिक स्वास्थ विज्ञानमा अध्ययन गर्दा पनि रजस्वलामा गमन गर्नु उपिचत ठानिदैन । रजस्वलाको चौथो दिनमा स्नान गरेर प्रयोगमा ल्याइएका कपडालाई धोएपछि र नुहाएपछि नारी शुद्ध हुन्छे तर देव पूजा र पितृ पूजा गर्नु पर्दा खेरी सात दिन कुर्नु पर्छ भनिएको छ । ऋतुकालको सात दिनभित्र गर्भधारणमा जन्मलिने बच्चा दुष्ट चित्त भावनाको हुन्छ । त्यसो हुँदा ऋतुकालको सात दिन छोडी आठौ दिनमा सहवास गर्दा छोरा जन्मन्छ । अर्थात समरात्रि सहवास छोरा हुन्छ र विषमरात्रि सहवासमा रहेको गर्भले छोरीको जन्म हुन्छ ।
ऋतुकाल रज दर्शनको सोह्र रात्रि हुन्छ र चौधौं रातिको सहवासले छोरा जन्म दिन्छ । यो पुत्र गुणवान, भाग्यवान धार्मिक हुन्छ र सर्व साधारण व्यक्तिले त्यस्तो मौका पाउन दुर्लभ हुन्छ भनिएको छ । यस अवस्थामा खानपानमा पनि सावधानी अपनाउन पर्ने । खास गरेर पाँचौ दिनमा नारीलाई मधुर खाना खान नून चुक तातो पीरोबाट टाढा रहुन भनिएको छ । किनकि यस्तो खाना नखानाले– औषधी–पात्र समान गर्भाशय बन्न जान्छ यस पात्रमा वीउ रोपण अमृत तुल्य हुन्छ र यस्तो स्थापित वीजले राम्रो सन्तान दिन्छ । पुरुषले पनि खानपानमा ताम्बूललाई खानु पर्छ, चन्दन पुष्पमाला, राम्रो बस्त्र लाउनु पर्छ र राम्रो शैय्या सजाएर धार्मिक भाव बनाएर आनन्दमा दुवैले समागम गर्नु पर्छ । किनकि गर्भाधानको समयमा पुरुषको मनोवृत्ति जस्तोप्रकार हुन्छ सोही स्वभावमा जीव गर्भ प्रवेश गर्दछ । त्यो वीऊ चैतन्यांश (चेतनाको अंशको रूपमा) पुरुषको शुक्रमा रहेको हुन्छ जब स्त्रीको फूलसँग शुक्रले एकत्वलाई प्राप्त गर्छ तब गर्भ धारणा हुन्छ । यसरी शुभकाल, शुभकर्म, शुभऋतुमा सबै कर्महरू गर्दा उच्चग्रहमा पूण्यात्माको जन्म हुन्छ । उच्च ग्रहभन्दा (ताजिक नीलकण्ठी, बृहत्पाराशरहोरा शास्त्रका अनुसार उच्च ग्रहभन्दा मेष राशिमा सूर्य, वृष राशिमा चन्द्रमा, मकर राशिमा मङ्गल, कन्या राशिमा बुध, कर्क राशिमा गुरु, मीन राशिमा शुक्र र तुला राशिमा शनि भएका ग्रहलाई उच्च ग्रहमा जन्म लिएको मानिन्छ) । गरुणपूराणले, यस्ता उच्चग्रह लिएर जहाँ बच्चा जन्म हुन्छ त्यो बालक विद्या विनयले युक्त बन्न जान्छ, भनेको छ । माता पितासँग घरमा आनन्दले बढ्छ, सत्पुरुषको सङ्गत हुन्छ, सबै शास्त्र उसले पढ्छ र शास्त्रमा पारङ्गत हुन्छ । यौवनतालाई उसले छुन्छ । यस अवस्थामा पनि धनी, दानी र सुन्दर बन्छ र साथै सुन्दर स्त्रीलाई भोग्न पाउँछ । पूर्व कृत्य तप तीर्थ अनि पुण्यफल आदि कर्मको उदयले गर्दा उसको दिल आत्मा परमात्मामा लीन हुन्छ । जब दिलबाट आत्मा अनात्माका सम्बन्धका बरेमा सोच्न थाल्छ यो सोचाइबाट उसको आफ्नै दिलमा ज्ञानको ज्योति बाल्न सफल हुन्छ र यसरी उसलाई सांसारिक भ्रमको बारेमा थाहा लाग्छ । वास्तवमा मानिस भ्रममा पर्यो भने रसीलाई नै सर्प सम्झन बेर लाग्दैन तथा सचिदानन्दब्रह्मरूप छाडेर उसको मन अवस्तुमा सर्छ । यथार्थ के हो भन्ने कुरा जानकारीमा आए पछि तथा बोध भएपछि ब्रह्मरूपी सत्य वस्तुमा आकर्षक हुन्छ र सत्यरूपी ब्रह्मको चिन्तन गर्छ । यस विषयमा विष्णुले गरुडलाई संसारिक पदार्थ रूप (अनात्म वर्गहरू) पृथ्वी, जल, अग्नि, वायु र आकाशलाई स्थूल भूत हुन् र यिनै ५वटा स्थूल भूतबाट यो पिण्डको (शरीरको) निर्माण हुन्छ भनेका छन् । यिनै पाँच तत्वबाट बनेको हुनाले यो शरीरलाई पञ्चभौतिक भनिन्छ । शरीरमा पृथ्वी गुण भएका तत्वहरू–शरीरमा पाइने हाड छाला, नसा, रोम र मासु, यी पाँचलाई भूमि (पृथ्वी)को गुण भएका भनिन्छ । शरीरमा भएका र्याल, मूत्र, शुक्र, मज्जा (मासी) र रगत, यी पाँच जलका गुण हुन् । शरीरका क्षुधा (भोक), प्यास, आलस्य, निद्रा र कान्तिलाई तेजका गुणको रूपमा लिइन्छ । शरीर खुंम्चिनु, दगुर्नु, फडकनु, फैलनु र चेष्टा गर्नु यी पाँच वायुका गुण हुन् । घोष (कराउनु), छिद्र, गाम्भीर्य, श्रवण, सर्वसंश्रय (सबै तत्वलाई आश्रय प्रदान गर्ने) आकाशका गुण हुन् । मन, बुद्धि, अहंकार र चित्त यी चारलाई अन्तस्करण भन्दछन् । यी पूर्व जन्ममा गरेका कर्महरूको निवास स्थान हो भनिन्छ । श्रीरका कान, छाला, आँखा, जिभ्रो र नाक पाँच ज्ञानेन्दीय हुन् । कर्मइन्द्रिय–वचन, हात, खुट्टा, गुदा, र उपस्थ (लिङ्ग) कर्म इन्द्रीय हुन् । ज्ञान इन्द्रियका देवताहरू– दिशा, वायु, सूर्य,वरुण र अश्विनिकुमार। कर्म इन्द्रियका देवताहरू– अग्नि, इन्द्र, उपेन्द्र, मित्र र प्रजापति नाडी/नारी –देहमा दशवटा प्रधान नारीहरू छन् । यी नारीहरूमा इडा, पिङ्गला, सुषुम्णा, गान्धारी, गजजिह्वा, पूषा र यशस्विनी अलम्बुषा, कुहू, र शंखिनी ।
वायु र वायुको बासस्थान– यो शरीरमा दश वायु हुन्छन् । यी दश वायुमा प्राण, अपान, समान,नाग, कूर्म, कृकल, उदान तथा व्यान देवदत्त र धनञ्जय पर्दछन् । यी वायुको बासस्थान छन् –हृदयमा प्राणवायु, गुदामा अपानवायु, नाभीमण्डलमा समानवायु, कण्ठदेशमा उदानवायु, पूर्ण शरीरमा व्यानवायु, डकारमा नाग वायु, चिल्नेमा कूर्म,भोक जगाउनेमा कृकल वायु, देवदत्त हाई र धनञ्जय सर्वव्यापीरूपमा हुन्छ । धनञ्जय वायुले त मरेपछि पनि साथ दिन्छ ।
खाना परिचालन गर्ने वायु –जीवको शरीर खानामा निर्भर रहन्छ । एक एक गास अन्नले शरीरलाई पुष्ट पार्दछ र खाएको अन्न रसलाई व्यान वायुले् परिचालन गर्छ । उदरमा वायुले अन्नलाई र पाकस्थलीमा दुई भाग गर्छ । अन्न र जल पृथक गर्दै गुदातिर सर्छ । पेटमा रहेको जठाराग्नि माथि जल, जल माथि अन्न राख्छ । अग्निभन्दा तल स्वय म प्राण वायु बस्छ । वायुले नै अग्निलाई शनै शनै बाल्न थाल्छ । बल्दो अग्नि–अन्नलाई किट (मल) र रसमा ढाल्छ । विभाजित रसलाई व्यानवायु सकृय भई सम्पूर्ण शरीरमा रसलाई पुर्याउँछ । यसरी छुट्टिएका मललाई वायुले शरीरका बाह्र अ्रोटा बाटाबाट सजिलै बाहिरतिर फाल्छ । यी बाह्र बाटा भनेका नाक कान, आँखा, जीव्रा (मुख), दाँत, नाभी, नङ, गुदा, (गुप्ताङ्ग),लिङ्ग, नसा, रोमकूप तथा शरीरका छिदहरू हुन् । यी बाटो हुँदै विविध मैला बाहिर निस्कन्छन् ।
गरुणपूराणले मानव शरीरका दुई स्वरूपमा विभाजन गरेको छ । यी व्यवहारिक स्वरूप र पारमार्थिक स्वरूप हुन् । यो व्यवहारिक स्वरू साढे तीन करोड रौंले ढाकिएको छ । यस मध्येमा सातलाख केश छन् । वीस नङ् र बत्तीस दाँत,छन् । मासु हजार पल (एक पलमा चार तोला हुन्छ), रगत एकसय पल, वोसो दश पल, छाला सत्तरी पल, मज्जा (मासी) बाह्रपल, शुद्ध रगत (महारक्ती) तीनपल, शुक्र दुई कुडव (वीस माशा) र स्त्रीमा रज एक कुडव (दश माशा) सम्पूर्ण शरीरमा ३६० हाड, साना ठुला गरी नशाहरू करोडौं, पित्त २५ पल र कफ पच्चीस पल हुन्छ । यसमा निरन्तर गरिने विष्टा र मूत्रको गणना निर्धारण गरिएको छैन । अर्को स्वरूप भनेको –पारमार्थिक स्वरूप हो । यस स्वरुपमा चौध भूवन, सबै पर्वतहरू, सबै द्वीपहरू, सबै सागरहरू, आदित्य आदि नवग्रहहरूलाई तुलना गरिएको छ । यी सबै यही देहमा पाइन्छन् । यस देहमा षटचक्रहरू छन् । ब्रह्माण्डमा जुन जुन गुणहरू पाइन्छन् । ती सबै यो शरीरमा पनि पाइन्छन् ।
गरुणपूराण भन्छ पारमार्थिक शरीरमा मूलधार आदि छः चक्र छन् । यिनलाई योगिहरूको धारणा गर्ने स्थान पदलाई ध्यानमा ल्याइन्छ जस्को ध्यानको कारणबाट जीव पनि विराटरूपको भागी हुन्छ । कटीभन्दा तल सातलोक मानिएका छन् । पैतलाको तल्लो भाग जस्लाई हामी तलुवा भन्दछौंलाई तललोकल मानिएको छ । पैतलाको माथिको भाग वितललोक मानिएको छ भने यसरी नै घुँडामा सुतललोक, तिघ्रामा महातललोक,, तिघ्राका मूलमा तलातललोक, गुह्यस्थानमा रसातललोक, कटिमा पाताललोक,कटीभन्दा माथिमा (सातलोक), नाभीको मध्ये भागमा भूर्लोक, नाभी माथिको भागमा भूवर्लोक, हृदयको भागमा स्वर्गलोक, कण्ठको भागमा महर्लोक, मुखमा जनलोक, ललाटमा तपोलोक र ब्रह्मरन्ध्र (तालुमा) सत्यलोक रूपमा लिइएको छ ।
शरीरमा अवस्थित पर्वतहरू –गरुडपूराणमा भनिएको छ । यो शरीर सात सुमेरु पर्वतले सजिएको छ । कम्मरको हाड (त्रिकोण)मा सुमेरु पर्वत,अधः कोणमा (तल्लोमा) मन्दराचल, दक्ष (दाहिने)कोणमा कैलास पर्वत, देब्रे (वाम)कोणमा हिमाचल ऊध्र्वरेखा (माथिल्लो भाग)मा निषध पर्वत, दाहिनेपट्टीको रेखामा गन्धमादन र वामरेखामा रमणाचल पर्वत उक्त स्थानहरूमा अवस्थित छन् यसरी गरुणपूराणले पारमार्थिक शरीरमा सात द्वीपहरू पनि अवस्थित छन् भन्दछ । यी द्वीपहरूमा अस्थि (हाड)मा जम्मू द्वीप, मज्जा (मासीमा) शाक द्वीप, शिरा (नसा)मा क्रौञ्च द्वीप, छालामा शाल्मली द्वीप, रोम समूहमा गोमेद द्वीप र नङमा पुष्कर द्वीप हुन् ।
सागरहरू– यी द्वीपहरूको अन्तरमा सागरहरू पनि अवस्थित छन् । यी समुद्रको अवस्थिति – मूत्रस्थानमा क्षारसागर, दूध स्थानमा क्षीरसागर, कफ स्थानमा सुरासागर, मासी (मज्जा)मा घृतसागर, शरीररस्थ रसमा रससागर रगतमा दधिसागर र लम्बिका (किलकिले)मा स्वादू (स्वादिलो) सागरको रूपमा लिइएका छन् ।
ग्रहको निवास स्थान –यसै शरीरमा ग्रहहरूको अवस्थित स्थितिलाई गरुणपूराणले यसरी चित्ऋण गरेको छ ।, नादचक्रमा सूर्य, विन्दुचक्रमा चन्द्रमा, नेत्रमा मङ्गल, हृदयमा बुध, विष्णु स्थानमा वृहस्पति, शुक्र स्थानमा शुक्र, नाभिस्थानमा शनिश्चर, मुखमा राहु र वायुको स्थानमा केतु गरी सम्पूर्ण ग्रहमण्डलले यो पारमार्थिक शरीरमा आफ्नो स्थान जमाएका छन् । त्यसो हुँदा यो शरीरमा ब्रह्माण्डको चिन्तन गर्नु पर्दछ । प्रभात कालको ब्रह्ममुहूर्तमा सधैं पद्माशन बाँधेर षडचक्रको चिन्तन गर्नु पर्दछ र यथाविधिमा अजपा–जप गर्नु पर्दछ । अजपा नामकी गायत्री देवीले मुनिहरूलाई मोक्ष प्रदान गर्दछिन् । यिनीको संकल्पमात्रले मानिस सबै पापबाट मुक्त हुन्छन् ।
अजपाको उत्तमचक्र – यो भनेको प्रत्येक सास तान्दा र फ्याक्दा थाहै नपाई जपिने गायत्री मन्त्र हो । विद्वानहरूको कथन छ कि एक दिनरातमा २१६०० स्वासलाई लिने छोडने गरिन्छ (सूक्ष्मगति हुन्छ) । हं को आवाजमा श्वास बाहिर आउँछ र स को आवाजमा श्वास भित्रजान्छ । यही हंसको तात्विकरूपमा जीव (जीवात्मा)ले परमात्मालाई निरन्तर जप्दछ । यसैलाई अजपा भन्दछन् । यो मन्त्रलाई अजपा भन्दछन् । यसको सङ्कल्प गर्दा मुक्त भइन्छ । यो मन्त्र गणेशको लागि ६०० ब्रह्माको लागि ६०००, विष्णुलाई ६०००शिवजीलाई ६००० जीवलाई १०००, गुरुलाई एक हजार, चिदात्मालाई १००० गरी जप संख्यलाई समर्पण गर्नु पर्दछ । अरुणादि सत्सम्प्रदायलाई जान्ने मुनिहरूले ब्रह्ममयूख (किरण)लाई चिन्तन गर्दछन् । शुकदेव आदि मुनिले पनि आफ्ना शिष्यलाई उपदेश दिन्छन् ।