मलाई बामे सरेर हिड्न सिकाउने,
हाम्रो आँगन,
ढुकुमुकु, डण्डिबियो, चोर-पुलिस खेल्दै
संघात र विघ्नवाधा छेक्न सिकाउने
हाम्रो आँगन,
क्षणभरमा मनमुटाव, क्षणभरमै कुटाकुट
क्षणभरमै मिल्न सिकाउने
यो हाम्रो आँगन।
यसले
मलाई पढन र बढ्न सिकायो,
ज्ञानी र गुणी बन्न सिकायो,
आमै-बाबै र आफन्त चिन्न सिकायो
चाँड-बाड, संस्कृति र रीतिरिवाज मान्न सिकायो
टिभी, मोबाइल र नेटवर्क नहुँदा
आँगनमा खित्का छोडेर हाँसिन्थ्यो,
आँगनमै खेलिन्थ्यो,
बुढापाकाको आँखा छलेर
साईंली र माईंलीसँग आँखाको भाका हुन्थ्यो,
अप्ठेरो मानेर पनि पिरथी गाँसिन्थ्यो,
आँगनमै चिट्ठी लेखालेख हुन्थ्यो,
आँगनमा दँशैको भोज भतेर,
आँगनमै भाइटीका
आँगनमै देउसी र भैलो,
आँगनमै भेटघाट, आँगनबाट नै बिदा हुन्थ्यो,
आँगनमा जुवारी,
आँगनमै बिहाबटुल र ढोकभेट
चोरीदण्ड र जात दण्ड, आँगनमैढोकभेट
आँगनमै हैकम र शानका कुरा
मान र सम्मानका कुरा हुन्थे,
आँगनमै जुवा-तास र झगडा-फसाद
आँगनमै पञ्चायत सभा
आँगनमै सामाजिक वहिष्कार
आँगनमै रीतिथितिका कुरा हुन्थे ।
उसबेला गरीबहरू पनि मनका धनी हुन्थे
भेदभाव र उच्चनीच गरीब र धनीमा होइन
कर्मको तराजुमा जोखिन्थ्यो,
चारैतिर सयपत्री र मखमलीको फूलबारी,
एकातिर मकैको भकारी
अर्कोतिर लिङ्गेपिङ
अलिक पर बाख्राको टाट्नो र गाईको गोठ
हाम्रो आँगनको आफ्नै विशेषता हुन्थ्यो ।
डोली चढेर पराई घर जाने चेलीबेटीको लागि
यो आँगन,
माइतीघरको आँगन हुन्थ्यो,
अर्थी सज्नेहरूकोलागि
यो आँगन,
अन्तिम यात्राको घडी हुन्थ्यो,
खुशीमा सबै मिलेर रमाउने,
दुःखमा एका-अर्कालाई शान्तवना दिने
यों हाम्रो आँगन
भलपैह्रोले उबारेर छोडेको निशानी भएर
हावा, हुरी र प्रलयसँग जुझेर
हाम्रो परिवार मात्र होइन्
गाउँघरकै इतिहासको गवाह बनेर बाँचेको छ,
यो हाम्रो आँगन ।
यो आधुनिक युगमा
हामीले अस्तित्व र चिनारी गुमाए झैं
आफ्नो गरिमा र रौनकता गुमाएर
शमसान घाट झैं एकलो र विरानों बन्दैछ,
यो हाम्रो आँगन ।
बी बी ठकुरी
मिल्टन, कनाडा
