Skip to content


ओछ्यानमा लडिरहेछु
आँखा धमिला धमिला
ज्योति निभ्दैछ शायद
कोसँग मनको कुरा राखुँ
न फेसबुक खोल्न सक्छु
न मेसेज टाइप गर्न
आँखा नै ठिक नभएपछि
हात खुट्टा पनि निरर्थक
लाग्दो रैछ
चिया नास्ता खाना
सबै बेडमा
अँध्यारो अन्धकारको राज्य
म राजकुमारी जहाँ

ओल्टे कोल्टे सबै एउटै दृष्‍य
भित्तै भित्ता अनि ती भित्तासँगै
टाँसिएर बोल्न खोज्ने ती
महँगा महँगा पेन्टिङहरू
म बोल्ने मेरा मनका साथीहरू
धमिलो देख्दैछु सबै सबै
कति राम्रो फ्लावर भास
निलो कालो हरियो
रंगीविरँगी फूल त्यस्मा
तर नक्कली जस्को
कुनै सुभाष छैन
फूल्नुको स्वाद के थाहा तिनलाई
आहा निर्जीव हुनु पनि एक
किसीमको मज्जा
न फूल्ने रहर न झर्ने डर

भित्ते घडी यहाँ छ भनेर
ठम्याउन त सक्छु
तर कति बज्दैछ देखे पो
कुन चाहिं सेकेन्डको काँटा
कुन चाहिं मिनेट
स्थीर छ समय मेरा लागि
भोलि हुन्छ कि हुन्न थाहा छैन
तर आशाको झिनो त्यान्द्रो
भने बाँकी छ अँझै
कि भोलि पक्कै हुनेछ
अनि भोलिसँग
मसँगै मेरो जानु

हामी हाँस्ने छौ बोल्ने छौ
हात समाएर टाढा टाढा
कहिले उनको चालमा
कहिले मेरो चालमा
पाइलाहरू चल्मलाउनेछन
एकलास एकान्त ठाउँमा
ढुकढुकी साट्ने जमर्को गर्दै
पिरतीको भाकामा मगन
हामी आँखा आँखामा
हामी मन मनमा
एक अर्कालाई छर्दै
एक अर्कालाई समेटदै
सधैं सधैंको लागि
एक अर्कामा लीन हुनेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *