Skip to content

कोरोना आयो त के भयो ?

SharadKumarDahal


खोला निर्बाध बगिरहेछ
हावा निश्चिन्त फैलिरहेछ,
घामको तातोमा कुनै कमि छैन
अनि बिज अङकुरण कहाँ रोकिएको छ ?

चैत्र बैशाखमा हावा हुरी आयो
पोहोर पनि त आएकै थियो,
कोइलीले कुहु कुहु गाउनु
पोथ्रा रुखमा पालुवा पलाउनु,
हिजो पनि त भएकै थियो।

कुनै वर्ष सलहले, बाली सखाप पारेको थियो
तर बीउ मरेन, फेरि उम्रियो,
कुनै काल डढेलोले, जङ्गल उजाडिएको थियो
माटोले आफ्नो धर्म छोडेन, फेरि हराभरा भयो।

कहिले खोरेतले धेरै गाई बस्तु मरे, हामी नै भन्छौ
कहिले रानीखेतले धेरै पन्छी मरे, हामी नै भन्छौ,
सम्झौ आज यस्तै खोरेत आयो
सम्झौ आज यस्तै रानिखेत आयो
सहकालको पर्खाइमा, अनिकाल एकदिन जान्छ नै
मर्ने मरे पनि, बाँच्नेले सृष्टि धान्छ नै।

तर आज किन यति त्रास फैलाइदै छ?
सृष्टिका नियतिलाई किन अपवाद ठानिदै छ?
आकाश खसेको छैन, धरती फाटेको छैन
कुनै उल्का पिण्डले बाटो पनि त काटेको छैन
किन मान्छे भित्रै सम्पूर्णता खोजिदै छ?

प्रकृतिका लागि, सबै सन्तान बराबर हुन
पखेटा हालेका चराचुरुङ्गी हुन वा
खुट्टा कुजिएका बोटबिरुवा हुन,
मान्छेको भागमा पनि तेतिकै माया त थियो,
ऊ अलि टाठो भयो त के भयो।

बासस्थान मासिएर नै
कति जीवहरू नाशिएका थिए,
तराईका कोब्राहरु,
बास बस्नै उकालो चढ्दै थिए
तर मान्छेलाइ,
आफ्नो घर बनाउन बाहेक
कहिल्यौ फुर्सत भएन,
आज त्यही घर भित्र बसिरहन,
कसैले भन्दैछ त के भयो?

हिजो मान्छे बलियो थियो
अरुको शिकार गर्दै हिड्थ्यो,
आज ऊभन्दा पनि बलियो
शिकारी कोही निस्कियो,
बल पनि निरपेक्ष नहुने रहेछ
इतिहासले त्यही भन्छ,
आज ईतिहास दोहोरियो त के भयो ?
अनि आज कोरोना आयो त के भयो ?

शरदकुमार दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *