मान्छेको मन
नियम र विधिले कहाँ बाँधिन्छ र ?
पातपातै हाँगाहाँगै निस्फिक्री भएर
रनबन चाहार्दै डुलिहिँड्छ ।
संसारको कुनाकुना अनुभुत गराइदिन्छ
देखे सुने जति सबै सबैको
मान्छेलाई धकेलिदिन्छ त्यतैतिर
जहाँ मन परेको हुन्छ, मनले इशारा गरेको हुन्छ ।
मान्छेको मन
अलिकति लोभी छ अलिकति पापी पनि छ
राम्रै बन्न चाहन्छ, अरूभन्दा माथि पर्न चाहन्छ ।
त्यसैले त असल खराबको हिसाबै नगरी
मान्छेलाई निर्देशन दिन्छ मन ।
जसमा लोभिएर के के गरिसक्छन् मान्छेहरू
र फर्कन्छन् प्रायश्चितको बाटोमा बाध्य भएर ।
यतिबेला
मनहरू बिच्केका छन् मान्छेसँग
सपना तुनेर रातभरि
कल्पना उनेर दिनभरि
घरी भड्किन्छ, घरी पिरोलिन्छ
झसंग हुँदै यथार्थसँग
मनमनै के के कुरा गरिरहेछ
मान्छेभित्रको मन ।
मान्छेका मनहरू
कल्पनाको संसारमा बयेली खेल्दै
पर दुनिया भोगिरहेछन्
र फेरि एकपटक मनले
फर्क भने झैं घर फर्कने लालसा बोकिरहेछन्
आखिर जिन्दगी भनेकै
मान्छे र मनकै खटनपटन त रहेछ
जहाँ एकअर्कालाई लतार्दै, डोर्याउँदै
अन्तिम श्वाससम्म हिडाइरहेछ ।
अजित आचार्य
व्यास नगरपालिका, वार्ड ९, कलेस्ती, तनहुँ
हाल, ललितपुर-१५, सातदोबाटो, ललितपुर ।