त्यसो हुँदा बुद्धिमानहरूले महापुरुषको प्रवृतिलाई विचार गरी यो चक्रमा ध्यान गर्नु पर्दछ । सबै चक्रमा अनन्य भावबाट यी देवताको मानसिक पूजा गर्नु पर्दछ । गुरुको उपदेश बमोजिम गायत्रीलाई जप्नु पर्दछ । हजारदल भएको कमलको तल, (तलतिर मुख फर्केको) छिद्रमा हंस स्थानमा बसेका श्रीगुरुको वर तथा अभयमुद्रायुक्त दुवै हातका कमलहरूमा स्थितिवाला श्रीगुरुको ध्यान गर्नु पर्दछ । स्तुति पूर्वक प्रणाम गर्नु पर्दछ ।गुरुको चरणबाट निस्केको अमृतमय धाराले आफ्नो शरीरलाई पखालेको जस्तो चिन्तन गर्नु पर्दछ ।पंचोपचारले पूजा गरेर स्तुति पूर्वक प्रणाम गर्नु पर्दछ । यस पछि कुण्डलिनीलाई ध्यान गरर्नु पर्दछ । यिनी षट्चक्रमा साढे तीन वलय (घेरा)मास्थित छन् र स्वासको गतिसँगै तल माथि गरी षटचक्रहरूमा हिडदछिन् । त्यस पछि ब्रह्मरन्ध्रबाट बाहिर सुषुम्ना नामको स्थान (प्रकाश मार्ग)लाई ध्यान गर्नु पर्दछ । यस मार्गबाट जाने मानिसले विष्णुको परम पदलाई प्राप्त गर्दछ । यो पद कस्तो भने विष्णुबाट चिन्तन गरिएको, आनन्दस्वरूप, स्वप्रकाश, सनातनरूपकोलाई सदा ध्यान गर्नु पर्दछ । गुरुको उपदेशलाई पालन गर्ने र मनलाई निश्छल पार्नु पर्दछ । गुरुको उपदेशलाई छाडेर आफै गर्नु हुँदैन किनकि साधक पतन हुन सक्छ । अन्तर्याग (यसमा गणेशको पूजा)गरेर पछि वहिर्याग (यसमा विष्णु र शिवको पूजा गर्ने) गर्नु पर्दछ । स्नान सन्ध्या गरेर हरि र शिवको पूजा गर्नु पर्दछ । देह अभिमानीहरूको (पाञ्चभौतिक शरीरलाई नै आफ्नो शरीर सम्झनेवालाको) वृत्ति (जीविका) अन्तर्मुखी हुँदैन । यिनको लागि सरलरूपमा गर्न सकिने श्रीहरिको भक्ति नै मोक्ष साधिका हुन सक्छ । तपस्या र योग साधन पनि मोक्षको मार्ग हो तापनि सांसारिक चक्रमा अल्झिएको व्यक्तिलाई उद्धारको बाटो भनेको विष्णु भक्ति नै हो । ब्रह्मादि देवताले वेदादि शास्त्रलाई बारम्बार विचार गरेर तीन पटक यही सिद्धान्तलाई सुनिश्चित गरेकाछन् । यज्ञादि धर्म जे जति छन् ती सबै चित्त शुद्ध गर्नका लागि हुन् । विष्णु भक्तिलाई जस्ले प्राप्त गर्न सक्छ त्यसले जन्म मरणादि दुःखबाट पीडित हुँदैन । जस्ले भगवान विष्णुको सुकृति आचरण गर्छ,त्यस्ले सनातन मोक्ष प्राप्ति गर्छ ।
अजपा –जपलाई सधैं गर्दा जीवले जीवभावबाट मुक्त पाउँछ । षडचक्रभन्दा मूलाधार, स्वाधिष्ठान, मणिपुरक, अनाहत, विशुद्ध र आज्ञा पर्दछन् । मूलाधार (गुदादेखि केही माथि लिङ्गदेखि तलको भाग)मा, लिङ्गदेशमा, नाभिमा, हृदयमा, हृदयमा कण्ठमा, आँखीभौंमा र तालुमा क्रमसँग ध्यान गर्नु पर्दछ ।
मूलधारचक्र– चारपाते आकार अग्नि समान, व देखि ससम्म को (व, श, ष, स) पर्यन्तवर्णको आश्रय भएको हुन्छ।
स्वाधिष्ठानचक्र– यो चक्र सूर्य समान द्वीप्तिमान, ६पाते,ब देखि लसम्मको (ब, भ. म. य. र. ल.) पर्यन्तवर्णको आश्रय स्थान भएको हुन्छ ।
मणिपूरचक्र–रातो (रक्तिम) आभावाला दशदल (दशपाते) आकार भएको ड देखि फसम्म पर्यन्त वर्ण (ड, ढ, ण, त, थ, द, ध, न, प, फ) को आश्रय स्थान भएको हुन्छ ।
अनाहतचक्र– आकारमा बाह्रपाते आभामा स्वर्णिम पर्यन्त वर्ण क देखि ठसम्म (क, ख,ग घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ)ले युक्त भएको हुन्छ ।
विशुद्धचक्र– यो चक्र सोह्रदल (सोह्रपात)को आकार भएको सोह्रवटा स्वर (अ, आ, इ, ई, उ, ऊ,ऋ, ऋृ, लृ, लृृ, ए, ऐ, ओ, औ, अं, अः)ले युक्त भएको, कमल र चन्द्रमाको जस्तो कान्ति भएको हुन्छ ।
आज्ञाचक्र– यो चक्र दुई पाते (हं, स)ले युक्त भएको हुन्छ । यो रातो वर्णको हुन्छ ।
सहस्रदल कमलाकार चक्र– यो चक्र सबैभन्दा माथि (ब्रह्मरन्ध्र)मा अवस्थित हुन्छ । हजारदल भएको र देदीप्यमान हुन्छ । यो सधैं सत्यमय, आनन्दमय, शिवमय, ज्यातिर्मय र स्वास्वतमय (निरन्तरमय) हुन्छ ।
यी चक्रमा क्रमैसँग गणेश, ब्रह्मा, विष्णु, शिव, जीवात्मा, गुरुको साथै व्यापक परमब्रह्मलाई चिन्तन गर्नु पर्दछ । मूलधारचक्रमा गणेशजीलाई, स्वाधिष्ठानचक्रमा ब्रह्माजीलाई, मणिपूरचक्रमा विष्णुलाई, अनाहतकचक्रमा शिवलाई, विशुद्धचक्रमा जीवात्मलाई,आज्ञाचक्रमा गुरुलाई सहस्रारचक्रमा सर्वव्यापी परमब्रह्मलाई चिन्तन गर्नु पर्दछ ।
पौराणिक कालका धार्मिक ग्रन्थले, तत्समयका मानवीय जीवनलाई दर्शाएका मार्गदशनले आज पनि हाम्रो संस्कार र धर्ममा अति उच्च स्थान दिएको छ । त्यस समय अबलम्वन गरिएका मुक्ति मार्ग तथा तत्समयका सामाजिक परिवेशमा विष्णुले गरुणलाई अर्थ्याएको मानव शरीरमा नै ब्रह्माण्डको अवस्थिति, मानवले गर्न सक्ने विराटभावको मार्ग दर्शन, मानव शरीरको संरचना आदि आदि अति विशिष्ट थिए भन्न सकिन्छ । आजको मानव स्वास्थ विज्ञान निश्चय नै निकै अघि बढेको छ । यसमा कुनै संका छैन । मैले गरुडपूराणले अर्थ्याएको शरीरका व्यवहारिक र पारमार्थिक स्वरूपको ब्रह्माण्डका गुणसँग तुलना शीर्षकमा यो लेख गणेशपूराण–सारोद्धार पंञ्चदशोऽध्यायः को केही भावानुवाद र केही भावसारबाट तयार पारेको हो । संस्कृतमा लेखिएको यो पूराणलाई मैले हिन्दी नेपालीमा गरिएका अनुवादलाई पनि अध्ययन गर्दै सहयोग लिएर यस लेखलाई तयार पारेको हु म ।
सन्दर्भ सामाग्री–
१. संक्षिप्त गरुडपूराण (सचित्र, मोटा टाइप, केवल हिन्दी) गीताप्रेस, गोरखपुर,सं.२०६७ चौधहवाँ पुनर्मुर्द्रण
२. गरुडपूराण–सारोद्धार सानुवाद गीताप्रेस, गोरखपुर,सं.२०६५ बारहवाँ पुनर्मुर्द्रण
सदानन्द अभागी
