सप्तरीको कलुवा मरिकले सुमित्रा यादवसँग अन्तरजातीय विवाह गरेको थियो । मागेअनुसार भोजभत्तेर खुवाउन नचाहँदा गाउँघरबाट बहिष्कृत भएका थिए । गाउँमा अट्न नसकेर खोला किनाराको ऐलानीप्रतिमा झुपडी बनाएर गुजारा गर्थे । गाउँमा बनिबुतो गर्न पनि मनाही थियो । उनीहरूले आफ्नै समाजको नाकाबन्दी भेल्नुपरेको थियो ।
चार वर्षकै उमेरदेखि कलुवा–सुमित्राको छोरो चन्द्रे मरिक पितृमातृ सुखबाट टाढिँदै गएको थियो । किनभने उनीहरूले आफ्नो छोरो जनकपुरको अक्षर पाठशालामा बोर्डस गरिदिएका थिए । आफ्नो समाजले दिएको प्रताडना छोराले अनुभूत नगरोस् भन्ने चाहन्थे । घरमा आमाबाबु थिए तापनि ऊ टुहुरो जस्तो थियो । यदाकदा बाबु भेट्न जान्थे । मुस्किलले दुई अढाई घण्टा रहन्थे । फेरि अलप भइहाल्थे । आमासँग भेट्न त उसले चाडबाड नै कुर्नुपर्थ्यो ।
उसले विद्यालयको वातावरणमा नेपाली र अङ्ग्रेजी राम्ररी सिक्यो । गर्भदेखि सिक्न शुरु गरेको मैथिली भाषा अल्पअल्प मात्र जान्दथ्यो । आफ्नो मैथिल भेषभूषा, रहनसहन र कला–संस्कृति बारे विल्कुलै अनविज्ञ थियो । अँझ आफ्नो परिवारलाई समाजले कुन आँखाले हेर्छ भन्ने बारे उसलाई थाहै थिएन । न परिवारको पर्याप्त ममता पाएको थियो न मैथिल समाजमै समायोजित हुने अवसर भेटेको थियो । उसले केही मात्रामा पश्चिमिरहनसहन सिकेको थियो । किताबमा पढेको र स्कुलले दिएको आधारले उसले धेर थोर नेपाली मातृभाषीहरूको संस्कार र संस्कृति भने जान्ने अवसर भेटेको थियो ।
ऊ लेखपढमा अब्बल थियो । समस्या खुलस्त राख्थ्यो । अनुभूत गरेका समस्याहरू आफैँ समाधान गर्न भरमग्दुर प्रयास गर्थ्यो । समाधान नभए सहकर्मी साथीहरूको सहयोग लिन्थ्यो । तिनीहरूबाट पनि समाधान हुनै सकेन भने मात्र शिक्षककहाँ राख्थ्यो । उसको यस्तो बानीबाट शिक्षकहरू समेत प्रभावित थिए ।
ऊ हरेक कक्षामा टप टेनभित्रै पर्थ्यो । एसएलसी परीक्षा मात्रै नभई कक्षा ११ को परीक्षामा समेत विशिष्ट श्रेणी नै ल्याएको थियो । उसको गाउँ र छेउछाउको गाउँबाट पनि त्यहाँ पढ्न आएका विद्यार्थी धेरै थिए । उनीहरू बीच एकापसमा राम्रो हेलमेल थियो । ती सबै विद्यार्थीहरू मध्ये अँगारमुखे बुढाको छोरो महानन्द सबैको लिडर थियो । ऊ अछुत वर्गमा पर्थ्यो । यद्यपि सामाजिक, सांस्कृतिक र जातीय भेदभावको सख्त विरोधी थियो । ऊ छुत र अछुतको गहिरो खाडल नयाँ पुस्ताले पुर्न सक्नुपर्छ भन्ने विचार राख्थ्यो । उसलाई समेत आफ्नो समाजको रहनसहन बारे उत्तिसाह्रो जानकारी थिएन ।
जिल्ला शिक्षा समन्वय इकाइको आयोजनामा अक्षर पाठशालामा अन्तर मावि वक्तृत्व कला प्रतियोगिता हुने भयो । शीर्षक थियो– ‘‘दलितका समस्या र निराकरणका उपायहरू ।’’
प्रतियोगितामा जिल्ला भरिका ३२ जना प्रतियोगीले भाग लिएका थिए । अक्षर पाठशालाका तर्फबाट चन्द्रे र महानन्दले पनि भाग लिने सौभाग्य पाएका थिए । प्रतियोगिता शुरु भयो ।
आफूले पढे र सुने अनुसार दलितका समस्या औँल्याउँदै आफ्नो वक्तृत्वका क्रममा महानन्दले भन्यो, ‘‘मेरो विचारमा जातीय विभेद; दलित–दलित र गैह्र दलित बीच छुवाछुत; सामाजिक, धार्मिक र सांस्कृतिक समस्या; भूमिको समस्या; आर्थिक समस्या; सामाजिक कुरुति र अन्धविश्वासको जरो फैलनु । यी मैले देखेका दलितका समस्या हुन् ।’’
समस्या हटाउने उपाय बारे उसले अगाडि भन्यो, ‘‘बेटी पढाऊ, बेटी बचाऊ अभियान; सामाजिक संघसंस्थाको सहभोज र सहकार्य कार्यक्रम सञ्चालन, सार्वजनिक वस्तु तथा सेवा उपभोगमा दलित स्वयम्को अग्रसरता; अन्तरजातीय विवाहलाई प्रोत्साहन; जातीय पेशालाई सामूहिक पेशामा रूपान्तरण; विभेद न्यूनिकरणका लागि कडा कानूनी व्यवस्था आदि ।’’
वक्तव्य राख्ने क्रममा चन्द्रे र महानन्दको गाउँको नामै किटेर पश्चिम नेपालतिरको एक वक्ताको कथन थियो, ‘‘…नपत्याए कसैलाई सोध्नुस्, अखबारमा पनि आएको कुरा हो । कलुवाको परिवारले पीडा भोगिरहेछ । ऊ दलित भएकै कारण समाजबाट २५ वर्षदेखि सम्पूर्ण रूपले बहिष्कृत छ । त्यस गाउँमा आवाज उठाउने र संविधान प्रदत्त हक स्थापित गर्ने सोच भएको कोही जन्मेकै छैन । जन्मेको हुँदो हो त २५/२५ वर्षसम्म गरिएको अमानवीय कर्म विरुद्ध विद्रोहको मसाल सल्काइसक्थ्यो ।’’
उसको कुराले धेरैको ताली पायो । तर, चन्द्रे र महानन्द लगायत त्यस गाउँसँग सम्बन्धित विद्यार्थीहरूको शिर निहुरियो । कार्यक्रम समाप्त हुनासाथ एक कुनामा उनीहरूको सानोतिनो अनौपचारिक छलफलको कार्यक्रम शुरु भयो ।
महानन्दले भन्यो, ‘‘साथीहरू हो ! हाम्रो गाउँको त बदनाम भयो त । यत्रो मञ्चमा पनि आयो । राष्ट्रिय अखबारमा पनि आएको थियो रे । कुरा के हो ? कि बदनाम भएकै गाउँका युवा भनेर चिनिरहने ?’’
लाम्घारे ठिटो अघि सर्यो, ‘‘अन्याय गर्ने र अन्याय सहने दुवैलाई मचाहिँ घृणा गर्छु । यद्यपि निरीह भई अन्याय सहने चन्द्रेका पिता कलुवाप्रति म नतमस्तक छु ।’’
चन्द्रेको पिता भन्नासाथ सबै विद्यार्थी छक्क परेर चन्द्रेतिर फर्किए । उसले भन्यो, ‘‘घरपरिवारको कुरा मलाई केही थाहा छैन । बुझ्नेले नै प्रष्ट पार्दा बेस हुन्थ्यो ।’’
लाम्घारे नै अघि सर्यो, ‘‘मलाई सबै थाहा छ । पीडित नायक र पीडक खलनायक दुवै परिवारका होसियार युवा हामी यहीँ छौँ । यहाँ हामीमा कुनै जातीय भेदभाव छैन । गाउँमा पानी बाराबार, काटामारामार छ, हामी बेखबर छौँ । हाम्रो हातमा देशको भविष्य छ रे । हामी नै अनविज्ञ र असक्षम भएपछि समाजका बेथितिलाई कसले बढार्ने ?’’
‘‘मननीय कुराहरू आए । हामी गाउँलेहरू मात्र यहाँ छौँ । या नि एउटा परिवार मात्र छौँ । खुलस्त कुरा राखौँ । निष्कर्ष निकालौँ । र, समाधानको बाटोतर्फ लम्कौँ । यो ‘‘पीडित नायक र पीडक खलनायक’’ भनेको चाहिँ के ?’’
महानन्दको प्रश्नको जवाफमा पुन्टे ठिटोले भन्यो, ‘‘२५ वर्षदेखि समाजको शत्रु ठान्ने मध्येका मुख्य कट्टर पञ्च तिम्रै पिता अंगारमुखेलाई ‘‘पीडक खलनायक’’ भनेको हो । त्यस अत्याचार विरूद्ध एक शब्द पनि अन्यत्र असन्तोष प्रकट नगरी चुपचाप सहने चन्द्रेका पिता कलुवालाई ‘‘पीडित नायक’’ भनेको होला !
सबैले सबै कुरा बुझे । र, दशैँको बिदा मनाउने क्रममा सबै जना गाउँमा भएको बेला अभिभावकहरूसँग जातीय भेदभाव, छुवाछुत, अन्धविश्वास आदि वारे अन्तरक्रिया गर्ने, गाउँघरको तत्कालीन वस्तुस्थिति बुझ्ने, चेतनामूलक कुरा गरी चेतना फैलाउने । यत्ति गर्दा पनि बुढापाकाहरू पग्लेनन् र परिवर्तन हुन चाहेनन् भने हदैसम्मको काम गर्नुपरे पनि गर्न खुट्टा नकपाउने । अन्तमा अभिभावकहरूसँग सम्बन्धविच्छेद गरी भेदभावरहित नयाँ समाज निर्माण गर्ने सहमतिमा पुगेर छलफल समाप्त भयो ।
बिदाको बेला गाउँमा पुगेर उनीहरूले ‘‘अभिभावकहरूसँग युवा पिँढीको अन्तरक्रिया’’ नामक कार्यक्रम राखे । त्यसमा कलुवासहित सबै गाउँलेहरू डाकिए । युवाहरूको इच्छा र अपेक्षा विरुद्ध कसैले जाने आँट गरेन । युवाहरूको मुखबाट नेपालको संविधान र अन्य कानूनले समेत भेदभाव र अन्यायीपूर्ण कार्य दण्डनीय छ भन्ने व्यवस्था रहेको सुनेपछि अन्ततः जातीय भेदभावका कट्टर समर्थकहरूले समेत मौन सहमति जनाए ।
साथै, सबै गाउँलेले कलुवाको परिवारलाई लगाएको बन्देज सदाका लागि अन्त्य गर्ने, उसँग क्षमायाचनाका साथ मेलमिलापको हात बढाउने, उसको सम्मान कार्यक्रको आयोजना गर्ने, सबैले साथसाथमा सहभोज गर्ने साथै सबैले सकेको आर्थिक/भौतिक सहयोग गरी कलुवाको घर निर्माण गरिदिने र उसलाई समाजमा पुनस्र्थापित हुन सहयोग पुर्याउने भनी सर्वसम्मतिले निर्णय गरे ।
भोलिपल्ट आयोजना गरिएको ‘‘मेलमिलाप, सम्मान र सहयोग कार्यक्रम’’ को अन्त्यतिर कलुवाले मन्तव्य राख्दै भने, ‘‘समाजका प्रतिष्ठित गन्यमान्य महानुभावहरू साथै समाज सिंगार्ने जोश–जाँगर बोकेका युवाहरू ! आफ्नो आँगनमा खुशी फर्किएकोमा विशेषतः सारा युवाहरूको ऋणी छु । सर्मिला र मैले देखेको सपना साकार हुन २५ वर्ष लाग्यो । उसले परिवर्तनका यी दृष्यहरू हेर्नै पाइनँ । दुर्भाग्य ! सधैँ आफूले विष पिइरही र हाम्रो परिवारका लागि अमृत ओकलिरही । आज नाकाबन्दी खुलेको यस घडीमा ऊ कत्ति खुशी हुन्थी ! शब्दमा वर्णन गर्न असमर्थ छु । सारा गाउँलेहरूले मप्रति देखाएको सदाशयतापूर्ण व्यवहारले म अनुगृहित भएको छु । सधैँ–सधैँ यस्तै साथ र सहयोगको अपेक्षा सहित मेरा कुरालाई विश्राम दिन्छु ।’’
ताली बजिरह्यो । उनी आँसु पुच्दै मञ्चबाट बाहिरिए । कुरा बुझने दर्शकहरूको समेत आँखा आँसुले भरियो । त्यो दुःखको नभई खुशीको आँसु थियो ।
+++++
–राजेश विद्रोही
छोटो परिचय
नाम– राजदेव राम
साहित्यिक नाम– राजेश विद्रोही
जन्म मिति/स्थान– वि.सं. २०४२ जेठ २९
पन्सेरा–९, गरुराहा, सप्तरी
माता/पिता– कमली देवी/ लक्ष्मी मोची
स्थायी ठेगाना– खडक नपा–३, गरुराहा, सप्तरी ।
हालको अस्थायी बसोबास– लहान नगरपालिका–५, सिरहा
शिक्षा– एम.ए.
लेखन विधा– कविता, कथा, निबन्ध
प्रकाशित कृति–
१. ‘‘रक्तमुच्छेल अंकुरण’’ २०६५ कविता सङ्ग्रह
२. ‘‘मुक्तिसङ्घर्ष’’ २०६७ कविता सङ्ग्रह
३. ‘‘इजोत’’ २०७३ कविता सङ्ग्रह
प्रकाशोन्मुख कृति–
‘‘प्रेम, जाति र विवाह’’ कथा सङ्ग्रह
सम्पर्क– मो. नं. ९८४२८००५५५/९८०१६००५५५
