यतिखेर प्रत्येक मन
फसेका छन् चक्रव्यूहमा
हेरिरहेछौँ शून्यता महाशून्यता
खोइ कसरी पो फुकाऔँ ?
यी दुर्घटित साङ्ग्लाहरू

समयले कोरोना ओकलिरहेको छ
केवल आँखा चिम्लिरहेकाछन् मन्दिर, मस्जिद र
स्तूपहरू
तिमी नै भन कसको आराधनामा
धूपबत्ती सल्काऔँ ?

चिर निद्राबाट नब्यूँझनेहरूको इतिहास कोरिएला
बगरको माछाझैँ ज्यूँदै छटपटीएका
हाम्रा मनको इतिहास कसले कोर्ने ?
आँखाबाट चुहिएका छन् सपनाहरू कसले देख्ने ?
बन्दी छन् प्रत्येक मनहरू पङ्ख हाली कहिले उड्ने ?

र पनि भन्छन्, कुटिल चक्रव्यूहबाट
निर्भय उम्किँदै
पोल्टाभरि सुकोमल घाम बोक्नुपर्छ रे !
भिषण आँधीलाई छिचोल्दै
पहाडजस्तै छाती बनाई उभिनु पर्छ रे
गाउँनु पर्छ रे स्वर्णीम जागृतिका गीतहरू
हो युगबोधको पीडा बिसाएर
ठोक्किँदै पुनः सम्हालिँदै
अविचल उक्लिनुपर्छ रे हिउँका हिमाल
प्रिय धरा ! प्रपञ्ची जाल बुनेर किमार्थ
नरोक्नु हाम्रा यी पदचापहरू !

अहम्को युद्धले राष्ट्र दिशाहीन बनिरहेको बेला
प्रिय धरा ! इतिहासकै दिशा बदलेर
बाज र परेवाका त्रासदी खेलहरूमा
दुर्घटित नपार्नू मनहरूलाई
प्रिय धरा ! लालायित छन् यी आँखाहरू
तिम्रो सौम्य दृश्य हेर्न
हो तिम्रा सौम्य दृश्य ….।

ललिता ‘दोषी’
बुद्धनगर काठमाडौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *