उज्याला दिनहरू


मधुमाया आग्रोभन्दा गाग्रो सुन्थिन् । त्यसैले उनलाई गुल्मीको थामडाँडामा सबैले गाग्री बजै भन्थे । उनको नाम मधुमाया हो भनेर पछिल्लो पुस्तालाई थाहासम्म थिएन । एक–दुईपल्ट जम्काभेट भएर उनीसँग कुरा गरेका मान्छेहरू उनलाई देखेपछि टाढैबाट बाटो मोड्थे । मान्छेहरूले उनलाई वास्ता नगरे पनि काले कुकुर, भैँसी, दुई–चार बाख्रा र तिनका पाठापाठी सधैँ उनका अगिपछि हुन्थे । उनी तिनीहरूसँगै सुख–दुःखका कुरा गर्थिन् । उनीहरूले जीउमा कन्याउन मुन्टो हल्याए पनि उनकै कुरा सुनेर सही थापेझैँ लाग्थ्यो उनलाई । त्यसैमा उनी खुसी हुन्थिन् ।

२०७६ चैत ६ गते साँझतिर बाख्रा चराएर मधुमाया घर फर्किन्दै थिइन् । मास्क लगाएका थुप्रै मान्छे देखेर छक्क परिन् । उनी दगुरेर गई ठुलो स्वरमा भनिन्, ‘‘ए बाबुनानी पख त कठारो–सठारोमा (काठमाडौँ–साठमाडौँमा) भुइँचालो आएको हो ? के जमाना आयो गाँठे ! गोरुले लगाउने मालो सबैले मुखमा लगाएका छौ । अनार (अनुहार) पनि चिनिन्न । सबै आए भने त मेरा ठूलेहरू पनि आउँथे कि ? उनीहरूको बाटो हेर्दाहेर्दै अब त आँखा पनि थाकिसके । आँसु झार्दाझार्दै आँसु पनि निख्रिसके ।’’

कोही उनको कुरा नबुझेर अगाडि लागे । देवरको छोरा मदनले ठुलो स्वरमा भने, ‘‘ल नमस्कार, ठूली आमा ! भुइँचालोभन्दा पनि ठुलो कोरोना आएको छ क्या ! कोरोना… अरू पनि धेरै आउँदै छन् । तपाईंको ठूले पनि आउँछन् होला ।’’

मास्क लगाएकाले मधुमायाले न कसैको रूप चिनिन् न अरू केही बुझिन् करुणा (कोरोना) आएको छ भन्ने मात्र बुझिन् । उनले भनिन्, ‘‘अहो ! नेताले चुनावमा गाउँमा सबैलाई फर्काउँछौँ भनेका थिए । साँच्चै भनेका पो रहेछन् गाँठे ! त्यो गाउँ फर्काउने करुणाको जयजय होस् ।’’

मधुमायाको कुराले मदन हाँस्दै बाटो लागे । उनी बाटोभरि आँखा छर्दै घर आइन् । खुसीले उनको भोक पनि कता हरायो कता । काले कुकुरका लागि बिहानको आटो थियो । त्यसैमा तातो दूध हालिदिइन् । आफूले पनि एक गिलास दूध पिइन् । रातभरि मीठो कल्पना गर्दै बिहानीपख मात्र निदाइन् ।

उठेपछि पनि उनको ध्यान छोराहरूमै गयो । दुईतले घर बढारकुडार, लिपपोत गरिन् । छोराको कोठाको डसना–सिरकदेखि लिएर सबै कपडा घाममा सुकाइन् । आँखामा सानोमा छोरा र केही वर्षअगाडि नातिनातिनी खेलेको याद आइरह्यो । यताउता काम गर्दागर्दै कति बेला घाम अस्तायो पत्तै पाइनन् उनले ।

नभन्दै २०७६ चैत ७ गते झमक्क साँझ पर्दा उनलाई घरमा एकैपल्ट चन्द्रसूर्य उदाएजस्तै लाग्यो । उनी हतारिँदै नातिलाई अँगालो मार्न पुगिन् । नातिले पन्छिँदै स्यानिटाइजर निचोरेर दिँदै भने, ‘‘हजुरआमा यो हातमा दलेपछि मात्र छुनुहोला ।’’

मधुमायाले कुरा सुनिनन् । हाँस्दै स्यानिटाइजर मुखमा हाल्दै टाउकोमा छरिन् र हरे गंगे भनिन् ।

सबै हाँसे, मधुमायाले मुख बिगार्दै भनिन्, ‘‘आच्या ! जल पनि कस्तो गनाएको गाँठे !’’

सबैले हातमा स्यानिटाइजर दलेर बल्ल ढोगे । उनले सबैलाई भाग्यमानी हुनू भनेर आशिष् दिइन् ।

पिँढीमा गुन्द्रीमाथि राडी ओछ्याएको थियो । सबै थचक्क बसे । ६८ वर्षकी मधुमायाले हतारहतार मकै–भटमासको डाली र तातो दूध लिएर आइन् । भुइँचालोमा आउँदा नातिनातिनीले मकैभट्ट (भटमास) कुटुकुटु खाएका भुलेकी थिइनन् उनले । खाजा खाएपछि छोराबुहारी, नातिनी केही बेर काकाकोमा गएर आउँछौँ भनी हिँडे । मधुमाया हुन्छ म भात पकाउँछु भनेर भान्सातिर लागिन् ।

आयानलाई कहिले नदेखेकी हजुरआमाको असाध्यै माया लाग्यो । उनी साबुनले हात धोई नयाँ कपडा फेरेर म यहीँ बस्छु भनी भान्सामा गए । मधुमायाले बरबर आँसु झार्दै भनिन्, ‘‘बाबु तिमी पनि उतै गएको भए हुन्थ्यो नि ! म कान सुन्दिनँ । एउटा कुरा बाबु ! किन सबैले मुखमा मालो लगाएका ? म त चख्खै (छक्कै ) परे गाँठे !’’

आयानले हजुरआमानजिकै बसेर ठुलो स्वरमा भने, ‘‘आमा त्यसलाई मास्क भन्छन् । कान सुन्नुभयो ?’’

मधुमाया नातिका कुराले हेरेको हेरै भइन् । उनका आँखाबाट बरबर आँसु झरे । उनले खुसी हुँदै भनिन्, ‘‘अहो ! कस्तो अमृतजस्तो बोली मेरो बाबाको ! नजिकबाट बोल्दा सुन्ने पो रहेछु । मालो होइन मास्क पो रहेछ अनि अरू ?’’

आयानलाई पनि हजुरआमाको ओठमा खुसी देखेर साह्रै खुसी लाग्यो झन् ठुलो स्वरमा भने, ‘‘आमा कोभीड–१९ अर्थात् कोरोना भाइरस भन्ने रोग पहिला चीनको वुहान भन्ने ठाउँमा देखा पर्यो । त्यहाँबाट अहिले संसारभरि नै फैलिएको छ । त्यसैलाई छेक्न मास्क लगाएको हो क्या ! हजुरलाई अगिन दिएको झोललाई चाहिँ स्यानिटाइजर भन्छन् । त्यो जल होइन नि ! त्यसले पनि कीटाणु मार्छ । त्यसैले बेलाबेलामा त्यो हातमा लगाउनुपर्छ । साबुन–पानीले हात धुनुपर्छ । यो रोग रोगी मानिससँग बोल्दा, हाच्छिउँ गर्दा,हात मिलाउँदा सर्छ । यो रोगले नेपालबाहिर धेरैको ज्यान लिइसक्यो । नेपालमा भने धेरै फैलिएको छैन । बाहिरबाट आएका मान्छेसँग रोग रहेछ भने सबैलाई सर्न सक्छ । यो रोगका लक्षण भने सुक्खा खोकी लाग्नु, एक सय एक–दुई ज्वरो आउनु, टाउको दुख्नु आदि हो । हजुर पनि कसैको नजिक नजानुहोस् है । अहिले संसारभरिका मानिस लकडाउन अर्थात घरमै बसेका छन् ।’’

मधुमायालाई कुरा सुन्दा मुटु नै फुट्लाजस्तो भयो । बरु कान नसुनेको भए हुन्थ्योजस्तो पनि लाग्यो । धोतीको सप्कोले आँसु पुच्दै भनिन्, ‘‘मेरो पीर नगर मेरो नजिक त्यति मान्छे आउँदैनन् बाबु ! यो रोग लाग्यो भने के हुन्छ ? यस्तो पापी रोग कसरी आयो ?’’ हैजा रोगले तिम्रो हजुरबालगायत धेरैलाई लग्यो । त्यो बेला पनि हात धुनू, पानी तताएर खानू भन्थे ।’’

आयानले चुलोमा दाउरा घचेट्दै भने, ‘‘यो रोग हैजाभन्दा पनि धेरै ठुलो हो । यो रोग लागेपछि धेरै मान्छे मरेका छन् । थोरै बाँचेका पनि छन् । यो रोग लागेपछि एकअर्कालाई नछुने गरी क्वारेन्टाइनमा बस्नुपर्छ । क्वारेन्टाइन भनेको चाहिँ छुट्टै बस्नु हो । यो रोग लागेका जिउँदो मान्छेलाई मात्र होइन मरेका मान्छेलाई पनि छुनु हुन्न रे । यो रोगचाहिँ नपकाईकन चमेराको मासु खाएपछि चमेराबाट आएको हो भन्छन् । यस्तो बेलामा, धेरै तातो पानी, तातो कागति–पानी, ज्वानो,अदुवा, मरिच, बेसार, पानी खानुपर्छ रे । माछा, मासु, राम्रोसँग पकाएर मात्र खानुपर्छ रे । घिउ पनि खान हुन्छ रे क्या हजुरआमा !’’
मधुमायालाई नातिको कुरा सुन्दा सपनाजस्तै लाग्यो । मुटु घाँटीमा आएर अड्किएझैँ भयो । उनको बोली नै फुटेन । केवल आँखा रसाइरह्यो ।

आयानले सोचे हजुरआमाले धेरै पीर गर्नुभयो जस्तो म कुरा मोडिदिन्छु । उनले ठुलो स्वरमा भने, ‘‘हजुरले पीर नगर्नुहोस् । हामीले राम्रोसँग यो रोगको नियम पालन गर्यौँ भने केही पनि हुँदैन क्या ! बरु एउटा कथा भनिदिनुहोस् । म पछि स्कुलमा गएर साथीहरूलाई सुनाउँछु ।

मधुमायाले पुनः आँसु पुछिन् । उम्लिरहेको कसौडीको भातलाई चलाउँदै भनिन्, ‘‘एउटा अभागीनी केटीको कथा सुनाउँछु । मन परेन भने परेन भन है त बाबु !’’

हुन्छ म भन्छु, सुनाउनुहोस् । मधुमायाले लामो श्वास तान्दै कथा सुरु गरिन्, ‘‘एउटा गाउँमा आजभन्दा धेरै वर्षअगाडि एउटी दुखिया केटीको जन्म भएको थियो । छवटा छोरी भए पनि उनका बाबुलाई छोरा चाहिएको थियो । उनकी आमा सुस्केरी बेथा लागेर बच्चा पाउन नसकी मरिन् । पेटमा छोरा रहेछ त्यो पनि मर्यो । पाँचवटा छोरी अलि हुर्किसकेका थिए । दुखिया केटी दुई वर्षकी थिइन् । उनका बाबुले अर्को बिहे गरेपछि उनलाई मामाघरमा राखिदिए । मामाघर पनि त्यति धनी थिएनन् । अति नै दुःख गरेर १३ वर्ष बिताइन् । १३ वर्षमा उनको बिहे २१ वर्षको केटासँग भयो । उनले १६ वर्षमा छोराको जन्म दिइन् । उनी २२ वर्षका हुँदा उनका लोग्ने मरे । छोरो खाइस् भन्दै अभागी केटीलाई सासूससुराले घरबाट निकालिदिए । उनले सानो छाप्रो बनाएर अलि पर बसिन् । उनी साह्रै नाम्री (राम्री) भएकीले धेरैले उनलाई बिहे गर्न खोजे । उनले आफूले बिहे गरे छोराले दुःख पाउँछ भनेर कपाल नकोरी, ननाम्री (नराम्री) बन्न अनारमा (अनुहारमा) कालो पोती साह्रै सास्ती खेपेर छोरालाई हुर्काइन्, बढाइन्, आफूले खाइनखाई छोरालाई काठमाडौँ पढाइन् । यहीँ बस्लिन् भनेर यहीँको केटी बिहे गरिदिइन्… । त्यसपछि उनी बोल्न नै सकिनन् । मुटु भक्कानिएर आयो ।

आयानले मनमन सोचे अरू त मलाई सबै थाहा छ । बिहे गरेपछि उनका पापी छोरोले आमाको माया भुले । राम्रो वकिल भए । मधुमायाले पुलक्क आयानको अनुहारमा हेरिन् । आयानले हजुरआमाको आँसु पुछिदिँदै भने, ‘‘ती अभागीनी केटीले कसरी कान सुनिनन् । यति भनिदिनुहोस् ।’’

मधुमायाले सानो स्वरमा भनिन्, ‘‘ए, त्यो कुराचाहिँ उनी ४१ वर्षकी हुँदा भैँसीलाई स्याउला झार्न जाँदा रूखमा लडेर टाउको जोरसँग भुइँमो बजारियो । धेरै समय थल्लिन् । त्यसपछि कान सुन्न नै छोडिन् ।
कहाँ बाबु पनि मलाई राम्रो कथा नै आउँदैन । अलि झस्किँदै अँ..अँ उनले पनि कान सुन्दैनथिन् ।

आयानको कमलो मन पनि भरिएर आयो । आपद् पर्दा सुरक्षित ठाउँ खोज्न मात्र गाउँ आउने आफ्ना बाबाममी देखेर उनी झनै छक्क परे । विवाह गरेको केही महिनामा मावलीहरू बुटवलतिर झरेको कुरा उनलाई थाहा थियो । उनीहरू मावलीसम्म आएका थिए । नौ वर्षका आयानलाई भुइँचालोको गाउँ आएका कुरा सुनेका हुन् । याद भने छैन । घरमा हजुरआमाको त्यति कुरा हुँदैनथ्यो । कोरोनाको हल्ला चलेपछि मात्र हजुरआमाको र गाउँको कुरा भएको थियो । आयानले नम्र स्वरमा भने, ‘‘ साह्रै राम्रो कथा हजुरआमा ! अब हजुर पनि हामीसँगै बस्न हिँड्नुहोस् ।’’

मधुमायाले लामो श्वास फेर्दै भनिन्, ‘‘ कथा मन परायौँ खुसी लाग्यो बाबु ! म बैरी त्यस्तो ठाउँमा गएर के गर्नु ? यहाँ पनि खास्सै दुःख छैन । कालेले खेतबारीको रक्षा गर्छ । मकै खान आउने बाँदर, अरू बस्तुभाउ धपाउँछ । खसीबोका बेचेको पैसा र भत्ताले नूनतेल टर्छ । तिमीहरूको मायाले भने भुटभुटिन्छु । दिन पनि अँध्यारो लाग्छ ।

आयानले भने, ‘‘आमा अब पीर नगर्नुहोस् । हामी आउँदै गर्छौं । कान नसुन्नेले कान सुन्नका लागि राख्ने उपकरण पाइन्छ, त्यो राखिदिनुभन्छु । यहाँ बसुञ्जेल म मोबाइल चलाउन, पढ्न सबै सिकाइदिन्छु । अनि हामी दिनदिनै कुरा गरौँला नि हुन्न ?’’

नातिका मीठा कुराले उनलाई जिन्दगीभर भोगेका काला दिनहरू हटेर उज्याला दिनहरू आएझैँ लाग्यो । उनले मनमनै यो कारोना हटोस् । मेरोजस्तै सबैका दिन उज्यालो गराइदिनुहोस् भगवान् भन्दै छत्रा देवीको प्रार्थना गरिन् ।

आयानले ठुलो स्वरमा भने, ‘‘ल, क भन्नुहोस् हजुरआमा …।”

मधुमायाले भनिन् ‘‘कपुरी क… ।”

ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *