मादल हाम्रो, मुर्चुङ्गा हाम्रो,
डोको, नाङलो र भकारी हाम्रो,
कौसी र मझेरी पनि हाम्रो
रोटेपिङ र लिङ्गे पिङ पनि हाम्रो
यसरी सबैथोक हाम्रो भन्छौ
सेन्टिमेन्टल र आफ्नोपनको कुरा गर्छौ
तर
आमा नै मम्मी भएपछि
बाबा नै ड्याड भए,
“क” पुरी “क” खरायो “ख” भनी पढ्ने गर्थ्यौ
तर बुनियादी शिक्षा नै
ए बी सी डी भएपछि
चुडका नाँच, रयाप भए,
खाने जति ह्याब भए,
मातेपछि सबै झ्याप भएपछि,
अनि हामीसँग के रह्यो ?
बजार जति सबै बिहारीको भयो,
लुगा बेच्ने मधिसे भए
पोको पार्ने हामी भयौँ,
सिकर्मी र डकर्मीहरू मधेशकै भए
लुगाहरू सिउने मियाँहरू भए,
नक्कल पार्ने हामी भयौ ।
सपिङ मलका मालिक नेताहरू भए,
भोका नाङ्गो हामी भयौ,
लौ भन्नु होस्, हामीसँग के रह्यो ?
हाम्रो बाघचाल, शतरञ्ज भयो,
हाम्रो डन्डीबियो अरुका क्रिकेट भए,
लक्कु र खोपी खेल्नेहरू इतिहास भए,
अम्बल डम्बल चाहिँ भूगोल भए,
साईँली र माईली, करिश्मा र कटरिना भइन्,
रामे र रने, रोमियो र रुबेल भए,
आँगन लिप्नेहरू सबै कोदे भए
गाउँखाने कथा सुनाउनेहरू सहर पसेपछि
हाम्रो परम्परा नै के रह्यो ?
वनभोज, अहिले पिकनिक भयो,
भुटेको भात बिरयानी भयो,
भुटेको मकै, पपकर्न भयो,
गाउँघरका भाले, लोकल भए,
ईंग्लिस पडकाउनेहरू गण्य भए
नेपाली बोल्नेहरू चाहिँ गनेउला भएपछि
अब हाम्रो अस्तित्व नै के रह्यो ?
वनजङगल फाँडेर सहर बसाउने हामी,
बिल्डिङ खडा गर्ने अरु,
भीर पहरा खनेर बाटो बनाउने हामी,
हैकम चलाउने अरु,
रगत र पसिना सिँचेर देश बनाउने हामी
सुकुमवासी भनी
लाच्छना लाउने अरु भएपछि
हाम्रो महत्व नै के रह्यो ?
अब हाम्रो चिन्हारी नै के रह्यो र !
बी बी ठकुरी
मिल्टन, कनाडा
