Skip to content


संसार हावामा अडेको छ
आजका मानिसहरू
हावामै आश्रित भएको देख्दा
हैन कसरी भन्न सकिन्छ र ।

जिन्दगीलाई थामेको छ, उडाएको छ हावाले
कसैलाई माथि पुर्याएर, कसैलाई पर पुर्याएर
मानिसका कर्म अनुसार
कहिले सुगन्धको, कहिले दुर्गन्धको
मैले सुन्ने समाचार
सबै हावा झै लाग्छ ।
राजनीति, दर्शन, योजना सबै हावा
कार्यक्रम, निर्देशन सबै हावा
बोल्नेहरू हावा, लेख्नेहरू हावा
हामी देख्ने, सुन्नेहरू सबै हावा झै लाग्छ ।

मान्छेले प्रगति कति गर्यो गर्यो
संसारलाई जुरुक्कै हावामै उचालिसक्यो
हावामै देख्न र बोल्न सक्ने बनायो
तर खै के बनायो ?
तीन महिना हुँदा पनि
मसिनो किरा मार्न नसकेर
संसारलाई रूने बनायो
यो सबै देख्दा
यो विज्ञान र प्रविधि भन्ने पनि
हावा झै लाग्न थाल्यो ।

आजका मान्छेहरू
आफ्नो धरातलमा टेक्नै चाहन्नन्
हावामा बहकिएर, हावा कुरा पत्याएर
हावामै निर्णय गरिदिन्छन्
मानौ देश उनैले चलाएका छन्
उनकै कुरा संसारले सुनिबसेको छ ।

यतिबेला समयले मानिसलाई
हावाबाट धरातलमा खसाए झै भएको छ
मान्छेले बल्ल देश सम्झेका छन्
घर गाउँ सम्झेका छन्
आफु हुर्केको माटो सम्झेका छन् ।

पञ्चतत्व मध्एको एक हो हावा
जीवन र जगतभन्दा पर कसरी हुन्छ र ?
जे गरेको छ हावाले राम्रै गरेको छ ।
झसँग हुँदै मान्छेहरू
जीवन बोध गरिरहेछन् ।

– अजित आचार्य
व्यास नगरपालिका वार्ड ९, कलेस्ती तनहुँ
हालः ललितपुर १५, सातदोबाटो, ललितपुर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *