भोको पेट बिहान गोरु जसरी जोत्जोत् भनी भन्दछौ
बाँझो खेत म जोत्न सक्दिन भनी भोकै छु के गम्दछौ ।
को मर्यो किन हो भनेर दुनियाँ बुझ्दैन साँचो पनि
मान्छेको अवमूल्यनै किन भयो कामै त प्यारो छ नि ।। १ ।।

आहारा घरको जुटेन कसरी बाँच्ने म सोच्ने गर
अन्नै छैन भनी म माग्न कसरी जाऊँ त कस्को घर
भन्नेले तँ ठूलो भनेर मुखले सम्मान गर्छन् तर
बाटामा बटुको लिएर कसरी बस्ने म भन्ने डर ।। २।।

काट्नेले त कुरा गरून् घरघरै फल्नो र ढिस्को भनी
कामैको छ कुरा म सोच्दछु अझै के बस्नु भोको बनी
के सम्मान दियौ र आज यसरी निम्जो छु संसारमा
सानो काम भए कुरा त दुनियाँ काट्दैन धारामहाँ ।।३।।

कर्मैको तनखा दिँदैन उसले के माग्नु रातोदिन
लाग्ने त्यो भिख नै दिने कि जसरी भाका उनेका किन
सानो काम गरि म धान्न कसरी लम्कूँ समाजै अघि
मान्छे हुन्छ र निम्छरो परख के गर्छौ घरैमा बसी ।।४।।

आमाबाबु घरै बसेर गुणको गर्लान् नि चर्चा पनि
छोरोको महिमा सुनेर दुनियाँ मख्खै त होला अनि
यस्तो हालत भो भनेर कसरी मागूँ म निम्जो भई
साथीभाइ सबै गुहार सकियो लाजै नढाक्ने सही ।।५।।

रमेश भट्टराई सहृदयी
२०७७/२/१२
(छन्द – शादूर्लविक्रीडित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *