Skip to content


विश्वभ्रमणमा हिँडेका अदृश्य विषाणुहरू
उन्मत्त साँढे बनेर
चोकचोकमा डुक्रँदै–गर्जदै
उग्राइरहेछन् ।

ब्रह्माण्डको भाले बनेर
अहङ्कारमा मच्चिएको मान्छे
घरघरमा थच्चिएर
घरि ढोकाको चेपबाट बाहिर चियाउँछ
घरि गोरुले फ्याँकेको मुखौटो भिरेर
छाक र गर्जो टार्न
निरीह मुसो झैं
भयभीत भई गल्लीसम्म निस्कन्छ ।

त्यही विषाणुले
जात्रालाई थिल्थिलो पारेर कोमामा पुर्याएपछि
गाईहरू पशुअधिकारको नारा लगाउँदै
बाटाबाटामा जुलुस निकालिरहेछन्,
भोक–क्रान्ति भच्चिएपछि
खेतबारीमा युद्ध लडिरहेछन् ।

देश–देशका उन्नत साँढेहरू
विषाक्त साँढेसँग भीड्न नसकेर
रक्ताम्य भई पछारिएका छन् ।
सडक, डबली र सभागृहमा मनाइने गाईजात्रा
अचेल बालुवाटार र सिंहदरबारतिर सरेको छ,
न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाका साँढेहरू
अनेक मुखौटा लगाएर
धुमधामले गाईजात्रा मञ्चन गरिरहेछन् ।

भयो छोडिदिनुस् मित्र,
हामीले यस्तोमा के गाईजात्रा मनाउनु ?
बरू साँढेहरूलाई नै जात्रा मनाउन दिऊँ !

—श्यामसुन्दर ढकाल
महेन्द्रनगर, कञ्चनपुर
२०७७ साउन २०

Leave a Reply

Your email address will not be published. Required fields are marked *