Skip to content


रमेश झुल्किएका हौ नक्षत्र चम्किला बनी।
भयौ ‘विकल’ बाँचेर बुझ्न केही सकिन्न नि॥
साहित्य सम्झना गर्दै आफैं ‘विकल” भैसक्यौ।
यस्तै रहेछ संसार तिम्रो देह ढलिसक्यो॥

लेख्यौ लेखाइमा व्यङ्ग्य थियो, ‘विकल’ शब्दमा।
भर्थ्यौ प्राण तिमी आफ्ना खिपेका शब्द शब्दमा॥
बुझ्नेले सजिले बुझ्थे, साहित्य यसमै थियो।
ए रमेश! गयौ छाडी मन हाम्रो पिरोलियो॥

सम्झना मात्र बाँकी छन् बाँकी सब त्यतै गए।
साहित्य सिर्जनामार्ग मार्गमा अधुरै रहे॥
अब खै पढ्न पाइन्छन् तिम्रा ती नव सिर्जना।
लगायौ गुन धेरै नै खै सकिन्छ र बिर्सन॥

मान्छे मर्दैन रे राम्रा राम्रा काम गर्यो भने।
मान्छे बाँचेर के सार दुराचार गर्यो भने॥
यही शिक्षा दियौ हामी सम्झना गर्दछौं सधैं।
हे रमेश गयौ छाडी हामी ‘विकल’ छौं सधैं॥

देखौं अब कहाँ हामी अस्तायौ खिन्न छौं सब।
लेखौं श्रद्धाञ्जली भन्द मन भक्कानिने अब॥
जाने जीवन हो हाम्रो यो संसार अनित्य छ।
यहि श्रद्धाञ्जली अर्पें अर्पिने क्रम नित्य छ॥

रमेश विकलको श्रद्धाञ्जलीमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *