त्वमेव लमी च प्रेमीप्रेमिका त्वमेव, त्वमेव साथीश्च सर्वस्व त्वमेव
त्वमेव डबली बिज्ञापनं त्वमेव, त्वमेव सर्व म फेसबुक देवदेव
प्राचीन हिन्दू पूराणभन्दा बिल्कुलै भिन्न कलियुगे फेसबुक पूराणको महिमा माथिको मन्त्ररुपी स्तुतिले स्पष्ट पार्दछ । हामी एकछिन आँखा बन्द मनन गरौं त, यदि यो ब्रह्माण्डबाट सूर्य आकस्मत गायब भए के होला? पक्कै पनि जतासुकै अन्धकार हुन्थ्यो । बनस्पति जगत क्लोरोफिल बनाउन नपाएर नाश हुन्थ्यो । बनस्पतिमा आश्रित प्राणी जगत खान नपाएर भोकभोकै मर्दथ्यो । न दिन हुन्थ्यो, न मौसम परिवर्तन हुन्थ्यो, न पानी पर्दथ्यो आदि आदि ।
बिना सूर्यको पृथ्वी र प्राणी जगत कल्पनाभन्दा बाहिरको हुन्छ । पृथ्वीमा प्रत्येक कुराको सञ्चालनको लागि सूर्यले अहम भूमिका खेलेको हुन्छ । त्यसैले हामीले बिहान उदाएको घामलाई अर्ग दिँदै सूर्यदेव मानी पूजा गर्ने गर्दछौं । त्यस्तै ब्रह्माण्डबाट सूर्य हराए झैँ सामाजिक संजालबाट मुहार पुस्तिका यानी फेसबुक अचानक गायब भयो भने के होला? सर्वप्रथम फेसबुकका पारखीहरू त मुर्छा नै पर्थे होलान् । पारखीहरू मध्ये पनि हरबखत लुकी लुकी च्याट गरिरहने प्रेमीप्रेमिकाहरू भने खत्रक्कै हुन्थे होलान् । त्यस्तै कम्प्युटर संसोधनद्वारा आफ्नो चाउरी परेको गालालाई पोटिलो देखाई फेसबुकमा फोटो हालेर फेसबुक बजार तताउँदै बढीभन्दा बढी लाइक संख्या बटुलेर दंग पर्ने जमातलाई पनि पर्नै पिर पर्दथ्यो होला । अतः संसारका उम्रेदेखि खुम्रेसम्म र तरुणदेखी बृद्धसम्मका बहुभाषी, बहुधर्मी, बहुजाती, बहुदेशीय फेसबुके पारखीहरू नै फेसबुक डबलीका पात्र र दर्शक हुम् भन्दा अनुपर्युक्त नहोला ।
इस्वी सम्वत २००४मा यसका संस्थापक मार्क जुकरवर्गद्वारा स्थापित बिद्युतीय सामाजिक संजाल फेसबुक विश्वमा ज्यादै नै रुचाइएको संजाल हो । विश्वमा करीब अढाई अर्बभन्दा बढीले फेसबुक प्रयोग गर्ने गरेको आँकडा छ । समयसापेक्ष परिमार्जित आँकडा नभेटिए पनि हाम्रो देश नेपालमा सन २००१ को आँकडा अनुसार हाम्रो कुल जनसंख्याको ९ प्रतिसत जनताले इन्टरनेट चलाउँथे र कुल जनसंख्याका ७ प्रतिसत जनताले फेसबुक प्रयोग गर्ने गर्थे होलान अनुमान लगाउन सकिन्छ । हाम्रो देशमा आजभन्दा उन्नाइस वर्ष पहिले त कुल जनसंख्याको करीव ७ प्रतिशत जनताले फेसबुक प्रयोग गर्थे भने आजकल पक्कै पनि लगभग २० प्रतिशतले फेसबुक प्रयोग गर्छन् भन्ने अनुमान सजिलै लगाउन सकिन्छ । हाल विश्वमा फेसबुकको प्रशिद्दीले शिखर नै चुमेको छभन्दा अन्यथा नहोला । फेसबुक ब्यापार, बिज्ञापन, सञ्चार र व्यक्ति–व्यक्तिलाई नजिक पार्ने भरपर्दो माध्यम बनेको छ फलस्वरूप यसको आम्दानीले यसका संस्थापक मार्क जुगेरवर्गलाई विश्वको तेस्रो धनी व्यक्तिको श्रेणीमा उभ्याएको छ ।
जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भने झैँ फेसबुकलाई सदुपयोग गर्न जाने यसले मानिसको जीवनयापनलाई सरल र सहज पार्छ र दुरुपयोग गरे खाडलमा जाक्न पनि सक्छ । प्राकृतिक चक्रमा दिन र रात भए झैँ मानिसको प्रयोग गराईको प्रकृति अनुसार फेसबुकले विश्व समाजमा सकरात्मक र नकरात्मक दुवै थरीको असर पारेको पाइन्छ । फेसबुक सञ्जालको जाली पहिचानवाला व्यक्तिसँग फँसेर परेको फेसबुके पिरतीले अन्तत धोका खाएर घरका न घाटका भएका थुप्रै विवाहित तथा अविवाहित प्रेमीप्रेमिकाहरुका सत्य घटनामा आधारित समाचारहरू संसारभरी नै बग्रेल्ती सुन्न र पढ्न पाइन्छन् । त्यस्तै फेसबुके मायापिरतीले बिहाबारी भएर राम्रोसँग घरबार बसेका घटनाहरू पनि हाम्रो समाजमा थुप्रै भेटिन्छन् । ब्यापारिक कम्पनीहरू फेसबुकसँगको साझेदारीमा आफ्नो उत्पादनको बिज्ञापन गरेर मालामाल भएका पनि थुप्रै दृश्टान्त भेटिन्छन् ।
सामाजिक सञ्जाल मध्येमा लोकप्रियताको शिखर चुमेको फेसबुक यदि यो विश्व कम्पुटर सञ्जालबाट आकस्मात हराउने हो भने कयौं फेसबुके नशालुहरुको सातो नै जान बेर लाग्दैन । चुलोमाथि कराईमा बसाएको दुध उम्लिदै पोखिएर सकिन्छ तर फेसबुकमा मस्त भएकी बुहारीलाई यो कुराको पत्तो तब लाग्छ जब खाली कराई डढेर गनाउन थाल्छ । फेसबुक च्याटको मग्नताले समयमा खाना नपाकेर कहिले श्रीमानलाई कार्यालय जान ढिलो हुन्छ त कहिले बच्चालाई तयार पार्न ढिलो भएर उसको स्कुलको गाडी नै छुट्छ । परिवारभित्रै पनि यस्तो फेसबुके नशामा लठ्ठिएर समयमा हुनुपर्ने काम नभएर धोका खाइएका थुप्रै उदाहरणहरू भेटिन्छन् । यसमा लठ्ठिने नशालुहरुको बीचमा बुहारी एउटा प्रतिनिधि पात्र मात्रै हो अपितु कहिले सासूबाट, कहिले श्रीमानबाट र कहिले छोराछोरीबाट पनि फेसबुके करामतबाट काम बिग्रिन्छ ।
हाम्रै देशमा पनि फेसबुकको ब्यग्रता यति छ कि मानिसहरुले बसको नाम फेसबुक ट्रावल्स, खाजाघरको नाम फेसबुक रेस्टुरेन्ट र केश कर्तनालयको नाम फेसबुक सेलुन राखेको ठाउँ ठाउँमा भेटिन्छ । यस्तै चाला हो भने फेसबुकमै प्रेम परेर बिहाबारी गरेका फुँयाल थरीका जोडीबाट जन्मेको सन्तानको नाम पनि ‘फेसबुक प्रसाद फुँयाल’ भनेर राख्न बेर लाग्दैन । मानिसहरुलाई फेसबुकको भुत लागेपछि खान र सुत्न पनि बिर्सिन्छन् । त्यति मात्रै हो र? परिवारभित्रै पनि सबै सदस्यहरू यसका नशालु रहेछन् भने एक अर्कासँग बोलचाल गर्ने पनि कसैको फुर्सद हुँदैन । यदि फेसबुक पारखीका घरमा आएको पाहुनाले फेसबुक प्रयोग गर्दोरहेनछ भने ऊ कागको फौजमा बकुल्लो सरह बन्छ किनकि खातिरदारीहरू मोबाइल फोनमा घोरिएर फेसबुकमा रमाइरहेका हुन्छन् फलस्वरूप आगन्तुकसँग भलाकुसारी गर्ने कसैको फुर्सदै हुँदैन ।
फेसबुकप्रेमी यदि आफन्तकहाँ पाहुना भएर गएको छ भने उसलाई आउने बित्तिकै सत्कारमा चियाभन्दा पहिला वाईफाईको पासवर्ड चाहिन्छ । फेसबुक एउटा मंच पनि हो जसमा गुम्सिएर रहेका प्रतिभाहरू जस्तै संगीत, नृत्य, साहित्यिक शृजना जस्ता कृयाकलापहरू मंचन गरेर विश्वभरीका दर्शकहरू माझ पस्किन मद्दत मिल्छ । फेसबुक एउटा रंगमंच हो जसमा भिडियो, फोटो आदि राखेर प्रदर्शन गर्न सकिन्छ । फेसबुकमा सम्प्रेषण गरिएका सन्देशमूलक समाचार, भनाई आदि जनहितकारी र ज्ञानबर्दक हुन्छन् । फेसबुकमा आफ्नो सम्प्रेषण भाइरल बनाएर आफू सबैका माझ परिचित हुने चाहनामा गरिएका गैरकानूनी कृत्यहरू जस्तै नग्न फोटो र भिडियो अपलोड गर्नु र अरुको चरित्र ह्त्या गर्नको खातिर गरिएका सम्प्रेषणहरू विश्व सञ्जालमा गैर कानूनी ठहरिन्छन् र यस्तो व्यक्तिलाई साइबर अपराध लाग्छ । फेसबुक एउटा व्यक्तिगत बिवरण भण्डारण गर्ने उपयोगी ढुकुटी पनि हो जसमा एउटा व्यक्तिले आफ्नो प्रोफाइलमा आफ्नो सम्पूर्ण उपयोगी बिवरणहरू राख्न सक्छ र अरु कसैले त्यो व्यक्ति कस्तो प्रकृतिको हो भनेर थाहा पाउन पनि सक्छ तर झुटो प्रोफाइल बनाउने प्रयोगकर्ताको हकमा भने यो लागु हुँदैन ।
नेपालमा फेसबुकबाट ग्राहकहरुले बैंकिङ सुबिधा लिन पनि सक्छन् । उदाहरणार्थःनेपाली वित्तीय क्षेत्रमै पहिलो प्रयोगको रुपमा फेसबुकबाट नै एनएमबि बैकको खाता खोल्न सकिने व्यवस्था छ । फेसबुकका प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन् । फेसबुकले प्रयोगकर्ताहरूको अमूल्य समय त बर्वाद पार्छ नै यसका साथै यो चुरोट, खैनी जस्ता हानिकारक अमलहरू जत्तिकै हानिकारक भएको कुरा विज्ञहरू बताउँछन् । प्रयोगकर्ताहरूका लागि यो एक नसा जस्तै हुन्छ । भगवानको पालाको जस्तो धार्मिक पूराणमा बर्णित दैवी आकाशबाणी र आव्हान गरिसक्दा भगवान प्रकट भएर दर्शन दिएको जस्तो चमत्कार यो कलियुगमा हुँदैन तर फेसबुकले संचारको दुनियाँमा लगभग उस्तै उस्तै प्रकृतिको सुविधा ल्याएको छ ।
फेसबुक कहिलेकाहीँ झगडाको बिउ बन्छ त कहिले अचुक ओखती । अर्काको चरित्र हत्या र गोपनीयता भंग हुनेगरी फेसबुकमा राखिएका सामग्रीहरुले झगडाको बीजारोपण गर्छ । एउटा घरमा लोग्नेस्वास्नी सधैँ कुटाकुट गर्दै झगडा गर्ने गर्थे । उनीहरुको घरमा सधैँ भइरहने झै झगडाले छिमेकीहरू पनि होहल्लाले वाक्क भएका थिए । उनीहरुको घरमा शान्ति ल्याउन छिमेकीहरुले एउटा जुक्ती निकाले । उनीहरू दुवैको मोबाइलमा छिमेकीहरुले फेसबुक चलाउने सुविधा राखिदिए । आजकल लोग्ने एउटा कुनामा र स्वास्नी अर्को कुनामा बसेर खुशीका साथ फेसबुकमा मग्न हुन्छन् । न त उनीहरू एक अर्कासँग काम नपरी बोल्छन् न त झगडा नै गर्छन् । यसरी फेसबुकले झगडाको रामबाण ओखतीको काम गर्छ । पारखीहरू फेसबुकमा फोटो हाल्ने लहडमा सेल्फी खिच्दा खिच्दै कोही छतबाट खसे अनि कोही पुलबाट झरे फलस्वरूप कोही मरे र कोही अंगभंग भए । यो पनि फेसबुकप्रतिको बौलठ्ठी लगाव हो । कसैको बार्ह वर्ष अघि हराएको छोरो फेसबुकको माध्यमले भेटिन्छ । यो फेसबुकद्वारा मानिसप्रतिको सदासयता हो ।
अतः फेसबुकको दुरुपयोगले हुने, झगडा, चोरी, डकैती, हत्या र बलत्कार जस्ता कुकृत्यहरू यसका बहुउपयोगी गुणहरुको अगाडि नगण्य छ । नढाँटी भन्ने हो भने आफू पनि एउटा सानोतिनो फेसबुक पण्डित नै परियो । बानी भनौं या सोख, आफूलाई बिहान उठने बित्तिकै फेसबुकको दर्शन नगरी र राती निदाउनु अघि फेसबुकलाई आँखा नझिम्क्याई चित्तै बुझ्दैन । आफू पनि सदा सकारात्मक सोचाइ राख्ने फेसबुकको पक्का पण्डित भएकाले म फेसबुकलाई उपयोगी संजाल मान्दै आजको लागि फेसबुक पूराण वाचन बन्द गर्दछु ।
इति
राजेश अधिकारी
