Skip to content

नर्कलोकको यात्रा


एकरात तराईको प्रचण्ड गर्मीमा शीतलता खोज्दै म मेरो घरको सिकुवामा झुल लगाएर डोरीको चौपाईमाथि सुतिरहेको थिएँ । हल्का च्यातिएको झुलको भ्वाङबाट मच्छरहरू छिरेर मेरा निद्रालाई बिथोलिरहेका थिए । गर्मीले गर्दा रातको अन्तिम प्रहरसम्म म निदाउन सकिरहेको थिइन । जब निद्राले मेरा आँखाहरू लोलाउन थाले मैले अचानक मेरो चौपाईका चारैपट्टी अग्ला अग्ला मानवाकृतिहरू उभिएको महशुस गरें ।

यसो हेर्छु त हातमा गदा बोकेका, शिरमा मुकुट लगाएका र लामा लामा जुँगा भएका अलौकिक मानवहरू मलाई घेरेर बसिरहेका थिए । मैले अँध्यारो औंशीको रातमा त्यस्तो अद्भुत दृश्य देखेर डरले चिच्याउन मुख मात्रै के खोलेको थिएँ, तिनीहरुले मेरो मुख बन्द गरेर मलाई घिच्याउँदै अलिक पर झाडीमा लगे । त्यहाँ एउटा चील आकारको बिमान थियो । मलाई घोक्रयाउँदै त्यो बिमानभित्र छिराइयो । त्यहाँ म जस्तै अरु चारजना मानिसहरू सिटरहित बिमानको भुइँमा बेहोस अवस्थामा लडिरहेका थिए । मलाई बिमानभित्र छिर्ने बित्तिकै चक्कर लाग्यो र म बेहोस भएर भुइँमा पछारिएँ ।

जब मेरो होस आयो मैले आफू लगायत ती उड्ने चिलगाडीका बेहोस यात्रीहरुलाई अर्कै लोकमा पाएँ । हामीलाई एउटा ठुलो अँध्यारो कोठाभित्र थुनिएको रहेछ । त्यो कोठाको झ्यालबाट बाहिर चिहाएर हेर्दा मैले एउटा अग्लो गेट देखें । गेटको दुवैतिर अजङ्गका दुईवटा राक्षसी मानवहरू हातमा तरबार लिएर पहरा दिइरहेका थिए । गेटको टुप्पोमा एउटा ठुलो पाटीमा ठुलो अक्षरमा “यमलोक” लेखिएको थियो ।

घरीघरी गेट पारीबाट ऐया, आथा, मरेँ नि जस्ता शब्दका आर्तनाद सुनिन्थ्यो । एकछिनमा हामीलाई थुनिएको कालकोठरीमा डरलाग्दो आवाज सहित आँखा तिरमिराउने गरी प्रकाश छायो । एकछिनमा ढोका खोलेर एउटा करीब आठ फुटको भीमकाय अलौकिक मानव हाम्रो कालकोठरीमा पस्यो र मेघ गर्जिए झैं अट्टहास गर्दै हामीतिर फर्किएर फलाक्न थाल्यो, “हे मनुवाहरू हो ! यो यमलोक हो । तिमीहरू अहिले स्वर्ग–नर्कको प्रवेशबिन्दुमा छौ । मत्र्यलोकमा गरेका पाप र धर्मको जाँच गरेर तिमीहरुलाई स्वर्ग अथवा नर्कतिरको प्रवेशाज्ञा दिइने छ । भोलिको दिवाघडीमा तिमीहरुको जाँच परीक्षा प्रमुख चित्रगुप्त र मृत्युदेव यमराजद्वारा गरिने छ ।“

यति भनेर त्यो यमदुत कालकोठरीको ढोकामा बाहिरबाट सजिलै चाबीको नक्कल गर्न मिल्ने चिनियाँ तालाचाबीभन्दा नितान्त फरक यमताल्चा लगाएर अन्तरध्याम भयो । आफ्नो मृत्युको आत्मज्ञानपश्चात डरले मेरो सातो गयो । कालकोठरीमा थुनिएका अरु चारजना पनि मजस्तै आत्मा थिए । हामी पञ्चआत्माहरू मुखामुख गर्न थाल्यौं । मर्तेलोकमा अपरिचित हामी पाँच आत्माहरुले यमलोकको कालकोठरीमा एक–अर्कामा परिचय गर्यौं । अरु चारजनामा क्रमश डाक्टर, वकील, नेता र पुरोहित थिए म चाहिं बेरोजगार देशभक्त ।

भोलि बिहान तीनजना अलौकिक भुसतिघ्रे यमदुतहरू हाम्रो कालकोठरीको ढोका खोलेर भित्र पसी हामीलाई घिच्याउँदै त्रिभूवन बिमानस्थलको र्याम्पबस जस्तै देखिने स्वचालित यबसमा कोचेर हाम्रो काठमाडौंको जस्तै लाग्ने खुल्लामंचमा उतारे । त्यहाँ पुगेपछि भित्र भित्र त्रास भए पनि एउटा कुरामा चाहिं मज्जा नै लाग्यो । शाही नेपाल वायु सेवा निगम, शाही जंगी अड्डा, शाहीसेना जस्तै हाम्रो राजाकालीन नेपालमा जे बस्तुको अगाडि पनि शाही फुँदो जोडिए झैं यमलोकमा पनि जे बस्तुको अगाडि यम जोडिएको हुँदोरहेछ जस्तै यमबस, यमचर्पी, यमऐना, यमआची, यमढाल आदि । हामीलाई राखिएको चौरको उत्तरपट्टी एउटा आकर्षक मंच थियो । मंचमा यमराज र चित्रगुप्त बस्ने दुईवटा राजगद्दी झैं लाग्ने आसनहरू राखिएका थिए । मंचको छेउमा मर्तेलोकमा गरेका पापधर्म निफन्ने दुईवटा यमनाङ्लाहरू थिए जसको तार मंचको भित्तामा टाँगिएको यम टीभीमा जोडिएको थियो । चौरको पूर्वतिर एउटा सफा पानी भएको र अर्को तातो बाफ आइरहेको गन्धे र धमिलो पानी भएको कुण्ड थियो । स्वर्गको प्रवेशाज्ञा पाउनेले सुगन्धित सफा पानीमा स्नान गरेर स्वर्गतिर प्रस्थान गर्नु पर्दोरहेछ र नर्कयात्रीलाई भकभकी उमालिएको पीप, रगत, मलमूत्र र खकार मिश्रित कुंडमा चोबलेर नर्क एयरलाइन्सको चिलगाडीमा उडाएर यमप्यारासुटबाट लात्तीले भकुरेर नर्के अन्तरलोकीय बिमानस्थलमा झारिँदोरहेछ ।

चौरको पश्चिमपट्टी छाना र भित्ता नभएका मिलहरू थिए । बलत्कारी, हत्यारा, घुस्याहा, चोर, ढँटुवा जस्ता अपराधीहरुलाई त्यही मिलमा लगेर बलत्कारीको लिंग काट्ने, हत्यारा र चोरको हात स–मिलको आरीले गिँड्ने र जनता ढँटुवाको मुख यमसियोले सिलाउने यमदण्डीय कर्म हुँदोरहेछ । चौरको दक्षिणतिर एउटा आकर्षक यमबगैचा थियो जसमा कहिलकाहीँ स्वर्गबाट रम्भा, उर्वशी जस्ता सुन्दर अप्सराहरू आएर स्वर्गलोकको बिमान डिले भएको बेला स्वर्गयात्रीहरुलाई र मान्छेको प्राण हरण गर्दा गर्दा दिक्क भएका यमलोकनाथ श्रीज्यामाराजलाई रिफ्रेशमेंट दिन आउँदारहेछन् । त्यो सुन्दर बगैँचामा यमराजले आथित्य सत्कार स्वरुप कहिलेकाहीं ब्रम्हलोक, इन्द्रलोक र देवताहरुलाई स्वर्गवासी जोन लेनोन, नारायण गोपाल, मोहम्मद रफी जस्ता गायकहरुद्वारा लाइभ सङ्गीतको आनन्द दिँदै गोर्खाली खोयाबिर्केको रमरममा यमभोजको आयोजना गर्दारहेछन् ।

हामी पाँच आत्माहरू यमपटांगिनीमा बसेर वरिपरि निहाल्दै आफ्नो अनिश्चित भविष्यबारे स्वमनन गर्दै थियौं अचानक बाजागाजा र यमसेनाको लावालस्कर सहित जलभैंसीमा सवार यमराजको सवारी चौरको उत्तरपट्टिको मंचमा भयो । एकछिनमा पापधर्मको पुस्तक च्यापेर चित्रगुप्तको पनि यमदण्ड अंकित झंडा फहराउँदै रथमा सवारी भयो । यमदुतहरुद्वारा यमचौरमा बसेका हामी पाँचै आत्माहरुलाई मंचको प्रवेशद्वारमा लगियो र अमेरिकी प्रवेशाज्ञा केन्द्रले सुरक्षा जाँच गर्दा कडाइँ गरेभन्दा कडा गरी हाम्रो सुरक्षा जाँच गरियो । यम सुरक्षाकर्मीहरुले हामीलाई कट्टु धरी फुकाल्न लगाएर यमडिटेक्टर यन्त्रको गेटभित्र छिरायो । कट्टु खोले पनि आखिर हामी आत्माहरुलाई के को लाज ? आखिर हामीहरू मर्तेलोकमा नीला चलचित्रका नायिकाहरुको नग्न शरीर हेरेर लाज पचाउन ख्याग भइसकेका थियौं । हामी चारजनालाई प्रतीक्षालयको भैंसीखुट्टे मेचमा राखेर डाक्टरको आत्मालाई यमराजका अगाडि हाजिर गराइयो ।

परीक्षाको पहिलो पालीमा डाक्टरको आत्मा थरथर काँप्दै यमराजको अगाडि उपस्थित भयो । चित्रगुप्तले पुस्तक पल्टाउँदै डाक्टरको कर्मपेजमा एउटा यन्त्र घुमाए । त्यसपछि त मंचको ठुलो पर्दामा डाक्टरका मर्तेलोकीय कर्महरू यमपर्दामा चलचित्र झैं देखिन थाले । त्यो डाक्टरले सरकारी अस्पतालको जागीर खाँदै साथसाथै एउटा निजी नर्सिंग होम संचालन गरेको रहेछ । एउटा उपचारको क्रममा घरखेत बेचेर कंगाल भएको बिरामीलाई मरिसकेपछि पनि एक हप्तासम्म थप भेंटीलेटरमा राखेर अतिरिक्त आम्दानी गरेको रहेछ । पर्दामा उसको कृत्य देखेर यमराज पड्किए र उसलाई अन्त्यमा बचाउको लागि केही कुरा राख्न दिइयो । डाक्टरको आत्मा डरले लगलग काम्दै कट्टुमा सु गर्दै भन्यो, “यमराज ! मैले डाक्टरी पढ्दा मेडिकल कलेजलाई घरखेत बेचेर डोनेशन दिएर यो डिग्री हाँसिल गरेको हुँ र त्यसैले अहिले मेरो लगानी असुल गर्न यस्तो कर्म गर्न बाध्य भएको हुँ ।“

यो देखेर यमराजले आफ्ना दुतद्वारा डाक्टरलाई यमकोर्रा हान्न लगाए र उसलाई चौरको पूर्व्तिरको फोहोरी तातो कुण्डमा चोबलेर नर्कलोक बिमानघाटको प्रतीक्षालयमा पठाए ।

दोश्रो क्रममा वकिलको पालो आयो । यमपर्दामा उसले एउटै मुद्दाका वादी र प्रतिवादी दुवैबाट कमिसन हसुरेर अदालती बहसद्वारा मरेको मान्छेको औंठाछापको अख्तियारीद्वारा आफ्नो गोरु बेचेको पनि साइनो नपर्ने तेस्रो पक्षीय सालिको भदाहाको नाममा वादीको जग्गा दिलाइदियो । उसलाई यमराजले बचाउको मौका पनि नदिई चौरको पश्चिमपट्टिको मिलमा लगी उसको जिब्रो काटी नर्कलोक बिमानस्थलको प्रतीक्षालयमा पठाए ।

तेस्रो पाली नेताको थियो । नेता पारामा यमराजलाई लालसलाम ठोक्दै नेताजी यमराजको अगाडि उभिए । उनको पनि कर्मचित्र पर्दामा घुम्न थाल्यो । भोकानाङ्गा जनतालाई आस्वासनको पोको बाँडेर उल्लू बनाई भोट सोहोर्ने अनि चुनाव जितिसकेपछि जनताको रक्तकर असूली महल र सुरासुन्दरीमा रमाउने चलचित्र नेताजीको देखियो । नेताजीले यमराजलाई आदेशात्मक लवजमा आफूलाई स्वर्ग पठाइदिन भने नत्र आफूले यमलोकमा राजनैतिक मोर्चा खडा गरी बन्द र हड्तालद्वारा यमशासन तहस नहस गरिदिने घोषणा गरे । नेताको कुरा सुनेर रिसले चुर भएका यमराजले नेताको लिंग र जिब्रो काटी तातो तेलमा डुबाएर नर्कलोक बिमानस्थलमा पठाउन आफ्ना दुतहरुलाई आदेश दिए ।

चौथो पालीमा धोतीमा साजिएका पुरोहितजी टुप्पी मुसारी मन्त्रोच्चारण गर्दै यमराजको अगाडि उभिए । उनको कर्म चलचित्रमा यदाकदा जजमानको सराद गर्दा भारतीय क्यासेट प्लेयरमा गीतको रील फरवार्ड गरे झैं अर्को जजमानकहाँ जान हतारले श्राध्दबिधि फरवार्ड गरको बाहेक केही कुकर्म देखिएन । पर्दा हेरेर मुसुक्क हाँस्दै यमराजले उनका दुतहरुलाई यी बाहुनलाई चौरको पूर्र्वितरको सुगन्धित सफा कुण्डमा नुहाउन लगाई स्वर्गद्वारी बिमानस्थलको बिशिस्ट कक्षमा दूध पिलाई प्रतीक्षारत गराउन आदेश दिए ।

अब मेरो पालो आउने भयो भन्ने डरले मेरो सातोपुत्लो उड़्यो । तर अचानक यमराज र चित्रगुप्त आसनबाट उठेर दलबलसाहित त्यहाँबाट प्रस्थान गर्न लागे । म परीक्षार्थी, घडीको पेण्डुलम झैँ परीक्षा दिनै नपाई स्वर्गको न नर्कको यात्री भएर यमलोकमै लटकिरहें । एकछिन पछि दुईजना यमदुतहरू आई मलाई घिच्याउँदै एउटा बिमानमा कोचे र आफू पनि बिमानमै बसे । बिमानमा अघि नर्कको लागि छानिएका मेरा तीनजना सहपाठी पनिरहेछन् । मलाई निश्चित भयो कि मलाई बिना कसुर र बिना परीक्षा नर्कतिर धकेलियो । बिमान नर्कको लागि उडेर नर्कलोकको आकाश माथि फङ्को लगाउन थाल्यो ।

एकछिनमा उडिरहेको बिमानको ढोका खोल्दै एउटा यमदुत गर्जिन थाल्यो, “हे मानव ! तेरो पापधर्मको हिसाबकिताब राख्ने पुस्तकको पाना गायब भएछ । त्यसैले तँलाई हामी पुन मर्तेलोकतिरै पठाउँदै छौं । तँ बेरोजगार देशभक्त रहिछस । जा आफ्नो देशमा गएर अत्याचारी, घुसखोर, बलात्कारी र पाखण्डीहरुलाई तह लगा । रुँदै गरेकी नेपाल आमाको मुहारमा मुस्कान भर् र आफ्नो देशलाई स्वर्ग झैँ ऐष्वर्य बना । यही तेरो रोजगारी र देशभक्ति हुनेछ र तँलाई तेरो मिति पुगेपछि हामी सिधै बिमानमा राखेर स्वर्गलोक पठाउने छौं ।“

यती भनेर यमदुतले मलाई बिमानको ढोकाबाट लात्तीले भकुरेर मर्तेलोकमा झारिदियो । म कहालीएर चिच्याउन थालेछु ।

यसो आँखा खोल्छु त मेरो चौपाईको वरिपरि छोरा, छोरी र श्रीमती “के भो ? किन निन्द्रामा कराएको ?” भन्दै हाँस्न लागे । उफ ! म त सपनामा पो रहेछु ।

इति

राजेश अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *