Skip to content

यमराजको सजाय


‘मान्छेले धर्म गर्नुपर्छ । धर्म गरे स्वर्ग गइन्छ र पाप गरे नर्कमा परिन्छ । नर्क पर्नेहरुलाई यमराजले आगोको भुङ्ग्रोमा नाङ्गै खुट्टाले हिंड्न लगाउँछन् । ततातो आगोमा हुत्याई दिन्छन् र तिखो झिर रोपीरोपी सजाय दिन्छन् । धर्मशास्त्रको आदेश नमान्नेहरू सबै अधर्मी, पापी हुन् र यिनीहरू यमराजको सजायको भागिन्दार हुने छन् ।’ यस्तै प्रवचन दिन्दा दिन्दै एकदिन धर्मगुरुको मृत्यु भयो ।

मरेपछि नियमअनुसार उसले मत्र्यलोक छाड्यो र स्वर्ग जाने बाटो समायो । बीच बाटोमा पुगेपछि यमराजलाई भेट्यो । सामान्य केरकारपछि यमराजले उसलाई स्वर्गतिर जान भन्यो । त्यहीबेला अर्को व्यक्ति पनि आइपुग्यो । त्यो सँगसँगै अर्को पनि । जसलाई धर्मगुरुले राम्ररी चिन्दथ्यो । उनीहरुलाई पनि सामान्य सोधपुछपछि यमराजले स्वर्ग जान भन्यो । धर्मगुरु आश्चर्यमा पर्यो र यमराजसँग आफ्नो कौतुहलता पोख्यो ।

‘महामहिम यमराज ज्यू, यी दुई मान्छेहरुलाई त म राम्ररी जान्दछु, चिन्दछु ।’

‘राम्रो ।’ यमराजले खासै प्रतिक्रिया जनाएनन् ।

यो देखेपछि यमराज पो रिसाउने हुन् कि भनेर धर्मगुरुले डराई डराई आफ्नो कुरो राख्यो, ‘यो एकजना त मान्छे मारेर सजाय भोगेको मान्छे हो । अर्को चाहिँ खेतीकिसाने हो । यिनीहरू कुनै धर्मकर्म गर्दैनन्… ।’

‘अनि के भो त ?’ धर्मगुरुको कुरा सुनेर उल्टै प्रश्न गरे यमराजले ।

‘मत्र्यलोकमा त सजायको भागिदार भएका यी मान्छेहरू कसरी स्वर्ग जान सक्छन् ?’

‘मरेपछि सबै स्वर्ग जान्छन् ।’ यमराजले वेवास्तपूर्वक भन्यो ।

‘कसरी… कसरी… ?’ यमराजको कुरामा चित्त नबुझेकाले हडबडाउँदै धर्मगुरुले सोध्यो, ‘यस्ता अधर्मी, पापीहरुले नर्क जानु पर्दैन ?’

‘मर्नेवित्तिकै गैसकेको हुन्छ ।’ यमराजले भन्यो ।

‘मैले हजुरको कुरा बुझिनँ…!’ पुजारी कायल भयो ।

‘लौ हेर ।’ यमराजले धर्मगुरुलाई मत्र्यलोकतिर देखाएर भन्यो । उसले यमराजले देखाएतिर हेर्यो । त्यहाँ ऊ आफू, त्यो मान्छे मारेको मान्छे र खेतीकिसाने थियो । सबै जनाको आफन्तजन, शुभचिन्तक र आफ्ना छोराछोरी भेला भएका थिए । धर्मगुरुलाई घरबाट निकालेर घाटमा पुर्याइएको थियो । उसको जिउको बहुमूल्य रत्नदेखि एकत्यान्द्रो लुगासमेत नराखेर सबै फुकालेको थियो । एउटा पिलपिले कात्रोले मात्र छोपेर उसको नाङ्गो शरीरलाई चित्तामाथि सुताईयो र आफ्नै छोराले आगो झोस्यो । छिटोछिटो सिध्याउनको लागि घिउ र प्रज्वलनजन्य चिजीविज हाल्दै लासलाई बाँसले घोचीघोची रमितेपूर्वक मलामीहरू हेरिरहेका थिए ।

मत्र्यलोकमा अरुहरू पनि थिए, आआफ्ना विधिअनुसार कुनैलाई गाड्दै थियो त कुनैलाई अस्पतालको अभ्यासकक्षामा लगेर मेडिकल विभागका विद्यार्थीहरू अङ्गप्रत्याङ्ग चिरेर अध्ययन गर्दै थिए । कसैलाई बाघ र अन्य हिंस्रक जनावरहरुले आफ्ना सिकार बनाएको थियो । आफ्ना सिकारलाई ती जनावरहरुले लुछिलुछि खाइरहेका थिए । हेर्नै नसकिने डरलाग्दा यी सब दृष्यहरू देखाएपछि यमराजले धर्मगुरुलाई सोध्यो, ‘देख्यौ नि !’

‘देखें हजुर… !’ धर्मगुरुले भन्यो ।

‘यति धेरै सजाय पार गरेर आइसकेपछि अर्को कुन सजायको अपेक्षा गर्छौं तिमी ?’ यमराजले उल्टै धर्मगुरुलाई सोध्यो ।

धर्मगुरु अवाक भयो । केही बोल्नै सकेनन् मात्र यो सम्झिरह्यो कि उसले मत्र्यलोकमा हुँदा मान्छेहरुलाई नर्क देखाउँदै तर्साउनु कत्रो पाप रहेछ ।

यकिना अगाध

Leave a Reply

Your email address will not be published. Required fields are marked *