मेरो काका दिनभरिको व्यापार सकिएपछि
प्राय:हरेक रात
र साँझ
जसरी भए पनि चोकको भट्टी जानुहुन्छ
र लमतन्न हुने गरी
टन्न रक्सी खानुहुन्छ ।
घरमा ल्याएर खाँदा हुदैन
उहालाई भट्टी जानै पर्छ
र रक्सी खानै पर्छ ।
होटलमा
बोतलका पानीभित्र छिरिसकेपछि उहाँलाई
तरुनीहरुका खारिएका जवानी पनि चाहिन्छ ।
आफ्नो व्यापार बिर्सिनुहुन्छ
अङ्कलले परिवार बिर्सनुहुन्छ
त्यो पसल पसिसकेपछि
आफ्नो सारा संसार बिर्सिनुहुन्छ ।
रातमा,
चोकका ती रङ्गिन भट्टी गएपछि
कहिले कहीं त
उतै हराएर सात दिनसम्म पनि
घर फर्किएर आउनुहुन्न
मेरो काका अर्काकी श्रीमतीलाई हेरेर
उतै हराउनुहुन्छ ।
त्यस्तै,
मेरो एउटा भावुक भाइ छ
ऊ एउटी सुन्दर युवतीलाई
अति मनपराउँछ
हरेक दिन
ऊ मेरो घर आउँछ
अनि उनकै बारेमा बताउँछ
र सधैं उनकै बयान सुनाउँछ
सधैं ऊ यसरी नै
आफ्नो सुन्दरीको गुनगान गाउँछ
एकोहोरो उङ्को मायाजालमा फसेको छ
ऊ एकल
प्रेमपागल झै
र हरेक पल
केवल उनैलाई सम्झिरहन्छ
म सधैं उसलाई सम्झाइरहन्छु
र एउटा केटीभन्दा पनि ठुलो
आफ्नो परिवार भएको बताइरहन्छु
खैर
तर उसले मेरो विचार कहिले पनि बुझेन
न त आफ्नो परिवारलाई नै समय दिन सक्यो
न त कहिले जीवनमा व्यापार व्यवसाय नै गर्यो
र त ऊ बेरोजगार भयो
र सधैं बेरोजगार नै रह्यो
किनकि
ऊ एउटी केटीको प्यारमा परेको छ
मेरो काका जस्तै गरेर बकवाश
अनायास ऊ आज
रक्सीको गिलासमा हराएको छ
ऊ एउटा नौजवान सुन्दरीको
मुस्कानमा हराएको छ ।
जसरी कि,
म अहिले कवितालाई सम्झिएर
साहित्यपानमा हराएको छु।
_______________
मोरङ्ग
