खैनी खानु सिकाउने गुरुहरू हुन्थे,
घाँस, दाउरा खोज्न जाँदा
बिँडी र सिग्रेटको धुवाँ उडाउँदै जाऊँ भन्ने
दौन्तरीहरू पनि हुन्थे,
स्कुल भागौ भनी सूर्याउने
छुल्यहाँ साथीहरू पनि हुन्थे,
गोजीमा पैसा हुँदैनथ्यो
तर गुलेली चाहिँ अवश्य हुन्थ्यो,
भोक लागेको बेला
आरु र ऐसलु दाना तटरम्म पाकेका हुन्थे,
नत्र भद्रासे र नस्पतीको रुख ताकिहाल्थ्यौ,
केही नपाए
बाँदरको नाम लिँदै
बारीका काँक्रा र मुलाहरू उखेली हाल्थ्यौं ।
डिपगोली गोजीमा बजेको सुन्दा
मन पुलकिन्त हुन्थ्यो,
स्कुलको बिदाहुँदा
खोप्पी र डण्डीबियो खेलिहाल्थ्यौ,
लक्कु र लुकामारी खेल्ने मज्जा अर्कै थियो
खेल्ने क्रममा गोली लागेर भुतुक्कै भएकी
मालतीको अनुहार गोलीको डाम बस्दा
तिनको गाला सुम्सुम्याउँदा माया बसेको
स्मृति अँझै आलै छ,
जे सुकै भए पनि घरमा पोल नहाल्ने
उसबेला हाम्रो संस्कार थियो,
उडदै गरेको चरा र
उडदै गएका जहाजहरूभन्दा
छिटो दगुर्ने जोश र स्फूर्ति बोकेका
बाल्यकालका उमेरहरू थिए।
दगुर दगुर कुइरो,
ढुकमुकु ढुकुमुकु,
इञ्चुमिञ्चु लन्डनमा
त्यसबेलाका हाम्रा प्रिय गीतहरू थिए ।
पढी, गुणी ठुलो मान्छे बन्ने होइन
भर्ती भएर पल्टन जाने रहर थियो,
घोकेको पाठ सुनिदिने
शिक्षित मातापिता थिएनन्,
नजानेको पाठ सिकाउन सक्ने
छरछिमेकी पनि थिएनन्,
ट्युसन पढ़ाउने शिक्षकहरू थिएनन्,
गाई बाँधेर स्कुल जाने वाध्यतामा
टाई बाँध्ने फुर्सद थिएन ।
उसबेला ठुला ठुला सपना देख्ने
हाम्रो भाग्य नै थिएन,
हामीले देख्ने गरेका सपनाहरू
धेरैजसो कागजको सपना हुन्थ्यो
केही माटोको सपना हुन्थ्यो,
कहिलेकाहीँ कागजको डुँगा बनाएर
स्कुलको होमवर्क देखाउँथ्यौ,
कहिलेकाहीँ माटोको घर बनाएर
स्कुलमा सरलाई बुझाउँथ्यौ ।
मीठो खाने र राम्रो लाउने
हाम्रो भाग्य लेखेको थिएन,
ब्युटी पार्लर हामीले सुनेकै थिएनौ,
आँखा पिरो हुने तोरीको तेल थियो,
केशमा लाउने जेल थिएन
हेर्ने बाइस्कोप थियो, मुवी थिएन,
लाउनलाई फाटेको हाफप्यान्ट थियो,
गोडामा जुत्ता थिएन,
तर पनि आज्ञाकारी भएर
खालीखुट्टै स्कुल धाइरह्यौं,
अनवरत हामी पढ़िरह्यौ,
आफ्नै कर्ममा
आफ्नो भाग्य खोजिरह्यौ ।
हाम्रो पालामा
हामी यस्तै थियौ ।
बी बी ठकुरी
मिल्टन कनाडा
