Skip to content

तिम्रो चर्चा


कुरा काट्नेहरुलाई काट्न देऊ
यो त हुर्किदै गरेका अबोध बच्चाहरुले किताब च्यातेजस्तै हो।
खानलाई सिक्दै गर्दा आफ्नै थाल वरिपरि जुठ्ठो छरेजस्तै हो
कोरोनाको बीचमा बिना खोलको मुखले बोले जस्तै हो।
समयले दिएको उपहार
चालेको प्रत्येक पाइलाहरू
बनाइरहेको हरेक वहानाहरू
अस्वीकार गरेको परिस्थितिले
स्वीकार्न वाध्य बनाउदै खोज्न लाउने छ बाटोहरू
कुरो काट्नेलाई काट्न देऊ !

यो फुर्सदिलो समयलाई बिदाइ गर्ने आधार हुन् सक्छ
जस्तै,
कविले कविता कोरे झैँ
जँडियाले पिउँन थाले झैँ
गायकले गाउँन सुरु गरे झैँ
महापुरुषहरुले मनन चिन्तन गरेझैँ
त्यो पनि एउटा वानी हो।
जस्तै ध्रुम्रपान स्वास्थ्यको लागि हानीकार छ।

उसले प्रेमलाई कैद गरेर राख्छ
खुशीहरुलाई टिप्न खोज्छ
हरेक क्रियाकलापलाई तराजुमा जोख्छ।
छुट्याउदै, कथाको शिर्षकहरू बनाउँछ
तिम्रा मुस्कानको
तिम्रो हरेक शब्दको
प्रत्येक पाइलाहरुको
जस्तै, आफैले आफैलाई नचिनेको बेला उसले पहिल्यै चिनिसकेको छ
मानौं, मेरो पुरा समय उसको निर्धारणमा छ
र हावामा उडाउदै छ।
यो पनि एउटा आनन्द हो
कुरा काट्नेलाई काट्न देऊ
मन साट्नेलाई साट्न देऊ

जसले आफैंलाई भुलेर
अमूल्य समयलाई कुल्चिएर
आफ्नै सपनालाई पोलेर
धर्ती, आकाश बिर्सिएर
यती बिग्न तिम्रो बारेमा कुरा गर्दियोस्
धन्य छन् तिनीहरुलाई
विश्वास पनि अन्धो हुन्छ।
कुरा काट्नेहरुलाई काट्न देऊ
ढुङ्गालाई के थाहा ?
फुल्नु, फक्रनु, झर्नुको मज्जा !

– नवराज योञ्जन
हाल -संयुत्त राज्य अमेरिका, मेरिल्याण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *