हिंड्दै जाँदा आँखै अगाडि
कुनै भयंकर अनिष्ट देखेर
बलात् रोकिएको छ
सवारी जीवनयात्राको
अप्रिय खबर सुनेर कुनै
त्रसित छन् अनुहारहरू
आँखाको भाखाबाट सोध्दैछन्
संसारभरबाट एकैपटक
हजुर ! यात्रा कहिले खुल्छ ?
सडकैभरि लाम लागेको छ ।
सबैजसो देशका यात्रुबाहक गाडीहरू
थामिएका छन् सबै सबै
खै के हुन्छ हुँदैनको दोमनमा
गन्तव्यमा पुग्ने हतार
ठेलमठेलमा अगाडि बढ्ने रहर
एकाएक रोकिएको छ ।
अकस्मात् अनिष्टले बाटो छेकेपछि
लुकाएर जोगाउनु पर्ने
सबैको प्यारो जीवन त रहेछ
झ्यालभित्रैबाट सोध्दैछन सबै
हजुर ! यात्रा कहिले खुल्छ ?
– अजित आचार्य
