Skip to content

अधिर अपूर्वानुभूतिहरू


कोमल कोपिला फूल बनेको प्रथमानुभूति
घरी मुस्काउँदै घरी संकोचित हुँदै
कहिले थकित कहिले उमङ्गित भई
जीवनको डाली डालीमा मस्किदै
बतासको झोंक्कामा बहकिएका परागसँग
शंकालु नजरले मन्द मुस्कान छर्दै
सुगन्धमा झुमिएका भँवराहरुसँग
शर्ममिश्रित रक्तिम मुहारले अभिवादन गर्दै
बालपना नाघी जवानीको दलिनमा टेक्दै
जीवनको प्रथम मोडमा मुस्कुराइरहेकी छे
एउटी फर्क्रनोन्मुख फूल

अवला रजस्वला भएकी अपूर्वानुभूति
त्रसित र थकित पलसँगै पग्लिँदै
दर्द र लज्जामिश्रित भावसँगै बहँदै
अनजान भय र शर्मीलो शास्वत बेहोर्दै
चिसो केशराशि र मलिन मुहारले मुस्काई
अनौठो नारीसुलभ सुगन्धका छिटाहरू छर्दै
बालपन त्यागी जवानीको दलिन टेक्दै छे
फरक फरक झैँ नौलो नौलो झैँ
मुस्काए मुस्काए झैँ
सुस्ताए सुस्ताए झैँ
अप्रस्फुरित भावी सपना बुन्दै
अनौठो कुत्कति र ग्लानिको भावना कुँद्दै
अद्भुत प्रथम मोडबिन्दुमा गम्दै छे
एउटी रजोन्मुख नारी

स्त्री जननी बनेको अपूर्व सुखानुभूति
शिशुको प्रथम रोदनमा मुसुक्क मुस्काउँछिन्
अनि मनोहर मुस्कानमा हर्षाश्रु बहाउँछिन्
प्रथम प्रसुतीको प्रचण्ड पीडाले
ब्यथित ब्यथित झैं थकित थकित झैं
प्रथम मातृत्वको अगाध हर्षले
चकित चकित झैं पुलकित पुलकित झैं
जन्मदाताको पुण्य अलङ्कार प्राप्त गर्दा
आनन्दबिभोर हुन्छिन् प्रशव पीडा भुलेर
शिशुलाई दुग्धधाराको अमृताञ्जली दिन्दा
विश्वबिजेता ठान्छिन् आफूलाई
धन्य छिन् एउटा मात्रीरूपी नारी

मनुष मुर्दा हुनलागेको अभुतपूर्वानुभूति
जीवानोन्तको पीडामा पग्लँदै
स्नेहीहरुको बिव्हल बिव्हलतामा उत्तरहीन हुँदै
बोल्न खोज्छ गलामा उफान अड्किन्छ
सुस्केराउन खोज्छ, श्वास नै टाढिन्छ
तड्पिए झैँ, छट्पटिए झैँ
प्रताडित झैँ, ऐंठ्याइए झैँ
अन्तिम स्वास फुकेर
लक्षित लक्षमा जड हुन्छ
जठराग्नीको अशान्त रापभित्र शान्त हुन्छ
छटपटबिहीन एउटा मूक मुर्दा

इति

Leave a Reply

Your email address will not be published. Required fields are marked *