Skip to content

म को हुँ ? (अस्तित्ववादी)


म कसैको छोरा हुँ, म कसैको पिता
त कसैको नाति हुँ, म कसैको आज हुँ
र कसैको अतित, त कसैको पति हुँ ।

म कसैको मालिक हुँ, त कसैको दास हुँ
र कसैको कर्मचारी, म कसैको विश्वास हुँ
र कसैको निजि सम्पत्ति हुँ, त कसैको सरकारी ।

म आसमानको रवि हुँ, म अति प्रचण्ड घाम हुँ
म अनेक पहिचानभित्र अटाउने एक नाम हुँ

क कवि हुँ, म कसैको प्रेमी हुँ
र कसैको रहर हुँ, म कसैको स्वामी हुँ
तर, हैन कविभन्दा पनि धेरै
त म कसैको कविता हुँ

म एक बतल औषधी अमृता हुँ
त कसैको लागि जहर हुँ

म यो देशको एक पत्रकार हुँ
म कसैको एक समाचार हुँ

तर हैन त्योभन्दा पनि
धेरै त हर समय आफैमा
म बाचिरहेको एक खबर हुँ

म कसैको साथी हुँ त कसैको दुश्मन
म एक चोर अपराधी हुँ
म एक कठोर कारागार हुँ
र आफैमा एक प्रशासन

म एउटा फुल हुँ
र कसैको जुन
त कसैको लागि फोहोर हुँ
म आफैमा एक भूल हुँ
त आफैमा एक कानून
र सिक्नेहरुको लागि एक स्कुल हुँ

म एक बजार हुँ
र आफैमा एक सामान हुँ
(किन्न नसक्नेहरुको लागि
सिर्फ चार शून्य हुँ
तर, चिन्न नसक्नेहरुको लागि
भने म नब्बे हजार हु) ।

म कसैको भ्रम हुँ, र कसैको आस हुँ
म कसैको प्रेम हुँ
त कसैको बकवास हुँ

म कसैको लागि अञ्जान छु
त कसैको लागि स्वय म भगवान हुँ

म बादल हुँ
र आफैमा म एक आकाश हुँ
हुन सक्छ म कसैको लागि पागल छु
त कसैको लागि महान ।

म कोही बाचिरहेको विम्ब हुँ
त कसैको एक ज्युदोलास हुँ

म कसैको लागि पानी हुँ
त कसैको लागि बतास
त कसैको जिन्दगानी हुँ ।

म कसैको एकराज्य हुँ, म एकप्रदेश हुँ
म एक भेष हुँ र एक जात हुँ
म एक नागरिक हुँ
र म यो देशको एक पहिचान हुँ

म एक भोज्यभाज्य हुँ
म एक गेडो चामलको भात हुँ
म मरुभूमिको जमिन पेल्ने आधी हल गोरु हुँ,

तर त्यसको साटोमा त्योभन्दा पनि धेरै त
म यो देशको मातृभाषाको माटोमा खेल्ने
म एक गरीब मजदुर किसान हुँ ।

म अहिलेलाई एक अँध्यारो रात हुँ
तर भोलि हेर्नू आफैमा
म एक उज्यालो बिहान हुन्छु ।

म कसैको श्रीमान हुँ
म आफैमा एउटा स्वाभिमान हुँ
र कसैको छोरो हुँ म कसैको नाति हुँ
त कसैको पिता हुँ ।

अरे ! यत्रो विशालताभित्र पनि हामी पूर्ण छैनौ
कति व्यापक अस्तित्व छ हाम्रो
अनि, कति व्यापक अस्मिता छ मेरो

तर, पनि मलाई थाहा छैन कि आखिर म को हुँ ?

अञ्जान म अहिले मेरो यो मनमा
यो सोधिरहेछु कि
आखिर म को हुँ ?

सायद, यो जीवनमा
मेरो अन्तिम पहिचान त्यही नै हो
जो वर्तमानमा म अहिले खोजिरहेछु ।

रतुवामाइ-८, मोरङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *