जति मदिरा पिउँदै जान्छु
उति नै पेटभित्रका कुराहरू
एक एक गरेर बाहिर निस्कन थाल्छन्,
ती मध्ये केही राम्रा हुन्छन्,
केही नराम्रा पनि हुन्छन्,
ती मध्ये केही रमाइलो,
केही विरक्तलाग्दो हुन्छन्,
केही आँटी,
केही खाँटी हुन्छन्,
केही प्रेमको,
केही घृणाको हुन्छ,
कति कुरा मनलाई गाँठो पार्ने हुन्छ
कति कुरा मनको गाँठो फुकाउने हुन्छ ।
माद लाग्न थालेपछि
त्यही भट्टी पसलमा
खित्का छोडेर हाँस्न मनलाग्छ,
कहिले भक्कानेर रुन मनलाग्छ,
कहिले सिनेमाको गीत गुनगुनाउन मनलाग्छ,
कहिले सगरमाथामा चढ्न मनलाग्छ
कहिले आकाशमा उड्न मनलगाछ ।
अलिक पिए पछि
जब म, सुर, बेसुर हुँदै जान्छु,
जब मेरा पाइतलाहरू लरबराउन थाल्छन्,
तब यो धरती कसैले हल्लाइदिए झैं लाग्छ,
लेख्नेले हाम्रो इतिहास नै पल्टाइदिए झैं लाग्छ,
बनाउनेले हाम्रो भूगोलको आकार नै बिगारे झै लाग्छ,
छिन्नेले हाम्रो सबै अधिकार छिने झैं लाग्छ,
तब म आफूलाई
युद्धमा पराजीत सैनिकको रुपमा पाएको हुन्छु ।
धेरै पिएपछि
जब म होश हराएर घर फर्किरहेको हुन्छु,
रक्सीको दुर्गन्ध पाएर
सडकका भुस्यहाँ कुकुरहरूले
जब मलाई भुक्न थाल्छन्
जब गाउँघरका सिगाँने भुराभुरीहरूले
मलाई जिस्काइरहेका हुन्छन्
तब म थाहा पाउँछु
मेरो आत्मा मरिसकेको रहेछ,
मेरो विश्वास डगमगाइसकेको छ,
मेरो अस्तित्व नै मेटिसकेको रहेछ
जसलाई म सोमरस भनेर
प्रत्येक साँझ रित्याउने गर्थे,
थाहा नपाई
यसले नै मलाई रित्याइसकेको रहेछ ।
बी बी ठकुरी
