Skip to content


खलपत्रै गोरी होइन
सुट्टिसाह्रो काली पनि होइन,
धेरै अग्लो पनि होइन
पुडकी त झन् हुँदै होइन,
कम्मर छिनेको पनि होइन,
झलक्क हेर्दा
गालामा खोपिल्टा परेको
जस्तै लुगाले पनि सुहाउने
चिरिच्याँट देखिने
बुहारी, रातोपिरो र खाइलाग्दो हुनुपर्छ ।

बेसी नक्कल पार्ने हुनु भएन
आडम्बरी र अहंकारी हुनु भएन,
दिनभरि गफ हाँकिरहने हुनु भएन,
कुरा कोट्याउने, कुरा बनाउने र
कुरा लाउने पनि हुनु भएन,
आफूलाई सम्भ्रान्त देखाएर,
अरुलाई होच्याउने हुनु भएन,
खैनी-गुट्कादेखि लिएर
सुरा समेत पिउने हुनु भएन ।

बुहारीको
बोलीमा सरस्वती बसेको होस्,
सिउँदोमा सिन्दुर सजेको होस्
हत्केलामा लक्ष्मीको वास होस्,
आत्मबल दह्रो होस्
दृढ इच्छाशक्ति भएको होस् ।

बुहारी,
घर हुन्, घडेरी पनि हुन्,
परिवारको मान र सम्मान दुवै हुन्,
गरिमा र ऐश्वर्य पनि हुन्,
सन्तानको लागि
उनी वर्तमान र भविष्य सबै हुन् ।

त्यसैले
बुहारीको मन खुम्चिएको हुनु हुँदैन,
आकाश जस्तो फराकिलो हुनुपर्छ,
ढुँगा जस्तो कठोर हुनु भएन
धरती जस्तो विशाल हुनुपर्छ,
उर्लदो खहरे हुनु भएन
सागर जस्तो गहिरो हुनुपर्छ ।

बुहारी,
आमा बन्नु पर्छ,
आमा जस्ती भाउजू बन्नु पर्छ
आमा जस्ती सासू पनि बन्नु पर्छ,
यो सत्यतालाई बुहारीले
मनमा गुणेको हुनुपर्छ ।

जस्तोसुकै भएपनि
छोराले मन पराएर
घरमा हुलेको बुहारीको
बारम्बार खोट देखाउनु होइन,
परिवारकै सदस्यको रुपमा मान्यता दिएको हुनुपर्छ,
मान्यता दिनु मात्र होइन
छोरी सम्झेर माया गर्नु पर्छ,
तब
सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः को आशा राख्न सकिन्छ ।

– बी बी ठकुरी
मिल्टन कनाडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *