मुखौटो लगाई हिँड न मनुवा रोग लाग्ने हुँदैनन् ।
लिई धैर्य ज्यादा घर बसिदिए रोग आई छुँदैनन् ।।
मान्छेहरु जान्नुस् चुलबुल नभै बन्नुपर्छन् सतर्क ।
हाम्ले नजान्दा अतिशय भई लाशको लाग्छ खर्क ।।
सबै देश देख्छौं थरर डरमा आत्तिदैछन् कसोरी ।
नमानेर आज्ञा किनकिन यसै हामि हिँड्छौ नटेरी ।।
वचौंला सबै नै बसिकन जितौं, सुत्र एकान्तवास ।
म मात्रै कहाँ हो सब नर वचुन् सोच आओस् झकास ।।
सुरक्षा गरेमा कम, अतिवया वँच्नसक्छन् घरैका ।
नबोलाउनोस् है यस बखतमा गैर्ह मान्छे परैका ।।
हुनन् रोग लाग्दै ग्रसित कति ती जानिँदैनन् नजाँची ।
असाध्यै सुनौला नव पलहरु देखिदैनन् नवाँची ।।
वचाऊँ अरुको वचिकन निजै फैलियोस् मूलमन्त्र ।
थिए जे नराम्रा अब सब हटुन् सुध्रिनेछन् चरित्र ।।
विस्तारै हुनेछन् अलग अणु यी गर्नुपर्छन् परास्त ।
कसो यो नहट्ला समय क्रममा रोग लाग्ने पदार्थ ।।
कतै यी सरेछन् अणु वदनमा आत्तिने गर्नु छैन ।
हुँदा आत्मघाती तपनि उसले मारिहाल्ने हुँदैन ।।
बनाए दरो त्यो मनमुटु खुबै रोग पेल्ला कहाँ झन् ।
परे गर्न सेवा यस मुलुकका स्वास्थ्यकर्मी छँदैछन् ।।
यही देश राम्रो सब भुवनको बस्नका निम्ति योग्य ।
तयारी गरौला अब मुलुकमै रोजगारी सुयोग्य ।।
विदेशी नबन्ने मुलुक यसमै गर्ने वाचा दिलाऊ ।
बनोस् भव्य माटो भनिकन यहीँ काममा चित्त लाऊ ।।
चूडा निर्भीक
६, १२ र १९ अक्षरमा विश्राम
य म न स र र गु , छन्द मेघविस्फूर्जिता
