नेपालको राजनैतिक नेतृत्व, बौद्धिक वर्ग, मानव अधिकारवादी र सचेत नागरिकहरूको बर्चस्व भएको नेपालको राजधानी काठमाडौ राजधानीको मुटुमा अँझ भनौ देशको बागडोर सम्हालेका कैयौ प्रधानमन्त्री र मन्त्रीहरूका बिविध योजना सहित समुन्नत सुन्दर नेपाल बनाऊन अहोरात्र निरन्तर खटिरहेको सिंहदरबार ! र ठ्याक्कै सिंहदरबार अगाडिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको गेटबाट भित्र पस्ना साथ बायाँपट्टिको भवनको एकतला माथि एस एस पी साबको कार्यकक्ष बाहिरको वरण्डामा उनको सुरक्षामा खटिएको अंगरक्षक उभिइरहन्छ । उसले भित्र बसेका हाकिम साबको अनुमति लिएर मात्र भिजिटरलाई भित्र पठाउँछ । सवारी दुर्घटना, सवारी नियम उल्लङ्घन, सवारी जाचपास, चोरिका सवारी साधन र यस्तै यस्तै सवारी साधन सम्वन्धी विविध कामको लागि आएका मानिसहरूको अत्यधिक चाम्पले अति व्यस्त ट्राफिक प्रहरी कार्यालय परिसरमा भारी विसाऊन आइरहने एउटा पंहेलो क्रेन जसमा पाँच जना सिपाईहरूको टोली खटाइएको छ । जसको काम काठमाण्डौका अति व्यस्त स्थानहरू जस्तै दरबारमार्ग, न्यूरोड, पुतलीसडक लगायतका क्षेत्रहरूमा नो पार्किंगमा पार्क गरी राखेका मोटरसाइकल, स्कुटीहरू उठाएर उक्त क्रेनमा राखी उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा ल्याउँछन् ।
पत्र पत्रिकाहरूमा समाचार दैनिक जसो छापिन्छन् ट्राफिक कार्यालय रामशाहपथ काठमाण्डौमा भर्खर सरूवा भएर आएका हाकिम साबले उदाहरणीय काम गरेकोमा प्रशंसा पढ्न र मुखामुख सुन्न पाइन्थ्यो ।
यता कार्यालय परिसरमा दिनभरमा कम्तीमा एकसय थान मोटरसाइकल कारवाही स्वरूप आउँथे। यसरी पक्राऊ गरेर ल्याइएका मोटरसाइकलको जरिवाना उठाउने खास व्यावस्था गरिएको थियो। जरीवाना काट्ने काम जिन्सी शाखाबाट हुन्थ्यो। त्यो समयमा ट्राफिक प्रहरीले रू दुइसयभन्दा बढी जरीवाना लिन पाउने थिएन, यदि बढी जरिवाना लिनु पर्ने अवस्था भएमा यातयात व्यावस्था विभागमा पठाऊनु पर्ने कानूनी व्यावस्था थियो ।
तथापि यसरी क्रेनले उठाएर ल्याइएका मोटरसाइकललाई भने जिन्सी शाखाबाट प्रति बाईक रू एक हजार जरिवाना काटिन्थ्यो र रसिद दिइन्थ्यो। यो नियमित प्रकृया भैसकेको थियो। कसैको केही गुनासो र सिकायत थिएन ।
एकदिन एक जना ट्राफिक सिपाही आफ्नो स्केलमा पाउने यूनिफर्म लिन जिन्सी शाखामा पुगेको थियो ठिक त्यति खेरै एकजना मानिस हातमा कालो हेलमेट र साईडमा कम्पयूटर व्याग बोकेको र जिन्सीमा छिर्यो र सोध्यो , “सर त्यो क्रेनले ऊठाएको बाईकको जरिवाना तिर्ने यही हो ?”
रसिद काट्न बसेका ट्राफिक हबल्दार जवाफ दिन्छन्, “हो।”
व्यक्ति: कति रूपैया सर ?
ट्राफिक हवलदार : एक हजार।
व्यक्ति: एक हजार रे ? यो त अति भो त, अलि मिलाएर काट्नुस सर
ट्राफिक हवलदार : मिल्दैन राजश्व सरकारले तोकेको हुन्छ ।
व्यक्ति: ल लिनुस भन्दै एक हजारको नोट हवलदारलाई दियो ।
ट्राफिक हवलदार : एक हजारको रसिद काटेर व्यक्तिलाई दियो ।
व्यक्ति: (रसिद नियाल्दै) यसमा “कोले निका खा पा न १०” लेखिएको हुनुपर्छ खै यहाँ त क्यै पनि लेख्या छैन त ?
ट्राफिक हवलदार : (मुख रातो पार्दै डराएको स्वरमा) अफिसले दिएको रसिद यही हो ।
व्यक्ति : झोक्किदै भन्यो “यसरी लिन मिल्छ” ? म तिमीलाई मुद्दा हाल्छु।
ट्राफिक हवलदार : मलाई के भन्नुहुन्छ ? मैले हाकिम साबको निर्देशन फलो गरेको मात्र हो, चित्त नबुझे ऊ पल्लो कोठामा एस एस पी साब हुनुहुन्छ गएर भन्नुस मलाई केही नभन्नू।
व्यक्ति: चुप लागेर भुनभुनाउँदै बाहिरियो।
सायद एस एस पी साबको नाम सुन्ना साथ ऊ डरायो क्यारे। ट्राफिक सिपाही अचम्म पर्यो।
ट्राफिक सिपाही नबुझे जस्तै गरी सोध्छ, “हवलदार साब किन झगडा गरेर गयो त्यो मान्छे ?”
हल्दार: अरे यार यो जागिर खानुभन्दा त लेवर काम गर्न वेश, यता हाकिम भन्छ, डुप्लीकेट रसिद काटेर जरिवाना लिनु । उता पब्लिक थर्काउँछ यार । उस्तै परे जागिर जान्छ थुनिनु पनि पर्छ। दिनभर जागीर धरापमा पारेर रसिद काट्यो साँझ रसिद गनेर पैसा लिन्छ बुढो, आफूलाई तनाव मात्र सुको चुहाँऊदैन टेन्सन छ भाइ।
ट्राफिक सिपाही: कति जति हुन्छ नि साब ? अनि तपाईलाई पनि…
ट्राफिक हवलदार: हुन्छ नि दिनकै एक डेढ लाख त्यो बढीगाडले बोकेर जान्छ सूटकेसमा । दिने भा उसैलाई दिदो हो ।
ट्राफिक सिपाही: दिनकै ? मैले त हाम्रा साथीहरूले ओसारेका सबै बाईकको पैसा राजश्व हो भन्नठानेको थिए।
ट्राफिक हवलदार : काँ हुनु सब बुढोको खल्तीमा जान्छ भाइ ।
ट्राफिक सिपाही : घडी हेर्दै भन्छ, साब ढिला हुन थालेछ चोकमा जान खै मेरो यूनिफर्म दिनुस म जान्छु।
उसले एस एस पी साबको सुरक्षामा खटिएको सिपाहीले दैनिक बोक्ने कालो चिटिक्कको सूटकेस बारे सोच्न थाल्यो। त्यो सूटकेस दिनभर जिन्सीमा जम्मा गरिएको पैसा बोक्न प्रयोग गरिएको रहेछ मैले त हाकिम साबको अन्य सामग्री बोक्छ होला भन्ठानेको। उसलाई त्यो मन परेन तर अरू कोसँग हाकिम साबको विरूद्ध बोल्न सक्छ ? एकजना फिल्डमा खटिने सिपाहीले एस एस पी साबको विरूद्ध ? एस एस पी साबको कानसम्म पुग्यो भने सिपाहीलाई मिनेटमै जागिरबाट बर्खास्त गर्ने कानूनी अधिकार हुन्छ । त्यसैले ऊ चुप छ।
केही दिन पछि रोलकलमा हाकिम साबको ब्रिफिङहुने निर्देशन आयो ।
प्रकृयागत तरिकाले हल्दार मेजर, सूबेदार मेजर, इन्सपेक्टर, डि एस पी, एस पी हुन्दै एस एस पी समक्ष बिभागीय रिपोर्टिङ भो।
एस एस पी सावको ब्रिफिङशुरू भो ।
“सबै ठिक छ ?”
“एस सर !”
“कसैलाई केही भन्नु छ ?”
“छैन सर !”
“ओके, धेरै भन्नू केही छैन हामी जनताको सेवाको लागि खटिएका कर्तव्य निष्ठ प्रहरी हौ, हामीलाई सरकारले सुविधा दिएको छ । ट्राफिक प्रहरीको बदनाम हुने गरी कोही कसैले जनताको काम नियम अनुशासनले नगरेको पाइएमा विभागीय कार्यवाही हुनेछ । तिमीहरूले कुरा बुझ्यौ ?”
सबैले एकै स्वरमा भने, “बुझ्यौं सर !”
ब्रिफिङ सकिन्छ।
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
