Skip to content

लघुकथा लेख्न दिल, दिमाग र आत्मा एकैपल्ट घुलित हुनुपर्दछ – खेमराज पोखरेल

  • by
20200226-NandaLalAcharya-Interview

२०७६ साल माघ २८ गते लघुकथा कुनोको नवौँ वर्ष प्रवेशको दिन हो । नेपाली आख्यानमा चर्चित हुँदै गरेको लघुकथा प्रविधाका बारेमा विशेष दक्षता हासिल गर्नुभएका र अहिले पनि नेपाली लघुकथाको उन्नयनमा रातोदिन सक्रिय खेमराज पोखरेलका कथा, कविता, निबन्धबाहेक पाँच थान लघुकथा सङ्ग्रह प्रकाशित भएका छन् ।

यो वार्षिकोत्सवका अवसरमा प्रकाशनार्थ आख्यानकार तथा लघुकथा कुनोका एडमिन खेमराज पोखरेलसँग लघुकथाको सेरोफेरोमा रहेर म नन्दलाल आचार्यले एउटा अन्तर्वार्ता तयार गरेको छु । लघुकथा लेख्दै गर्नुभएका लघुकथाकारहरू, लघुकथाका समीक्षकहरू, विवेचकहरू, अनुसन्धाताहरू तथा पाठकहरू यो अन्तर्वार्ताबाट लाभान्वित हुनुभयो भने म पुलकित हुनेछु ।

20200226-NandaLalAcharya-Interview

१. आफ्नो परिचय कसरी दिन रुचाउनुहुन्छ ?

– जिल्ला सप्तरीको कञ्चनरूप नगरपालिकाको वडा नं १२मा २०१३ सालमा जन्मेको हुँ । मेरा बुवा उद्धव प्रसाद पोखरेल आमा दुर्गादेवी पोखरेल हुनुहुन्छ । गाउँकै प्राविमा कक्षा २सम्म पढेको, त्यसपछि एस.एल.सी.सम्मको पढाइ सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरमा भएको हो । आइ.ए. र बि.ए. राजविराजमा महेन्द्र विन्देश्वरी क्याम्पसबाट गरेँ । एम.ए. इतिहास विषयमा त्रिविबाट प्राइभेट गरेँ । इतिहास विषयको प्राध्यापन जागिर खाएँ । साहित्यमा रमाइरहेको छु ।

२. लघुकथाको सेरोफेरोमा रहेर परिचय दिनु पर्यो भने कसरी दिनुहुन्छ ?

– मैले कविता, निबन्ध, कथा, संस्मरण तथा लघुकथाहरू लेखेको छु । लघुकथाको सेरोफेरोमा बसेरभन्दा म लघुकथा कुनोको एडमिन हुँ । पद त्यत्ति हो । पगरी त्यही हो । लघुकथा कुनोमा पोस्ट भएका लघुकथा पढ्दा, प्रतिकृया दिँदा र सम्पादन गर्दागर्दै लघुकथा लेख्न, पढ्न, सम्पादन गर्न र समीक्षा गर्न थालेको हुँ । अहिलेसम्म मेरा ‘पछ्यौरीको आइसक्रिम’, ‘दह्रो लौरो’, ‘सीमानामा आमा’, ‘राम शाहको चौतारो’ र ‘ईश्वरको मृत्यु’ नामका ५ वटा लघुकथासङ्ग्रह छापिएका छन् । एउटा तयार भएको छ । त्यो जन्मने र न्वारान हुने दिन कुरेर बसेको छ । यसबाहेक विभिन्न लपसिक्खा र स्थापित लघुकथाकारहरूका लघुकथाहरू ‘मोलुङ लघुकथासङ्ग्रह’ र ‘मदुस’ लघुकथासङ्ग्रहहरू सङ्कलन, सम्पादन र प्रकाशन गरेर लघुकथाकै उन्नयनमा काम गरेको छु । लागिरहेको छु । बिनाहिच्किचाहट रमाएर नै जस–अपजस बोकि नै रहेको छु । खास रिटर्नको आशारहित भएर हिँडेको छु ।

३. तपाईँका विचारमा लघुकथा लेख्न केले छुनु पर्छ अर्थात् समकालीन लघुकथा लेखनका विषयवस्तु केके होलान् ?

–यो प्रश्नमा दुइटा प्रश्न छन् । मेरा विचारमा लघुकथा लेख्न दिल, दिमाग र आत्मा एकैपल्ट घुलित हुनु पर्दछ । घटनाले दिल स्तब्ध हुनुपर्दछ । दिमाग झन्झनाउनु पर्दछ र आत्माले सु–कोमलता प्राप्त गर्नु पर्दछ ।

अर्को प्रश्न समकालीन लघुकथाका विषयवस्तुका बारेमा रहेछ । विषयवस्तु विविध छन् । आफ्नै वरिपरिका घटनाबाट, सुनेका घटनाबाट, पढेका घटनाबाट, देखेका घटनाबाट विषयवस्तु टिप्ने हो । आफ्नो चेतीय धरातलले प्रस्तुति गर्ने हो । सामाजिक, आर्थिक, शैक्षिक, भौतिक, पराभौतिक आदि नै त हुन् विषयवस्तु । विषयवस्तुका भण्डार त यति धेरै छन् कि तिनलाई पर्गेल्न मात्र जरुरी छ ।

४. नेपाली साहित्यमा लघुकथाको विकासमा भएको प्रयत्नलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

– २००७ ताकाका पूर्णप्रसाद व्राह्मणदेखि अहिलेसम्म आइपुग्दा लघुकथाले ठूलै फड्को मारेको छ । सङ्ख्यात्मक रूपमा र गुणात्मक रूपमा पनि । विभिन्न संस्था, संगठन, सामाजिक सञ्जालले लघुकथाको उन्नयनमा अहं भूमिका खेलेका छन् । ग्रुप बनेका छन् । समूह बनेका छन् । स्थापित र लपसिक्खाको रेखा पनि तानिएका होलान् । नेपाली भाषाको सरहदभित्र मात्र हेर्ने हो भने लघुकथा गाउँको जिम्ब्वाल नै भइसकेको छ । तर यसलाई विश्व–परिधिमा हेर्ने हो भने नेपालका सबै लघुकथाकारहरू लपसिक्खा हुन् । एउटा उदाहरण दिऊँ है । डब्लु. डब्लु. नोर्टन एण्ड कम्पनीले प्रकाशन गरेको “भेरी सर्ट स्टोरिज फ्रम अराउण्ड द वल्र्ड” भन्ने पुस्तकमा संसारभरिबाट उत्कृष्ट १०००० लघुकथा संकलन गरिएको थियो । ती मध्ये एउटा खण्डमा विशिष्ट ८६ वटा लघुकथा सङ्ग्रह गरिएको थियो । भारत, अफघानिस्तान, श्रीलङ्का, बङ्गलादेश समेटिएका छन् । तर नेपाल छैन । विश्वको लघुकथाको मानचित्रमा नेपाली लघुकथालाई पुर्याउने कसरी ? मूल प्रश्न यही हो ।

यो कुरालाई यत्तिकै छोडेर नेपालकै साहित्यिक परिधिभित्र बसेर हेर्ने हो भने नेपाली लघुकथाको विकासको प्रयत्नलाई नकारात्मक मान्नु पर्ने कुनै कारण छैन । सङ्ख्यात्मक तथा गुणात्मक रूपले बग्रेल्ती छन् नेपाली लघुकथाहरू ।

५. लघुकथा दिनानुदिन लोकप्रिय हुनुको कारण के होला ?

– नेपालमा मात्र नभएर संसारभरि लघुकथा लोकप्रिय हुँदै गएको छ । यसको कारण यो युग हो । अहिलेको युगमा लामा–लामा पोथीहरू पढ्ने समय धेरै सक्रिय मान्छेहरूसँग छैन । तर चेतका कारणले सबै मान्छे दुःखी छन् । मनभित्र, दिलभित्र, दिमागभित्र, आत्माभित्र गुम्सिएका विभिन्न खाले कहरहरू पालेका हुन्छन् । र ती कहरले निकास खोज्छन् । त्यसैले मान्छे साहित्य, संगीत, कलातिर कुनै न कुनै तरिकाले आबद्ध हुन्छ नै । यो भनेको आफूभित्र रहेको वा समाजमा रहेको विसङ्गतिको विरुद्धको सचेतता, प्रगतिशीलता वा विद्रोह हो । यो परिप्रेक्ष्यमा आज संसार सबैकुरालाई नानो बनाइरहेछ । नानो माने निकै सानो । उदाहरण आज एउटा घडीमा सारा संसार अटाएको छ । त्यस्तै साहित्यको पोथीको स्वादलाई नानो प्रस्तुति लघुकथाको लोकप्रियता हो ।

६. लघुकथालाई अँझ लोकप्रिय विधा बनाउन कसले के गर्नुपर्ला ?

– लघुकथा विधालाई अँझ लोकप्रिय बनाउन मूलत लघुकथाकारकै भूमिका प्रधान हुन्छ । किनभने लघुकथाकारले लघुकथाको पहिचान गरी लेख्नु पर्छ । यो प्रसङ्गमाभन्दा जम्मा दुई कुरा लघुकथाकारले बुझ्नु जरुरी हुन्छ । पहिलो बुनौट र दोस्रो कथानक । पहिलो कथानक र दोस्रो बुनौट भने पनि हुन्छ । समान महत्त्वका हुन् । आख्यानको एक विशिष्ट प्रकारको लेखाइ लघुकथा हो । लघुकथा भनेको छोटा कथा मात्र पनि होइन । कथाको अंश पनि होइन । उपन्यासको अंश त झन् हुने कुरै भएन । अर्को कथानक पनि हो । अब्बल कथानकको अब्बल प्रस्तुति राम्रो लघुकथा हो । उदाहरण दिऊँ है । एउटा सुन्दर हलो बनाउनु छ । अब्बल सालको मुढो थुपारेर हलो बन्दैन । किनकि हलोको निश्चित आकार हुन्छ । निश्चित रूप हुन्छ । निश्चित सार हुन्छ । यो आकार सीमा हो । अर्कोतिर कुनै एउटा कुकाठको पनि त सुन्दर आकारको हलो बनाउन त सकिन्छ । तर त्यो हलोले जोत्दैन । भनाइको तात्पर्य हलो बनाउन सुकाठ सालको काठ नै चाहिन्छ । यो काठको बलियो पक्ष भनेको कथानकको स्तरीयता हो ।

हो यो कुरा बुझेर लघुकथाकारले लघुकथा लेख्नु पर्छ, ताकि पाठकले मजा अनुभूत गरोस् । अर्को कुरा समीक्षक वा विवेचकले पनि लघुकथा के हो भन्ने बारेमा बुझेको हुनुपर्दछ । पाठकले भने बुझे राम्रो । यसरी सबै पक्ष मिलेर लघुकथा उन्नयनमा लागियो भने निसन्देह अँझै लोकप्रिय बनाउन सकिन्छ ।

७. नव सर्जकलाई लघुकथा लेखनमा लाग्न अलिकति मार्ग्निर्देश गरिदिनु न ? खासमा लघुकथा कसरी लेख्ने ?

– मैले मेरो लघुकथाको पाँचौँ सङ्ग्रह ‘ईश्वरको मृत्यु’को लेखकीय कुरा भन्ने पातोमा मैले बुझेको लघुकथाका बारेमा केही लेखेको छु । त्यो कुरा नव–सर्जकलाई निकै काम लागोस् भन्ने मेरो अभिप्राय थियो । पुस्तक बजार व्यवस्थापनका हिसाबबाट राम्रो व्यवस्थापन हुन न सकेकाले लघुकथा लेख्न खोज्ने नव–सर्जक साथीहरूले सो पुस्तक हात पार्नुभएको छैन । म क्षमा मात्र माग्छु यो क्षणसँग ।

मेरो लघुकथा बुझाइ भनेको भुइँफुट्टा हो । नेपालीका, हिन्दीका, अङ्ग्रेजीका लघुकथा पढ्दा–पढ्दै लघुकथा लेख्न थालेको हुँ । लेख्दै जाँदा नेपाली भाषामा लघुकथाका सिद्धान्तका पुस्तक पनि आए । तिनलाई पनि पढेँ । स्वर्गवासी प्रा.डा. मोहनराज शर्मासँगको एकआध भेटमा लघुकथाबारे गम्भीर छलफल गरेँ । लघुकथाको लागि प्रा.डा. मोहनराज शर्मा आफैँमा व्यक्ति नै मानक हो । नेपाली हिन्दी सामाजिक सञ्जालमा लघुकथा पढेँ । तिनका बारेमा अन्तरकृयामा घुलित भएँ र मैले एउटा भुइँफुट्टा अवधारणा बनाएँ लघुकथाको । त्यो मेरो अवधारणा मानक हो भनी म ठोकुवा गर्दिनँ । तर म यही अवधारणाभित्र लघुकथा लेख्ने, पढ्ने र विवेचन गर्ने गर्दछु ।

जहाँसम्म ‘नव–सर्जकलाई लघुकथा लेखनमा मार्गदर्शन गरिदिनु न’ भन्ने प्रश्न छ, त्यसमा म मार्गदर्शन गर्न असमर्थ छु । यदि मेरो लघुकथा लेखनको वस्तुपरक वा गुणपरक अनुभव यदि काम लाग्छ भने खुसीले आफ्नो अनुभव सेएर गर्न हतारिन्छु । लघुकथा लेखनमा लेखक सवभन्दा पहिले प्रष्ट हुनु पर्ने कुरा कथानक प्रक्षेपणको दृष्टिविन्दु हो । दृष्टिविन्दुलाई अर्जुनदृष्टि पनि भन्न सकिन्छ । आँखाको नानीजस्तो कुनै एउटा कुरामा मात्र कन्सन्ट्रेट हुनु दृष्टिविन्दु हो । यसपछि आउँछ आकारको कुरा । शब्दमा गनेर यति नै भन्न अवैज्ञानिक हुनजान्छ । तर पनि लघुकथा भनेको लघु याने छोटो नै हो । कति छोटो ? पहिलो कुरा त कथानकले बताउँछ कि कति छोटो । दोस्रो शिल्पले भन्ने छ कति छोटो । नेपाली लघुकथा जगतमा गोरखापत्र २५० शब्द मान्छ । दर्तावाल लघुकथा समाज पनि २५०लाई मान्छ । यो लघुकथा कुनो अलि उदार भएर ३०० शब्दलाई मान्छ । यो भनेको रिजिड होइन, हाराहारी हो । लगभग हो । अलि थोरै वा अलि बढी हो । हुन त लघुकथाकार यसैमा पनि बहस गर्न पाखुरा सुर्कन्छन् । तर पनि ३०० शब्द भनेको लघुकथा लेखनको लागि ओखाइ–पोखाइ हो । यसो भनेर हरेक ३०० शब्द भित्रका आख्यान लघुकथा हुन् त ? भन्ने प्रश्न आउँछ । त्यो भने होइन ।

यसपछि कथानकले सूक्ष्मता खोज्छ लघुकथामा । कथानक प्रयोजन सकेसम्म एउटै भएको राम्रो । अर्थात् अति सूक्ष्म कथावस्तु लघुकथा लेखनको चातुर्य हो । सूत्रता अर्को महत्त्वपूर्ण तत्त्व हो । किनभने लघुकथामा एउटा समग्र उपन्यासमा भन्ने कथासार छोटोमा याने कि सूत्रमा भन्नु पर्ने हुन्छ । यसो भएकाले लघुकथामा प्रयोग गरिएका वाक्यहरूमा सूत्रता हुनु जरुरी हुन्छ । नचाहिने, कथ्यविस्तार गर्ने, प्रयोजन–विस्तार गर्ने, परिपाटीले लघुकथाको स्वाद घट्छ । लघुकथा लेखनको धार तिखो हुनुपर्दछ । लघुकथाको प्रस्तुति तिखो, भोदो र अल्छी लाग्दो हुन हुन्न । पहिलो हरफले नै पाठकको मन तान्नु पर्छ, र तानेपछि समापन नहुञ्जेल छोड्न नै हुन्न । शौन्दर्य, शिल्प, रस आदि साहित्यका गुणहरू हुन् । लघुकथामा पनि यी तत्त्व आवश्यक हुन्छ । कलात्मक शिल्पले लघुकथालाई उचाइमा पुर्याउँछन् ।

लघुकथाको प्राण भनेको बुनौट हो । पारम्पिरिक रूपमा हेर्ने हो भने लघुकथामा एकैनासे उठान, उत्कर्ष र समापन हुन्छ । तर समाजमा लेखनीको रेखा निकै अग्लिएको हुनाले पारम्पिरिक उठान, उत्कर्ष र समापन नहुँदा पनि हुन्छ । र पनि लघुकथा बन्न यी कुराहरू आवश्यक हुन्छन् । लघुकथा लेखकले जहाँबाट शुरु गर्छन्, त्यही उठान हो । जसलाई उत्कर्ष भन्छन्, त्यही उत्कर्ष हो । जसरी समापन गर्छन्, त्यो समापन हो । तर पाठक र विवेचकका दर्शन ढुङ्गामा घोट्दा ती लघुकथाले ध्वन्यात्मकता दिएनन् भने पक्का पनि निम्छरो सिर्जना हो । यसो भएकाले म लघुकथाको बनौटमा ज्यादै धेरै हेक्का राख्नुपर्छ भन्छु । कथ्य–तादात्म्यता, कथ्य¬–प्रयोजन, कुतूहलता आदिलाई गम्भीर भएर हेर्नु पर्छ भन्ने ठान्छु म ।

त्यसकारण म पनि विश्व–परिधिका नजरमा लपसिक्खा नै हुँ । त्यही पनि म नव–सर्जक साथीहरूलाई भन्छु कि पहिले लेख्नुस् । धेरै लेख्नुस् । अरूका लघुकथा पनि पढ्नुस् । धेरै पढ्नुस् । खासमा सिद्धान्त जानेर मात्र स्तरीय लघुकथा लेख्न सकिन्छ भन्ने होइन । स्तरीय लघुकथा लेख्न स्तरीय लघुकथाहरू पढ्नै पर्छ । एउटा आम पाठक भएर पढ्नुस् । विवेचक भएर पढ्नुस् । आफूसँग भएको शिल्पलाई उद्याउनुहोस् । तर ‘मेरो गोरुको बाह्रै टक्का’ गर्नुभयो भने चाहिँ पथले छोडेर अघि बढ्छ ।

र अहिलेको तकनिकी विकासले लघुकथा पनि कविता मुक्तक तथा गजल जस्तै वाचनीय हुनु पर्ने भएको छ । समयले त्यो माग गर्दै छ ।

८. चुटकिला, छोटा कथा र लघुकथाको विभेद बताइदिनु होस् न ।

– एकदम प्रासङ्गिक प्रश्न सोध्नुभयो । चुटकिला, छोटाकथा र लघुकथा तीनै वटा कलेवरमा छोटा हुन्छन् । एक निमेषमा पढिभ्याइन्छ । यस अर्थमा समान छन् । तर यो समानता भनेको बिरालो र बाघमा देखिने समानता मात्र हो । चुट्किलाको तात्पर्य हँसाउनु मात्र हो । जे मनलाग्छ त्यही भनेर हँसाउनु हो । यसको स्थायी भाव हुन्न । यो आफ्नो कथानकमा पनि जिम्मेवार हुन्न । साहित्यिकताको लेस पनि हुन्न । छोटाकथा भन्नाले रूपमा छोटो हुने हो । यसको उठान, उत्कर्ष र समापन सरल रेखीय बहावमा बग्छ । कुनै कुतूहलता वा झट्का हुन्न । लघुकथामा कुतूहलता, व्यङ्ग्य, स्तब्धता, बक्ररेखीय बहाव, हुन्छ । लघुकथाको समापन गर्दा कहिलेकाँही छोटाकथाले र कहिलेकाहीं चुट्किलाले निकै प्रभाव पारिदिन्छन् । लघुकथा समापनका विधि खुला समापन र बन्द समापन हुन्छन् । खुला समापनमा झ्टका र झुन्झुनाहट हुन्छ । पाठक स्तब्ध भएर आफैँ सोच्न थाल्छ । यस्तो झट्का बनाउने उपक्रममा लघुकथाकार कहिलेकाहीं चुटकिला बनाउन पुग्छ । अर्कोतिर बन्द समापनमा लेखक प्रयोजन पुष्टिको क्लाइमेक्स आएपछि पनि बोलिरहन्छन् । यो बोल्नु भनेको लघुकथाको बन्द समापन हो । यसोगर्दा लघुकथाकार समापन भइसकेपछि पनि यति बोलिरहन्छन् कि त्यो लघुकथा नभएर छोटा कथा बन्न पुग्छ ।

९. लघुकथा लेखनका बाधाहरू के के हुनसक्छन् ? बताइदिनुहोस् न ।

– लघुकथा लेखनका बारेमा शास्त्रसम्मत धेरै कुराहरू भइसकेको छ । माथि पनि अलिकति भनियो कि खास लघुकथा लेखनका बाधाहरूमा चुट्किला र छोटाकथा पनि हुन् । यसबाहेक भाषिक दुरुहता अर्को बाधा हो । मिश्र र संयुक्त वाक्य लेखेर कथ्य सम्प्रेषण गर्ने पुरानो स्तरीय भनिने परिपाटीलाई स्तरीयताको कसी मान्ने लेखक विद्वानहरूको प्रभावमा आएर वा आफैँलाई त्यस्तो लागेर हो कतिपय नयाँ लघुकथाकार पनि जटिल भाषा प्रयोग गर्दछन् । जसले लघुकथालाई अबोधीय बनाइदिन्छ । लामा लामा कथानक राख्ने, कथानकलाई अनावश्यक विस्तार गर्ने, एउटै कुरा विभन्न तरिकाले भन्ने चलन पनि लघुकथा लेखनको बाधा हो ।

शिल्पी भनिएका लघुकथाकारहरूले पनि नविन कथानकको पहिचान नगर्ने प्रवृति देखिएको छ । एउटा चलेको विषय भेट्यो भने त्यसैमा लेखेको छ, लेखेको छ गर्ने प्रवृति देखा परेको छ । यसले लघुकथाको कथानकको कन्सेप्ट चोरी गरेको ‘प्लेग्यारिज्म’को आरोप पनि लाग्दै गरेको पाइन्छ । मेरै ‘मानु पुगेको दिन’ भन्ने लघुकथाकै कथानकमा हररर ८/१० वटा लघुकथा लेखिए । विदेशमा गएका लोग्नेका श्रीमती बिग्रिएका कथाहरू थुप्रै पाइन्छन् । यसरी विचार गरौँ त ती विदेशिएका नेपालीका कति प्रतिशत श्रीमतीहरू बिग्रिएका छन् ? मुस्किलले एक वा दुई प्रतिशत । अनि ९८ प्रतिशत घरव्यवहार सम्हालेर बस्ने वीराङ्गाना नेपाली महिलाको कथा लेख्ने कि नलेख्ने ? त्यसकारण लघुकथाका विषयवस्तु नविन खोज गर्नु आवश्यक छ ।
समापन सबैभन्दा जटील हुन्छ । जतापायो त्यता समापन गर्दा लघुकथाको स्वाद मर्छ र छोटाकथा बन्न जान्छ । योभन्दा पनि डरलाग्दो बाधा त लघुकथाकारको अपरिवर्तनीय चेष्टा हो । जतिसुकै बुझे पनि आफ्नो बाटो नछोड्ने र जथाभावी लेखेर लघुकथा भन्ने तर्क गर्ने प्रवृति झन् खतरनाक बाधा हो । संसार “ट्रायल एण्ड इरर” प्रकृयाबाट अघि बढ्को छ । लघुकथाकार पनि मान्छे हो र मान्छेले गल्ती गर्छ । गल्ती महसुस गर्छ र सच्चिन्छ, यो नै सही तरिका हो । समयले फड्को मार्दै जाँदा आफूलाई “अप टु डेट” गर्नै पर्छ । नत्र युगले छोडेर अघि बढ्छ । यो परिवर्तन हुन नचाहने चेष्टा लघुकथाको बाधा हो ।

१०. अन्त्यमा लघुकथाको सेरोफेरोमा मैले सोध्न भुलेको तर भन्न चाहेको कुरा छ कि ?

– लघुकथाका बारेमा मूलकुरा आइसकेका छन् । भनेर त कहिले सकिन्छ र ? यो नियमित चलिरहने नदीय परम्परा हो । सनातनीय हो । चलिरहन्छ । युग फेरिन्छ, युगले नयाँ अर्थ र बोधको सम्वाहन गर्छन् । न हिजो भनेका कुरा अहिले दुरुस्त हुन सक्छन् । न अहिले भनिएका कुरा भोलि दुरुस्त लागू हुन्छन् । र पनि लघुकथाको स्वरूप अमेरिका, भारत र नेपालमा फरक फरक छन् । नेपाली लघुकथा संसारले लघुकथाको आफ्नै मानक बनाउन प्रयत्न गरिरहेको अवस्था हो यो । त्यसकारण यसमा होस्टेमा हैँसे गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । उदाहरणको लागि नेपाली साहित्यले आफैँले बनाएको प्रशिद्ध भाषाशास्त्री वालकृष्ण पोखरेलले क्वाइन गरेको ‘नियात्रा’ शब्द विश्वभर कतै छैन । तर यो नेपाली मानक शब्द भएको छ । यात्रा विवरण वा यात्रासंस्मरणभन्दा नियात्राको स्वरूपमा केही त फरक छ ।

यो पृष्टभूमिमा हेर्दा हामी सबै मिलेर नेपाली लघुकथाको विशिष्ट मानक तयार गर्नु पर्ने छ । यो अवस्थामा हाम्रा विचका व्यक्तिगत रिसइवीको परित्याग गर्नु पर्ने हुन्छ । व्यक्तिगत इगो छोडौँ । लघुकथा लेखनमा संवेदनशीलता ल्याऔँ । विश्वपरिधिमा नेपाली लघुकथालाई पुर्याउन लगातार प्रयत्न गरिरहौँ । मुख्य कुरो हाम्रा लघुकथाहरूलाई अङ्ग्रेजी भाषामा स्तरीय अनुवाद गर्नु, गराउनु, आजको आवश्यकता र चुनौती भएको छ ।

र अन्त्यमा मलाई लघुकथाकारको विद्यार्थी ठहर गर्ने मेरा पाठक, समीक्षक, विद्वान तथा लघुकथा कुनोभित्रका लाइक, कमेण्ट तथा सेएर गर्ने र पढेर मेसेञ्जरमा पनि मलाई हौसला प्रदान गर्ने सहृदयी साथीहरू, आफन्तहरू, मेरा लघुकथाहरू छापिरहने पत्रिकाहरू, वाचन गरिदिने एफ.एम.हरू, युट्युवहरू सबका सबमा एकमुष्ट सलाम टक्याउँछु ।

११. अमूल्य समय दिनुभएकोमा हार्दिक धन्यवाद ।

– लघुकथा कुनो सामाजिक सञ्जालमा मेरो यो अन्तर्वार्ता समावेश गर्न जाँगर चलाउनु भयो । भोलि कुनै पत्रिकाले छाप्न पनि सक्छन् । तपाईँ लघुकथाकार, कथाकार, उपन्यासकार नन्दलाल आचार्यलाई मलाई यो अवसर दिनु भएकोमा आभारसहित धन्यवाद भन्छु ।

जय लघुकथा
फेब्रुअरी ५, २०२०
४१५ मेलो ग्रोभ
सान एन्टोनियो, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *