Skip to content


कान्छो हजुरबाको जीवनमा घटेको यो कथा मेरो हजुरआमाले सुनाउनुभएको थियो । यो २००३ सालको कुरो हो । त्यतिबेला देशमा राणा शासन थियो । कान्छो हजुरबा त्यतिखेर १३ वर्षको हुनुहुन्थ्यो ।

सबै जहानहरू साँझको खाना खाइवरी घरको तल्लामा लहरै सुतेका थिए । कान्छा हजुरबा सबैभन्दा कुनामा ओछ्यान लाएर सुत्नुभएको थियो । बिहान सबैजना चार बज्दावर्दा उठिसकेका हुन्थे । तर, त्यो दिन कान्छा हजुरबा ढिलासम्म उठ्नु भएन । घरका ठुलाहरुले उठाउँदा उहाँ चुपचाप सुतिरहनु भयो । सबैजना आ–आफ्नो धन्दा लागे त्यसपछि त्यति वास्त भएन । जब बिहानको खाना खाने समय भयो तब कान्छा हजुरबाको खोजीनीति भयो । त्यतिखेर पनि उहाँ सुतिरहनुभएको थियो । उहाँको बुबाले झकझकाएर उठाउन जानु हुँदा त उहाँको त धुकधुकी मात्र बाँकी थियो । जीउ सबै सेलाइसकेको थियो । घरमा रुवाबासी चल्यो ।

अस्पताल थिएन । लामा, धामी–झाँक्री बोलाईयो । अनेक विधी गर्यो, कसैको केही सीप लागेन । सबैले माया मारे तर आशा पनि थियो किनकि जीउ चिसो भइसक्दा पनि मुटुको केही चाल बाँकी थियो । विधिविधान गरेर सतगत गरौं, मुटुको धड्कन चल्दैछ नगरौं मान्छे लास पल्टेर बसिरहेको छ । लामा, धामी–झाँक्रीले आफूले गर्नुपर्ने तन्त्रमन्त्र विधि पनि गर्दैछन् । यो क्रमले १३ दिन बितिसकेको थियो । १३ औं दिनको बिहान उहाँ जुरुक्क उठ्नुभयो । सबै आश्चर्यमा परे ।

ब्यूँझिदा आफू वरिपरि लामा, धामी–झाँक्री र मान्छेको घुईचो देखेर उहाँले ताजुब मान्दै साध्नुभयो रे, ‘अरे ! यो के भइरहेको छ ? ओछ्यानमा सपना देखेर सुतिरहेको मलाई किन यसो गरेको ?’

‘होइन, आज तिमी बेहोस भएको १३ दिन भइसक्यो’ उहाँको कुरा सुनेर सबैले एकमुस्ट जवाफ फर्काए ।

‘होइन मलाई किन झुक्याउनुहुन्छ ?’ उहाँले पत्याउनु भएन ।

सबैले सोधे, ‘के सपना देख्यौ र यत्रो दिनसम्म बाबु ?’

‘स्वर्गको’

स्वर्गको कुरा सुन्ने वित्तिकै सबै उहाँको सपना सुन्न धुईरिए, लामा, धामी–झाँक्रीहरू त झन अगाडि सरे । यतिबेला स्वर्ग, नर्क र आफ्नो भाग्यमा मानिसहरू विश्वस्त थियो ।

आफन्तहरुले सोधे, ‘स्वर्ग जाने बाटो कस्तो रहेछ ?’

लामाले सोधे, ‘स्वर्ग कस्तो रहेछ बाबु ?’

धामी–झाँक्रीले सोधे, ‘तिमीले त्यहाँ आफ्नो पुर्खाहरुलाई भेट्यौ ?’

‘स्वर्ग जाने बाटो धेरै अपठ्यारो थियो । थुप्रै कठिनाईहरू पार गर्दागर्दै म आज मात्र स्वर्ग पुग्न सकें । स्वर्ग बगैंचा नै बगैचाले भरिएको थियो । रङगिचङगी फूलैफूलहरू फुलिरहेको, केरा, स्याउ, नास्पाती, अंगुर, सुन्तला जस्ता फलफूल, मकै, धान, कोदो केके हो केके अन्नबालीहरुको बेग्लाबेग्लै हरियाली फाँटहरू । रुखहरू कति राम्रा स्याहारी राखेका । उजहाड र मरुभूमि भनेको कहीकतै छैन । धुलो मैलो केही छैन । मान्छेहरू सब हासिरहेका, नाचिरहेका, एउटै पहिरन पहिरिएका, तेरो मेरो भनेर न गाउँ छुट्याएको छ, न काम छुट्याएको छ, न सम्पत्ति नै छुट्याएको छ । सबैको साझा, सबैको लवाई खवाई एउटै, मिलेर काम गरिरहेका छन् ।

जस्तो उनीहरुको सम्पत्ति त्यस्तै आइमाईहरू स्वतन्त्र छन् कसैको निजि छैन । कसैको अधिकारमा वञ्चित छैन । चराजस्तै स्वतन्त्र मान्छेहरू । लोभ राग केही छैन ।

तर त्यहाँ मैले आफूले चिनेका आफ्ना पुर्खाहरू भेटिनँ । मलाई ती मानिसहरुले आफ्नो दुई पुस्तासम्मको नाम लिएर चिन्छौ भनी सोधे । मैले चिन्न सकिनँ र मैले मेरो चार पुस्तासम्मको नाम लिँदा पनि उनीहरुले चिन्न सकेनन् । उनीहरू भन्दै थियो, ‘हामी त्यो लोकमा हुँदा अहिले तिमी यहाँ जे देखिरहेका छौ, यस्तै युग थियो ।’ यसपछि उनीहरुले जोडदिन्दै भने, ‘तिम्रो लोकमा मान्छेले मान्छेलाई शासन चलाउँदै छ रे भनेको हामीले सुन्यौ त्यसपछि यो लोकमा कोही पनि आएको छैन । हामीले तिमीलाई नचिन्नु र तिमीले हामीलाई यसकारण नचिनेको हुनसक्छ ।’

‘यसपछि त्यो स्वर्गबासीले के भन्यो त बाबु’ सबैले जिज्ञासा पोखे ।

‘जाऊ तिमी जाउ, कुदि हाल’ उनीहरुले मलाई भन्यो, ‘मान्छेले मान्छेलाई शासन गरेसम्म तिमीहरुले स्वर्ग टेक्न पाउने छैनौ ।’

‘म ब्यूँझिए ।’ उहाँले भन्नु भो, ‘तपाईहरुले देखिरहनुभएको छ ।’

यकिना अगाध

Leave a Reply

Your email address will not be published. Required fields are marked *