शिक्षण, लेखन र पत्रकारिताका त्रिवेणी: पेशल गुरु

20200319-PrakashParishkar-LekhakParichaya


हरेक मान्छेका आफ्नै पाराका पृथक् कथाहरू हुने गर्छन् । आफ्नो कथाको नायक प्रत्येक मान्छे आफैँ हो तर फरक के छ भने उसको कथा आफूले भोगे पनि अरू कसैले लेखिदिनु पर्छ । अरूले लेखिदिएको कथा भने बास्तविक पात्रलाई पनि रोचक र मर्मस्पर्शी लाग्छ । यो भने सत्य हो ।

आज म यहाँ अक्षरका पुजारी त्यस्तै एकजना पुराना शिक्षकको कथा लेख्दै छु । मान्छेको जीवनको कुनै लेखाजोखा नै हुँदैन । जन्मियो एक ठाउँ । हुर्कियो अर्कै ठाउँ र कर्म गर्ने ठाउँ आफूले कहिल्यै नचिताएको पनि हुन सक्छ । यस्तै संयोग शिक्षक, साहित्यकार र पत्रकार पेशल आचार्यका जीवनमा समेत परेको छ ।

पूर्वी तराईको आटव्य ‘चारकोसे झाडीले घेरिएको अति गर्मी हुने र औलिया प्रदेश मोरङमा पेशल आचार्य जन्मिए । खासमा उनको पुख्र्यौली थलो भने मोरङ नभएर उदयपुरगढी हो । उनी आफ्ना पिताको जागिर मोरङमा भएकाले संयोगवस् त्यहाँ जन्मिएका हुन् । जागिरेका लागि ‘झोला बोक्यो बसैँ र कुखुरो काट्यो दसैँ’ भन्ने उखान सान्दर्भिक हुन्छ ।

तिनताक मोरङ्मा ‘एक रूपैयाँको अन्नले बाँचुन्जेल खान लाउन र मरेपछि काजकृया गर्न पुग्छ’ भनेर बूढापाकाहरू भन्ने गर्थे । उनी त्यही औल प्रदेशमा जन्मेका हुन् । उनी जन्मिएको वर्ष देशभरि ठूलो अनिकाल परेको थियो रे ! तराईवासीको समाज र परिवारमा उनी जन्मिएका भए उनको नामै पनि ‘रौदिया’ हुन्थ्यो होला कारण मैथिली भाषामा अनिकाललाई ‘रौदी’ र अनिकालमा जन्मिएका मानिसलाई ‘रौदिया’ भनिन्छ ।

बिराटनगरको बरगाछी भन्ने स्थानमा जन्मेर मोरङ, सुनसरी र झापाको तराई परिवेशमा हुर्केर कर्मथलो रामेछाप जिल्लालाई बनाउने आचार्य रामेछापका पुराना नेपाली भाषाका शिक्षकमध्ये एक हुन् ।

उनलाई रामेछाप जिल्लाको शैक्षिक वृत्तमा नचिन्ने बिरलै छन् । अझ शिक्षक विद्यार्थी माझ त उनी ‘पेशल गुरु अर्थात् पी गुरु’ उपनामले समेत चिनिन्छन् । उनले माध्यमिक तहमा पढाएका शिष्यहरूमध्ये कतिपय शिष्य देशको उपल्लो तहमा पुगिसकेका छन् । उनले आफैँले आफ्ना सन्तान समेत पढाए । आज तिनीहरू देशदेशावर पुगेका छन् । उनी भने २९ वर्षदेखि रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित मन्थली माध्यमिक विद्यालय (नमुनाका लागि अग्रसर) मा अनवरत पढाइरहेका छन् । उनले पढाएदेखि देशले तीनपटक त पाठ्यक्रम परिवर्तन गरिसक्यो । अब आगामी वर्षदेखि फेरि नयाँ पाठ्यक्रम परिवर्तनको गृहकार्य गरिरहेको छ । उनी पुरानो समयका भएर पनि आधुनिक विधि र प्रविधिमा फिट भएर अध्यापन कार्यलाई अघि बढाइरहेका छन् । ‘डिजिटलाइजेसन शिक्षण, पेपरलेस एडमिनिष्ट्रेसन र रिडिङ् कल्चर’का यिनी हिमायती हुन् । यिनै तीन तत्वलाई शिक्षणमा स्थापित गर्नमा यिनको हिजो आजको दिनचर्या बित्ने गरेको छ ।

उनले यही विद्यालयमा पढाएका कतिपय शिष्य उनीसँगै डेढ दसकदेखि शिक्षण र प्राध्यापन समेत गर्ने गर्छन् । सम्वत् २०२४ साल भदौमा जन्मेका साहित्यकार पेशल आचार्य अहिले उमेरले ५२ वर्षमा हिँड्दै छन् । उनी पेसाले शिक्षक तथा प्राध्यापक हुन् तर शोखले लेखक । लेखन उनको प्रिय र रूचिकर क्षेत्र हो । विगत् २९ वर्षदेखि निरन्तर शिक्षण सेवा गर्दै आएका आचार्यले आफूले पढाएका कतिपय शिष्यहरूलाई लेखन र पत्रकारितामा समेत दीक्षित गराएका छन् । कैँयौँ चेलाचेलीका पुस्तकमा उनले भूमिका लेखेका छन् । कतिपयका भाषा मिलाइदिएका छन् भने कतिपयका नवोदित लेखकका साहित्यिक नामको न्वारान समेत गरेका छन् ।

आफ्ना शिष्यहरूका अनुरोधमा तिनका सन्तानको नाम समेत उनले साहित्यिक रूपमै जुराइदिएका छन् । यसमा उनलाई गर्व छ । उनी भन्छन् –‘भाषाको सेवा गर्नु मेरो कर्तव्य भएकाले म लेखेर, बोलेर र तालिम दिएर पनि भाषा सेवा गरिरहेको छु ।’

शिक्षणको आरम्भ रामेछापको सुन्दर र ऐतिहासिक स्थल दोरम्बामा रहेको ‘काकलिङ मावि’ बाट गरे जहाँ उनी १६ महिना मात्रै बसे । त्यसपछि उनी ओखलढुङ्गाको सिमानामा पर्ने र सानो चिटिक्क सुन्दर बजारसमेत रहेको साँघुटार ‘हिमगंगा मावि’ मा गए त्यहाँ पनि उनी करिब सवा वर्ष बिताएपछि मन्थली आएर निरन्तर २७ वर्षदेखि मन्थली माध्यमिक विद्यालय र मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा नेपाली भाषा शिक्षणमा क्रियाशील छन् ।

क्याम्पस, प्लस टु र हाइस्कुलका गरी बीसौं हज्जार विद्यार्थीलाई नेपाली पढाइसकेका आचार्य त्यसो त शिक्षणमा मात्र सिमित छैनन् । उनी शिक्षणका अलावा लेखन र पत्रकारिता क्षेत्रसँग समेत अभिन्न रूपले गाँसिएका छन् । उनी रामेछाप जिल्लाका नेपाली भाषा शिक्षकहरूमा पुरानामा गनिन्छन् । यतिखेर उनीभन्दा पुराना नेपाली भाषाका शिक्षकहरू दुई जना मात्र छन् जो यसै वर्ष रिटायर्ड हुँदै छन् ।

उनले रामेछाप जिल्लाका तीनवटा विद्यालयमा पढाउने अवसर पाए । जहाँ उनले माध्यमिक तह र उच्च माध्यमिक तहका विद्यार्थीहरूका लागि कविता, कथा र निबन्ध विधाका गरी ७ वटा सन्दर्भ पुस्तक समेत लेखेका छन् । उनका प्रौढ साहित्यतर्फ कथा, निबन्ध, कविता, मुक्तक, गीत र हाइकूहरू विभिन्न पत्रपत्रिकाहरूमा तीसको दसकको अन्त्यदेखि नै प्रकाशित भएका हुन् । उनले लेख्दा मुलुकमा पञ्चायती शासन थियो । त्यो बेलामा लेख्नु भनेको एउटा ठूलै जोखिम उठाउनु हुन्थ्यो । उनले उच्च शिक्षाका क्रममा पाएका साथीसँगाती र आफूलाई पढाउने असल शिक्षकहरूका प्रेरणालाई छाड्न नसकेका कारण जीवनमा लेखनलाई निरन्तरता दिने काम गरे ।

‘मैले प्रा.बालकृष्ण पोखरेल, कवि तथा प्राध्यापक भानुभक्त पोखरेल, समालोचक नरेन्द्र चापागाईं, लेखक कविराज न्यौपाने, प्राडा द्रोण पौड्याल, डा.बद्रिविशाल पोखरेल, कवि महेश प्रसाईं, कथाकार किशोर पहाडी, कथाकार मनु ब्राजाकी, कवि कविराज पोखरेल, कवि विवश पोखरेल र गजलगो सुुविद गुरागाईंको साहित्यिक सानिध्यतालाई ऊर्जाका रूपमा लिएको छु ।’ – आफू लेखनमा टिकिरहनुको कारणबारे स्ष्ट पार्दै उनी भन्छन् ।

बिराटनगरमा जन्मे पनि उनको बाल्यकाल भने केही भाव र धेरै अभावका बीच सुनसरी र झापामा बित्यो । सडक कविता क्रान्ति (२०३६) बाट कविता लेख्ने उत्प्रेरणा पाएका कवि आचार्य आफूले सडक कविता क्रान्तिका उन्नायक कवि भवानी घिमिरेबाट ‘कविता क्रान्ति र परिवर्तनको संवाहक भएको’ कुरा प्रेरणाका रूपमा लिएको र घिमिरेको कविता वाचन गर्ने आकर्षक शैलीबाट प्रभावित रहेको कुरा स्वीकार्दछन् ।

विना भनसुन लेखन स्तरीयताकै आधारमा रचना चयन भएर करिब चार दसकको लेखन यात्रामा उनी निजी विद्यालयका पाठ्यपुस्तकहरूमा लेखकका रूपमा समेत समेटिएका छन् । जसलाई उनी पुरस्कार जस्तै ठान्छन् । उनको ‘ऐरावती प्रकाशन’, काठमाडौँबाट प्रकाशित कक्षा ५ को ‘नेपाली किताब’ मा ‘डुसी बाछी र भाइटीका’ नामक बालकथा र सुनगाभा प्रकाशन, काठमाडौँबाट प्रकाशित कक्षा ६ को ‘नेपाली किताब’ मा ‘किस्ताको कम्प्युटर’ नामको अर्को बालकथा समेत दुईवटा बालकथाहरू प्रकाशित भई विगत् १२ वर्षदेखि विद्यालय तहमा अध्यापन समेत भैरहेका छन् ।

रोचक कुरा उनी जहाँ अध्यापन गर्दछन् त्यो विद्यालय नजिकै रहेको अर्को एउटा निजी स्कुलमा उनका कथाहरू पढाइ हुन्छन् । स्कुल जाँदा आउँदा उनलाई उनका कथा कोर्स बुकमा पढ्ने ससाना नानीहरूले उनी बारे सोध्छन् । उनी आफ्ना बारेमा हाँसीहाँसी बताइदिन्छन् । ‘लेखक हुनुको मजा नै यही हो ।’ उनी मुस्कुराउँदै बताउँछन् ।

माता शोभा आचार्य र पिता श्याम आचार्यका तीन भाइ छोरामध्ये जेठाछोरा पेशल आचार्यको औपचारिक शिक्षा नेपाली विषयमा एम्ए, बीएड् रहेको छ । उनले मन्थली क्याम्पसमा १९ वर्षसम्म प्राध्यापन गरे बापत गतवर्ष ‘दीर्घ सेवा सम्मान’ समेत पाइसकेका छन् ।

साहित्य लेखन र अखबारी लेखनमा २०३६ सालदेखि निरन्तर लागेका आचार्य ३९ वर्षदेखि लेखनमा क्रियाशील छन् । अध्ययनको प्यासले पत्रकारिता र साहित्य लेखनमा लागेका आचार्यले पुरानो प्रविधिको लेटर प्रेसमा ग्याली प्रुफ, नयाँ प्रविधिको अपसेट प्रेस र अत्याधुनिक अनलाइन पत्रकारिताको समेत दीर्घ अनुभव बटुलिसकेका छन् । जीवनमा उनले केही वर्ष सरकारी जागिर खाए र केही वर्ष प्राइवेट वकिलको कानुन सहायकका रूपमा समेत काम गरे ।

आचार्य रामेछाप जिल्लाका प्राथमिक शिक्षक प्रशिक्षण तालिममा संलग्न टट प्रशिक्षक समेत हुन् । उनले विभिन्न साहित्यिक संघ संस्थाको नेतृत्वसमेत गरेका छन् । नेपाल पत्रकार महासंघ दोलखा–रामेछाप शाखाका संस्थापक उपाध्यक्ष, अनौपचारिक साहित्यिक मञ्च रामेछापका अध्यक्ष, नेपाली भाषा शिक्षक समाज, रामेछापका अध्यक्ष, एम्नेस्टी नेपाल रामेछाप समूहका सदस्य, असल शासन जिल्ला समन्वय समिति, रामेछापका सल्लाहकार र स्थानीय गैर सरकारी संस्था सान नेपाल, रामेछापका सल्लाहकार समेत रहिसकेका छन् ।

रमाइलो कुरो त के छ भने उनले रामेछापबाट निस्कने साहित्यिक र साप्ताहिक समाचारपत्रहरूमा भाषा सम्पादकको दायित्व निर्वाह नगरेका त्यस्तो कुनै पत्रिका नै छैनन् जसमा आचार्यले प्रुफ रिडर र भाषा सम्पादकमा काम नगरेका हुन् । हाल उनी नियमित लेखकका रूपमा नेपाल समाचारपत्र (दैनिक), इमेजखबर डटकम (अनलाइन), पूर्वेली न्यूज (अनलाइन), फित्कौली (हास्यव्यङ्ग्य, अनलाइन), अनलाइन हाँसो (हास्यव्यङ्ग्य अनलाइन), एजुकेसन पाटी (अनलाइन), नयाँ विमर्श (साप्ताहिक), आजको शिक्षा (साप्ताहिक), कपन बानेश्वर (साहित्यिक साप्ताहिक), कोसेली (कान्तिपुर, दैनिक), अक्षर (नागरिक, दैनिक), मधुपर्क (मासिक), गरिमा (मासिक), मिर्मिरे (त्रैमासिक), समष्टि (द्वैमासिक), रचना (द्वैमासिक), अभिव्यक्ति (द्वैमासिक), शाल्मलि (साहित्यिक मासिक), शब्दाङ्कुर (साहित्यिक मासिक) मा नियमित लेखक र अन्तर्वार्ताकार तथा मझेरी (अनलाइन), समकालीन साहित्य डटकम् (अनलाइन) र बिआरटी (अनलाइन) हरूमा करिब ३ दसकदेखि र अनलाइनमा ५ वर्षदेखि निरन्तर विविध साहित्यिक लेखरचनाहरू लेखिरहेका छन् ।

लेखनयात्राका बोमा सोधिएको एक प्रश्नको उत्तरमा उनी भन्छन् –‘हालसम्म मैले १० वटा पुस्तकहरू प्रकाशित गरेँ जसमा ७ वटा विद्यालय स्तरका र तीनवटामध्ये एउटा अन्तर्वार्ता, अर्को आत्मपरक निबन्धसङ्ग्रह र तेस्रो चाहिँ समालोचनाको पुस्तक रहेको छ । छापा र अनलाइनमा गरी करिब २ हजार विविध शीर्षकमा लेख रचनाहरू प्रकाशन र पोष्ट भएका छन् ।’

उनी अघि थप्छन् –‘भर्खरै एउटा ‘ब्याक बेन्चर’ नामको आत्मपरक निबन्धसङ्ग्रह डिकुरा प्रकाशन, काठमाडौँबाट प्रकाशित भयो र अर्को ‘पावर, मनि र सेक्स’ नामक समसामयिक लेखसङ्ग्रह प्रकाशोन्मुख रहेको छ भने अन्य १ दर्जन कृतिका पाण्डुलिपिहरू प्रकाशनका तयारी हालतमा रहेका छन् ।’ आचार्यद्वारा १ दर्जन साहित्यिक पत्रपत्रिका र १ दर्जन विभिन्न संघ संस्थाका स्मारिकाहरू समेत सम्पादित भएका छन् ।

रामेछाप जिल्लामा रहेर लामो समयसम्म अब्बल शिक्षण गरे बापत २०६८ सालमा राष्ट्रिय शिक्षा पदक प्राप्त गरेका आचार्यले २०५१ सालको परिवेश नामक साहित्यिक पुरस्कार, कविता महोत्सव धरान, पुरस्कार –२०५३ र बीबीसी, लण्डनबाट उत्कृष्ट कविको सम्मान समेत पाएका छन् ।

तीन सन्तानका पिता आचार्य निरन्तर लेखनमा लागि रहने इच्छा व्यक्त गर्दछन् । हाल उनी नेपाली साहित्यमा क्रियाशील स्थापित र नवोदित २ सय साहित्यकारहरूसँग साहित्यिक अन्तर्वार्ता लिइरहेका छन् भने बाल साहित्य र किशोर साहित्यमा गाउँगाउँमा गएर बालबालिका र किशोर किशोरीहरूलाई पठन संस्कृति जगाउने र सिर्जनात्मक लेखन सम्बन्धी तालिमहरू दिन्छन् । उनले सङ्ग्रह गरेको अन्तर्वार्ताको सङ्ग्रह भविष्यमा प्रकाशन गर्ने लक्ष्य राखेका छन् । साहित्य र पत्रकारितामा लागेर कुनै नराम्रो काम नगरेको ठान्ने आचार्य आफूले अझै निबन्ध र कविता विधामा नयाँनयाँ प्रयोग गरेर लेख्ने कोसिस गरिरहेको कुरा वार्ताका क्रममा सगौरव बताउँदछन् ।

उनले लेखेका गीतहरू रेकर्ड भएर यूटुबमा राखिएका छन् । ‘अध्ययन, मनन, लेखन र प्रकाशन नै आफ्नो जीवनको एकमात्र इच्छा भएको’ बताउने लेखक आचार्यलाई तलको मोबाइल र इमेलमा सम्पर्क गर्न सकिन्छ । मोबाइल: ९८४४०४४०८३ इमेल: [email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *