मेरो गाउँको भानु जयन्ती


ठुला ठुला शहरहरूमा
ठुला बडा साहित्कारहरूको जमघटमा मनाइने
भानु जयन्तीभन्दा
गाउँ घरमा श्रद्धाको दियो बालेर,
आशीर्वादको टीको लगाई
गाउँलेहरूकै उपस्थितिमा मनाइने
मेरो गाउँको भानु जन्ती मलाई राम्रो लाग्छ,
किनभने,
मेरो गाउँको भानु जयन्तीमा
आफ्नै गाउँका कुमार र भक्तिहरूले गाइरहेका हुन्छन्,
मीरा र साबित्री नाचिँरहेका हुन्छन् ।
राणमाय पाठको लागि
वल्लो र पल्लो गाउँका विद्यार्थीहरू
दौरा-सुरुवाल, फरिया र चोली लगाएर
आफ्नो पालो पर्खिरहेका हुन्छन् ।
भाषा र साहित्यको उति धेरै ज्ञान नभए पनि
गाउँकै बुढा-पाकाहरू
प्रमुख र विशिष्ट अतिथि भएर
जन्म लिएपछि
कि घाँसी जस्तो हुनुपर्छ,
कि भानुभक्त जस्तो भाषा र जाति प्रेमी हुनुपर्छ भनी
ज्ञान र आदर्शको वक्तव्य दिइरहेका हुन्छन् ।

मेरो गाउँको भानु जजन्तीमा
गोष्ठी र गुटबाजी हुँदैन,
ठुला ठुला कवि र विद्वानहरू हुँदैनन्,
प्रचार गराउने पत्रकार हुँदैनन्,
जन्म जयन्तीको निहुँ गरी भोट माग्ने नेता हुँदैनन् ।

मेरो गाउँको भानु जयन्तीमा
रामायण र कविता पाठ हुन्छ,
गजाधर सोतीको नाटक हुन्छ,
चपला अबलाहरूको नृत्य हुन्छ,
बाज्ये-बज्यै, बुबा-मुमा र नाति-नातिनीहरू हुन्छन्,
गाउँ घरका मामा-माइजू र छेमा-काका हुन्छन्,
दिदी-भेना र सोल्टी-सोल्टिनी हुन्छन्,
ठुलो कान्छा र सानी कान्छी हुन्छिन्,
एक अर्कालाई हेराहेर गरिरहेका
तरुणी तन्देरीहरू हुन्छन् ।

शहरको भानु जयन्तीमा
कार्यक्रम सकिनेसाथ, दर्शक अल्पिए झैं
वर्षभरि भानु हराउँछन् ।
कवि र वार्ताकारहरू हराउँछन्,
मञ्चमा गाएका गीत र गजल हराउँछन्,
नेताका भाषण र आश्वासनहरू हराउँछ।

मेरा गाउँको भानुजयन्तीमा
न दर्शक हराउँछ, न भानु नै हराउँछन्,
न गीत हराउँछ, न गजल नै हराउँछ,
भानु जयन्तीमा गाएका गीतहरू
मकैबारी र कोदोबारीहरूमा,
चियाबारी र गोरेटोहरूमा
कौसी र पँधेरोहरूमा वर्षभरि नै गुञ्जिरहन्छन्,
भानुलाई चढाएका श्रद्धाका फूलहरू
ओइलिएपछि बीउ भएर
बारीका डिलडिलमा
ढकमक्क फूलेर
अर्को भानुजयन्ती पर्खिरहेका हुन्छ,
मेरो गाउँको भानुजयन्ती
शहरकोभन्दा केही भिन्नै
श्रद्धा र आदर्शमय हुन्छ ।

बी बी ठकुरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *